केन्द्रीय संस्करण

क्रोधलाई अक्रोधले जितौँ

explore access_timeपुस १६, २०७५ chat_bubble_outline0
फाेटाे स्राेत : hubpages.com

जैन पुराणनुसार एक पटक श्री वलराम, वासुदेव कृष्ण र सात्यकी तीन जना आफ्ना शहरबाट बनविहारमा निस्कनुभयो । वन विस्तृत र भयानक थियो । तीनै वीरहरु निर्भय बनेर आफआफ्ना द्रुतगामी घोडामा बसी वनका विभिन्न पशु पक्षी र वृक्ष वनस्पतिका दृश्य हेर्दै भित्रभित्र छिर्दै जानुभयो । घुम्दाघुम्दै साँझ प¥यो । अव अगाडि बढ्ने र पछाडि फर्कने समय थिएन । थकाइ पनि लाग्यो  । जे पाइयो त्यो फल र कन्दमूल खानुभयो । मूलकोे पानी पिउनुभयो । यति गर्दा रात पनि प¥यो । बुट्यानहरुमा घोडा बाँधेर एउटा छहारीवाला ठुलो रुखका फेदमा विश्राम गर्न बस्नुभयो । छलफल कुराकानीमै एक प्रहर रात बित्यो । अव निद्रा पनि लाग्यो ।

जङ्गलमा तीनै जना एकै पटक सुत्नु उचित थिएन । पालैपालो एक जना पहरा बस्ने दुई जना सुत्ने सल्लाह भयोे । प्रथम पहरेदार बन्न सात्यकी अघिसर्नुभयोे । बलराम र कृष्ण सुत्नुभयो, निदाउनुभयो । 

रातको त्यस सुनुसान क्षणमा सात्यकीका अगाडि एउटा भयङ्कर पिशाच प्रकट भयो । पिशाचले सात्यकीसित भन्यो, “म भोको छु । स्वादिष्ट आहारा भेटेँ । तँ चुपचाप भाग् । तँलाई छोडिदिन्छु । यी दुई जनालाई खान्छु । भाग्दैनस् भने तँलाई पनि छोड्दिनँ ।”

सात्यकीले रिसाउँदै भन्नुभयो, “ज्यान जोगाउनु छ भने यहाँबाट आफै भाग् । अन्यथा म तँलाई किचिमिचि पारेर खोल्चातिर फ्याँकिदिन्छु । तैंल. मलाई के ठानेको ?”

पिशाचले आँखा राता पारेर पाखुरा सुर्कँदै भन्यो, “ल आइज, कुस्ती लडौँ ।”

पिशाच र सात्यकीको कुस्ती सुरु भयो । सात्यकी जति क्रोध गर्नुहुन्थ्र्यो, पिशाचको आकार र बल उति बढ्थ्यो । पिशाचले सात्यकीलाई धेरै पटक पछा¥यो । थिच्यो मिच्यो कोप¥यो । सात्यकीको शरीर छियाछिया भयो । अनुहार मुर्मुट्ट सुन्नियो । गोडा मक्र्यो ।

युद्ध गर्दै एक प्रहर बितेछ । पिशाच एकाएक अलप भयो । सात्यकीले बलरामलाई ब्युँझाएर आफू सुत्नुभयो । सात्यकी गहिरो निद्रामा पर्नेबित्तिकै पिशाच पुनः प्रकट भयो । वलरामसँग पनि पिशाचले सात्यकीसँग गरेजस्तै कुरा ग¥यो । वलराम कम झोँकी हुनुहुन्थेन । युद्ध गर्न कस्सिनुभयो । पूरै एक प्रहरसम्म यी दुईबीच द्वन्द्व युद्ध चल्यो । युद्धमा पिशाचको बल र आकार बढ्दै नै गयो । वलरामजीलाई पनि पिशाचले आच्छु आच्छु पा¥यो ।

रातको पछिल्लो प्रहर सुरु भयो । वासुदेव कृष्ण जाग्नु भयो र पहरा दिन उभिनु भयो । बलरामजी सुतेर निदाउनु भएको मात्र थियो । कृष्णका अगाडि त्यही पिशाच उभिन आयो । “यिनीहरुलाई यहाँ यत्तिकै छोडेर तिमी लुसुक्क बाटो लाग । नत्र तिम्रो खैरियत छैन बुझ्यौ ?” पिशाचले कृष्णसँग भन्यो । 

कृष्णले मुसुक्क हाँस्दै भन्नुभयो, “तिमी बडो ठीक समयमा आयौ । तिमीसँग द्वन्द्व युद्ध गरेर एक प्रहर रात रमाइलो गरी बिताउन पाइने भयो । न निद्रा, न आलस्य ! क्या मज्जा !!”

पिशाच वासुदेव कृष्णसँग भिड्यो । यस पटक उसको स्थिति पहिलेजस्तो रहेन । पिशाच दाँत कट्कटाउँदै र मुर्मुराउँदै मच्चिएर कृष्णलाई घुस्सा हान्थ्यो, वासुदेव कृष्ण हललल हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “अहा तिमी बहादुर रहेछौ, तिमीसित उत्साह पनि त रहेछ नि !” यस भनाइको विचित्र परिणाम के भयो भने प्रत्येक पटकको घुस्सामा  पिशाचको शक्ति घट्दैगयो । आकार पनि घट्दै गयो । अन्तमा त्यो पिशाच एउटा सानो कीराका रुपमा बाँकी रह्यो । वासुदेव कृष्णले त्यस कीरालाई उठाएर आफ्नो पटुकाको छेउमा राखेर गाँठो पार्नुभयो ।

बिहान भयो । सुतेकाहरु उठेर बस्नुभयो । सात्यकीको अनुहार मुर्मुट्ट सुन्निएको थियो । गोडा पनि सुन्निएको थियो । पाखुरा र पिँडौलाभरि जताततै घाउ थिए । “एः तिमीलाई के भएको हँ सात्यकि ?” देख्नासाथ वासुदेव कृष्णले सोध्नुभयो ।

सात्यकीले राति पिशाचसँग लडाइँ भएको घटना सुनाउनुभयो । तत्काल वलरामजीले जोड दिँदै भन्नुभयो, “पिशाच बडो भयङ्कर थियो ! द्वन्द्व युद्धमा त्यसले मलाई पनि आच्छुआच्छु पा¥यो !!”

वासुदेव कृष्णले पटुकाको छेउ खोलेर सानो कीरालाई त्यही नजिकैको ढुङ्गामाथि राखेर देखाउँदै भन्नुभयो, “यी यही हो तपाइँहरुलाई दुःख दिने पिशाच । तपाइँहरुले यसलाई समयमा चिन्न बुझ््न सक्नुभएन । यो त क्रोध हो क्रोध । तपाइँ क्रोध जति बढाउनुहुन्छ त्यति बढ्छ, त्यत्ति नै वलवान् हुन्छ । यही क्रोधको प्रकृति हो । यसै भएर क्रोधलाई क्रोधले जित्न सकिँदैन । क्रोध गरिएन भने यसको आकार शक्ति सबै घट्दैजान्छ र आफै समाप्त हुन्छ ।”

सम्बोधात्मक प्रश्न

१)कृष्ण वलराम र सात्यकी कहाँ निस्कनुभएको थियो ?

२)राति सात्यकीका अगाडि के आयो ? के भयो ?

३)रातिका घटनाप्रति वलरामजीको टिप्पणी कस्तो थियो ?

४)वासुदेव कृष्णको काम गराइ र भनाइबाट के वोध हुन्छ ?    

-रमन नेपाल

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha