शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए’ डिभिजन लिगको तारोमा रेफ्री, के म्याच फिक्सिङ भएको हो ?

मङ्गलबार, ०३ पुस २०७५, २१ : १६
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौं । पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल ६६ प्रतिशत पूरा हुँदा लिगको समिकरण रोचक बन्दै गएको छ । लिगको उपाधि दौडसँगै रेफ्रीको निर्णयलाई लिएर आक्रोश पोख्ने क्रम पनि बढ्दै गएको छ । खेलमा हारको झोक र राम्रा खेलाडीले कार्ड पाएको रिस रेफ्रीमाथि पोख्ने क्रम बढ्दो छ । 

लिगमा रेफ्री र अफिसियलको विषयमा चर्को विरोध गर्नेमा शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङदी क्लब अगाडी देखिएको छ । लिगले नवौं चरण पार गर्दा मनाङ शतप्रतिशत नतिजा निकाल्ने एक्लो टोली हो । 

२७ अंकसहित शीर्ष स्थानमा रहेको मनाङ दोस्रो स्थानमा रहेको संकटाभन्दा तीन अंकले अगाडी छ । मनाङले मंगलबार नवौं खेलमा च्यासल युथ क्लबलाई ३–१ गोलले हराउँदै उपाधि होड बलियो बनाएको छ । 

तर मनाङ आफैं उपाधि जित्नेमा ढुक्क नभएको टोलीका प्रशिक्षक सुमन श्रेष्ठले बताए । ‘ मनाङलाई लिग जित्न नदिने हरेक षड्यन्त्र भइरहेको छ । लिगमा अनेक खाले सेटिङ मिलेमतो (फिक्सिङ) हुन्छ । रेफ्रीले मनाङका राम्रा खेलाडीलाई छानी–छानी कार्ड दिइरहेका छन् । मनाङले खेल्दा इन्जुरी समय समेत बढी थप्ने गरिएको छ । मैदानमा राम्रो खेलेर र मेहनेत गरेर मात्र हँुदो रहेनछ,’ सुमनले भने । 

आठौं चरणको खेलमा आर्मीलाई हराएपछि मैदानमा ११ खेलाडीले १२ खेलाडीसँग खेल्न गाह्रो हुने भन्दै रेफ्रीमाथि खनिएका सुमनले मंगलबार फेरी रेफ्रीले गलत निर्णय गरेको आरोप लगाए । 

च्यासलविरुद्ध मनाङका प्रभावशाली दुई अफ्रिकी खेलाडी ओलावाले अफिज र मोहम्मद आसिफलाई रेफ्रीले कार्ड दिएका थिए । त्यसअघिको खेलमा पनि यी खेलाडीले कार्ड पाएका कारण यी दुवै खेलाडीले अर्को खेल खेल्न पाउने छैनन् । त्यसैले मनाङको तारो रेफ्रीमा परेको हो । खेलाडीले कार्ड पाएपछि मनाङका अफिसियल र एन्फाका पदाधिकारीबीच मैदान बाहिर चर्को विवाद भएको थियो ।

जितेको मनाङ मात्र होइन । मनाङसँग पराजित भएको च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले समेत रेफ्रीको विषयमा चर्को विरोध गरेका छन् । 

‘फुटबल मैदानमा मैले लामो समय बिताएँ । रेफ्रीमाथि सँधै मेरो सम्मान रह्यो । तर यस लिगमा रेफ्रीको निर्णय चित्त बुझ्दो छैन । आज रेफ्रीले अफ साइड गोललाई समेत मान्यता दियो,’ शाक्यले भने । उनले रेफ्रीको यस्तो गलत निर्णयको विषयमा लिग कमिटिमा पत्र दिने पनि बताए । 

पहिलो पटक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासलले १३ अंक बनाएको छ । नौ खेल सकेको च्यासल तालिकाको सातौं स्थानमा छ । अखिल नेपालल फुटबल संघ (एन्फा) पहिलो पटक रेलिगेसन बिना (घटुवा नहुने) लिग गरेकोले पनि लिगप्रति दिन प्रतिदिन असन्तुष्टी बढेको छ । जित्दा मख्ख र हार्दा आक्रोश पोख्ने क्रममा लिगमा जारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप