बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

साकेला : सामूहिक पहिचान जोडिएको चाड

शनिबार, ०७ पुस २०७५, १० : ३४
शनिबार, ०७ पुस २०७५

हिजोआज पहिचानको कुरा धेरै सुन्न पाइन्छन् । पहिचानकै कुरा गर्ने हो भने साकेला ठोस पहिचानको आधार हो । यसले सबै किरात राईलाई पहिचानमात्र नभएर राजनीतिक तहमा समेत एकताबद्ध गरेर राखेको छ । त्यसो हुँदा यसले राजनीतिक रूपमा पनि एउटा राष्ट्रियता प्रदान गर्छ । राष्ट्रियता र राष्ट्र हुनुको अर्थबोध गराउँछ । 

हिजो हिन्दु अधिराज्य हुँदा ‘दसैं मनाउनेहरू एक हौं’ भनेर चाडका माध्यमबाट मानिसलाई राजनीतिकमात्रै होइन, राष्ट्रियताका रूपमा समेत एकठाउँमा ल्याउने कोसिस गरिएको थियो । भलै त्यो प्रयास लामो समय टिकेन । उतिबेला जबर्जस्ती नक्कली राष्ट्रियता निर्माण गर्न खोजिँदा पनि किरात राईहरूले आफ्नै ढंगले साकेला मनाइराखेका थिए । केवल एउटा राजनीतिक उचाइमा अर्थ प्रदान गर्न र राष्ट्रियताको तहमा बुझ्न अनि व्याख्या गर्न नपाइएको मात्रै हो ।

राष्ट्रियता भनेको किरात राईले बोल्ने भाषा, उसले मनाउँदै आएको चाडबाडबाट आउने हो । भन्नेहरूले पहिचान बग्दो हुन्छ, यो वा त्यो हुन्छ भन्छन् । भन्नेहरूले पहिचान शब्दमा चिप्लेर लडिन्छ पनि भन्दै आएका छन् । ‘पहिचान दुईखालका हुन्छन् । चिप्लो र ठोस,’ मानवशास्त्री डा. डम्बर चेम्जोङले भने, ‘जहाँ तपाईं दह्रोसँग समातेर बस्न सक्नुहुन्छ । उभिन सक्नुहुन्छ । जहाँ तपाईंले आफ्नो जिन्दगीको सार्थकता देख्नुहुन्छ । अर्थबोध गर्न सक्नुहुन्छ । त्यस्तो पहिचानको ठोस आधार साकेलाजस्ता ऐतिहासिक चाडबाडमा भेटिइन्छन् ।’

‘इतिहास, भूमि, भूअधिराज्यत्मकतामा पाइने पहिचान चिप्लेर लडिने पहिचान होइन,’ मानवशास्त्री डा. चेम्जोङको बुझाइ छ, ‘चिप्लोखालको पहिचान भनेको केही कुरा सस्तोमा पाइने भयो भने नेवारी बोल्न तयार हुने, जागिर थपिने भयो भने अंग्रेजीसमेत बोलिहाल्ने र भोट माग्न तामाङ समुदायमा पुग्दा तामाङ भाषा सिकिहाल्नु भनेको क्षणिक स्वार्थपूर्तिका लागि छिनछिनमा आफ्नो रङ फेर्ने प्रवृत्तिमात्रै हो । त्यस्तो पहिचानको अर्थ हुँदैन ।’ 

जहाँसम्म साकेलाको कुरा छ । यस चाडमा ‘म’ भन्ने सम्बन्ध हु“दैन । ‘हामी’ भन्ने सामूहिक पहिचान जोडिएको हुन्छ । चिप्लोखाले पहिचानमा ‘म’ भन्ने गरिन्छ । ‘हाम्रो समाजमा चिप्लो पहिचानको व्याख्या गर्नेहरू नभएका होइनन् । त्यस्तोखालको पहिचानले दीर्घकालीन राजनीतिक अर्थ प्रदान गर्दैन । सामूहिक र सांस्कृतिक अर्थ प्रदान गर्दैन,’ उनको तर्क छ, ‘हामी ‘को’ र ‘के’ हौं भन्ने परिभाषा गर्दैन ।

‘म’ भन्नेमात्रै परिभाषा प्रदान गर्छ । साकेलामा हेर्नुभयो भने सामूहिक पहिचान हुन्छ । दीर्घकालीन र राजनीतिक पहिचान हुन्छ । सामाजिक र सांस्कृतिक सम्पूर्णताको अर्थबोध हुन्छ ।’

यसबाहेक मानिस र प्रकृतिबीचमा तादात्म्यता छ भन्ने साकेलाले प्रस्ट पार्छ । प्रकृतिलाई नष्ट गर्न हुन्न, उसलाई रिस उठाउन हुन्न, यसको सधैं संरक्षण गर्नुपर्छ भन्ने मान्यता साकेला मनाउनेसँग हुन्छ ।

कार्लमाक्सले ‘इकोनोमिक एन्ड फिलासफिक म्यानुस्क्रिप्ट’ नामक किताबमा लेखेका छन्, ‘मानिस आफू जैविक तर उसले प्रकृतिलाई अजैविक रूपमा बुझ्छ । त्यसैले मानिस आफू सधैं स्वस्थ, सुखी र खुसी रहन प्रकृतिलाई पनि खुसी राखिरहन चाहन्छ । प्रकृतिसँगको तादात्म्य सम्बन्धलाई निरन्तर रूपमा अगाडि बढाउन चाहन्छ । त्यसैले उनीहरूले प्रकृतिको पूजा गरिरहन्छन् ।’ 

माक्र्सले भनेजस्तै नेपालका आदिवासीको जीवनपरम्परालाई हेर्दा उनीहरूले प्रकृतिलाई आफ्नै वैयक्तिक अथवा सामाजिक शरीरका रूपमा हेरेका छन् । बुझेका छन् । तपाईं बिरामी हुनुभयो भने नछुङ (किरात बिजुवा) ले तपाईंको शरीरभित्र होइन, समस्या प्रकृतिमा खोज्छ । बिजुवाले भन्छ, ‘फलानो खोल्सा तरेको थिइस् ? तँलाई त फलानाको छायाँ पो लागेछ ।’ बिजुवाले त्यसो भन्नुको अर्थ हो– मानवशरीर आधा आफू हो भने आधा प्रकृति नै हो । तसर्थ, मानवशरीरमा केही गडबडी भयो भने मानिस प्रकृतितिर फर्कन्छ । 

फेरि माक्र्सले यसो भनेका छन् भनेर हामीले साकेला मनाउने त होइन । माक्र्स जन्मनुअघिदेखि नै हामीले साकेला मनाउँदै आएका छौं । खालि साकेलाजस्ता चाडबाडमा ‘लजिक’ छ भन्न खोजिएको हो ।

किरात राईहरू उँभौली (वैशाखे पूर्णिमा) र उँधौली (मंसिरे पूर्णिमा) मा एकठाउँमा जम्मा हुन्छन् । यसको माध्यमबाट साकेला मनाउनेले एउटै दलविशेषलाई भोट दिऊँ भन्न खोजेको त होइन । तर, एकठाउँमा जम्मा हुनु भनेको पनि आफैंमा एउटा राजनीतिक प्राप्ति हो ।

पछिल्लो समय साकेलामा ‘सोई ढोले सोई स्वायत्त राज्य खोई’ जस्ता नारा घन्किन थालेका हुन् । यो हामी ‘हामी’ हुनुको अर्थबोध, त्यो भइरहन पाउने अधिकारको कागजी होइन, व्यावहारिक सुनिश्चितता खोजेको हो । उनीहरूको सामाजिक र सांस्कृतिक, ऐतिहासिक, भाषिक अवस्था र राजनीतिक उचाइलाई कसरी सर्वस्वीकार्य बनाउने भन्न खोजेको हो । त्यसैले, साकेलाले सर्वोच्च राजनीतिक अर्थबोध गराउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप