बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूमाफियालाई ‘घ्यु’ बन्यो भक्तपुर करिडोर : ‘मसानघाट’समेत बाँकी राखेनन्

बुधबार, ११ पुस २०७५, १२ : ०७
बुधबार, ११ पुस २०७५

भक्तपुर । विकास नचाहाने त को होला र ? तर त्यही विकास गर्ने बहानमा भूमाफियाहरू सल्बलाउँदा धेरैलाई चिन्ता थपिएको छ । 

‘अरू त के–के गरे, अन्तिमा मरेपछि पोल्ने मसानघाट समेत बेच्ने भए’, भक्तपुरका स्थानीयको गुनोसो हो यो । भक्तपुरमा विकासको लहर तीव्र छ । स्थानीय खुसी पनि छन् । यो खुसीसँगै उनीहरूमा एउटा त्रासले जरो गाडेको छ । 

मानिसको जीवनमा जन्म र मृत्यु संस्कार आआफ्नो धर्म परम्पराअनुसार गरिन्छ । भक्तपुरमा केही वर्षयता मृत्यु संस्कार गर्ने मसानघाट नै गायब हुन्छ भन्ने स्थानीयलाई चिन्ता लाग्न थालेको छ । 

हनुमन्ते खोलाको बहाव रातारात परिर्वतन गरेर करोडौँको जग्गा आफ्नो बनाउने षड्यन्त्र केही माफियाहरूबाट सुरु भयो । त्यो अभियानमा जिल्लाका राजनीतिक दलका नेताहरूदेखि उच्च पदस्थ कर्मचारीहरू समेत साथ रह्यो । 

सूर्यविनायक नगरपालिका ३ का एक स्थानीयले रातोपाटीसँग कुरा गर्दै भने ‘पहिला पहिला खोलो फर्काउँछन् भनेर रातभर आगो बालेर केटाहरू जम्मा पार्नेहरू नै अहिले खोलो बेच्न लागिपरे’ । 

भूमाफिलाई घ्यु बन्यो करिडोर : ढुङ्गा भयो मनसानघाट 

हनुमन्ते नदी किनारमा रहेको केही मसानघाट करिडोरको २० मिटरभित्रको मापदण्डमा पर्ने भएपछि मध्यपुर थिमी नगरपालिकाका स्थानीयहरूले त्यसको उचित विकल्प दिन माग गरेका छन् । उनीहरूले परापूर्वकालदेखिको घाटलाई विकासको नाममा हटाउन खेजेको आरोप समेत लगाएका छन् ।

‘मध्यपुर थिमीस्थित वडा नम्बर ३ मा रहेको घाट जग्गा प्लटिङ गर्ने समूहले ४ वर्ष अगाडि रातारात भत्काए’, मध्यपुर–३ का तुल्सिराम कुटुले भने, ‘तर हामी स्थानीयहरूले विरोधपछि अस्थायी रूपमा जस्तापाताले घेरेर घाट निमार्ण गरिदिए । यस घाटमा मध्यपुर नगरक्षेत्रका कुटु, प्याथलागयत थरका समुदायले मृत्युपछिको अन्तिम संस्कार गर्ने गरेका छन् ।

यता थिमी नगरपालिका–४ स्थित प्रजापति समुदायले अन्तिम संस्कार गर्ने घाटसँगै रहेको पाटी, सडक र पुल निमार्णको नाममा दुई वर्ष अगाडि नै भत्काइसकेका छन्, जुन स्थाममा मृत्यु संस्कार गर्ने गरिन्थ्यो । अहिले बाटोमै राखेर मृत्यु संस्कार गर्नुपर्ने बाध्यता रहेको स्थानीय प्रजापति समुदायको भनाइ छ ।

यस्तै थिमीकै ४ नम्बर वडामा रहेको शङ्खधर चोकबाट दधिकोट जाने बाटाको पुलसँगै रहेको एउटा घाट भने भत्काइसकेको छ । त्यसको अवशेषका रूपमा रहेको ब्रह्मनाल बेवारिसे अस्थामा छ भने दायाँ रहेको घाटसमेत करिडोरको मापदण्डभित्र पर्ने भएपछि स्थानीय मानन्धर र रन्जित समुदायका स्थानीयहरू चिन्तित छन् ।

‘हनुमान्ते खोला आसपासमा करिडोर बनेपछि जमिनको प्लानिङ गरेकाहरूको घडेरीको मूल्य त दोब्बर भयो तर जग्गा किन्न आएका मानिस मसानघाट देखेपछि पुनः फर्किएपछि उनीहरूलाई त्यस्ता केही घाट ढलान भए’, एक स्थानीयले भने । 

करिडोर बनाउने विकल्प दिएनन् : स्थानीय

नेपाल सरकारले केही वर्षयतादेखि नदीको दायाँबायाँ सडक बनाउने नीति लिएको छ । जसमा भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य सुरु गरिएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुर र मध्यपुरथिमीको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा मङ्सिर ११ गते मङ्गलबार करिडोर निर्माणको शिलान्यास भयो । 

करिडोर त बनाउने तर त्यसभित्र पर्ने सयौँ वर्षदेखि मध्यपुरका नेवार समुदायले मृत्यु संस्कार गर्दै आएका मसानघाटको विकल्प के ?, मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ का रमेश प्रजापतिले प्रश्न गरे । 

‘यसको विकल्प खै ? दुई वर्ष अगाडि मध्यपुर अस्पताल हुँदै सूर्यविनायक नगरपालिकातर्फ जाने सडक बनाउँदा घाटसँगैको पाटी नासियो । ठेकेदारले तुरुन्तै बनाउँछु भन्छ तर अहिलेसम्म बनेन । अहिले कसैको मृत्यु भएर ल्याउँदा नेवारी परम्पराअनुसार गर्नुपर्ने विधि सडकमा लास राखेर गर्न हामी बाध्य छौँ’, उनको गुनासो छ । 

पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि रु.८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य सुरु गरिएको हो । 

भक्तपुरका चारवटै नगरपालिका भई बग्ने हनुमन्ते नदीको कुल लम्बाइ ९ किमि छ । त्यसपछि यो नदी मनोहरा हुँदै बागमतीमा मिसिन्छ । करिडोर निर्माणअन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने छ । आगामी दुई वर्षभित्रमा हनुमन्ते करिडोर निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।

नगरप्रमुख श्रेष्ठको भनाइ यस्तो छ : 

मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हनुमन्ते करिडोर निर्माणसँगै जग्गा एकीकरण आयोजना सञ्चालन गरेकाले  आयोजनाभित्रै घाटलाई व्यवस्थापन गर्ने बताए ।

नगरभित्र रहेको सांस्कृतिक सम्पदाहरूको संरक्षण दायित्व नगरपालिकाको भएकाले करिडोर निर्माणले घाटलाई असर नपर्ने नगरपालिकाको भनाइ रहेको छ । स्थानीयसँग छलफल गरेर विकल्प तयारी पारिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप