मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

४० नेताको खानपान : पूर्वप्रधानमन्त्री चन्ददेखि सांसद नविना लामासम्म

शनिबार, १४ पुस २०७५, ११ : २५
शनिबार, १४ पुस २०७५

भनिन्छ, ‘गेट सफा रहे पेट सफा हुन्छ ।’ पेट सफा मानिस स्वस्थ हुन्छ । स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू हुनै सक्दैन । यो भनाइसँग असहमत हुने सायदै भेटिएलान् । आफू स्वस्थ रहन राजनीतिक नेताले के खाँदा हुन् ? सर्वसाधारणलाई जिज्ञासा लाग्नु अस्वाभाविक होइन ।  प्रस्तुत आलेखमा ४० जना राजनीतिक नेताको खानपानबारे चर्चा गर्ने प्रयास गरिएको छ । 

लोकेन्द्रबहादुर चन्द, पूर्वप्रधानमन्त्री 
सामान्यतया बिहान दाल, भात, तरकारी खाने गरेको छु । त्यही स्वादिलो लाग्छ । तर, यदाकदा खाइरहेकै खानेकुरा स्वादिलो लाग्दैन । मीठो बनाएर दिइए पनि मीठो लाग्दैन । बेलुका रोटी, तरकारी र झानेको मोही खाँदै आएको छु । एकताका फर्सीको तरकारी मन पर्दैनथ्यो । आरके मैनालीको किताब पढेपछि फर्सीको तरकारी मीठो मानेर खान थालेको छु । मैनालीको किताबमा उल्लेख छ, ‘तोरी भुटेर फर्सीको तरकारीमा हाल्यो भने मीठो हुन्छ ।’

घरबाहिरको खाना खानसाथ पेट गडबड हुन थालेपछि होटल तथा रेष्टुरेन्टको खाना खान छाडेको हुँ । कतिपय अवस्थामा पाँचतारे होटलमा खाएँ हुँला । त्यो पनि खानैपर्ने अवस्थामा मात्रै । 

मोहनविक्रम सिंह, मसाल महामन्त्री 
विशेषतः दालभात मन पर्छ । फापरका रोटी, कफी, दूध र पाउरोटी पनि उत्तिकै मन पर्छ । मधुमेहले समातेकाले मन परेका खानेकुरा खान पाउँदिनँ । कटहर, लौका, फर्सी, घिरौंला मन पर्दैन । खानकै लागि रेष्टुरेन्ट कमै जान्छु । 

भरतमोहन अधिकारी, पूर्वउपप्रधानमन्त्री
त्यतिबेला दही–चिउरा असाध्यै मन पथ्र्यो । दमले समातेपछि छाड्नुपर्यो । दूध पनि त्यत्तिकै मन पथ्र्यो । चिकित्सकले दूधबाट बनेका परिकार नखानू भनेपछि मुख बार्दै आएको छु । खसी मासु र माछा मन परे पनि स्वास्थ्यलाई ध्यानमा राख्दै छाड्नुपर्यो । 

खानकै लागि पहिले पनि रेष्टुरेन्ट गइनँ । २००८ मा कम्युनिस्ट पार्टी सदस्य भएँ, लगातार छु । सुखको दिन त अहिले हो देखेको । जवानीमा देख्न पाइएन । त्यतिबेला कसैले मकैभटमा दिए ठूलो मानिन्थ्यो । हिजोआज कामविशेषले पाँचतारे होटल, रेष्टुरेन्ट जान्छु । तर, पानीमात्रै पिउँछु । एकताका मःमः, चिकेन रोस्ट मन पथ्र्यो । 

नारायणमान बिजुक्छे, अध्यक्ष, नेमकिपा
विशेषतः दालभात नै खाने गर्छु । स्वास्थ्यका निम्ति तीतो, पीरो मन पर्दैन । खानकै लागि रेष्टुरेन्ट जाने बानी छैन । भारतमा रहँदा खाना पकाउन अल्छी लाग्दा रेष्टुरेन्ट जान्थें । तीतो, पीरोबाहेकका खानेकुरा माग्थें । पकाउने रुचि छ । १० वर्षसम्म भारतमा रहँदा आफैंले पकाएको थिएँ । 

लीलामणि पोखरेल, पूर्वसांसद 
मासुभात, गुन्द्रुक र आलुको अचार असाध्यै मन पर्छ । भटमासको मस्यौरा मन पर्दैन । म आफैं खाना बनाउँछु । खानामा सोखिन होइन तर आफूले बनाएपछि मिठै खानुपर्छ । भोक लागेपछि जे पनि खान्छु । 
अशोक राई, वरिष्ठ नेता, ससफो
सामान्यतया दाल, भात, तरकारी मन पर्छ । मन नपर्ने केही छैन । खानकै लागि कहिलेकाहीँ रेष्टुरेन्ट जाने गर्छु । १४ वर्षको हुँदा शिक्षा आर्जनका लागि मैले घर छाडें । लामो समय म आफैंले पकाएर खाएँ । साथीभाइलाई खुवाएँ । 

सीपी मैनाली, महासचिव, नेकपा माले 
नेपाली खाना दालभात, तरकारी नै स्वादिष्ट लाग्छ । पछिल्लो समय रोटी पनि खान थालेको छु । युरिक एसिड भएकाले बिसाउने खानेकुराबाट टाढै छु । खानकै लागि रेष्टुरेन्ट कहिल्यै गएको छैन । तर, कामविशेषले पुगिरहन्छु । रेष्टुरेन्ट पुग्दा चिकेन वा भेज मःमः माग्छु । 

गिरिराजमणि पोखरेल, मन्त्री 
सामान्यतया नेपाली खाना दाल, भात, तरकारी मन पर्छ । पछिल्लो समय चिनियाँ र जापानी खानेकुरा चाखें । दुवै मन पर्यो । कुनै खानाप्रति पूर्वाग्रह छैन । खानेकुरा मन पर्ने÷नपर्ने संस्कारको दृष्टिकोणले आ–आफ्नो पृष्ठभूमिसँग गाँसिएको हुन्छ । खानकै लागि रेष्टुरेन्ट जाने बानी छैन । बैठक, छलफल र भेटघाटमा कसैले बोलाउँदा जाने गरेको छु ।
मेरा साथी प्रकाश नेपाल छन् । उनले खानेकुराबारे जानकारी गराउँछन् । अर्का साथी सुदर्शनले पनि खानेकुराबारे जानकारी गराउँछन् । स्नातकोत्तरसम्म पढ्दा आफैंले खाना बनाउने गर्थें । आमा बिरामी, दिदीले बिहे गरिसकेकीले दाजुभाइले पालो मिलाएर खाना बनाउने गथ्र्यौं । एक समय बाध्यात्मक रूपमा काम गरिसकेपछि त्यसको असर पर्दोरहेछ । रुचिका रूपमा विकास हुन्छ कि हुँदैन भनेर त्यसले निर्धारण गर्दोरहेछ । 

शेरधन राई, मुख्यमन्त्री 
गाउँको सामान्य किसान परिवारमा जन्मेको मानिस भएकाले मकैको भात नै मन पर्छ । मेरो घर लेकमा पर्छ । आफ्नै बारीमा पाइने सिस्नु त्यत्तिकै मीठो लाग्छ । समय मिल्यो भने घर पुग्दा पीठो हालेको मकैको भात र सिस्नु हातले मुछेर खान असाध्यै मन पर्छ । आफ्नै बारीमा फलेको आलु पनि त्यस्तै मीठो मानेर खान्छु । गाउँको ढिँडोको स्वाद जिब्रोमै झुन्डिरहेको छ । लोकल कुखुराको मासु झन् मीठो लाग्छ । माछा र लोकल कुखुराबाहेकको मासु खाने बानी छैन । 

म जुनसुकै खाना रुचिपूर्वक खान्छु । चाइनिज, कोरियन र थाई खाना पनि मन नपर्ने होइन । चाइनिज, कोरियन र थाई खाना खान रेष्टुरेन्ट जाने गर्छु । रेष्टुरेन्ट पुगिहाल्दा लोकल कुखुरा, माछा र मःमः रोजाइमा पर्ने स्न्याक्स हुन् । 

पाककलाबारे जानकार छु । लोकल कुखुराको मासु र माछा राम्रै पकाउँछु । घर पुग्दासमेत आमाले मासु पकाउन लगाउनुहुन्छ । 

डा. मीनेन्द्र रिजाल, सांसद 
खानाको सोखिन छुइनँ । बिहानको खाजामा आधा गहुँ र आधा अन्य पीठो मिसाएर तयार पारिएको रोटी लिन्छु । कुखुराको मासु र आलु असाध्यै मन पर्छ । 

म सम्पन्न परिवारको कान्छो छोराका रूपमा हुर्कें । त्यतिबेला जुनकुनै तरकारी मन पर्दैन भन्थें । त्यही तरकारी हिजोआज मन पर्न थालेको छ । पहिले दूध, साग, भान्टा मन पर्दैनथ्यो । हिजोआज खान थालेको छु । सामान्यतः कामविशेषले रेष्टुरेन्ट पुगिरहन्छु । खानकै लागि योजनाबद्ध नगए पनि रेष्टुरेन्टबाट घरमै मगाएर खाने गर्छौं । 
विद्यार्थी जीवनमा पकाए पनि हिजोआज भान्छा पसेको छैन । अमेरिकामा रहँदा पनि कहिलेकाहीं पकाएँ । पकाउनुभन्दा भाँडा माझ्न जाँगर चल्छ । रेष्टुरेन्ट पुगिहाल्दा आलु, भटमास माग्न बिर्सन्न । 

अग्नि सापकोटा, पूर्वमन्त्री 
म रोटी तरकारी खाने गर्छु । मन नपर्ने खानेकुरा केही छैन । खानकै लागि रेष्टुरेन्ट जान्न । रेष्टुरेन्ट जाँदा मःमः र चाउमिन खाने बानी छ । 

चक्रपाणि खनाल ‘बलदेव’, मन्त्री
प्रायः दालभात, तरकारी र रोटी खान्छु । त्यसो भन्दा अरू खानेकुरा मन पर्दैन भन्न खोजेको होइन । काठमाडौंमा रहँदा साथीभाइसँग कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः मगाउँछु । म दालभात, तरकारी, मासु पकाउँछु । 

प्रकाशशरण महत, पूर्वमन्त्री 
खानेकुरामा सरल छु । खानेकुरामा विशेष रुचि छैन । नेपाली खाना दाल, भात, तरकारी भए पुग्छ । साग, च्याउ, गुन्द्रुक र मस्यौरा पनि मन पर्छ । माछा, मासु र अन्डा खान्न । कहिलेकाहीं साथीभाइसँग रेष्टुरेन्ट पुग्छु । विद्यार्थीजीवनमा पकाए पनि हिजोआज भान्छा पस्न परेको छैन । 

दिलनाथ गिरी, पूर्वमन्त्री 
नेपाली मौलिकतामा आधारित नेपाली खाना दाल, भात, तरकारी र गोलभेडाको अचार साह्रै मन पर्छ । पिरो हालेको खानेकुरा केही पनि खान्न । खानका लागि परिवारसहित महिनामा एकपटक रेष्टुरेन्ट जाने गर्छु । पहिले खसीको छोयला मन पथ्र्यो, अहिले खान छाडेको छु । हिजोआज मन पर्ने स्न्याक्स साँदेको भटमास हो । मलाई पकाउने रुचि छ । हिजोआज पनि पकाउने गर्छु । मासु पकाउन साह्रै जाँगर चल्छ । मासु पकाएर परिवारलाई खुवाउँदा सन्तोष लाग्छ । 

महेन्द्रबहादुर शाही, मुख्यमन्त्री 
सबै खानेकुरा उत्तिकै मन पर्छ । त्यसमा पनि खीर र सेलरोटी असाध्यै मन पर्छ । बिहान बेलुका दालभात खान्छु । विकल्प भएन भनेमात्रै रेष्टुरेन्टको खाना खान्छु, नत्र घरमै पकाइएको खाना खान मन पराउँछु । कोही नभए आफैंले पकाएर खान्छु । रेष्टुरेन्ट पुगिहाल्दा सलाद मगाउन बिर्सन्न । मासु सकेसम्म कम खान परे हुन्थ्यो भन्ने लाग्छ । आवश्यकता पर्दा खान पकाउन अल्छी लाग्दैन । 

पूर्णाकुमारी सुवेदी, पूर्वउपसभामुख 
दालभात, तरकारी र रोटी असाध्यै मन पर्छ । मन नपर्ने खाना हुँदैन भन्ने मेरो मान्यता छ । कामविशेषले रेष्टुरेन्ट पुग्दा भेज मःमः रोजाइमा पर्छ । 

डा. डिला पन्त संग्रौला, सांसद 
म ‘भेजिटेरियन’ हुँ । त्यसैले दाल, भात, तरकारी नै मन पर्छ । खानकै लागि रेष्टुरेन्ट कमै जान्छु । रेष्टुरेन्ट पुगिहाल्दा खान मन लाग्ने स्न्याक्स यही भन्ने छैन । 

श्रीप्रसाद जबेगू, पूर्वमन्त्री 
सबै उस्तै लागे पनि धानको चामल र मकैको च्याख्ला मिसाएर पकाएको खाना साह्रै मन पर्छ । ठुल्ठूला होटल र रेष्टुरेन्टको खाना सकेसम्म खान्न । तेल कम भएको जुनसुकै स्न्याक्स खाने गर्छु ।   

सुदन किराती, सांसद 
मलाई मन पर्ने खाना यही हो र यही खान पाऊँ भन्ने छैन । भोक लागेको बेला अघाउन पाए हुन्छ । भोक लागेको बेला भुटेको मकै र मुलाको साग पाए आँत रमाउँथ्यो । सबै मन परे पनि स्वास्थ्यका कारण केही खाना बार्ने गरेको छु । योजनाबद्ध तरिकाले रेष्टुरेन्ट जाने गरेको छैन । रेष्टुरेन्ट पुगिहाल्दा चाउमिन, मःमः माग्छु । 

पुष्पा भुसाल, सांसद 
विशेषतः रोटी, दूध, दही, सिन्की र मस्यौरा खाने गरेकी छु । रुचि कम भए पनि खाना खानैपर्ने बाध्यता छ । मासुमा पनि त्यति रुचि छैन । कहिलेकाहीं खाने गर्छु । राजनीतिक नेता भएकाले रेष्टुरेन्ट बाक्लै पुग्छु । भेटघाटको थलो नै रेष्टुरेन्ट भएको छ । रेष्टुरेन्ट पुग्दा आलु साँधेको, पपकर्न, आलुचिप्स र बदाम साँधेको माग्न बिर्सन्न ।

सुनील थापा, पूर्वमन्त्री 
साँच्चै भन्नुहुन्छ भने मलाई दालभात, गुन्द्रुक र गोलभेंडाको अचार असाध्यै मन पर्छ । विदेशीमा इटालियन खाना मन पर्छ । बिहेपछि साथीभाइसँग रेष्टुरेन्ट जाने, खाने गर्थें । २५ वर्ष संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगमा काम गर्दा जंगलमा भएँ । त्यतिबेला रेष्टुरेन्ट जाने कुरै भएन । बिदामा नेपाल फर्कंदा भने जान्थें । हिजोआजचाहिँ रेष्टुरेन्ट यति धेरै भए कुन राम्रो, कुन नराम्रो । कहाँ जाने, कहाँ नजाने भएको छ ।
कुन प्रकृतिको रेष्टुरेन्ट पुगिन्छ, त्यसअनुसार स्न्याक्स रोजाइमा पर्छ । पकाउने रुचि असाध्यै छ । घरमा कसैलाई खान बोलाउँदा माछा पकाउने काम मैले पाउँछु । 

सुरेशकुमार राई ‘हिमाल’, सांसद 
सामान्यतः नेपाली खाना मन पर्छ । धानभन्दा मकैको भात, ढिँडो र गुन्द्रुक रोजाइमा पर्छन् । सामाजिक आन्दोलनक्रममा जुनेलो र कागुनोको भात दुई–तीनपटक खाएको छु, त्योचाहिँ खान नपरे हुन्थ्योजस्तो लाग्छ । विभिन्न शीर्षकमा पुगे पनि खानकै लागि रेष्टुरेन्ट जाने बानी छैन । रेष्टुरेन्ट पुगिहाल्दा सलाद, पपकर्न र बदाम माग्छु । 

उषाकला राई, सांसद
सबै खानेकुरा मन पर्छ । होटल, रेष्टुरेन्टभन्दा घरमै पकाइएका परिकार स्वाद मानीमानी खाने बानी छ । माछा, मासु मीठो लागे पनि कमै खान्छु । दाल र रोटी असाध्यै मन पर्छ । चिल्लो र मसला बढी भएका खानेकुरा खान नपरे हुन्थ्यो भन्ने लाग्छ । कामविशेषले पुगे पनि खानकै लागि योजनाबद्ध रूपमा होटल तथा रेष्टुरेन्ट नपुगेको धेरै भइसक्यो । रेष्टुरेन्ट पुगिहाल्दा थाई खानेकुरा रोजाइमा पर्छन् ।    

अनिता देवकोटा, पूर्वसांसद
दालभात तरकारीमै स्वाद बसेको छ । कामविशेषले रेष्टुरेन्ट पुग्दा मःमः खान मन पर्छ । 

हीरा गुरुङ, सांसद
सबै खानेकुरा उत्तिकै स्वाद मानी–मानी खाने गरेकी छु । तर च्याख्लाको भात, ढिँडो र दही असाध्यै मन पर्छ । खानकै लागि रेष्टुरेन्ट जाने बानी छैन । बरु खान मन लागेको खानेकुरा घरमै पकाएर परिवारसँग बसेर खाने बानी छ । परिवारसँग बसेर सँगै खानुको मज्जा अरूसँग तुलना गर्न सकिँदैन । कामविशेषले रेष्टुरेन्ट पुग्दा फलफूल र सलाद माग्न बिर्सन्न । 

अञ्जना बिशंखे, सांसद
सामान्यतः नेपाली खाना दालभात, तरकारी मन पर्छ । पछिल्लो समय ढिँडो पनि खान थालेकी छु । तरकारीमध्ये साग र लसुन मिसाएर पकाएको गुन्द्रुक असाध्यै मन पर्छ । दूध चिया त्यत्तिकै मन पर्छ । भान्छामा दैनिकजसो मासुचाहिँ नपाकिदिए हुन्थ्यो भन्ने लाग्छ । खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुग्दा साँधेको भटमास र बदाम माग्न बिर्सन्न । 

जीवनबहादुर शाही, पूर्वमन्त्री
चाउमिन, थुक्पा र मःमः असाध्यै मन पर्छ । चामलको भातमा रुचि कम छ । त्यतिबेला गए पनि मन्त्री भइसकेपछि खानैका लागि रेष्टुरेन्ट गएको छैन । रेष्टुरेन्ट पुग्दा चिकेन रोस्ट रोजाइमा पर्छ । 

सूर्य थापा, केन्द्रीय सदस्य, नेकपा 
म दालभात, तरकारी नै मन पराउँछु । म मांशाहारी नै हुँ । कामका हिसाबले घरबाहिरमात्रै होइन, होटल तथा रेष्टुरेन्टमा समेत खानुपर्ने हुन्छ । तर, परिवारसहित खानकै लागि रेष्टुरेन्ट कमै पुग्छु । बाहिर खानुपर्यो भने थकाली भान्छाघर जान मन पराउँछु । स्वास्थ्यका लागि यो खाने वा नखाने भन्ने बन्देज छैन । 

यज्ञराज सुनुवार, सांसद
ढिँडो र गुन्द्रुक, च्याख्लाको भात र सोल्दर (मोहीबाट बनाइने परिकार) अत्यन्त मन पर्छ । मन नपर्ने खानेकुरा नै हुँदैन । साथीभाइसँग कहिलेकाहीं रेष्टुरेन्ट जाने गर्छु । स्न्याक्समध्ये फिंगर चिप्स धेरै मन पर्छ । 

कृष्णकुमार राई, सांसद 
सामान्यतया नेपाली खाना मन पर्छ । दालभात तरकारी नै स्वादिलो लाग्छ । त्योबाहेकका खानेकुरा मीठो लाग्दैन भन्न खोजेकोचाहिँ होइन । सबै मीठै लाग्छन् । खानकै लागि भनेर रेष्टुरेन्ट जान्न । फुर्सद पनि हुँदैन । रेष्टुरेन्ट पुगिहाल्दा छिटोमिठोका लागि मःमः र चाउमिन माग्छु । 

विशाल भट्टराई, सांसद 
सामान्यतः नेपाली खाना दालभात तरकारी नै मन पर्छ । त्यसो भन्दा अन्य खानालाई हेलाँ गरेको भने होइन । घर पुग्दा कोदोको ढिँडो र गुन्द्रुक खान मन पर्छ । खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः रोजाइमा पर्छ । 

डोरप्रसाद उपाध्याय, पूर्वसांसद 
मलाई रोटी, तरकारी असाध्यै मन पर्छ । तरकारीमा साग भइदिए झन् जाती हुन्थ्यो । मलाई खीर मन पर्दैन । कामविशेषले बाहेक खानकै लागि रेष्टुरेन्ट जान्न । रेष्टुरेन्ट पुगिहाल्दा ‘भेजिटेरियन स्न्याक्स’ रोजाइमा पर्छ । पकाउने रुचि छ । मैले पकाएको खानेकुरा सादा हुन्छ ।

विष्णु रिजाल, केन्द्रीय सदस्य, नेकपा
सामान्यतः दाल, भात, तरकारी र रोटी खाने गर्छु । सकेसम्म भान्टाको तरकारी खान नपरे हुन्थ्यो भन्ने लाग्छ । योजनाबद्ध तरिकाले रेष्टुरेन्ट कमै पुग्छु । तर, कार्यक्रमका लागि रेष्टुरेन्ट पुगिरहन्छु । रेष्टुरेन्ट पुग्दा सलाद माग्न बिर्सन्न । ‘चाइनिज’ खाना पनि रोजाइमा पर्छ । 

गुरु घिमिरे, केन्द्रीय सदस्य, काँग्रेस 
माछा–मासु, अन्डासमेत खान छाडेको १३ वर्ष भयो । शाकाहारी खानेकुरा प्राथमिकतामा पर्छन् । तारेहोटलमा सेमिनार, गोष्ठी हुँदा खान दिइएको खानेकुरा देख्दा विचित्र लाग्छ । सार्वजनिक व्यक्ति भएकाले घरबाहिर खानेकुरा खानुपर्ने बाध्यता छ । 

हेमकुमार राई ‘सुरवीर’, सांसद 
सबै खाना मन पर्छ । त्यसमध्ये दाल, भात, तरकारी असाध्यै मन पर्छ । सकेसम्म मकैको च्याख्लाको भात खान नपरे हुन्थ्यो भन्ने लाग्छ । काठमाडौंमा रहँदा साथीभाइसँग खानकै लागि कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा ‘ग्रीन’ सलाद मगाउन बिर्सन्न । 

हितबहादुर तामाङ, सांसद 
मकैको डिँडो र रायो सागको तरकारी असाध्यै मन पर्छ । गुन्द्रुकचाहिँ सकेसम्म खान नपरे हुन्थ्यो लाग्छ । रेष्टुरेन्ट एक्लै जान्न । साथीभाइहरूले जाउँ है भन्दा नाइँ भन्दिनँ । रेष्टुरेन्ट पुगिहाल्दा साथीहरूले ‘अर्डर’ गर्न लगाउनुभयो भने चिकेन चिल्ली र सलाद मगाउन बिर्सन्न । 

रामहरि खतिवडा, पूर्वसांसद
बिहान प्राय दालभात तरकारी अचार खान्छु । बेलुका खाना खान्न । मन नपर्ने खाना नै हुँदैन । बर्बाद भो बिहे गरेको छैन । बेलुका त ९० प्रतिशतजति रेस्टुरेन्टमै खान्छु । मनपर्ने स्न्याक्समा चिल्लो पीरो नै मन पर्छ । म कहिलेकाहीं खाना पकाउँछु । विशेषगरी मासु पकाउन रहर लाग्छ । खसीको मासु त व्यापक पकाउँथें । 

डा. खिमलाल देवकोटा, नेता
दालभात, तरकारी नै मीठो लाग्छ । खानेकुरा मन नपर्ने नै हुँदैनन् । जानैपर्ने भयो भनेमात्रै रेष्टुरेन्ट पुग्छु । पुगिहाल्दा ‘ग्रीन स्न्याक्स’ खान छुटाउँदिनँ । 

नवीना लामा, सांसद
नेपाली खाना दालभात तरकारी नै प्रिय लाग्छ । मकैभटमास पनि त्यत्तिकै मन पर्छ । सांगठनिक काममा दौडिरहनुपर्ने भएकाले खानका लागि रेष्टुरेन्ट बाक्लै जान्छु ।

कल्याण गुरुङ, केन्द्रीय सदस्य, काँग्रेस 
सामान्यतः दातभात, तरकारी मन पर्छ । खानेकुरा नमिठो भन्ने हुँदैन । गाउँमा रेष्टुरेन्ट हुँदैनन्, सहरमा हुँदा कहिलेकाहीं रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः, चाउमिन र सुप माग्छु । भान्छामा पस्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप