केन्द्रीय संस्करण
चिनियाँ शैक्षिक क्रान्तिको पृष्ठभूमि

शिक्षकको क्रूरताविरुद्ध माओको विद्रोह !

explore access_timeपुस ११, २०७५ chat_bubble_outline0

प्रसिद्ध चिनियाँ नेता माओ त्से–तुङलाई सात वर्ष उमेरमा मात्रै स्कुलमा भर्ना गरिएको थियो । उनले आफ्नो गाउँ– शाओशानकै प्राइमरी स्कुलमा औपचारिक अध्ययन थालेका थिए । त्यस स्कुलमा एक जना क्रूर शिक्षक थिए । उनले आफ्नै घरमा स्कुल खोलेका थिए । त्यसमा केही फी लिएर उनी विद्यार्थीहरूलाई पढाउने गर्थे ।

बीसौं शताब्दीको शुरुतिरको त्यो स्कुलमा केही किताब पनि प्रयोग गरिन्थे । ती किताब खालि शहरकै कुरा र चर्चा–परिचर्चाले भरिएका हुन्थे । त्यसमा गाउँको आवश्यकताअनुसारको कुरा केही पनि हुँदैनथ्यो ।
त्यसमाथि शिक्षक आफै पनि गाउँलाई, गाउँका किसानलाई र किसानका बच्चाहरूलाई घृणा गर्ने व्यक्ति थिए । माओ भर्ना भएको सो स्कुल पुरानो ढंगले चल्ने खालको थियो । त्यहाँ पुरानै ढंगले किताब रटाउने–घोकाउने गरिन्थ्यो । माओ स्कुल कालदेखि नै तीक्ष्ण बुद्धि र राम्रो स्मरण शक्ति भएका विद्यार्थी थिए । त्यसैले उनले कम्फ्यूशियस नामका पुराना चिनियाँ धर्मगुरुका चारवटै मूल ग्रन्थ कण्ठस्थ पारे । ती शिक्षकले भने ती चारवटै मूल ग्रन्थको व्याख्या–विश्लेषण गरेर बुझाउने जरुरत नै सम्झनेन्, खालि सुगालाई झैं रटाउने मात्र काम गरे । भुटिभांग केही नबुझीकन पनि कण्ठस्थ गर्नु परेकोमा माओलाई आफ्नो पढाइप्रति नै अरुचि हुनथाल्यो, ती मूल ग्रन्थप्रतिको उनको रुचिमा पनि धेरै कमी आउन थाल्यो ।

हुन पनि कन्फ्यूशियसका ती किताब साढे दुई हजार वर्ष पुराना थिए । ती किताबको भाषाशैली पनि, यहाँको संस्कृत भाषाजस्तै व्यवहारमा कहींकतै प्रयोग हुँदैनथ्यो । साढे दुई हजार वर्ष पुरानो किताब घोकाएर शिक्षकले आफ्ना विद्यार्थीलाई हैरान पारे ।

त्यसैले अलिकति अक्षर ज्ञान हुन थाल्नासाथ माओले नयाँ भाषा, नयाँ शैली भएका नयाँ किताब पढ्न थाले । उनले आफ्नो स्कुले जीवनबारे लेखेका थिए– 

“मैले कनफ्यूशियसका ग्रन्थ पढेको थिएँ– तर ती ग्रन्थ मलाई पटक्कै रुचिकर लागेनन् । मेरो रुचि पुरानो चीनका रोमान्स र विद्रोहका कथाहरूमा बेसी थियो । मैले ‘चोफईचुवान’, ‘चिन चुङ चुवान’, ‘शुई हू चुवान’, ‘फानतान’जस्ता किताब त्यसबेलै पढेको थिएँ, जब म निकै सानै थिएँ । मैले ती पुस्तक शिक्षकको कडा निगरानीका बाबजुद, छलीछलीकन लुकाएर पढेको थिएँ । उनी यस्ता अवैध किताबलाई घृणा गर्दथे र त्यसको निन्दा पनि गर्दथे । म र मेरा अन्य साथीहरूले भने ती किताब स्कुलमै पढ्ने गर्दथ्यौं । जब शिक्षक हामी नजिकै आउँथे, तब हामी ती किताब कुनै धर्मग्रन्थमुनि लुकाइदिन्थ्यौं । यसरी नै लुकीलुकी पढ्न थाल्दै गएपछि हामीलाई कैयौं कथा–कहानी कण्ठस्थ नै भए । यस विषयमा हामीभन्दा ठूलाबडा मानिसहरूलाई भन्दा बेसी ज्ञान हामीलाई थियो । ती कथा ती ठूलाबडाहरूलाई पनि रुचिकर लाग्दथ्यो । त्यसैले, उनीहरूलाई जुन–जुन कथा याद थियो, ती कथा हामीलाई सुनाउँथे र हामीले आफूले पढेका कथा सुनाउँथ्यौं । मलाई लाग्छ– धेरैभन्दा धेरै ज्ञान सिक्ने यो किशोरावस्थामा ममाथि ती कथाहरूको प्रभाव अत्यधिक प¥यो ।”

प्राइमरी स्कुलमा केही हिसाबकिताब सिक्न थालेपछि माओलाई उनका पिताले बहीखाता राख्ने काम पनि सुम्पे । स्कुलमा पढ्नेदेखि लिएर आफ्नो खेतमा काम गर्ने र पिताको बहीखाता राख्ने काम एक्कैचोटि गर्नु पर्दा उनलाई निकै बोझ भयो । तापनि, उनले मिहेनतपूर्वक सबै काम फत्ते गर्दै कथा–कहानी पढ्न आफ्नो स्व–अध्ययनलाई पनि जारी राखे ।

माओका शिक्षक कुटपिट गरेर पढाउने काममा ‘मास्टर’ नै थिए । ‘आफ्ना विद्यार्थीहरूको मस्तिष्कमा विद्या घुसाउने हो भने लठ्ठी प्रयोग गर्नुपर्दछ’ भन्ने उनको मान्यता थियो । विद्यार्थीको बन्द दिमाग खोल्न लठ्ठी प्रयोग गर्न उनी अलिकति पनि हिच्किचाउँदैनथे, बरु लठ्ठीले पिट्न पाइयो भने उनी खुशी नै हुन्थे । अति नै धेरै कठोर शिक्षकको यो क्रूरतामाथि चीनको तत्कालीन सामन्ती व्यवस्थाले धार्मिक पवित्रता प्रदान गरिराखेको थियो– आफ्ना विद्यार्थीलाई पिट्नु धार्मिक काम हो, पवित्र कार्य हो भनेर ।

त्यसैले आफ्ना स–साना विद्यार्थीलाई पिट्न पाएमा माओका शिक्षक पनि गौरव महसुस गर्दथे । उनको धारणा थियो– म विद्यार्थीहरूलाई पिटेर सुधार्ने गर्दछु, राक्षसलाई मानिस बनाउँछु र बिग्रिएको भूतलाई निकालेर फ्याँक्छु ।

लठ्ठीको मारलाई ‘विद्यार्थीहरूका लागि बरदान’ मान्ने शिक्षकको क्रूरताको सिमाना नै थिएन । विद्यार्थीहरूलाई हात, खुट्टा, ढाड र टाउकोमा पिटेर लठ्ठी भाँच्नु त उनको लागि दाल–भात खाएसरह थियो । कान समातेर, टाउको झुकाएर दिइने सजाय तबसम्म जारी रहन्थ्यो, जबसम्म एउटा धूप बत्ती जलेर खरानी हुँदैनथ्यो ।

कुटपिट गर्न यति कुख्यात शिक्षकको लठ्ठीको पिटाइ माओले पनि केही खाइसकेका थिए । पढ्ने–कण्ठस्थ पार्ने कुरामा माओ जतिसुकै होशियार र तेज भएता पनि ती क्रूर शिक्षकले उनलाई पनि लठ्ठीको मार खुवाउन कहिले पनि छाडेनन् । अलिकति कमबेसी मात्रै हो, माओको मनमा पनि कठोर शिक्षकको क्रूरतादेखि अलिकति भय थियो, तर उनी डरछेउरुवाचाहिँ थिएनन् । शिक्षकद्वारा आफूहरूमाथि प्रयोग गरिँदै आएको यो हिंसाले उनको विद्रोही मनलाई पनि चुनौती दिएझैँ भान भयो । त्यसैले उनले आफ्ना शिक्षकलाई नै पाठ पढाउने जुक्ति खोज्न खाले ।
आखिर एक दिन बालक माओले आफ्ना क्रूर शिक्षकको विरोध गर्ने र उनलाई पाठ सिकाउने दृढ संकल्पका साथ गाउँ छाडेर जाने निर्णय गरे !

स्कुलमा एउटा अचम्मको नियम थियो– जब कुनै विद्यार्थीलाई आफ्नो पाठ सुनाउन शिक्षकको आदेश हुन्थ्यो, तब त्यो विद्यार्थी आफ्नो ठाउँ छोडेर शिक्षक नजिकै गएर उठ्नुपथ्र्यो र आफ्ना विद्यार्थी–साथीहरूतिर हेरेर घोकेको पाठ सुनाउनुपथ्र्यो । र, जब माओको पालो आयो, तब माओले त्यो अचम्मको नियमको विरोध गरे, साथै शिक्षक नजिकै गएर उभिन इन्कार गर्दै भने–

“तपाईं बसीबसीकन नै मेरो आवाज सुन्नुहुन्छ भने त्यहाँ आएर किन उभिनुप¥यो ?”

आफ्नो सानो विद्यार्थीले पुरानो मान्यता तोडेको देखेर, उल्टो आफैलाई प्रश्न गर्न थालेको देखेर शिक्षकको पारो चढ्यो । हजारौं सालदेखि चलिआएको नियमलाई माओजस्ता सात वर्षको सानो फुच्चे विद्यार्थीले चकनाचुर पार्न खोजेको देखेर उनी रिसले चूर भए । उनका आँखा राता–राता भए, जिउ थर्थरी काम्यो । रिसले आगो भएका शिक्षकले कोठा नै थर्किने स्वरमा आदेश दिए–

“यता आइज !”

माओ आफ्नो कुर्सी पनि घिसार्दै शिक्षक नजिकै गए । र, शिक्षक जसरी कुर्सीमा बसिरहेका थिए, त्यसरी नै उनी सरह नै जमेर बसे । शिक्षकले उनलाई जबर्जस्ती उभ्याउन खोजे । उनीे पनि सजिलै उभ्भिए, तर उभ्भिनासाथ उनी स्कुलबाट बाहिर भागे ।

हो, उनी साँच्चै नै स्कुलबाट भागे । त्यहाँबाट भाग्दै उनी पहाड चढ्न थाले, र, तीन दिनसम्म पहाडैपहाड भागिरहे । यता माओको परिवार साह्रै नै दुःखी भयो, क्रूर शिक्षक पनि सुखसँग बस्न सकेनन् । परिवारले उनको चारैतिर खोजी ग¥यो ।

माओलाई धेरै नै टाढा भागिसकेको जस्तो लागेको रहेछ, र शहर नजिक नजिक गइरहेको भान भएको थियो । तर उनी तीन मिलभित्रै घुमिरहेका थिए । आखिरमा उनको खोजीमा निस्केका परिवारजनले उनलाई समातेरै छाडे । उनलाई समातेर घरमा ल्याइयो ।

तर घरमा भने अचम्मको वातावरण थियो । पहिले–पहिले कठोर शिक्षकको जस्तै क्रूर स्वभाव भएका माओका पिता आज चुपचाप थिए । पहिले–पहिले उनलाई पिट्न अलिकति पनि नहिच्किचाउने माओका पिताले यसपटक पिट्ने र गाली गर्ने काम गरेनन् । उनले पिटाइ र गालीले बच्चाहरू नसुध्रने देखेर केही पनि गरेनन् ।

आफ्नो पितामाथि आफ्नो विद्रोहले राम्रो प्रभाव परेको देखेर माओ खुशी भए । त्यसमाथि क्रूर शिक्षक पनि यो तीन दिनभित्र धेरै फेरिएका रहेछन्, उनले पनि विद्रोही माओमाथि कुनै पनि प्रकारले गाली गर्ने र कुटपिट गर्ने काम गरेनन् । पछि गएर माओले यो विद्रोहलाई ‘आफ्नो पहिलो सफल हड्ताल’ भनेर भनेका थिए ।

माओले आफ्नो जीवनकालमा यस्ता सफल संघर्ष धेरै गरे । त्यस्ता धेरै विद्यार्थी संघर्षको नेतृत्व पनि गरे । उनले यस्ता संघर्षबारे धेरै अध्ययन, चिन्तन–मनन पनि गरे । सन् १९४९ मा चीनमा माओको नेतृत्वमा भएको जनवादी क्रान्तिको सफलतापछि आफ्नो लामो संघर्षपूर्ण जीवनमा संगालेका संघर्षका अनुभव र चिन्तन मननबाट प्राप्त ज्ञानलाई एक्कै ठाउँमा समेटेर उनले शिक्षामा पनि परिवर्तन गर्ने प्रयास थाले । सन् १९६४ देखि माओको नेतृत्वमा भएको शैक्षिक परिवर्तनलाई ‘महान् समाजवादी शिक्षा आन्दोलन’ भनिन्छ । यही आन्दोलनलाई अझ मजबुत पार्न माओकै नेतृत्वमा भएको ‘महान् सर्वहारावादी सांस्कृतिक क्रान्ति’ले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको थियो । पाउलो फ्रेरेलगायतका प्रख्यात शिक्षाविद्हरू यसलाई शिक्षण पद्धतिमा गरिएको क्रान्तिकारी परिवर्तनका रूपमा मूल्यांकन गर्दछन् । त्यसबेला माओले आफ्नो दुःखद् र संघर्षपूर्ण अनुभव र चिन्तन–मननलाई एकाकार पारेर चीनको पुरानो शिक्षण पद्धति र पश्चिमी देशबाट आएको नयाँ शिक्षण पद्धतिलाई एकातिर पन्छाएर नयाँ शैक्षिक क्रान्तिको थालनी गरेका थिए ।

त्यस शैक्षिक क्रान्तिअन्तर्गत विद्यार्थीहरूलाई धेरै ठूला–ठूला र मोटा किताबको भारी बोकाउने कामबाट मुक्त गरियो । बन्द कोठाभित्र हप्काएर, कुटेर–पिटेर, थुनेर पढाउने पद्धतिलाई फ्याँकियो । व्यावहारिक ज्ञानबाट सयौं कोस टाढा बसिरहेका शिक्षकहरूको वाक्क–दिक्क लाग्ने, ज्यान नभएका लेक्चरबाजीबाट विद्यार्थीहरूलाई छुटकारा दिलाइयो । यस्ता पुराना र नयाँ रुढिवादी र अवैज्ञानिक शिक्षण पद्धतिले विद्यार्थीहरूलाई मानसिक यातना मात्रै हुन्छ भन्ने निष्कर्षसहित नयाँ वैज्ञानिक पद्धछि र समाजसँग संबन्धित सिद्धान्त र व्यवहारका कुराहरू रुचिकर ढंगले पढाउने तरिका प्रयोग गरियो ।

विद्यार्थीहरूलाई सुगालाई जस्तै घोकाउने–रटाउने र सम्झनाको भरमा जाँचमा लेख्नुपर्ने बाध्यताबाट मुक्त गरियो । र, विद्यार्थीहरूको रुचि, क्षमता र समाजको आवश्यकताअनुसारका पाठ्यपुस्तक बनाइयो, उनीहरूभित्रको सिर्जना गर्ने क्षमतालाई विकसित पार्ने, तर्क गर्न सक्ने, सत्यतथ्य खोज्न सक्ने क्षमता निर्माण गर्ने तरिका अपनाइयो । 

यसले शिक्षामा क्रान्ति नै ल्यायो । माओको यो क्रान्ति विश्वभरि प्रख्यात छ । यो विश्वविख्यात शैक्षिक क्रान्तिबाट सबैले सकारात्मक पाठ सिक्नु जरुरी छ ।
–राजेन्द्र महर्जन 

सन्दर्भग्रन्थ ः 
– Mao Zedong/compiled by Zhong Weuzian

–New China : First Quarter- Century

–Mao Tse Tung and the Chinese Revolution/Han Suyin

–माओ/हंसराज रहबर
–सर्वहारा सांस्कृतिक क्रान्ति
–सांस्कृतिक क्रान्ति र शिक्षा÷इतिहासबोध

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha