केन्द्रीय संस्करण
अन्तरवार्ता

'नेपालमा धर्मका नाममा राजनीति गर्ने दोकान खुलेको छ'

explore access_timeपुस ५, २०७५ chat_bubble_outline0

प्रमुख प्रतिपक्ष दल काँग्रेस यतिबेला महासमिति बैठकको अन्तिम चरणमा छ । काठमाडौँमा मङ्सिर २८ गतेदेखि सुरु भएको बैठकमा करिब २ हजार काँग्रेस नेता कार्यकर्ता सहभागी छन् । उनीहरूले विभिन्न विषयबारे मुद्दा उठान गरेका छन् । 

यही क्रममा काँग्रेससमेतको संलग्नतामा देश धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको एक दशक हुनै लाग्दा काँग्रेसभित्रबाटै हिन्दु राष्ट्रको मुद्दा पनि उठ्न थालेको छ । काँग्रेसमा महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको महासमिति बैठकले यसबारे कस्तो धारणा बनाउँछ ? बैठकबाट काँग्रेसमा सुधारको सङ्केत देखिएला ? कार्यकर्ताले उठाएका विभिन्न आवाजको सुनुवाइ होला ? जस्ता विषयका सेरोफेरोमा केन्द्रीत रहेर काँग्रेसका युवा नेता गगनकुमार थापासँग रातोपाटीका लोकेन्द्र भट्टले गरेको कुराकानीको सम्पादित अंश :

महासमिति बैठक चलिरहँदा नेपाली काँग्रेसमा फेरि हिन्दु राज्यको माग सशक्त रूपमा उठेको छ । यसबारे पार्टीको आधिकारिक धारण के हो ?

यो कुरा बुझ्न तीन वटा कुराहरु हेर्नुपर्छ, नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधान, निर्वाचनको बेला जारी गरेको घोषणापत्र र अहिले महासमिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र प्रतिवेदन । यसमा पार्टीको धारण एउटै छ । त्यसबाट पनि काँग्रेसको धारणा प्रष्ट हुन्छ । 

त्यो धारणामा चित्त बुझेन भनेर पार्टीका केही साथीहरूले समूहिक रूपमा त्यसमा केही बदल्नुपर्छ भनेर प्रस्ताव ल्याउनुभएको छ । त्यो उहाँहरूले गर्न पाउनुहुन्छ । हाम्रो पार्टीभित्र आफ्ना विषयहरू र विमतिहरू राख्न पाइन्छ । संविधानमै केही कुरा बदल्नुपर्छ भन्ने कुरा पनि उठाउन पाइन्छ । हिजो पार्टीको विधानमा संवैधानिक राजतन्त्र भएको बेलामा यो बदल्नुपर्छ भनेर यसरी नै बहिर बसेर हस्ताक्षर गरेको सम्झन्छु । 

धर्मका सन्दर्भमा  नेपाली काँग्रेसको धारणा बुझने सन्दर्भमा ४ वटा कुरा महत्त्वपूर्ण छन् । पहिलो, कुन धर्म रोज्ने, त्यसको अभ्यास गर्ने नगर्ने भन्ने कुरा व्यक्तिको नितान्त निजी विषय हो । यसमा न राज्यले हस्तक्षेप गर्नुहुन्छ, न कुनै व्यक्तिले खलल पुर्याउनु नै हुन्छ । 

दोस्रो, व्यक्तिको यो अधिकारलाई राज्यले संरक्षण गर्नुपर्छ । यसलाई हामी धार्मिक स्वतन्त्रता भन्ने गर्छौं । हाम्रो सन्दर्भमा दुईवटा थप महत्त्वपूर्ण कुराहरु  छन् । ती कुराहरुमा, पहिलो, सनातनदेखि चल्दै  आएका धर्महरू बौद्ध, हिन्दु, किराँत र माटोसँग जोडिएका आदिवासीका प्राचीन प्राकृतिक धर्म हुन् । यसको सङ्गम भनेकै नेपालको परिचय हो । यसलाई हामी नेपालको परम्परा पनि भन्न सकौला ।  यो नेपालको परम्परा हो भने कुरामा नेपाली काँग्रेस गर्व गर्छ । यसको संरक्षण गर्नुपर्छ भन्ने कुरा ठान्दछ । यसमै टेकेर अल्पसङ्ख्यक समुदायको आफ्नै धर्म मान्न पाउने अधिकारको पनि संरक्षण गर्नुपर्छ भन्ने लाग्छ । 

नेपाली काँग्रेस प्रष्ट छः व्यक्तिको अधिकारको हामी सुरक्षा गर्छौं, कहीं कतै पनिखलल पुर्याउँदैनौं । हामी देशभित्र रहेका सबै धार्मिक अल्पसंख्यकहरुको अधिकारको पनि सुरक्षा गर्छौं र प्रायोजित ढंगले भइरहेको धर्मपरिवर्तनको खिलापमा उभिन्छौं र त्यसलाई बन्द गराउँछौं ।  धर्मको नाम राजनीति गराउने कुरालाई पनि बन्द गराउँछौँ, सनातानदेखि चलिएको धर्मको रक्षा गर्छौं र सबै धार्मिक अल्पसंख्यकको धार्मिक स्वतन्त्रताको पनि रक्षा गर्छौं भन्ने कुरालाई प्रष्ट गरेर जाँदै गर्दा साथीहरूले उठाउँदै गरेको कुरा पनि सम्बोधन हुन्छ ।

नेपालमा धर्मका नाममा राजनीति गर्ने एउटा दोकान छ । अर्को नेपालमा धार्मिक स्वतन्त्रताको अधिकारको दुरूपयोग गर्दै सनातन धर्म मान्नेहरुको उदारताको दुरुपयोग गर्दै धर्म परिवर्तनको दोकानले चलाइएको छ । नेपालमा यो दुईवटा दोकानलाई बन्द गराउनु पर्छ । यी दुईवटा दोकानलाई बन्द गराइएन भने त्यो नेपालमा द्वन्द्वको विषयको रुपमा रूपमा रहिरहन्छ । नेपाली काँग्रेसले यो दुईवटा दोकान बन्द गराउने कुरामा काम गर्नुपर्छ । 

धर्मनिरपेक्षबाट पछाडि हटेर हिन्दु राज्यबारे यो महासमिति बैठकबाटै धारण बनाएर जानुपर्छ भनेर पार्टीका केही नेताहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् । काँग्रेसले यसको सम्बोधन कसरी गर्छ त ?

मैले मेरो पार्टीका साथीहरूले धर्म परिवर्तनमा देखिएको लहरले यो विषय बेजोडले उठाइराख्नुभएको छ जस्तो लाग्छ । उनीहरू आफ्नो गाउँघर, घर आगनमा प्रायोजित ढंगले  धर्म परिवर्तनको अभियान चलाइरहेको देखिरहनुभएको छ र  त्यसबाट अत्यन्तै असुरक्षित भएको महसुस गरिरहेका छन् । म दाङ जाँदा पनि यो विषयले जनता चिन्तित भएको पाएँ । अर्को कुरा, सरकार समेतको संलग्नतामा पछिल्लो दिनमा एउटा निश्चित धर्मसँग जोडिएको विवादास्पद संस्थाको खुल्लमखुल्ला कार्यक्रम भयो । त्यसले एउटा खालको असुरक्षाको भावना ल्याएको छ । त्यसलाई केसँग लिएर जोडिएको छ भने नेपालको संविधानमा यस्तोे व्यवस्था गर्यो भने पो हाम्रो असुरक्षाको सम्बोधान हुन्छ कि भन्ने लागेको छ । मलाई लाग्छ, काँग्रेसले स्पष्टसँग भन्नुपर्छः राज्यको परिचय कुनै एउटा धर्मसँग मात्र जोडिएको हुँदैन । राज्यले सबै धर्मसँग समान व्यवहार गर्दछ । त्यो राष्ट्रको परिचय हुन्छ ।  त्यो परिचय माथि मैले भनेको  सनातनदेखि चलिएको धर्मसँग छ । त्यसैले नेपाली काँग्रेस प्रष्ट छः व्यक्तिको अधिकारको हामी सुरक्षा गर्छौं, कहीं कतै पनिखलल पुर्याउँदैनौं । हामी देशभित्र रहेका सबै धार्मिक अल्पसंख्यकहरुको अधिकारको पनि सुरक्षा गर्छौं र प्रायोजित ढंगले भइरहेको धर्मपरिवर्तनको खिलापमा उभिन्छौं र त्यसलाई बन्द गराउँछौं ।  धर्मको नाम राजनीति गराउने कुरालाई पनि बन्द गराउँछौँ, सनातानदेखि चलिएको धर्मको रक्षा गर्छौं र सबै धार्मिक अल्पसंख्यकको धार्मिक स्वतन्त्रताको पनि रक्षा गर्छौं भन्ने कुरालाई प्रष्ट गरेर जाँदै गर्दा साथीहरूले उठाउँदै गरेको कुरा पनि सम्बोधन हुन्छ । यस्तो संवेदनशील विषयमा उठेको आवाजलाई वेवास्ता गरेर, यसको भावलाई नबुझी तपाईंहरू छलफल नै नगर्नुहोस्, बहसै नगर्नुहोस् भनेर जाँदा पार्टीले त्यसलाई पारित त गर्न सक्छ तर तल तल यो विषय भुसको आगोझैँ सल्केर बस्छ । यसले कालान्तरमा समस्या ल्याउँछ । 

हिन्दु राज्यको कुरा कति साथीहरूले बीपी कोइरालासँग जोडेर भन्नुभएको छ । बीपी कोइरालाले कहिले पनि राज्य एउटा निश्चित धर्मसँग मात्र जोडिनुपर्छ भन्नेर भन्नुभएन । यो कुरा साथीहरूलाई बताउनुपर्यो । नेपाली काँग्रेसको परिचयसँग यो कुरा जोडिएको भन्ने आवाज पनि उठेको छ । हिन्दु राज्य नेपाली काँग्रेसको कहिल्यै परिचय थिएन र हुन सक्दैन पनि । यो पनि उनीहरूलाई बुझाउनु पर्यो । 

अर्को कुरा, संविधानमा धर्मनिरपेक्षता लेखिएको कारणले धर्मपरिवर्तन बढ्यो भन्ने छ । संविधानले त प्रष्टसँग धर्मपरिवर्तन गराउने कुरा अपराध हो भनेर लेखेको छ । संविधानमा यो लेखेर बढेको होइन, संविधानको पालन नभएर बढेको हो । र, साँच्चिकै यो भइरहेको छ, यसबाट भाग्नु भएन ।  यसरी गयो भने लाग्छ मलाई पार्टीको साथीहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ । यो त पार्टीको साथीको कुरा मात्र होइन, समाजप्रतिको दायित्व पनि छ हाम्रो । हामीले आगो लगाइदिएर मात्र हुँदैन नि । यतिबेला के कुरा गरेर फाइदा हुन्छ भनेर हेरेर मात्र हुन्छ र ? हाम्रा त सम्हाल्ने जिम्मेवारी हो । यो जिम्मेवारी पूरा गर्नुपर्छ ।

त्यसो भए राजनीतिक विधानमा लेखिएको धर्मनिरपेक्षता शब्द हटाउन तयार भएको हो काँग्रेस ?

यस विषयमा गहन छलफल भइरहेको छ । हटाउने नहटाउने कुरा महासमिति बैठकले नै फैसला गर्छ । राजनीतिक प्रस्तावमा के कुरा आयोभन्दा पनि नेपाली काँग्रेस धार्मिक स्वतन्त्रताका लागि सधैँ प्रतिबद्ध छ । यस म दाबीका साथ भन्न सक्छु ।

संविधानमा धर्मनिरपेक्षता लेखिएको कारणले धर्मपरिवर्तन बढ्यो भन्ने छ । संविधानले त प्रष्टसँग धर्मपरिवर्तन गराउने कुरा अपराध हो भनेर लेखेको छ । संविधानमा यो लेखेर बढेको होइन, संविधानको पालन नभएर बढेको हो ।

अहिले आएर काँग्रेस संविधानको खिलापमा उभिने सङ्केत गर्दैछ । संविधान बन्दा देशको नेतृत्व सम्हालेको पार्टीले यो कुरा त्यति बेला किन ख्याल गरेन ?

संविधानमा धर्मबारे उल्लेख भएको कुरालाई तपाईंले एक ढङ्गले पक्रेर मात्र हँुदैन । मैले पहिले नै संविधानमा लेखिएका ४ कुरा बताइसकेको छु । 

धर्म व्यक्तिको नितान्त निजी विषय हो । यसमा कसैले हस्तक्षेप गर्नु हुँदैन । आफ्नो धर्मको अभ्यास गर्न पाइन्छ । तर धर्म परिवर्तन गराउन पाइँदै पाइँदैन, यो अपराध हो । धार्मिक स्वतन्त्रता भएको देश हो । सबै अल्पसख्यकहरुको अधिकारको पनि रक्षा गर्नुपर्छ । सनातनदेखि चल्दै आएको धर्महरुको पनि संरक्षण गर्नुपर्छ । संविधानमा लेखिएका  यी चारवटै कुराहरुलाई विर्सनु हुन्न । तर, यी चारवटा कुराहरुलाई पढ्दै नपढ्ने, भन्दै नभन्ने अनि एउटा विषयलाई मात्र समातेर छलफल बहस गर्ने हो भने हामी सही ठाउँमा पुग्न सक्दैनौं । 

अमेरिकाको संविधानमा के छ ? अर्को देशको संविधानमा के छ ? संसारभरि धार्मिक स्वतन्त्रताको व्याख्या के छ ? भनेर हुँदैन । धार्मिक स्वतन्त्रताको परिभाषा नेपालमा अनुवाद गरेर अथवा नेपालको सन्दर्भमा भनेर खोज्नतिर लागियो भने डुबिन्छ । 

नेपालको सन्दर्भमा नेपालको संविधानले देखाएको बाटो के हो त ? हामीले पक्रने कुरा त्यो हो । कतिले यो व्याख्या संसारको सर्वव्यापी व्याख्यासँग मिल्दैन भन्छन् भने मान्नुस्, नेपालको संविधानले नयाँ व्याख्या गर्यो । हामीले बनाएको संविधान अर्को देशको समस्या हल गर्न व्याख्या गरिएको हो र ? हामीले त हाम्रो देशको अवस्थालाई हेरेर व्याख्या गरेको हो । हाम्रो परिभाषा अर्कोले पढ्छ कि पढ्दैन ? कसैले लागू गर्छ कि गर्दैन भन्ने सरोकारको विषय नै होइन । हामीले गरेको व्यवस्थालाई हामीले मान्नुपर्यो । मैले त्यो कमिटीमा बसेर काम गरेको छु ।  अत्यन्तै सचेततापूर्वक हामीले २०४८ सालको संविधानमा कुनै अनुचित दबाब र प्रभावबाट धर्म परिवर्तन गराउन पाइँदैन भनी लेखिएको ठाउँमा हामीले २०७२ को संविधानमा धर्म परिवर्तन गराउने कुरै गर्न पाइँदैन भनेर लेखेका छौँ  । किनकि त्यो हामीलाई महसुस भएर लेखेका थियाँै । 

नेपालमा धार्मिक स्वतन्त्रताको सदुपयोग गर्नुपर्छ भन्ने पनि हो । व्यक्तिलाई जुनसुकै धर्ममा अभ्यास गर्नु कसैले रोकछेक गर्नु पनि हुँदैन । त्यो व्यक्तिको अधिकारको कुरा हो । यो कुरालाई अत्यन्तै धार्मिक सहिष्णुता भएको नेपालको समाजले पनि मानेको छ । 

तर पछिल्लो समयमा यसको आवरणमा तीव्र गतिमा धर्म परिवर्तनको काम भइरहेको छ, जसलाई रोक्न जरुरी पनि छ । आजको सन्दर्भमा संविधानले अन्त्यन्तै सन्तुलित ढंगले लेखिएकोकुरा नै यस विषयमा सबैलाई मार्गनिर्देशक बन्नुपर्छ । 

यसलाई एकांगी ढंगले मात्र नहेरी, सबै कुराहरुलाई कै ठाउँमा राखेर हेर्ने हो भने मलाई लाग्छ, हाम्रो मौलिक धर्मसंस्कृति अप्ठ्यारोमा पर्न लाग्यो, प्रायोजित ढंगले त्यसलाई अतिक्रमण हुन थाल्यो भन्ने खालको भावलाई पनि बुझ्नुपर्छ । त्यसलाई काँग्रेसले जोगाउँछ भन्ने सन्देश दिन सकियो भने साथीहरुको चित्त बुझ्छ भन्ने मलाई लाग्छ । 

पार्टीका महामन्त्रीबाटै संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न काँग्रेस सडकमा समेत उत्रिने भन्ने धारणा आएको छ । यसमा तपाईं के भन्नु हुन्छ ?

मैले पार्टीको कुरा मात्र व्याख्या गर्न सक्छु । नेताले भनेको व्यक्तिगत कुराको व्याख्या गर्नु मिल्दैन । मैले उहाँले बनाएका दस्तावेज हेर्ने हो । हामीले पार्टीले अहिले जुन दस्तावेज बनाएको छ, त्यो नै पार्टीको आधिकारक धारणा हो ।  त्यसलाई बदल्ने अधिकार महासमितिले राख्छ । त्यसैले त महासमितिमा ल्याइएको हो । महासमितिका साथीले राख्नुभएको रायको आधारमा छलफल गरेर सबैको चित्त बुझ्ने तरिकाले एउटा ठाउँमा हामीले उभिने प्रयास गर्ने हो । यसमा सबैको जिम्मेवारी छ । त्यसमा पनि पदाधिकारीको त बढी नै जिम्मेवारी छ । उहाँहरूले केही बोल्दिएर मात्र हुँदैन । सबैलाई सम्हाल्नु पर्यो नि ! कार्यकर्ता सम्हाल्नुपर्यो, पार्टी सम्हाल्नुपर्यो, देश सम्हाल्नुपर्यो । यी सबै सम्हाल्ने काँग्रेसको काम होइन र ?

बैठकमा सबैथरीका साथी हुनुहुन्छ । कोही हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने पनि हुनुहुन्छ । बौद्ध र मुस्लिम धर्म मान्ने साथीहरूले त्यसको विपक्षमा बोल्नु भएको छ । यो सबै कुरालाई हेरेर सम्हाल्ने काम त नेतृत्वको हो नि ! भनेर बोल्दिएर मात्रै हुन्छ ।

काँग्रेसमा सङ्गठनका अवयवहरू चुस्त छैनन् । किनभने हामी हिजोकै संरचनामा छौँ । यो महासमितिले ती संरचना बनाउने बाटो खोल्छ । महासमिति लगत्तै हामी अन्तरिम व्यवस्था गर्दैछौँ । भूगोल फेरिएका सबै गाउँपालिका, क्षेत्रलगायत सात प्रदेशहरुको चुनाव गर्छौं ।

मलाई लाग्छ, आजको दिनमा सबभन्दा ठूलो कुरा हामी धार्मिक स्वतन्त्रताको रक्षा गर्छौं, कोही पनि धार्मिक अल्पसंख्यकले नेपाली काँग्रेसको विचारबाट भोलि मेरो धार्मिक अभ्यास गर्ने कुरामा अप्ठ्यारो पर्छ भनेर आत्तिनै पर्दैन, काँग्रेसले त्यसको रक्षा गर्छ, । र आफ्नो हाम्रो पहिचान वा परिचय, जसलाई हामीले सनातन धर्म भनेर भन्यौैं, नेपालका सनतान बुद्ध, हिन्दू किरात लगायतका मौलिक धर्महरुसँग जोडिएर त्यसको अभ्यास गरिरहँदा भोलि काँग्रेसले शासन गर्दा हाम्रो मौलिक धर्म संस्कृति अप्ठ्यारोमा पो पर्ला कि भनेर चिताउनै पर्दैन । यसलाई जोगाउने कुरामा कांग्रेुस दत्तचित्त छ । यो हो काँग्रेसको पोजिसन । पार्टीको यो पोजिसनलाई आम जनताका माझ लिएर जाने काम हामीले गर्नुपर्छ ।

प्रसङ्ग बदलौँ, अहिले काँग्रेसको महासमिति बैठक चलिरहेको छ । यो बैठकपछि काँग्रेस जनताको माझमा जाँदा कस्ता कस्ता नीति, कार्यक्रम र योजना लिएर जान्छ ?

महासमितिको बैठक पार्र्टीभित्रको नियमित प्रक्रिया हो । त्यसैले यसलाई बैठक भनिएको हो । त्यसकारण यो बैठकले सबै काम गर्ने या सन्देश दिन सम्भव पनि छैन । तर यो बेलामा काँग्रेसको भूमिका के हो ? प्रष्ट हुनु भने जरुरी छ । निर्वाचन परिणामले हामीलाई प्रतिपक्षको भूमिका दिएको हो । प्रतिपक्षको परिचय हामीले संसदबाट प्राप्त गरेका हौँ । यसकारण जनताले प्रतिपक्षको भूमिका संसदमा खोज्छन् । संसदको भूमिका निर्वाह गर्न महासमिति त चाहिँदैन । जस्तो गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ । त्यसकारण यो महासमितिपछि संसदमा हामी उत्साह, आत्मविश्वास र प्रभावकारी ढङ्गको भूमिका निर्वाह गर्छौं भनेर यस महासमिति बैठकबाट निस्कने हो । संसदको भूमिका प्रभावकारी बनाउनको लागि अर्को महत्त्वपूर्ण पक्ष छ । संसदमा सङ्ख्याको हिसाबले प्रतिपक्ष जहिले पनि थोरै हुन्छ । थोरै भएकाले प्रतिपक्ष हुने हो । धेरै भए सत्तापक्ष भइहाल्थ्यो । संख्याको हिसाबले त्यो थोरै हैसियतलाई जहिले पनि परिपूर्ण गर्ने काम सडकले गर्छ । प्रतिपक्षले आवाज उठ्छ । सरकारले संख्याको आधारमा त्यसलाई दबाउन खोज्छ । प्रतिपक्षले सडकको ताकत लिएर आएर सरकारमाथि दबाब सिर्जना गर्छ । 

सडकको तागत काँग्रेसले किन प्राप्त गर्न सकेको छैन ? 

काँग्रेसमा सङ्गठनका अवयवहरू चुस्त छैनन् । किनभने हामी हिजोकै संरचनामा छौँ । यो महासमितिले ती संरचना बनाउने बाटो खोल्छ । महासमिति लगत्तै हामी अन्तरिम व्यवस्था गर्दैछौँ । भूगोल फेरिएका सबै गाउँपालिका, क्षेत्रलगायत सात प्रदेशहरुको चुनाव गर्छौं । अर्थात् हामीसँग सातवटै प्रदेशको र सबै क्षेत्रमा निर्वाचित भएको काँग्रेसको कमिटि हुन्छ । के अपेक्षा गर्छु भने त्यस्तो कमिटी क्रियाशील भएर जनताका मुद्दा उठाइन्छ र सँगसँगै सडकको शक्ति उठाएर सदनसँग जोड्ने काम काँग्रेसले गर्छ । यसको परिणाममा सदन र सातवटै प्रदेशका संसदमा काँग्रेसको प्रभावकारी उपस्थिति र भूमिका देखिन्छ । अर्को महत्त्वप्रर्ण पक्ष पनि छ– हामी २ सयवटा स्थानीय सरकारमा पनि छौँ । जहाँ काँग्रेस त्यस्ता सरकारमा छ, त्यहाँ राम्रो काम भइरहेको छ । जनताले प्रतिपक्ष सशक्त हुनुपर्छ भन्ने अपेक्षा गरेका छन् । त्यसका लागि महासमितिले बाटो खोल्छ । तर गर्ने नगर्ने भन्ने कुरा हाम्रो काम र क्षमतामा निर्भर गर्छ । 

महासमिति बैठकमा सहभागी हुन काठमाडौँ आएका धेरै सदस्यको गुनासो काँग्रेसमा लामो समय त्याग र बलिदान दिएकाको भन्दा नातावाद, कृपावाद, डनवाद र धनवाद हाबी भयो भन्ने गुनासो गरेका छन् । यो बैठकले त्यसको निराकरण गर्ला कि नगर्ला ?

यो बैठकको प्रारम्भमा दुई जना नेताहरूलाई सँगै हात जोडेर उठाउने काम भयो । तल बसेका साथीहरूले ताली बजाउनुभयो । त्यो चाहाना र भावलाई म सम्मान गर्छु । प्रत्येक सम्मेलनमा यस्तै हुँदै पनि आएको छ । नेता उठ्ने र हात उठाउने । नेताहरूले यसो गर्दा हामी खुसी हुन्छौँ । नेताहरूको बीचमा एकता होस् भन्ने कार्यकर्ताको चाहाना हुनु स्वभाविक नै हो । तर मलाई हाम्रो यो एप्रोच नै गलत छ भन्ने लाग्छ । महासमिति सकिने बेलामा पार्टीका दुईटा नेता मात्रै होइन, त्यहाँ माथि मञ्चमा बसेका, उपल्लो तहमा बसेका सबैलाई महासमितिले पारित गरेको विधानलाई अक्षरस पालना गर्छौं भनेर कसम ख्वाउनु पर्यो र त्यसको लागि ताली बजाउनु प्रयो । विधानलाई अक्षरशः पालना गर्छौ भनेर हामी महासमितिबाट निस्केर गर्यौं भने सक्ने भने त्यसले हामीमा पद्धति बसाउँछ । जब पद्धति बस्छ, पद्धतिभित्र नेताहरूले न्याय गर्छन्, विवेक पुर्याउँछन् भन्ने कुराको अपेक्षा गर्नु वाञ्छनीय हुन्छ । तर पद्धति नै बसेन र नेताहरू मिल्नुपर्छ मात्रै भनियो भने त्यो दीगो हुँदैन, लोग्ने स्वास्नीमा त झगडा हुन्छ भने आइतबार मिलेको नेताले सोमबार झगडा गर्न सक्छन् । 

त्यसकारण पद्धति बसाल्ने कुरामा हामी चुक्नुहुँदैन भन्ने मेरो जोड हो । उदाहरणका लागि, काँग्रेसको टिकट बाड्ने कुरा छ । हाम्रो विधानले टिकट वितरण गर्ने जिम्मा संसदीय समितिलाई दिएको छ । तर हामीले केन्द्रीय समितिबाट वितरण गर्यौँ । विधान नै उल्लङ्घन गरेर हामीले निर्णय गर्यौँ । दुईवटा नेता मिलेपछि हुन्छ भनेर हामीले गल्ती गर्यौं । विधानले निर्धारण गरेको पद्दतिबाट जानुपर्छ भनेर हामीले अडान राखेको भए नेपाली काँग्रेसभित्र डन,धन जस्ता समस्याहरु आउने थिएन ।

काँग्रेसले निश्चित समयमा, कतिपय नेतृत्वले आर्जन गरेको आचरण र विचारमा यति धेरै ओज हुन्छ, त्यसका सामु, खासगरी संघर्षको बेला, सिद्धान्त र पद्धतिहरू गौण हुन्छन् । बीपी कोइराला र गणेशमानजीहरू सङ्घर्षले बनेको अग्लो व्यक्तित्व हो । त्यसबेला सङ्ख्या पनि थोरै थियो । अहिले भीमकाय सङ्गठन बनेको छ । लाखौँ कार्यकर्ता छन् । यस्तो बेलामा पद्धति नबसाल्ने हो भने कसैले पनि सङ्गठन चलाउन सक्दैन । 
उदाहरण दिन्छmु एउटा निर्वाचन क्षेत्रको चुनावका लागि १० जना आकांक्षी उम्मेदवार हुन्छन् । त्यसबाट एकजना छान्नुपर्ने हुन्छ । त्यसो गर्दा बाँकी नौ जनालाई ममाथि अन्याय भयो भन्ने लाग्छ लाग्छ । नौ जनामध्ये चार जनाले अन्यायभए पनि म चुनाव प्रचारमा लाग्छु भन्छ । बाँकी चारजना म अन्यायका विरुद्ध लड्छु भन्छ । अन्याय हुने सब्जेक्टिभ कुरा हो । तर पद्धति बसाल्यो भने ममाथि अन्याय भए पनि पद्धतिलाई मान्नुपर्छ भन्ने ठाउँमा मान्छे आइपुग्छ । काँग्रेसमा पद्धति बसाल्ने कुरामा हामीले सोचेकै छैनौँ । अहिले पनि नेता मिल्नुपर्छ भनेर ‘जप’गरेर मात्रै बसेका छौँ । मिलाउने तलदेखि माथिसम्म नेताहरु नै हो, तर त्यो पद्दतिबाट हो, त्यसो गरेमा विसंगति तह लाग्नेछ । 

पार्टी नेताहरूलाई विधानको पालना गर्नुपर्छ भनेर दबाब दिन नसक्नु त तपाईंहरूको पनि कमजोरी हो नि ? 

निर्वाचनभन्दा अगाडि व्यक्तिगत रूपमा हामीले विधान पालना गर्नुपर्छ भन्ने कुरा उठाएका हौँ । कहिले कसले र कहिले कसले आआफ्नो अनुकूलतामा त्यो कुरा उठाएका हौँ । चुनाव सकिएपछि हामीलाई पनि एउटा बोध भयो । हाम्रो यो तरिका पनि ठीक भएन । आफ्नो इच्छा र मौकाअनुसार विधानको कुरा उठाएर भएन भन्ने लाग्यो । पद्धति बसाल्ने कुरामा सबैजना एक ठाउँमा आएर सङ्घर्ष गरौँ भनेर भनेका हौँ । पहिला हामीले विधान अनुकुल छैन भनेर संसदीय समिति, कार्यसम्पादन समिति भङ्ग गर्न लगायौँ । तर केही भएन, त्यसमा हाम्रो पनि गल्ती भयो । तर अब महासमितिपछि लगातार हाम्रो प्रयास सानोभन्दा सानो कुरामा पनि पद्धति बसाल्नमा हुनेछ । 

उदाहरणकै लागि संसदमा सभामुखसँग पहिला नै हामीले सल्लाह गरेका हुन्छौँ । आज हामी उठ्छौ, टेबल ठोक्छौ भनेर । सभामुखले किन उठ्ने भनेर सोध्नुहुन्छ, तपाईहरूमध्ये को बोल्ने भन्नुहुन्छ । फलानो बोल्ने हो भन्नुहुन्छ । त्यसमा हामी यो यो गर्छौं भनेर मिलाइसकेका हुन्छौँ । तर बैठक सुरु हुन्छ, हामी ढयाङढ्याङ गर्न थाल्छौँ । सभामुख केही थाहा नपाएझैँ गर्नुहुन्छ । किन उठ्नुभएको भन्नुहुन्छ ? त्यसलाई हामी पर्लियामेन्ट्री प्रोसिडर भन्छौँ । त्यो फलो गरेन भने अराजकता हुन्छ । थाहा पाएर पनि थाहा नपाएजस्तो गर्नुपर्छ ।

किनभने त्यो विधिले मानिसलाई बाँध्छ । विधिलाई निरन्तर फलो गरेपछि बल्ल पद्धति बस्छ । पार्टीमा पनि त्यही हो । पद्धति बसाल्ने कुरा सकसपूर्ण छ । 

संस्थापन पक्षले सहयोग नै भएन, पार्टी नेता नै नेतृत्वमाथि प्रहार गर्न लागेको छ, मैले मनोनयन गरेका नै ममाथि खनिए भन्ने गुनासो आइरहेको छ नि ? के तपाईंहरूले सभापतिलाई असहयोग गरेको हो ?

यसमा धेरै कुरा भन्ने होइन । मनोनयन गर्ने मान्छेलाई जसले गरेको छ, उसलाई हटाउने अधिकार पनि हुन्छ । यस्तो कुरामा कलम ल्याउने चिठी लेख्ने तपाईंलाई आजबाट बिदा गरेँ भन्ने हो । यो धेरै गफ गर्ने कुरा होइन भन्ने मलाई लाग्छ । यदि म भएको भए भनेर बस्दैनथिएँ । बरु पदमुक्त गरिदिन्थे । दोस्रो कुरा म आफै काँग्रेसको मनोनित केन्द्रीय सदस्य हुँ । मेरो लोयल्टी मलाई मनोनित गर्ने मान्छेप्रति होइन, सभापति एउटा इन्टिच्युसन हो । जिम्मेवारी भनेको केन्द्रीय सदस्यको हो । पार्टीको विधानले पनि यस्तो केन्द्रीय सदस्यको एउटा भूमिका अर्को खाले केन्द्रीय सदस्यको अर्को भुमिका भन्दैन । अर्को कुरा पार्टी सभापतिज्यू आफै पनि हिजो २, २ पटक मनोनित भएर आउनुभएको हो । त्यतिबेला उहाँ गिरिजाप्रसाद कोइराला वा सुशील कोइरालाले बकस दिएर हैन कि लडेर उहाँले प्राप्त गरेको मतलाई सम्मान गरिएको हो भन्ने कुरा पक्कै सम्झनुभएको होला । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha