बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कम्युनिस्ट सरकारका ऐतिहासिक कार्यभारहरू

आइतबार, ०८ पुस २०७५, १२ : ५७
आइतबार, ०८ पुस २०७५

वस्तुतः समाज रूपान्तरणको ऐतिहासिक प्रक्रियालाई नै कम्युनिस्ट आन्दोलन भनिन्छ । कम्युनिस्टहरूले वस्तु वा सत्ताको विकास, विनाश र रूपान्तरण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रस्थापना अनुरूप हुने मान्यता राख्छ । यो रणनीतिक उद्देश्यमा आधारित सङ्गठित र योजनाबद्ध आन्दोलन हो अर्थात यो कार्यनीति र रणनीतिको लामो शृङ्खलाहरू अन्तर्गतको निरन्तर ऐतिहासिक प्रक्रिया हो । माक्र्सवादले ऐतिहासिक प्रक्रिया अवरुद्ध हुन्छ भन्ने कुरामा विस्वास गर्दैन । बरु यसले यो प्रक्रिया कहिले आक्रर्मक कहिले रक्षात्मक, कहिले दृश्य कहिले अदृश्य अनि कहिले व्यक्त कहिले अव्यक्तरूपमा अभिव्यक्त हुनेमा विश्वास गर्छ । यद्यपि रक्षात्मक, अदृश्य र अव्यक्त पक्ष प्रक्रियाको निरन्तरता हो भने आक्रर्मक, दृश्य र व्यक्त पक्ष प्रक्रियाको क्रमभङ्गता हो । निरन्तर सङ्घर्षको ऐतिहासिक प्रक्रियाअन्तर्गतको आक्रमक र रक्षात्मक कार्यनीतिहरूसहितको सचेत र सङ्गठित  पहलकदमी नै कम्युनिस्ट आन्दोलन हो । 

वास्तवमा वस्तु वा सामाजिक सत्ताको रूपान्तरण द्वन्द्वात्मक प्रक्रियाबाट हुन्छ भन्ने मान्यता नै कम्युनिस्ट अवधारणा हो । यसकारण कम्युनिस्टहरूले हरेक वस्तु, सत्ता, घटना र घटना प्रक्रियाहरूलाई एउटा आन्दोलनको रूपमा ग्रहण गर्छ । कम्युनिस्टहरूद्वारा सञ्चालित, परिचालित र निर्देशित सबै दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृति कार्यक्रमहरू ऐतिहासिक प्रक्रिया अन्तर्गतकै निरन्तर आन्दोलनको हैसियतमा हुनेगर्छ । यो साश्वत नियम हो । अझ जोड र ठोस रूपमा भन्नुपर्दा कम्युनिस्ट प्रस्थापना वा मूल्यमा आधारित सम्पूर्ण घटना वा घटना प्रक्रिया, क्रियाकलाप र दैनिक कामहरू ऐतिहासिक प्रक्रिया अन्तर्गत नै हुनुपर्छ । कम्युनिस्ट पार्टी वा सरकारले अपनाउने दर्शन, विचार, आचर, राजनीति, अर्थतन्त्र, सांस्कृति, जीवनशैली र कार्यशैलीहरूलाई आन्दोलनकै रूपमा ग्रहण गर्नुपर्छ । सङ्गठन विस्तार, प्रशिक्षण, अभियान, योजना र कार्यक्रमहरू सबै आन्दोलनकै प्रक्रिया हो । 

नेपाली समाजको अर्थराजनीतिक सम्बन्ध विभेदपूर्ण रहेको छ । यस्तो वर्गधरातलमा मूल राजनीतिक प्रवृत्ति कम्युनिस्ट हुनेगर्छ । यसकारण बहुसङ्ख्यक जनता कम्युनिस्टप्रति आकर्षित छन् । परिणामतः हाल नेपालमा कम्युनिस्ट सरकार छ । नेपाली जनताले औपचारिक, यथास्थिति र औसत सरकारको अनुभव गरिसकेका छन् । औसत सरकार जनताको चाहना र मर्म होइन । यस्तो वस्तुगत धरातलमा कम्युनिस्ट पार्टीको बहुमत सरकारले सम्भावना र चुनौती दुवै बोकेको छ । वस्तुतः यो सरकारले आफ्नो हरेक क्रियाकलापहरूलाई कम्युनिस्ट आन्दोलनको रूपमा अघि बढाउन सफल भयो भने भविष्य उज्ज्वल देखिन्छ । तर औसत र औपचारिक कर्मकाण्डमा मात्र फस्यो भने भविष्य अन्धकार देखिन्छ । यसकारण यो सरकारसामु कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्ने निम्न बमोजिमको ऐतिहासिक कार्यभारहरू देखिन्छ ।

(क) सैद्धान्तिक कार्यभारः वस्तुतः माक्र्सवादी मार्गदर्शक सिद्धान्तबाट निर्देशित आन्दोन नै कम्युनिस्ट आन्दोलन हो । यो निरन्तर सङ्घर्षको ऐतिहासिक प्रक्रियामा आधारित हुन्छ । समाजवाद हुँदै साम्यवादसम्म पुग्ने आन्दोलनको आक्रमक र रक्षात्मक ऐतिहासिक प्रक्रिया नै कम्युनिस्ट आन्दोलन हो । यसका लागि आम जनतामा समाजवादी चेत, चिन्तन्, मनोविज्ञान, आचार, जीवनशैली र कार्यशैली विकास गराउनुपर्छ । यो आम मनोविज्ञान र आचार रूपान्तरणको प्रक्रिया हो । निरन्तर सङ्घर्षवाट सिद्धान्तको सिर्जनात्मक विकाससँगै समाजको प्रगतिशील रूपान्तरण नै कम्युनिस्ट आन्दोलन हो । यसले गलत चिन्तन, संस्कार र संस्कृतिलाई अभियानकै रूपमा निरुत्साहित गर्छ । यो वर्गसङ्घर्ष वा बलप्रयोगको सिद्धान्तमा आधारित हुन्छ । यो वर्ग रहेसम्म विभेद रहने अनि विभेद रहेसम्म जारी रहने सङ्क्रर्मणकालीन आन्दोलन हो । यसकारण वस्तुतः यो वर्ग र विभेद उन्मूलनको समग्र ऐतिहासिक प्रक्रियामा आधारित महाआन्दोलन हो । यसकारण सरकारले न्युनतम रूपमा माक्र्सवादी शिक्षाबाट हरेक नागरिकलाई दीक्षित गर्ने कार्यक्रमहरू ल्याउनुपर्छ । 

त्यति मात्र होइन माक्र्सवाद र समाजवाद के हो रु यसमा सैद्धान्तिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक पक्षहरू कसरी परिभाषित गरिन्छ रु यिनीहरूको वर्गचरित्र कस्तो हुन्छ रु कम्युनिस्ट सरकारले हरेक दिनदैन्यको कामकारवाहीहरूलाई पनि निरन्तर आन्दोलनको प्रक्रियासँग जोडेर व्याख्या, विश्लेषण, परिचालन र निर्देशन गर्नुपर्छ । ब्रह्माण्डमा रहेका वस्तु, घटना, घटना प्रक्रिया, प्रकृति र सामाजिक सत्ताको विकास निरन्तर आन्दोलनको प्रक्रियाबाट मात्र सम्भव हुन्छ । वैचारिक स्पष्टतासहितको निरन्तर प्रक्रियाविना समाजवाद सम्भव हुँदैन । समाजवाद आफैमा एउटा ऐतिहासिक प्रक्रियागत आन्दोलन हो । त्यसैले सरकारका कार्यनीतिहरू यो रणनीतिलाई सहयोगी हुने किसिमको तय गर्नुपर्छ ।  

(ख) राजनीतिक कार्यभारः समाजवाद र पुँजीवाद विचको सैद्धान्तिक, राजनैतिक, आर्थिक, सांस्कृतिक र सामाजिक अन्तरलाई योजनाबद्ध स्कुलिङमार्फत अघि बढाउनुपर्छ । सबै राजनीतिक कार्यहरूलाई आन्दोलनको ऐतिहासिक प्रक्रियाको रूपमा ग्रहण गर्नुपर्छ । राजकीय अङ्गहरू उत्पीडितमैत्री अनि समानता र न्यायको मूल्यमा स्थापित गराउनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समाजवादी आन्दोलन सम्बन्धी अवधारणालाई अघि बढाउनु पर्छ । सबै खाले हेला, होचो, विभेद, शोषण र उत्पीडनविरुद्ध अभियान सञ्चालन गर्नुपर्छ । यसमा उत्पीडित जनताको अधिनायकत्व र जनवादबीच वैज्ञानिक र वस्तुवादी संयोजन गरिन्छ । सबैभन्दा उत्पीडित र आधारभूत जनतालाई प्राथमिकतामा राख्ने नीति लिनुपर्छ  । पुँजीवादमा जस्तो शक्ति, पैसा र सत्ताको बलमा हावी हुने परिपाटी अन्त्य गर्नुपर्छ ।  

त्यति मात्र होइन, आजैबाट सरकारले समानता र न्यायको सिद्धान्तलाई आममा लागू गर्नुपर्छ । आधारभूत मौलिक अधिकारहरू जस्तै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा राज्यको दायित्व बढाउनुपर्छ । यता पुँजीवादमा जस्तो भनसुन, चाप्लुसी, पैरवी र कोेशेली बोकेर नेताकोमा धाउने परिपाटीको अन्त्य गर्नुपर्छ । समाजका उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गमध्ये पनि सबैभन्दा उत्पीडितलाई प्राथमिकतामा राख्नुपर्छ । योजनाबद्धरूपमै शोषक, सुदखोर, तस्कर भ्रष्टाचारी, कमिसनखोर र श्रमचोरलाई पूर्णरूपमा निरुत्साहित गर्नुपर्छ । यो साङ्गोपाङ्गो मानव मुक्तिको ऐतिहासिक महाअभियान हो । समग्र सरकारी नीति साम्यवादी आदर्शतर्फ परिलक्षित हुनुपर्छ । अर्थात सरकारले सिङ्गो नेपाली समाजको उन्मुक्तिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । 

(ग) आर्थिक कार्यभारः नाफा, एकाधिकार र निजत्वमा आधारित दलाल पुँजीलाई क्रमिक रूपमा निरुत्साहित गर्नु यो सरकारको प्राथमिक कार्यभार हो । दलालपुँजीलाई विस्तारै समाजवादी अर्थ–राजनीतिक सम्बन्धद्वारा विस्थापित गर्दैजानुपर्छ । समग्र अर्थराजनीतिक सम्बन्धमा राजकीय उपस्थिति बढाउनु पर्छ । आर्थिक क्रियाकलापहरूलाई पनि कम्युनिस्ट आन्दोलनको प्रक्रियाका रूपमा लिनुपर्छ । श्रमिकलाई क्षमता अनुसारको काम र काम अनुसारको दामको ग्यारेन्टी गर्नुपर्छ । ठेकेदारी, विचौलिया र कमिसनतन्त्रलाई पूर्णरूपमा अन्त्य गर्नुपर्छ । यता निजी स्वामित्वलाई क्रमशः निरुत्साहित गर्दै उत्पादनको साधनहरूमा सामाजिक तथा सामूहिक  स्वामित्वको पद्धति अपनाउनुपर्छ । आम जनतालाई निजी स्वार्थको मनोविज्ञानबाट सामूहिक स्वामित्वमा क्रमिकरूपमा रूपान्तरण गर्दै लानुपर्छ । मालिक र मजदुर दुवैले उचित हिस्सा पाउँने पद्धति विकास गर्नुपर्छ । 

वस्तुतः दलाल पुँजीलाई विस्तारै कम गर्नुपर्छ । राष्ट्रिय औद्योगिक पुँजी विकासका लागि राष्ट्रिय पुँजीपति वर्गलाई लगानीमा प्रोत्साहन दिनुपर्छ । आन्दोलनकै रूपमा सरकारले केही उद्योग कलकारखानाहरूमा लगानी बढाउनुपर्छ । दलाल एकाधिकार तथा निगम पुँजीलाई निरुत्साहित गर्नुपर्छ । वित्तीय निगम पुँजीलाई निरुत्साहित गर्दै उत्पादनमुखी राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्नुपर्छ । ठूला दलाल एकाधिकार र निगम पुँजीको राष्ट्रियकरण वा सरकारीकरण गर्नुपर्छ । अर्थतन्त्रमा राष्ट्रिय पुँजीपति र सरकारी उपस्थिति बढाउनुपर्छ । समाजवादी आन्दोलनको ऐतिहासिक प्रक्रियासँगै विकसित चेत र मनोविज्ञानसँगै निजत्वलाई सामूहिक स्वामित्वमा रूपान्तरण गर्नुपर्छ । राजकीय सामूहिक स्वामित्वको दिशातर्फ समग्र आर्थिक क्रियाकलापहरूलाई दिशानिर्देश गर्नुपर्छ ।

(घ) सांस्कृतिक कार्यभारः वस्तुतः कम्युनिस्ट मूल्यमा आधारित जनसंस्कृति निर्माण गर्नु सरकारको प्रगतिशील सांस्कृतिक कार्यभार हो । छाडा, आडम्मरी र ढोँगी संस्कृति बुर्जुवा उपभोक्तावादी संस्कृति हो । आज हाम्रो समाजमा यही संस्कृतिले नराम्ररी गाँजेको छ । तर यो कम्युनिस्ट आन्दोलनमा पटक्कै सहयोगी हुँदैन । किनकि विचार, राजनीति र अर्थसम्बन्धको सामाजिक  अभिव्यक्ति नै संस्कृति हो । वास्तवमा समाजवादी संस्कृति भनेको कुनै शासक वा उसको भारदारहरूको हितमा नभएर बहुसङ्ख्यक उत्पीडित वर्गको हितबाट  निर्देशित हुन्छ । मूलतः समाजवादी संस्कृति वैज्ञानिक, वस्तुवादी र न्यायपूर्ण हुन्छ । यो वैज्ञानिक तथ्य र यर्थाथताको जगमा हुर्किने गर्छ । कम्युनिस्ट आन्दोलनमा श्रम, उत्पादन र सिर्जनालाई जनसंस्कृति निर्माणको आधार मानिन्छ । कम्युनिस्टहरूले हरेक व्यक्तिलाई उन्नत समाजवादी सांस्कृतिक आदर्श र सभ्यता निर्माणतर्फ दिशानिर्देश गर्नुपर्छ । 

मूलतः वैज्ञानिक संस्कृति समाजवादी आन्दोलनको निरन्तर  ऐतिहासिक प्रक्रियामा सहयोगी हुनुपर्छ । यो समानता र न्यायको सिद्धान्तमा आधारित हुन्छ ।  बुर्जुवा संस्कृति जस्तो  विभिन्न वर्ग, जाति, लिङ्ग र क्षेत्रमा झनै विभाजन होइन बृहत् समन्वय, एकता र हितमा केन्द्रित हुन्छ । यसमा सबैखाले हेलाहोचोहरूको अन्त्य गरिन्छ । तसर्थ, यो सरकारले राजा महाराजा र शासकहरूकोे गुणगान र व्यक्तिपूजामा आधारित संस्कृतिलाई निस्तेज गर्दै प्रगतिशील तथा न्यायिक संस्कृतिलाई स्थापित गर्नुपर्छ । संस्कृतिलाई पनि आन्दोलनसँगै जोडेर रूपान्तरण गर्नुपर्छ । 

(ङ) सामाजिक कार्यभारः सामाजिक कार्यभारलाई पनि आन्दोलनकै रूपमा ग्रहण गर्नुपर्छ । समाजवादको यात्रामा हिँडेको सरकारले सामाजिक कार्यभारलाई उच्च महत्त्व दिनैपर्छ । सबैखाले सामाजिक विकृति, विसङ्गती र कुरीतिहरूलाई तत्काल निस्तेज गर्नुपर्छ । यसमा कुनै पनि खालको सामाजिक शोषण, विभेद र अन्याय हुँदैन । अर्थात सबैखाले सामाजिक सुरक्षाको ग्यारेन्टी गरिन्छ । जनतालाई न्यायपूर्ण ढङ्गले सामाजिक सेवा उपलब्ध गराउनैपर्छ । सबैलाई समान अवसर हुन्छ । त्यसैगरी शिक्षा, स्वास्थ्य र सूचनामा पनि समान र न्यायपूर्ण विधि र पद्धति लागू गर्नुपर्छ । त्यस्तै खेलकुद, प्रशासनिक, मनोरञ्जन, विकास–निर्माण र सुरक्षाको क्षेत्रमा पनि सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समान सहभागित र अवसरको राजकीय ग्यारेन्टी गर्नुपर्छ । आम राजकीय थिति, पद्धति,  प्रक्रिया  र विधिबाटै यसको हल गर्नुपर्छ । सामाजिक सुरक्षाको कार्यक्रमहरू तत्काल लागू गर्नुपर्छ ।

तसर्थ, कम्युनिस्ट सरकारले आफ्नो हरेक क्रियाकलापहरूलाई कम्युनिस्ट आन्दोलनको ऐतिहासिक प्रक्रियाको रूपमा ग्रहण गर्नुपर्छ । हरेक कार्यनीतिक कदमहरू समाजवादी रणनीति तर्फ परिलक्षित हुनुपर्छ । सैद्धान्तिक, वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सवालहरूलाई निरन्तर आन्दोलनका रूपमा विकास गर्नुपर्छ । अर्थात औपचारिक, औसत र दिनदैन्यको कार्यनीतिहरू  निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रियासम्मत हुनुपर्छ । ऐतिहासिक प्रक्रियाको सिलसिलामा गरिने साना तिना कामहरूलाई रणनीतिक उद्देश्य अन्तर्गतको रक्षात्मक, अदृश्य र अव्यक्त कार्यनीति भनेर प्रशिक्षित र परिभाषित गर्नुपर्छ । सबै घटना, घटना प्रक्रिया र कामहरूलाई पनि कम्युनिस्ट आन्दोलनको लामो ऐतिहासिक प्रक्रिया भनेर बुझ्नु पर्छ ।  तब मात्र समाजवादमा सङ्क्रमण गर्ने वस्तुगत धरातल बन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराँती
राजेन्द्र किराँती
लेखकबाट थप