मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस महासमिति बैठकः केन्द्रीय नेताप्रति आक्रोश, कार्यकर्तामुखी विधान बन्नेमा शंका

मङ्गलबार, ०३ पुस २०७५, २० : ५२
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक मंसिर २८ गतेदेखि काठमाडौँको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा जारी छ । बैठकमा महासमिति सस्दय, पर्यवेक्षक, भ्रातृ–शुभेच्छुक र जनसम्पर्क समितिबाट गरी करिब २ हजारको उपस्थिति रहेको छ । 

तर, बैठकको प्रमुख एजेण्डाका रुपमा रहेको पार्टीको विधान मस्यौदा प्रतिवेदन महासमिति सदस्यले बैठक समापन हुने दिनसम्म पनि पाउन सकेका छैन । यस विषयमा महासमिति सदस्य र पार्टीका पदाधिकारीबीच आज चर्काचर्की पनि भएको छ । 

विधानमा नेताहरुको स्वार्थ बाझिँदा महासमिति सदस्यले भोग्नुगरेको सास्ती, महासमिति बैठकपछि पार्टी कांग्रेसजनले के कुराको अपेक्षा गरेका छन् ? यी यस्तै विषयमा हामीले महासमिति बैठकमा आएका विभिन्न व्यक्तिलाई केही प्रश्न गरेका छौं । उनीहरुको भनाई जस्ताको तस्तैः

खिलराज बस्नेतः महासमिति सदस्य, सोलुखुम्बु
यो नेपाली कांग्रेसको जीवनमा १४ औं महासमिति बैठक हो । अहिले कांग्रेसको जीवनमा संकटको घडी छ । दुई ठूला बामहरु एक ठाउँमा उभिएका छन् । नेपाली कांग्रेसले अंगिकार गरेको लोकतन्त्र कांग्रेसको मुटु हो । आज कम्युनिष्टहरुले पनि हामी लोकतन्त्रवादी हुँ भनेर काँग्रेसको कुर्सी उनीहरुले समातेर आफ्नो बनाउन लागिपरेका छन् । महासमिति कांग्रेसको दोस्रो सर्वोच्च निकाय हो । यसले नेपाली कांग्रेसलाई पुनर्जागरण र पुनर्निर्माण रिभ्यूलेसन ल्याउन जरुरी छ । त्यो किसिमको वैधानिकता विधानमा व्यवस्था गर्नुपर्छ । नेपाली कांग्रेसमा अब आउने पुस्तालाई आकर्षण गर्ने र युवाहरुलाई अवसरको वातावरण निर्माण गर्नुपर्छ । हाम्रो अहिलेको माग नै विधान बैठकमा पेश हुनपर्छ भन्ने हो ।

तर, केन्द्रीय कार्यसमितिको अक्षमताले आउन सकेका छैनौँ । अझैं केन्द्रीय नेतृत्वको दम्भ र चरित्र फेरिन नसकेको यो एउटा उदहारण हो । उहाँहरुले यो महासमितिको बैठकलाई निर्देशित गर्ने होइन । यो बैठकले उहाँलाई निर्देशित गर्ने हो । विधान पेश गर्न विलम्ब भएपनि महासमितिका साथीहरुको जोसजागर निकै देखिएको छ । रात र दिन बित्ला तर विधानमा भोटिङ गरेरै पनि कांग्रेस जोगाउने ऊर्जा छ हामीसँग । 

डम्बर विकः महासमिति सदस्य, पर्वत 
अहिलेसम्म्म विधान नै पाएका छैनौँ । यसबारेमा धेरै बोल्ने अवस्था भएन । तर, हिजोको यथास्थितिवादी सोच र तरिकाले विधान बनाउन खोजेको हामीलाई महसुस भएको छ । देश संघीय संरचनमा गइसक्दा पनि जनसंख्याको आधारमा समावेशिता लागु हुनेगरि विधान बन्ने संकेत पाएको छाँै । क्रियाशिल सदस्यता नै नभएकाले स्थानीय निर्वाचनमा दलित उम्मेदार पाउनै मुस्किल भएको थियो । यस्तो अवस्थामा पार्टीमा रहेको क्रियाशिल सदस्यताका आधारमा समावेशिता लागु हुने गरि बनाउन लागेको विधान मान्य हुँदैन हामीलाई । 

यस्तो गर्न खोजियो भने हामी दलित महासमिति सदस्य अनशन बस्ने पनि तयार हुनेछौँ । यसबारेमा हामीहरुबीच छलफल पनि भइरहेको छ । यसको विरुद्वमा बैठकमा आवाज पनि उठाउँछौ । पार्टी नेतृत्वले यस विषयमा सोच्ने आशा लिएका छौँ । पार्टी नेतृत्वको हुकुमी शैलीले कांग्रेसका लागि रगत पसिना बनाउनेहरुले न्याय पाउनेमा आशा गर्न सकिँदैन । तर यस बैठकले उनीहरुलाई विधानसम्मत चल्न दबाब दिनेछ । जसबाट पार्टीमा देखिएको धनवाद, डनवाद र नातावाद हाबी हुन पाउँदैन ।

हिमबहादुर डागीः पर्यवेक्षक दाङ
विधानमा सहमति नजुटेर नै महासमिति बैठक बोलाइयो भन्दै नेताहरुप्रति लाल्छना लगाउने काम भएको छ त्यो सरासर  गलत छ । केन्द्रका नेताहरुले बनाइदिएको विधानमा हामी थप्पडी पिट्न आएका हौँ र ?

बैठकमा विधान पेश नभएकोमा म खुसी छु । जससकारण  विभिन्न विषय र मुद्दाहरु बसहमा आउने क्रम जारी छ । जस्तै हिन्दु राज्यको कुरा नै भयो । नेताहरुलाई बैठकको मासबाट यस्ता विषयमा दबाब आएको छ । विधान पेश हुन भएको डिलाइले नेताहरुलाई जनताको र कार्यकार्ताको भावना बुझेर विधान बनाउन दबाब बढेको छ । यसले राम्रो विधान बन्नेमा म आशावादी छु ।

यमनाथ दानैः महासमिति सदस्य, धादिङ 
सबैलाई समेट्नुपर्ने भएकाले महासमिति बैठकमा पेश हुन समस्या भएको छ ।  सबैको अस्तित्व रहने गरि विधान संशोधन गर्नुपर्छ । महासमितिको बैठक भोलीसम्म रहन पार्टीले जनाएको छ । तर, नेताहरुले प्रत्येक दिन आजको बैठकमा विधान आउँछ भन्छन् तर, आउँदैन । जसकारण आज बस्ने भनिएको बैठकमा साथीहरुले धाँदली गरेका हुन् ।

केन्द्रीय नेताहरु त अभिभावक हुन । उनीहरुले आफ्नो स्वार्थ हरेर विधान बनाउन खोज्नु खेदजनक छ । जसकारण विधान बैठकमा पेश हुन ढिलो भइरहेका छ । साथीहरुको त्यो आक्रोशलाई कांग्रेसप्रतिको चिन्ताको रुपमा लिनुपर्छ नेतृत्वले ।

कल्पना पाठकः महासमिति सदस्य, बाग्लुङ 
महासमिति बैठक एउटा वैधानिक सभा हो । पार्टीको विधान संशोधनमा सुझाव र सल्लाह दिन हामीहरु यहाँ आएका हौँ । विधानलाई महासमितिबाट पनि पारित गर्ने हो । नमिलेका विषय त महासमिति बैठकबाटै मिलाएर पारित गर्ने हो । 

नेताहरुले किन केन्द्रीय कार्यसमितिमा सहमतिका लागि मरिहत्ते गरिरहेका हुन बुझ्न गाह्रो छ । सहमति गर्नु नै थियो भने पहिले सहमति गरेर मात्र महासमिति बैठक बोलाउने गर्नुपथ्र्यो । हामीलाई यहाँ बोलाएर अलमल्लमा पार्ने काम भयो ।

मनोजमणि आचार्यः महासमिति सदस्य, रोल्पा 
राजनीति, सांगठनिक, आर्थिक लेखापरिक्षण सम्बन्धिका प्रस्ताव बैठकमा फेस भएका छन् । त्यस विषयमा साथीहरुले आफ्नो धारणा पनि राखिराखेका छन् । महासमिति बैठक मुल विषय विधान संशोधन नै अहिलेसम्म आउन सकेको छैन ।

विधानले ल्याउने आकारको बारेमा छलफल हुनेछ । त्यसमा विभिन्न संगठनका कार्यकर्ताको व्यवस्थापन हुने कुरा पनि आउनुपर्छ भन्नेमा हाम्रो जोड । पार्टीको विधानमै ३ पटक संसदीय निर्वाचनमा भाग लिएकाले फेरि उम्मेद्वार बन्ने नपाउने व्यवस्थाको खाँचो छ ।

रामनाराण यादवः पर्यवेक्षक, रौतहट
महासमिति बैठकमा कांग्रेसले संविधान संशोधनको लागि ठोस रुपमा पहल गर्नेछ भनि विधानमै प्रतिबद्धता गर्नुपर्छ । संविधान संशोधन कांग्रेस बाहेकका अरुले गर्न पनि सक्दैनन् भन्ने कुरा मधेसी जनताले लिएका छन् । उनीहरुको अपेक्षालाई यस महासमिति बैठकले सम्बोधन गर्ने काम गर्नुपर्छ । कम्युनिष्ट र मधेशवादी दलबाट संविधान संशोधनको छनक पाउने अवस्था पनि छैन ।

दिनेश कोइरालाः महासमिति सदस्य, चितवन
महासमिति बैठकमा विधान पेश गर्न नेतृत्वबाट भएको बिलम्बले राम्रो सन्देश दिन सकेको छैन । उनीहरु व्यक्तिगत स्वार्थमा बाजाबाज गरिरहेको देखिएको छ । पार्टीमा त्याग गर्न सक्ने व्यक्तिको खाँचो छ ।

पार्टीलाई गतिशिल बनाउन युवाहरु नेतृत्वमा आउनुको विकलप छैन । महासमिति बैठकपछि पार्टीले गति लिन विभिन्न व्यक्तिलाई विविभन्न जिम्मेवारी दिनुपर्छ । महाधिवेशन भएको करिब ३ वर्षसम्म पनि पार्टीका विभिन्न विभागहरु नेतृत्वविहीन छन् ।

नैनसिंह महरः महासमिति सदस्य, डडेलधुरा  
यतिबेला जनतामा व्यप्त निराशा छ । सरकारका काम कारबाहीबाट उनीहरु आजित भएका छन् । महासमिति बैठकपछि कांग्रेसले जनमूखी कार्यक्रम लिएर जनताको घर दैलोमा पुग्नुपर्छ । जसबाट नेपाली जनताले फेरि पनि कांग्रेस बिना देशले न परिवर्तन पाउन सक्यो, न समृद्धि पाउन सक्छ भन्ने कुराको महसुस गर्नेछ । आगामी दिनमा आउने चुनावमा कांग्रेस जनताको पहिलो रोजाइ भन्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप