शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा बैठक : प्रचण्डको भाषणले पूर्व एमालेका नेता खुसी

बुधबार, ११ पुस २०७५, १३ : ४०
बुधबार, ११ पुस २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका केही प्रश्नहरुको जवाफ दिएका छन् । 
झन्डै पौने दुई घण्टा बोलका प्रचण्डले सैद्धान्तिक र वैचारिक विषयमा लामो समय खर्चिएका थिए । आफ्नो भाषणमा प्रचण्डको खासगरी नेकपाका असन्तुष्ट समुहलाई सम्बोधन गरेका छन् । प्रचण्डको जवाफले पूर्व एमालेका असन्तुष्ट नेताहरु खुसी भएका छन् । 

पूर्व एमालेका एक नेता भन्छन्, ‘प्रचण्ड कमरेडको जवाफले धेरै कमरेडहरु खुसी हुनुहुन्छ । खासगरी खुलेरै असन्तुष्टि राख्नुभएका कमरेडहरुको मागमा उहाँ लचिलो देखिनुभयो,’ रातोपाटीसँग कुरा गर्दै ती नेताले भने, ‘ उहाँको सम्बोधनले पार्टीभित्र जतिपनि समस्या देखिएका छन् ति सबैलाई हल गर्न अर्का अध्यक्ष पनि लचिलो बन्न दबाब दियो । हेरौँ भोलि ओली कमरेडको जवाफ कस्तो आउँछ ।’

स्थायी समिति सदस्य घनश्याम भुषालले सदस्यहरुबाट बैठकमा उठाइएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डबाट आएको बताए । ‘यो बैठकमा सबै सदस्यहरुले आफ्ना कुराहरु स्पष्ट र खरो रुपमा राखेका छन् । समस्या कहाँ छन् भन्ने बारेमा अध्यक्षद्वयले थाहा पाउनुभयो भन्ने मलाई लागेको छ,’ नेता भुषालले भने, ‘कमरेड प्रचण्डले बोलेको कुराले बैठकको अपेक्षाको सम्बोधन गरेको छ । सम्भवतः अध्यक्षहरु यो कुराप्रति गम्भिर भएछन् भन्ने लाग्यो ।’ 

त्यस्तै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पनि प्रचण्डको जवाफले धेरै कुरा समेटेको बताइन् । ‘समग्रमा प्रचण्ड कमरेडको जवाफ राम्रो थियो । उहाँले सैद्धान्तिक र वैचारिक पक्षबारे प्रष्ट पार्नुभयो । एकताको महत्त्व, चुनौति र अब कसरी अगाडि जाने भन्ने बारेमा उहाँको धारणा आयो,’ नेता शाक्यले प्रचण्डको भनाई उद्धृत गर्दै भनिन्, ‘पार्टीभित्र संर्किण सोचाई राख्नुहुदैँन । पुरानै शैली, समूह वा गुट हावी गराउनु भनेको पार्टी कमजोर बनाउनु हो । भर्खर पार्टी एकता भएको छ, हामीलाई नयाँ चुनौती छ । पार्टीभित्रै सत्तापक्ष प्रतिपक्ष जस्तो व्यवहार गर्नुहुदैँन । सबैलाई समेटेर जानुपर्छ ।’ 

नेता शाक्यले अर्का अध्यक्षको जवाफ पनि सकारात्मक आउनेमा विश्वत भएको बताइन् । ‘समग्रमा प्रचण्ड कमरेडको जवाफ राम्रो आयो । अब ओली कमरेडको जवाफ कस्तो आउँछ त्यो हेर्नुपर्छ । साथीहरुका असन्तुष्टि लगायत अन्य प्रश्न उहासँग सम्बन्धित छन्,’ उनले भनिन्, ‘बैठकमा धेरै कुरा उठेका छन् । ओली कमरेडले पनि त्यसलाई सकारात्मक लिँदै सच्चिएर अगाडि बढ्ने खालको जवाफ आउनुपर्छ भन्ने लाग्छ ।’

के भनेका थिए प्रचण्डले बैठकमा ?

बैठकमा छलफल र बहस राम्रो भएको छ । यसले पार्टी एकतालाई गम्भिर बनाउन र सरकारलाई सफल बनाउन योगदान पुर्याउँछ भन्ने विश्वास गरेको छु । यद्यपि छलफल गर्दा पूर्व एमालेभित्रको विवादमा छलफल केन्द्रीत भएजस्तो र पूर्व माओवादी केन्द्रका नेताहरु छलफलमा आफूलाई पुरै प्रस्तुत गर्न हिच्किचाए जस्तो, रक्षात्मक भए जस्तो कहिलेकाहीँ अनुभूति हुन्थ्यो । तरपनि समग्रमा बैठकको छलफल अत्यन्तै राम्रो भयो । यसले ऐतिहासिक रुपमा पार्टी एकतालाई बलियो बनाउने र पार्टी राजनीतिलाई सही दिशातिर लैजान योगदान गर्नेमा विश्वस्त छु । 

हामीले मुख्यरुपमा अहिले केही विषयमा ध्यान दिनुपर्छ । अहिलेको राजनीतिक परिवर्तनको प्रकृति, चरित्र त्यसको आयातन के हो ? भन्ने विषयमा अब गम्भिर छलफल हुनुपर्ने हो कि ? यो विषयमा एकत्व नभएको हो कि भन्ने मलाई लाग्यो । यो परिवर्तन मात्रात्मक परिवर्तन हो वा गुणात्मक परिवर्तन हो ? मलाई लाग्छ, यो परिवर्तन गुणात्मक परिवर्तननै हो । 

हामी जनयुद्धकालमा पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्थ्यौँ । अन्तिममा पार्टीलेनै बन्दुक चलाउने हो भन्ने मान्यतामा विज हुन्थ्यौँ । अहिलेको बन्दुक भनेको सरकार हो । त्यसकारण पार्टीले सरकार चलाउने हो भन्ने सैद्धान्तिक मान्यतामै अगाढि बढ्नुपर्छ । 

यो परिवर्तनले हाम्रो विचार, राजनीति र पार्टी एकताको कार्यभारलाई पनि ‘गुणात्मक’ ढंगले अगाडि बढाउन दिशानिर्देश गर्छ । ‘मात्रामा’ बुझियो भने हिजोको जोड घटाउमा मात्रै हामी जान्छाँै । त्यसकारण यो गुणात्मक हो भन्ने बुझाई मेरो छ । हाम्रो पार्टीको विचार, राजनीति र एकता किन आवश्यक पर्यो भन्नलाई पनि त्यसरुपमा बुझ्नु पर्छ । 

यसमा गम्भिर छलफल नभई पार्टी एकता सुदृढ हुँदैन । मलाई के विश्वास छ भने साविकको एमाले र माओवादी केन्द्र पनि यो परिवर्तन गुणात्मक हो भन्ने कुरामा समझदारी भएरनै पार्टी एकता भएको हो भन्ने सबैको बुझाई छ । तर, अहिले पछाडि फर्केर बहस जान थाल्यो कि भन्ने मलाई चिन्ता छ । पुरानै मेरो कुरा सहि हो भन्ने ढंगले छलफल गर्यौँ भने सही दिशामा लैजादैन र अन्तरसंघर्ष पनि अस्वस्थ हुने दिशातिर जान्छ । त्यसकारण यही कुरामा हाम्रो एकता हुनुपर्छ । 

राजनीतिक प्रतिवेदनमा जति पनि आलोचना र टिप्पणी भएका छन्, सही आलोचना र टिप्पणीलाई आत्मसाथ गरेर परिमार्जित प्रतिवेदन तयार गर्नुपर्छ । त्यसले नै अहिलेको आवश्यकता र पार्टी एकतालाई सुदृढ गर्छ । 

अहिलेको बन्दुक भनेको सरकार हो

हामी जनयुद्धकालमा पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्थ्यौँ । अन्तिममा पार्टीलेनै बन्दुक चलाउने हो भन्ने मान्यतामा विज हुन्थ्यौँ । अहिलेको बन्दुक भनेको सरकार हो । त्यसकारण पार्टीले सरकार चलाउने हो भन्ने सैद्धान्तिक मान्यतामै अगाढि बढ्नुपर्छ । 

त्यसैले सरकारलाई सहयोग गर्नुपर्छ । सरकारले पनि सामूहिक वा पार्टीभित्रको छलफलको आधारमा महत्त्वपूर्ण नीति र अरु निर्णयहरु गर्नुपर्छ । त्यसो भएमात्रै सरकार पनि सफल हुन्छ । 

सांगठनिक एकीकरणको निर्णय यही बैठकबाट गर्नुपर्छ भनेर धेरै कमरेडहरुले भन्नुभयो, म पनि त्यसैमा आए । यही बैठकले निर्णय गर्नुपर्छ भन्ने कुरा ठीक छ । स्थायी कमिटीबाटै कार्यदल बनाउँ, त्यही कार्यदलले प्रतिवेदन परिमार्जन गर्न सुझाव दिन्छ । त्यही कार्यदलले सांगठनिक एकीकरणको गृहकार्य गरेर सुझाव दिन्छ । त्यसपछि स्थायी कमिटीमा ल्याएर छलफल गरेर पारित गरिदिने । यसो गर्दा धेरै कमरेडहरुको धारणा समेटिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप