शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१० भाई युवा महासमिति सदस्यहरूले देउवालाई बुझाए छुट्टै प्रस्ताव

मङ्गलबार, ०३ पुस २०७५, २१ : ४२
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौं । नेपाली कांग्रेसका १० भाई युवा महासमिति सदस्यहरूले महासमिति बैठकमा छलफलका लागि भन्दै ६ पृष्ठ लामो प्रस्ताव सभापति शेरबहादुर देउवासमक्ष पेस गरेका छन् । प्रस्तावमा उनीहरूले संघीय, प्रदेश, जिल्ला र क्षेत्रीय स्तरमा संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वराज्यमन्त्री दीपक खड्का, पूर्वसभासद् राजिवविक्रम शाह, नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, प्रदेश सांसद भरतबहादुर खड्का, महासमिति सदस्यहरू रमेशकुमार महत, सुभाष पोखरेल, नमराज गुरुङ, निराजनसिंह सिजापति, उमेशजंग रायमाझी र जापानस्थित जनसम्पर्क समितिका चिरञ्जीवी थापाले हस्ताक्षर गरी सो प्रस्ताव सभापति देउवासमक्ष पेस गरेका हुन् ।

सबै सातवटा प्रदेश र विदेशस्थित जनसम्पर्क समितिका १० जनाले हस्ताक्षर गरेको प्रस्तावमा पार्टी विधानको परिचालन र सञ्चालन प्रक्रिया ठिक ढंगले नभएको, संसदीय बोर्ड गठन र टिकट वितरण प्रक्रियामा भएको त्रुटिका विषयमा समीक्षा गर्न माग गरिएको छ।

उनीहरूले पार्टीको आन्तरिक चुनाव महंगो हुँदै गएको र भ्रातृ संस्थाको महाधिवेशन निर्धारित समयमा नभएकोमा सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । आरक्षण सुविधा एकपटक मात्र दिने व्यवस्था गर्न र पार्टीमा संकटकालिन अधिकार दुरुपयोग हुने सम्भावना रहेकाले त्यस विषयमा छलफल गर्न युवा नेताहरूले माग गरेका छन् ।

प्रस्तावमा केन्द्रीय कार्य समितिदेखि तलका सबै पदाधिकारी र सदस्य चयन निर्वाचन प्रणालीबाट गर्न, केन्द्रीय सदस्य, सांसद र सांसदको उम्मेदवार क्षेत्रीय प्रतिनिधि हुने प्रावधान हटाउन तथा गत वर्ष भएको स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनमा अन्य दलसँग गरेको गठबन्धनको समीक्षा गर्नुपर्ने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप