मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुर्काइएका बाह्र गिद्ध छाडिने

बुधबार, ०४ पुस २०७५, ०९ : १०
बुधबार, ०४ पुस २०७५

चितवन — चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महीना राखेर प्रकृतिमा छाडिने छ । 

कसरास्थित गिद्ध प्रजनन् केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत वर्ष कोरलिएका ६ हुर्र्काउलो बच्चा, चार भाले र दुई पोथीलाई पिठौली लगिएको हो । प्रजनन् केन्द्रमा हुर्किएका ती गिद्धलाई जालीभित्र राखिएको छ । ती गिद्ध र जाली बाहिर प्रकृतिका गिद्धलाई सँगसँगै सिनो खुवाएर घुलमिल गराएपछि पाँच÷छ महीनापछि प्रकृतिमा छाडिने खड्काले बताए । 

“प्रकृतिका गिद्धसँग घुलमिल गराएपछि रेडियोकलर जडान गरी छाडिनेछ,” उहाँले भन्नुभयो । प्रजनन् केन्द्रमा हुर्काइएका १८ गिद्धलाई सोही खोरमा राखेर प्रकृतिमा छाडिसकिएको उहाँले बताए । दुई वर्षअघिबाट हुर्काइएका गिद्ध प्रकृतिमा छाड्न शुरु गरिएको हो । हाल प्रजनन् केन्द्रमा ३९ गिद्ध छन् । यस वर्ष हालसम्म १३ गिद्धले अण्डा पारेर ओथारो बसिरहेको खड्काले बताए । गिद्धले अण्डा पारेको ६० देखि ६५ दिनमा बच्चा कोरल्ने गर्दछ । 

विश्वबाटै लोप हुन लागेको हुँदा गिद्धको संरक्षण गरिएको हो । यसको वंश विस्तारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा महत्वका साथ हेर्ने गरिन्छ । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । 

सरकारले सन् २०१६ देखि सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुईसँगै अन्य देशमा पनि संरक्षण थालिएको हो । मुख्य रूपमा पशु बिरामी पर्दा दुःखाइ कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप