शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पले क्षतिग्रस्त तनहुँका ५२ विद्यालय भवन निर्माण शुरु

बुधबार, ११ पुस २०७५, १३ : ४१
बुधबार, ११ पुस २०७५

दमौली– भूकम्पले क्षति पुगेको तनहुँ जिल्लाका ५२ विद्यालयको भवन निर्माण शुरु भएको छ । २०७२ साल वैशाख महीनामा आएको भूकम्पबाट क्षति पुगेको जिल्लाको विभिन्न ठाउँका ५२ विद्यालयको नयाँ भवन निर्माण शुरु भएको हो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले जिल्लाका ५२ क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि रु २३ करोड चार हजार ४९६ बजेट विनियोजन गरेको छ । 

जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका प्रमुख सूर्यप्रसाद रानाभाटले पुनःनिर्माणका लागि छनोट भएका विद्यालयलाई भवन निर्माणका लागि केही प्रतिशत रकम पेश्कीस्वरुप दिइसकिएको जानकारी दिए । उनले पुनःनिर्माण हुने सबै विद्यालयको ले–आउट कार्य सम्पन्न भई प्रायः विद्यालयमा जगको काम भइरहेको जानकारी दिए । 

चालू आवमा व्यास नगरपालिकाको आठ, भानु नगरपालिकाको १२, शुक्लागण्डकी नगरपालिकाको छ, भिमाद नगरपालिकाको छ, बन्दीपुर गाउँपालिकाको तीन, रिसिङ गाउँपालिकाको चार, आँबुखैरेनी गाउँपालिकाको तीन, देवघाट गाउँपालिकाको चार, घिरिङ गाउँपालिकाको पाँच र म्याग्दे गाउँपालिकाको एक विद्यालय भवन पुनःनिर्माण हुने कार्यान्वयन एकाइ तनहुँले जनाएको छ । 

चालू आवमा प्राप्त कार्यक्रमअनुसार समयमा नै पुनःनिर्माण प्रस्ताव माग गरी स्थलगत निरीक्षणपश्चात् भूकम्पको क्षति र विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय पुनःनिर्माण गर्न छनोट गरिएको आयोजनाका इञ्जिनीयर अनिल श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार विद्यालयको पुनःनिर्माण विद्यालय व्यवस्थापन समितिले नै गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र आयोजना कार्यान्वयन एकाइबीच सम्झौता गरिएको छ । 

२० विद्यालय भवन पुनःनिर्माण 

भूकम्पले तनहुँको २९१ विद्यालय भवन क्षति भएको थियो । जसमध्ये हालसम्म २० वटा विद्यालय भवनको मात्रै पुनःनिर्माण सम्पन्न भएको छ । आव २०७३÷७४ मा ११ वटा र आव २०७४÷७५ मा नौ वटा विद्यालय भवनको पुनःनिर्माण गरिएको इञ्जिनीयर श्रेष्ठले बताए । 

बीस विद्यालय भवनको लागि रु सात करोड ७१ लाख ४८ हजार ९६४ बजेट खर्च भएको छ ।     
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप