शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार युवराज घिमिरेको जीवन : पत्रकारले दोहोरो मान्यता राख्न पाइँदैन

शनिबार, ०७ पुस २०७५, ११ : ३८
शनिबार, ०७ पुस २०७५

‘मेडिकल साइन्स’ पढ्न भारत पुगेका युवराज घिमिरे पत्रकारितामा डोरिए । वरिष्ठ पत्रकार घिमिरेले इन्डिया टुडेमा काम गरे । लन्डन बसेर दुई वर्ष बीबीसीमा आफ्नो कौशल देखाए । स्वदेश फर्केर कान्तिपुर दैनिकमा सम्पादकको भूमिका निर्वाह गरे । ३५ वर्षदेखि ‘फुलटाइम जर्नालिजम’ गर्दै आएका वरिष्ठ पत्रकार युवराज घिमिरेसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
भन्दा अलि अप्ठ्यारो लाग्ला । परम्परागत परिवारमा हुर्केको हुनाले यो वा त्यो खाना भनेर छान्ने मौका पाइएन । १३–१४ वर्षको उमेरमा काठमाडौं आएँ । काठमाडौंमा पनि त्यस्तै अवस्था थियो । अध्ययनका लागि भारत पुगें । संघर्षको सुरुताका कहिलेकाहीं त खाना खाने समयसम्म हुँदैनथ्यो । कतिपय अवस्थामा पैसा पनि हुँदैनथ्यो । खानाबारे मेरी आमाले भन्नुहुन्थ्यो, ‘मेरो छोरोलाई कुन खानेकुरा मन पर्छ, मलाई कहिल्यै थाहा भएन ।’ 

हिजोआज व्यवस्थित छु । घर पुग्दा खाना खान पाउँछु । जुनसुकै अवस्थामा जे पनि खान्छु । सबै खानेकुरा उस्तै लाग्छन् । त्यतिबेला बाहुनको घरमा कुखुराको मासु पाक्ने घर हाम्रोमात्रै थियो । 

मैले धेरै वर्ष भारतमा काम गरें । मेरा साथीहरू खानेकुराबारे जानकार थिए । म पनि उनीहरूको पछि लागेर रेष्टुरेन्ट पुग्थें । तर, मलाई खानेकुराबारे त्यति थाहा हुँदैनथ्यो । त्यसो त प्रत्येक रेष्टुरेन्टको मेनु फरक–फरक हुन्छन् । साथीहरूसँग पछि लागेर रेष्टुरेन्ट जाँदा मलाई समय बिताउने माध्यम बन्थ्यो । उनीहरूले इच्छाएको खानेकुरामै चित्त बुझाउँथें । 

बाल्यकालमा तरकारी काट्न आमालाई सघाएँ । एक्लै बस्दा आफूले खान सक्नेसम्मको खाना पकाएँ । बालबच्चा जन्मेपछि अम्लेटसम्म बनाएँ । कहिलेकाहीं खाना पनि बनाएँ । मैले बनाएको खाना भनेर सम्झनलायकचाहिँ छैन । 

मेरो पोसाक
म पोसाकको सोखिन होइन । लगाउने सोख कहिल्यै भएन । तर, हिजोआज तैंले राम्रो कपडा लगाउन थालिस् नि भन्नेहरू पनि छन् । त्यसको पनि कारण छ । भारतमा पढ्दाका समकक्षी, ‘जुनियर’ साथीहरूले माया गरेर कपडा ल्याइदिन्छन् । त्यो कपडा राम्रै हुँदोरहेछ । त्यो कपडा लगाएपछि हिरोजस्तो देखिँदोरहेछु । 

विशेषतः सर्ट–पाइन्ट लगाउँछु । जिन्स पाइन्ट पनि लगाएँ । म विद्यालय पढ्दा आमाले मेरो छोरोलाई रातो रङको पोसाकले सुहाउँछ भन्नुहुन्थ्यो । मेरो गाडीमा दुई–तीनवटा कपडा छन् । पाँच–छ महिना भयो सिलाउने योजना बनाएको । तर, सिलाउन जान भ्याएको छैन । म ‘रेडिमेड’ पोसाक पनि लगाउँछु । कपडा किनेर सिलाउने पनि गर्छु । कपडाको ब्रान्डबारे त्यति जान्दिनँ । 

मेरो फिटनेस
बिहान–बिहान आधा घन्टाजस्तो योगा गर्छु । समय पाएको बेला हिँड्छु । पहाड चढ्न आनन्द लाग्छ । म धेरै खानेमा पर्दिनँ ।

मेरो अध्ययन
हिजोआज मनीषा कोइरालाको ‘हिल’ पढिरहेको छु । अर्को ‘फ्युर पोलिटिक्स’ र ‘फ्युर डेमोक्रेसी’ का केही पेज पल्टाएको छु । मलाई ‘ट्राभलर बुक’, ‘एकेडेमिक जर्नल’, राजनीति र समाजसँग सम्बन्धित किताब मन जाँगर चल्छ । नेपाली साहित्य पनि रुचिपूर्वक पढ्छु । माधवप्रसाद घिमिरेको ‘पृथ्वीनारायण शाह’ नामक किताबसमेत पढिरहेको छु । 

माधवप्रसाद घिमिरे, डाइमन्डशमशेर, एसपी आशा, सिद्धिचरण श्रेष्ठ, लेखनाथ पौड्याल, बालकृष्ण समको लेखनकला लोभलाग्दो लाग्छ । यसैगरी, नेल्सन मण्डेला, महात्मा गान्धी र मदरटेरेसाको अटोबायोग्राफी मन पर्छ । 

नेपालमा जो–जसको जे–जति जीवनी आत्मवृत्तान्त प्रकाशित छन्, उनीहरूले आफूलाई नाजायज तरिकाले हिरो बनाएको पाएको छु । यसबारे मैले टिप्पणी गर्दै आएको छु । यसबारे एक दृष्टान्त पेस गर्छु, ‘पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भयो । उहाँमा ज्ञानको व्यापकता थियो । तर, जोकोहीसँग सेयर गर्न चाहनुहुँदैनथ्यो । उहाँलाई धेरैले किताब लेख्न अनुरोध गरे । मान्नुभएन । म झुटो लेख्न चाहन्न । मेरो मर्यादाले गर्दा सबै सत्य लेख्न पनि सक्दिनँ ।’ सत्य लेख्न सकिँदैन भने लेख्नुको औचित्य रहँदैन भन्ने गिरीको मान्यतामा दम छ । 

म पट्नामा पढेको हुँ । त्यहींबाट ‘पार्टटाइम जब’ थालें । हामी रहरभन्दा बाध्यताले पढ्छौं । मसँग काम गर्ने साथीहरू अंग्रेजी पृष्ठभूमिबाट आएका थिए । म गाउँको सरकारी विद्यालयमा पढेको विद्यार्थी । कामको सिलसिलमा दिल्ली सरुवा भएपछि मैले समेट्नुुपर्ने विषयवस्तु व्यापक भए । त्यसो भएपछि पढ्नुपर्ने भयो । दिल्लीमा दरियागन्ज भन्ने ठाउँ छ । त्यहाँ आइतबार दुर्लभ किताब दुई, पाँच, दस रुपैयाँमा किन्न पाइन्थ्यो । मेरो संकलनमा रहेका धेरैजसो किताब त्यहाँका छन् । 
 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । मलाई पेसाले घुमायो । भारतको धेरै राज्य पुगेको छु । नेपालका ६० जिल्ला टेकेको छु । तर, त्यो घुमाइ घुमाइजस्तो लाग्दैन । म कामविशेषले त्यहाँ पुग्छु । काम सकिएपछि फर्कन्छु । 
बेलायततको लन्डनमा दुई वर्ष काम गरेको छु । केही युरोपियन ‘कन्ट्री’ घुमेको छु । विभिन्न कारणले विभिन्न ठाउँ विशेष र राम्रो लाग्छ । त्यसमध्ये विहार असाध्यै मन पर्छ । 

मेरो फुर्सद
फुर्सद भनेको निकाल्ने कुरा हो । जति नै व्यस्त रहे पनि मोबाइल ‘स्वीच अफ’ गरेर आराम गरौंजस्तो कहिल्यै लाग्दैन । गरेको पनि छैन । परिवारसँगै रेष्टुरेन्टमा खान, चलचित्र हेर्न र घुम्न जाने साइत कमै जुर्छ । 

मेरो खेलकुद
विद्यालयमा पढ्दा फुटबल खेलें । म राम्रै खेलाडीमा गनिन्थें । पट्नामा पनि फुटबल खेलें । पत्रकारितामा आएपछि खेल्न छाडें । 

मेरो मोबाइल
आइफोन सेभेन प्लस प्रयोग गर्दै आएको छु । यो मेरो भाइले उपहारस्वरूप दिएका हुन् । कामै नलाग्ने भएपछि मात्रै मोबाइल परिवर्तन गर्ने बानी छ । मोबाइलका एप्लिकेसन कमै प्रयोग गर्छु ।

मेरो टीभी
टेलिभिजन कमै हेर्छु । हेर्दा समाचार प्राथमिकतासाथ हेर्छु । मेरो घरमा भएको सोनी टीभीको आकार थाहा भएन । 

मेरो चलचित्र
पछिल्लोपटक रेखा थापाको चलचित्र हेरेको थिएँ । 

मैले भारतीय थुप्रै कलाकार भेटेको छु । भारतमा चलचित्र हेर्नेभन्दा कलाकारसँग भेट्ने अवसर जुथ्र्यो । त्यतिबेला दिलिपकुमार, अमिताभ बच्चनलगायतसँग धेरैसँग भेटघाट भएको थियो । 
पट्नामा पढ्दा र काम गर्दाताका शुक्रबार–शुक्रबार पुरानो चलचित्र लाग्थ्यो । त्यतिबेला पुरानो चलचित्र हेरेको थिएँ । 

मेरो रोग
स्वस्थ छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गरेको छैन । योगा र मेडिटेसन गर्छु । त्यसको प्रभाव कत्तिको हुन्छ, थाहा छैन । खुसी र सकारात्मक सोचले मानिसलाई स्वस्थ बनाउन सघाउ पुर्याउँछ । 

मेरो भाषणशैली
मैले २० वर्षअघि र अहिले बोलेको कुरामा फरक हुँदैन । पत्रकारले दोहोरो मान्यता राख्न पाइँदैन । 

महात्मा गान्धी ‘राउन्ड टेबल कन्फ्रेन्स’ का लागि बेलायत जान लागेका थिए । बेलायत जाने प्रतिनिधि तयारीमा जुट्दा गान्धी बाख्री दोहेर बसेका थिए । उता गएर मुलुकबारे बोल्नु छ, योचाहिँ बाख्री दोहेर बसेको छ भन्दा गान्धीले भनेका थिए रे, ‘तिमीले जे बुझेका छौ, त्यही बोल्ने त हो । त्यसका लागि सोच्नै पर्दैन नि ।’ 

तसर्थ, हामीले जे भोगेका र देखेका छौं, दोहोरो मान्यता नराखी बोल्नुपर्छ । 

मेरो मापसे
‘वाइन’ लाई नेपाली रक्सी भनिन्छ । मैले ‘वाइन’ लिएको छु । तर, प्रसादका रूपमा मात्रै । 

मेरो संगीत
गीत–संगीत सुन्छु । मैले लोकगीतदेखि नबुझ्ने भाषाका गीत पनि सुन्ने गरेको छु । नेवारी, लिम्बू, राई, तामाङ भाषाका गीत बुझ्दिनँ । तर, सुन्छु । माटो, धर्ती र पहिचानसँग जोडिएका जे पनि प्यारो लाग्दोरहेछ । 
नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी, पुष्प नेपाली, बच्चुकैलाश नमनपराउने को होलान् र । म आफैं पनि गुनगुनाउँछु । 

मेरो भूल
म पनि कमजोरीसहितको मानिस हुँ । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेजस्तो लाग्दैन । आज हामीले जे लेख्यौं, त्यो यसरी लेखेको भए हुन्थ्यो भन्ने लाग्नु अस्वाभाविक होइन । 

मेरो घर
अहिले बस्दै आएको घर सन् २०१५ मा सरेको हुँ । म भारत र बेलायतमा काम गर्दा राम्रै ‘पोजिसन’ मा थिएँ । त्यतिबेला २०–२५ लाख रुपैयाँ बचत गरेको थिएँ । घर बनाउँदा २८ लाख लागेको थियो । आफ्नै कमाइले घर बनाएको हुँ । 

मेरो राशी
मेरो राशी वृश्चिक हो । ग्रहदशा हेराउँदिनँ । तर, सामान्य पूजाआजा गरिन्छ । आध्यात्मप्रति आस्था छ । 

मेरो सौन्दर्यचेत
कपालमा जेल, तेल केही लगाउँदिनँ । ‘आफ्टर सेभ’ चाहिँ प्रयोग गर्छु । 

मेरो प्रेम
हामीले मागीबिहे गरेका हौं ।

मेरो सपना 
मुलुक राम्रो होस् । सम्पन्न होस् । जवाफदेही होस् । स्वाभिमानी होस् भन्ने चाहना राख्नु एउटा कुरा हो । तर, हामीले यही नतिजा ल्याउँछौं भनेर काम त गर्दैनौ । तर, कहिलेकाहीं हामीले गरेको कामको नतिजा आउँछ । ‘सिष्टम’ लाई उत्तरदायी बनाउन हामी पनि उत्तरदायी हुनुपर्छ । म काँग्रेसको कार्यकर्ता भएँ, नेकपाका कार्यकर्तालाई मात्रै उत्तरदायी बनाउँछु भन्न मिल्दैन ।

मेरो मृत्यु
मृत्यु जीवनको अस्तित्वको औपचारिक अवशान हो । भौतिक अवशान हो । मृत्युबारे कहिल्यै सोचिनँ । सोच्दिनँ । मृत्युको मुखमा पुगेर बाँचेको मानिस हुँ । जन्म र मृत्यु मेरो हातमा छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप