केन्द्रीय संस्करण

जिन एडिटिङ : महामानव ‘जन्माउने’ ढोका

person explore access_timeपुस १२, २०७५ chat_bubble_outline0

हिन्दुहरूको अति सम्मानित धार्मिक ग्रन्थ महाभारतका एउटा प्रमुख पात्र अर्जुन, अङ्ग्रेजी भाषाका महान लेखक जर्ज वनार्ड सा र आधुनिक विज्ञानका कुशाग्रतम मनीषी आइन्सटाइनको जीवनको एउटा घटना ठ्याक्कै मेल खान्छ । 

चर्चा वनार्ड साबाटै गरौँ । अति सुन्दरी एउटा युवतीले उनीसँग प्रस्ताव गर्छिन्; ‘तपाईं संसारकै बुद्धिमान मानिस र म संसारकै रूपवती । हामीले मिलेर सन्तान जन्मायौँ भने त्यो तपाईं जस्तो बुद्धिमान र म जस्तो सुन्दर भएर संसारमै अद्वितीय हुनेछ ।’

यसोे भन्दा सायद ती युवतीले बिर्सिन्, यदि साँच्चै नै उनी संसारकै बुद्धिमान मानिससँग संवाद गर्दैछिन् भने, ‘के सौन्दर्यले बुद्धिलाई परास्त गरी मनोवाञ्छित विजय प्राप्त गर्न सक्छ ?’ वा बुद्धिको एउटै विनोदपूर्ण कटाक्षले सौन्दर्य ‘तेरी गलियो मे न रखेंगे कदम आज के बाद’ दोहोर्याउँदै मैदान छाड्न बाध्य हुन्छ ।

वनार्ड साले जवाफ दिँदै भने, देवीजी तपाईंको प्रस्ताव त उत्तम छ तर परिणाम तपाईंले सोचेका जस्तोे नभएर, ‘सन्तानको रूप म जस्तो (वनार्ड सुन्दर थिएनन्) र बुद्धि तपाईं जस्तो हुन गयो भने त बर्बादै हुन्छ ।’  

खै महिलावादीहरूले यो प्रसङ्ग पढेका छन् कि छैनन्, नत्र महिलाको यत्रो अपमानमा उनीहरू आजसम्म केही बोलेका छैनन् । 

दुरुस्त यस्तै प्रसङ्ग आइन्सटाइनको जीवनमा पनि घटित भयो । हजारौँ वर्ष पहिला अर्जुनको जीवनमा पनि मेनकाले यस्तै प्रस्ताव गरेको पढ्न पाइन्छ । 

मलाई व्यक्तिगत रूपमा उपरोक्त वर्णित बुद्धिमान, बलवान व्यक्तिहरूले सुन्दरीहरूप्रति गरेको व्यवहारमा गुनासो छैन तर ती सुन्दरीहरूसँग बुद्धिको अभाव हेर्दा बडो वितृष्णा हुन्छ । कहिलेकाहीँ लाग्छ, पूर्वका सुन्दरीहरूका लागि त आवश्यक छैन । अहिलेका विश्व सुन्दरीहरूका लागि म कुनै ‘ट्रेनिङ सेन्टर’ खोलौँ । सुन्दरीहरू ‘फिडब्याक’ दिनुस्, मेरो सेन्टरको उपयोगिता हुन्छ कि हुन्न ? ‘ट्रेनिङ’को एउटा नमुना प्रस्तुत गर्दैछु । 

कुनै बुद्धिमानले सुन्दरीको प्रस्तावमा ‘रूप म जस्तो र बुद्धि तपाईं जस्तो’ हुन सक्छ भन्ने जवाफ दिएर उम्किन खोज्छ भने आधुनिक विज्ञानमा टेकेर सुन्दरीले भन्न सक्नु पर्छ, ‘डन्ट वरी हनी, वी क्यान चुज आवर बेबी बाई जिन एडिटिङ’ ।

के हो जिन एडिटिङ ?
प्रिय पाठक, तपाईं पत्रपत्रिकामा छापिएका जुन लेख÷रचना पढ्नुहुन्छ, लेखकले एकै पटकमा त्यति सशक्त, स्पष्ट, बोधगम्य, भावगम्य, भाषा र शैलीमा त्यो लेखेको हुन्न । स्वयम् लेखकले परिमार्जन गर्छ, साथीभाइसँग सरसल्लाह गर्छ । अनि सम्पादकले त्यो लेखलाई ‘एडिट’ गरेर मात्र तपाईं समक्ष पुगेको हुन्छ । विश्वास गर्नुस्, यसै पङ्क्तिकारलाई ‘हेर्नु’ र ‘देख्नु’ शब्दको प्रयोग समुचित रूपले गर्न आउँदैन । भूतकाल र वर्तमान कालको क्रियापद लेख्नमा प्रायशः म चिप्लिन्छु । सम्पादकको ‘एडिट’ नहुने हो भने तपाईं पाठकहरू मलाई व्याकरण सिकाउन आइसक्नु हुन्थ्यो । 

भाषिक सम्पादनको महत्त्वबारे तपाईंले बुझ्नुभयो । यस आलेखको उद्देश्य ‘जिन एडिटिङ’ बारे चर्चा गर्नु हो । चीनमा भर्खरै ‘जिन एडिटिङ’को प्रयोगबाट जन्मिएको शिशुबाट चर्चा प्रारम्भ गरौं । 

नोभेम्बर २०१८ को अन्त्यतिर चीनको ‘सउदर्न युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’मा कार्यरत एक जना वैज्ञानिक जिआनकुईले मानव भ्रुण सम्पादन गरेर जुम्ल्याहा बालिकालाई आफ्नो पितामा रहेको रोगबाट मुक्त हुनेगरी जन्मिन सहयोग पुर्याए ।

‘जिन एडिटिङ’बाट जन्मिएका लुलु र नाना नामक यी बालिकाहरूका पिता एचआईभी सङ्क्रमित थिए । जिआनकुईले यी बालिकाहरू भ्रुण अवस्थामै हुँदा एचआईभी बोक्ने जिन सम्पादित गरिदिए । स्पष्ट भाषामा त्यो जिन काटिदिए ।

मानव पनि बडो विचित्रको प्राणी हो, भनौं महास्वार्थी हो । जुन प्रविधिबाट जिआनकुईले मानव भ्रुणमा ‘जिन’ सम्पादन गरेर लुलु र नानालाई पिताको रोगग्रस्त ‘जिन’बाट मुक्त हुने गरी जन्मिन सहयोग गरे, त्यो प्रविधि नयाँ होइन । हो, मनुष्यमा (शिशु जन्मेको) पहिलो पटक प्रयोग गरिएको हो । 

वनस्पतिहरूमा जस्तै ग्राउन्ड चेरी तथा घरेलु गोलभेडामा रहेको एउटा ‘जिन, सेल्फ प्रुनिङ ५जी’(SELF- PRUNING 5G) लाई काटेर वैज्ञानिकहरूले ५० प्रतिशत उत्पादन वृद्धि गरेका छन् । यस ‘जिन’को अभावमा बिरुवाले आफ्नो वृद्धि तथा पातको सङ्ख्या कम गरेर फूल र फल उत्पादनमा वृद्धि गरेका थिए । यस्तै अर्को एउटा ‘जिन सीएलभी १’ (CLV1) लाई सम्पादन गर्दा फलको उत्पादन २४ प्रतिशतले बढेको पाइयो । 

के हो यो प्रविधि ?
यो एक प्रकारको ‘बायोलोजिकल’ कैंची हो । ‘क्रिस्पर—क्यास ९’ (CRISPER–CAS 9,CLUSTERED REGULARLY INTERSPACED SHORT PALINDROMIC REPEATS) नामक यो प्रविधिमा ‘जिनोम सिक्वइन्स’ भित्र ‘प्रोटिन’ पठाएर अवाञ्छित ‘जिन’लाई फेरबदल गरिन्छ । यस प्रविधिमा ‘जिन’लाई छाँटकाँट गर्ने काम प्रोटिनले गर्छ । जस्तो कि बुझौं जिआनकुइले के गरे— उनले सर्वप्रथम एउटा ‘माइक्रोप्लेट’मा मानव शुक्राणु राखे । अब बुझ्नुस त्यो शुक्राणुमा ‘सीसीआर ५’ नामक ‘जिन’ छ । मानव ‘क्रोमोजम’मा यही ‘सीसीआर ५’ नामक ‘जिन’ ‘म्युटेसन’ भएर ‘एचआईभी’ सङ्क्रमण हुने मान्यता छ । जिआनकुइको प्रयास यो ‘जीन’लाई निष्क्रिय पार्नु थियो । ‘माइक्रोप्लेट’मा राखिएको शुक्राणुमा उनले ‘क्यास ९’ प्रोटिन र ‘पीसीएसके ९ एसजीआरएनए’ (PCSK9 sgRNA) लाई इन्जेक्सनबाट पठाए । यसरी पठाइएको प्रोटिनले शुक्राणुको ‘जिनोम’मा परिवर्तन ल्याइदियो । 

संशोधित गरिएको यसै शुक्राणुलाई ‘आईभीएफ’ प्रविधिले निषेचित गरी भ्रुण बनाइयो । उनले पटक पटक भ्रुणमा पनि ‘पीसीएसके ९ एसजीआरएनए’ प्रोटिन पठाएर ‘सीसीआर ५’ नामक ‘जिन’लाई निमिट्यान्न बनाए । 

‘जिन एडिट’ गरी बच्चा जन्मिएको यो पहिलो घटना हो । तर भ्रुणमै ‘जिन एडिटिङ’को प्रयोग पहिला पनि भइसकेको छ । पोर्टल्यान्डस्थित ओरेगन हेल्थ साइन्सेज युनिभर्सिटीका वैज्ञानिक सोकरत मितालिपोवले गत वर्ष नै अनेकौँ भ्रुणमा यसरी यही प्रविधिबाट आनुवंशिक उत्परिवर्तन सफलतापूर्वक सम्पन्न गरेका थिए । गत वर्ष नै उनले एउटा साक्षात्कारमा भनेका थिए, ‘आईभीएफ’ केन्द्रहरूमा यो प्रविधि व्यावहारिक रूपमा आउन ५, १० वर्षको समय लाग्न सक्छ । उनले आफूले ‘जिन’ एडिट गरेका भ्रुण भने नष्ट गरेका थिए । 

तपाईंलाई थाहा छ, पृथ्वीले सूर्यको परिक्रमा गर्छ । सूर्यले पृथ्वीको परिक्रमा गर्दैन भन्ने तथ्य ईसापूर्व नै संज्ञानमा आइसकेको थियो । तर राज्य पोषित र धर्म पोषित व्यक्तिहरूका कारण यो तथ्यलाई स्थापित हुन झण्डै दुई हजार वर्ष पर्खिनुपर्यो । १६औँ शताब्दीमा आएर निकोलस कपर्निकस, जोहान्स केप्लर र ग्यालिलियो ग्यालिलीका प्रयासले मात्रै यो तथ्य स्थापित हुन सक्यो । 

एउटा सार्वभौम सत्यले राज्यशक्ति र धर्मशक्तिका कारण दुई हजार वर्षसम्म विस्थापित बनी राख्न पर्यो । अहिले २१औँ शताब्दीमा आएर पनि धर्म र राजनीति यति शक्तिशाली छन् कि यी अझै पनि विज्ञानको विकासलाई छेक्न सक्छन् । नैतिकताको दुहाई दिएर विश्वभरी नै मानवमा जिन ‘एडिटिङ’माथि प्रतिबन्ध लगाइएको छ । 

प्राकृतिकरूपमा ‘जिन एडिट’ र ‘म्युटेसन’ भई ‘होमो सोपियन्स’सम्म सभ्यता आइपुगेको हो । अब मनुष्यको हातमा ‘जिन एडिट’ गर्ने साँचो आइसकेको छ, हेरौँ धर्म र राजनीतिले कति वर्षसम्म यसमाथि प्रतिबन्ध लगाउन सक्छ ?

‘जिन एडिटिङ’को अर्को एउटा चामत्कारिक प्रयोग पेन्सिलभानिया विश्वविद्यालयको पेरेलम्यान स्कुल अफ मेडिसिन र फिलाडेल्फिया चिल्ड्रेन हस्पिटलका अनुसन्धानकर्ताले गरेका छन् । प्रमुख अनुसन्धानकर्ता विलिएम एच पेरेन्टाउले ‘क्रिस्पर –क्यास ९’ र ‘बेस एडिटर ३’ (BE3) टुल्सको उपयोग गरी मुसामा रहेको घातक वंशाणुगत रोग ‘हेरिडिटि टायरोसिनेमिया टाइप १’ (HEREDITARY TYROSINEMIA TYPE 1- HT1) निर्मूल गरी स्वस्थ मुसा जन्माउने सफलता पाए । HT 1 रोग मानिसमा पनि हुन्छ । यही रोग बल्झिएर ‘लिभर’को क्यान्सर हुन्छ । ‘जिन एडिटिङ’ प्रविधिबाट भ्रुणमै यस रोगको उपचार मात्रै होइन, यो रोग लाग्नै नपाउने सम्भावनाका ढोकाहरू खुलिसकेका छन् । 

‘जिन एडिटिङ’को व्यापक प्रयोगले मानवलाई अनेकन बिमारी लाग्ने सम्भावनाबाटै जोगाउन सकिन्छ । क्यान्सर, एचआईभी, मुटुरोग, मधुमेह, कोलेस्ट्रोल, फ्याट जस्ता रोग बितेका युगका कुरा हुन सक्छन् ।

धर्म र राजनीतिको जग भयको विस्तृत मरुस्थलमा आडम्बर र फोस्रा आश्वासनले टिकेको हुन्छ । यो जग एउटा सामान्य धक्काले धूलधूसरित हुने सम्भाव्यता सधैँ विद्यमान रहन्छ । यिनका पुरोधाले नैतिकता र आदर्शको बखेडा झिकेर आफ्नो मर्ममा लाग्न गैरहेको धक्काबाट आफ्नो सुरक्षा गर्छन् । 

विज्ञान जगतमा हल्ला छ, जसले पहिला ‘आर्टिफिसियल इन्टेलिजेन्स’, ‘क्वान्टम कम्प्युटर’, ‘टेलिपोर्टेसन’ वा ‘भर्चुअल रियालिटी’को संसार खडा गर्ने बाजी मार्छ, त्यही देशले विश्वलाई नेतृत्व गर्छ । विज्ञानका यी प्रतिस्पर्धामा अब ‘जिन एडिटिङ’ पनि समावेश छ । 

यो लेखक वैज्ञानिक होइन । विज्ञान विषयको सामान्य अध्येता मात्रै हो । ‘जिन एडिटिङ’बारे जति पढेको छु, त्यसको आधारमा भन्न सक्छु । मनुष्यको हातमा आफूलाई महामानव (SUPERMAN) बनाउने किमिया आएको छ । यसको प्रयोगले रोग, दुःख, दरिद्रताबाट मुक्त भएर ऊ साँचो अर्थमा निर्भय बन्न सक्छ । 

‘जिन एडिटिङ’ ‘क्रिस्पर क्यास ९’ प्रविधिलाई विकसित गर्नमा अनेकौँ वैज्ञानिकहरूको अथक योगदान छ । यीमध्ये प्रमुख वैज्ञानिकहरूमा ओसाका युनिभर्सिटी जापानका योसिजुमी इसिनो, युनिभर्सिटी अफ एलिक्यानेट स्पेनका फ्रान्सिस्को मोजिका,  युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेका जेनिफर डौडना र म्याक्स प्लाङ्क इन्सटिट्युट फर इन्फेक्सन बायोलोजी, बर्लिनको इम्मानुएल चारपेन्टिएरको नाम अग्रपङ्क्तिमा आउँछ ।  

मलाई यो लेख लेख्ने प्रेरणा डा. निरन्जन पराजुलीको आलेखबाट प्राप्त भएको हो । ‘बायोलोजी’ विषयक मेरो ज्ञान र रुचि दुवै सीमित छन् । तर किन हो किन मलाई लाग्छ यस ‘जिन एडिटिङ’ प्रविधिले प्रकृतिको रचना धर्मितालाई नै परिवर्तित गरिदिन्छ । प्रकृतिमा सृष्टि मैथुनीय छ, स्त्री र पुरुषको संसर्गले मात्र सन्तान जन्मिन्छन् । तर ‘जिन एडिटिङ’को प्रयोगले यो प्रकृतिगत बाध्यता निर्मूल हुनुपर्ने हो । पुरुष पुरुषकै र स्त्री स्त्रीकै ‘सेल्स’ले अब सन्तान जन्मिने सम्भावना हुनुपर्छ । डा. निरन्जन यसबारे तपाईंले केही जानकारी गराए उत्तम हुन्थ्यो । 

(आभार– डा. निरन्जन पराजुली, भारतीय मित्र पल्लवी कुमारी, डा. स्कन्द शुक्लाल र विभिन्न अनलाइन ) 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ