मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दिलिपको शर्ट च्यातेर उखुबारीमा राख्ने अधिकृतलाई कारवाही सिफारिस

मङ्गलबार, ०३ पुस २०७५, १८ : २०
मङ्गलबार, ०३ पुस २०७५

 काठमाडौं– निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रहरी अधिकारीहरुको भूमिकाबारे छानविन गर्न गठित समितिले केही अनुसन्धान अधिकृतहरुलाई थप कारबाहीको सिफारिस गरेको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जमा कार्यरत प्रहरी अतिरिक्त  महानिरीक्षक (एआईजी) धिरु बस्न्यात नेतृत्वको समितिले सोमबार प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई ‘छानविन प्रतिवेदन’ बुझाएको थियो ।

५ सय ३२ पृष्ठ लामो उक्त प्रतिवेदनबारे सोमबार प्रहरी महानिरीक्षक (आईजिपी) खनाललाई ब्रिफ गर्दै एआईजी बस्न्यातले केही प्रहरी अधिकृतहरुलाई पुनः कारबाही गर्दै थप अनुसन्धानको आवश्यकता औंल्याएका छन् ।

निकै मोटो प्रतिवेदन कार्यान्वयनका लागी प्रहरी प्रधान कार्यालयले अध्ययन गरिरहेको बताइएको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बस्न्यात नेतृत्वको प्रतिवेदनले प्रहरी नायब निरिक्षक (सई) बासुदेव अवस्थिलाई कारवाही गर्न सिफारिस गरेको छ । 

साउन १० गते कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा सई वासुदेव अवस्थी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्धा शाखामा कार्यरत थिए ।  निर्मलाको शव फेला परेको दिन घट्नास्थल नगए पनि सई अवस्थीले नक्कली प्रमाण जुटाउन भूमिका खेलेको प्रतिवेदनले ठहर गरेको छ । 

‘घट्ना भएको २४ दिनपछि अभियुक्त भनेर सार्वजनिक गरिएका ४९ वर्षीय दिलिपसिंह विष्टको शर्टको गोजी प्रहरी नायव निरीक्षक बासुदेव अवस्थीले च्यातेको खुल्न आएको छ’ प्रहरी प्रमुखलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘उक्त कपडाको टुक्रा च्यातेर अवस्थीलेनै घट्नास्थलमा राखेर नक्कली प्रमाण जुटाउने गैह्र व्यवसायिक हर्कत गरेको देखियो ।’ 

छानविन समितिले ‘कस्को आदेशमा दिलिपसिंह विष्टको शर्ट च्यातेको ?’ भन्ने प्रश्न गर्दा वासुदेव अवस्थीले आदेश दिने अफिसरको नाम भन्न अस्वीकार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  यसरी आदेश गर्ने अफिसरको नाम भन्न अस्वीकार गर्ने सई अबस्थी सहितका केही अधिकृतहरुलाई कारवाही गर्दै घट्नाको थप अनुसन्धान गर्न छानविन समितिले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ । 

२०७५ भदौ ३१ गते गठन भएको एआईजी बस्न्यात नेतृत्वको छानविन समितिको सिफारिसमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ‘सोको अफिसर’ हरिसिंह धामीलाई निलम्बन गरेको थियो । 

सोमबार बुझाईएको प्रतिवेदनमा सोको अफिसर धामीलाई थप कारवाहीको सिफारिस गरिएको छानविन समितिका एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए ।  निर्मला पन्त बलात्कार–हत्याबारे अनुसन्धान गर्न भन्दै साउन १३ गते कञ्चनपुर पुगेका केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीले कुशल नेतृत्व नगरेको र व्यवसायिकता प्रदर्शन गर्न नसकेको छानविन समितिले निष्कर्ष निकालेको छ । 

‘डिएसपी जिसिले राम्रो नेतृत्व गरेर व्यवसायिकता प्रदर्शन गर्न नसकेको कुरा प्रतिवेदनमा समेटिएको छ’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘प्रतिवेदनको आधारमा घट्नाको अनुसन्धानमा संलग्न केही अधिकृतहरुलाई थप कारवाही गर्न सकिने बाटो खुलेको छ ।’ 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सई अवस्थिलाई बस्न्यात नेतृत्वको समितिले बर्खास्त गर्न सिफारिस गरेको छ ।  निर्मला प्रकरणमा हालसम्म ९ जना प्रहरीहरु कारवाहीमा परेका छन् । जसमध्ये, कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदिश भट्टलाई मन्त्रिपरिषदको बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । 

प्रहरी नायव उपरिक्षक (डिएसपी) अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामी, सई हरि सिंह धामी (बस्न्यातको सिफारिसमा निलम्बन भएका) र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका थिए ।  

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा उच्च तहबाट छानविन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले एआईजी बस्न्यातको नेतृत्वमा भदौ ३१ गते उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । समितिमा डिआईजी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकीसहित ९ जना सदस्य रहेका थिए । 

त्यसअघि गठन भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी बस्न्यातलाई आन्तरिक अनुसन्धान गर्ने जिम्मा दिएको थियो ।
प्रहरी प्रधान कार्यालयले तत्कालीन प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीलाई घट्नास्थलमा पठाएर नयाँ शिराबाट अनुसन्धान गरेको थियो । पछि ज्ञवाली डिआईजीमा बढुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका थिए । 

अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्युरोको साख निर्मला बलात्कार प्रकरणमा खस्किएको छ । एउटै घट्नाले गर्दा प्रहरी संगठनप्रति नकारात्मक छाप परेपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अधिकारी माथिनै छानविन गर्न उच्चस्तरिय समिति बनाएको थियो । 

यो पनि पढ्नुहोस् : 

निर्मला बलात्कार–हत्या प्रकरण : डिआईजी बस्न्यातको नेतृत्वमा अर्को अनुसन्धान कमिटी गठन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप