शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कालीकोट आगलागीको दर्दनाक कथा : पीडितलाई घाँटी भिजाउने पानी नै छैन !

सोमबार, ०९ पुस २०७५, १६ : २७
सोमबार, ०९ पुस २०७५

बुटवल–  पूरै बस्ती जलेर खरानी भएपछि कालीकोटको विकट हिमाली गाउँ खाँडागाउँका बासिन्दा शोकमा डुबेका छन् । मध्यरातमा आगो सल्किएपछि सुन्दर गाउँ क्षणभरमै उजाड बनेको छ । बस्ने घर खरानी बनेपछि सिङ्गो बस्तीका ६ सयभन्दा बढी बासिन्दाको भागाभाग चल्यो । 

आगलागीपछि हाँडागाउँ 
–समुन्द्री सतहदेखि करिब ३ हजार मिटर उचाइको हिउँ पग्लने ठाउँ ।
–सिङ्गो गाउँ नै जलेर खरानी ।
–मानिसहरुको भागाभाग, धुँवाको मुस्लोले रणभूमिमा परिणत ।
–अधिकांश शरीरमा कपडा नभएका, ६ सय ९ मानिस  खुला आकाशमुनि बस्न बाध्य ।
–बालबालिकाहरु चिसोमा कठ्याङ्ग्रिएर बस्न बाध्य । खानेकुरा अभावमा रुवाबासी
–न अन्न, न साथमा पैसा ? घाँटी भिजाउन समेत पानीको अभाव । 
–८७ घर जलेर नष्ट ।
–जलेर १३ जना घाइते, एकजनाको अवस्था गम्भीर । 
–१८ चौपाय मरेको भेटिए, दुर्गन्धको खतरा ।
–वडाकार्यालयको ५ लाख नगद जलेर नष्ट भएको वडा सचिवको दाबी ।
–८७ घरको कति रकम, कति जिन्सी जलेर कति क्षति भयो ? हिसाब हुँदै । 
–सदरमुकामबाट घटनास्थलसम्म पुग्ने मोटरबाटो छैन, ५ घण्टाको उकालो हिँडेर जानुपर्ने अवस्था ।
–राति दुई बजेको घटना, प्रहरी र सेनाको टोली हिँडेर बिहान मात्रै पुग्यो ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख भन्छन् ‘मेरो मोबाइल स्विचअफ हुँदै छ ।’

आज बिहान  २ बजे रातिदेखि अहिलेसम्म यस्तो महाविपद् भोगिरहेका छन् कालिकोट जिल्ला पालाता गाउँपालिका वडा नम्बर १ खाडान्यौपाने गाउँका ८७ घरधुरीका मानिसले ।

कसका बालबालिका कता छन् ? थाहा छैन : स्थानीय शिक्षक

मेरो नाम चरित्र छन्त्याल हो । म यहाँको सरस्वती माविमा १८ वर्षदेखि पढाउँदै आएको छु । मेरो घर  पातन्जाल गाउँमा पर्छ । म यही डेरा गरेर बस्थेँ । मेरो पनि सबै जलेर नष्ट भयो । ज्यान जोगाउन मैले मेरो विस्ताराको मोबाइल समेत टिपेर भाग्न सकिनँ । यो प्रहरीको मोबाइलसमेत स्विचअफ हुन लागेको छ । छिटो गर्नुहोस् । अहिले हामी आगो निभाउँदैछौँ । मध्यरातमा  विस्तराबाट भागेर सबैजना स्कुलमा आएर बसेका हौँ । गाउँमा बत्ति पनि छैन ।

 कताकतिले सोलार बल्छन् । मोटरबाटो पनि  खनिएको छैन । एकदम विकट हिमाली भेग हो यो । गाउँको बीचमा पाइपबाट १४ हजार लिटरको ट्याङ्कीमा रातभरी सङ्कलन गरेर पानीको अभाव टार्दै आएका थियौं । त्यही पनि पाइप जलेर घाँटी भिजाउन पनि मुस्किल पर्ने अवस्था छ । अन्नको गेडा पनि छैन । बालबालिका रोइरहेका छन् । शिक्षकले यसो भन्दैगर्दा प्रहरीको फोन पनि स्विचअफ भयो ।

हामीले सीडीयोको फोनमा सम्पर्क राखेर अर्का प्रहरीको फोन नम्बरमा सम्पर्क राख्यौं । प्रहरी हवल्दार ज्ञानबहादुर खड्काको फोन  मुस्किलले लाग्यो । हो हल्लाका बीचमा बोले अग्निपीडित  मनप्रसाद न्यौपाने । उनले भने, ‘हजुर हामी त महविपदमा छौं ।  खाने पिउनेको कुरै नगर्नुस् धेरै जनाको शरीरमा कपडासमेत छैन । त्यसै त हाम्रो विकट गाउँ झन् विपद आइपर्यो ।  म त्यति बोल्न जान्दिनँ, वडाध्यक्षसँग कुरा गर्नुस् ।  कसरी आगलागी भयो भन्ने प्रश्नमा उनले केही पत्तो नपाइएको जवाफ दिए । भने– ‘वडासचिव विष्णुकान्त प्याकुरेल र  सरस्वती माविका प्रधानध्यापक र अन्य शिक्षकहरू एउटै घरमा डेरा गरेर बस्नुहुन्थ्यो । प्रधानध्यापक सदरमुकाम मानमा शिक्षक सेवा आयोगको परीक्षा दिन जानुभएको छ ।

वडासचिवले सामाजिक सुरक्षातर्फको पाँच लाख नगद र विद्यालयका सम्पूर्ण कागज पत्रसमेत जलेर नष्ट भएको बताउँदै हुनुहुन्छ ।  सर्वसाधरणको नगद र जिन्सी त कति जल्यो जल्यो लेखाजोखा नै गर्न सकिएको छैन । वडाका १ सय ६९ घरधुरीमध्ये यस गाउँका  ८७ वटा जलेर नष्ट भएको प्रमाणित भइसकेको छ । त्यति नै मात्रमा गोठ जलेका छन् ।  

सेनाको हेलिकोप्टर कुरेर बसेका छौं: प्रजिअ 
कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले घट्नास्थल अत्यन्तै विकट रहेको र मोटर जाने स्थानबाट ५ घण्टाको उकालो पर्ने भन्दै हिँडेर जान सम्भव नै बताए । उनले भने, ‘काठमाडांैबाट नेपाली सेनाको हेलिकप्टर आउला कि भनेर बसेका छौं’  उनले भने, ‘सेनाको हेलिकप्टर कुर्ने बेलासम्म हामी राहत सङ्कलन गर्दैछौँ । ओढ्ने कम्मल लगायतका कपडा र खाद्यन्न लगेर लैजाँदैछौँ ।  एकजना सईको कमान्डमा प्रहरी र सेनाको टोली राति नै पठाइसकेका छौँ  । ८७ घर जलेकामध्ये ५५ घर प्रहरीले प्रमाणित गरिसक्यो  बाँकीको गर्दैछौं ।’

 घटनापछि कर्णाली प्रदेश सरकारले प्रतिघरधुरी २० हजार नगद, लत्ता कपडा र खाद्यन्न राहत उपलब्ध गराउने घोषणा गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप