केन्द्रीय संस्करण

चिनियाँ बालकथाः  काम र परिणाम

explore access_timeपुस १६, २०७५ chat_bubble_outline0
Photo : depositphotos.com
  कथा—रन ताशिङ् 
 
 अनु०—शारदारमणनेपाल
                               
       चार पाँच कक्षातिर पढ्दादेखि नै मलाई कथा पढ्ने सोख जागेको थियो । यो आजभन्दा चालीस वर्ष अगाडिको कुरा हो । त्यति बेला पुरानो समाज थियो । म राजधानीभन्दा टाढाको एउटा गाउँमा बस्थेँ । संसारमा पुस्तकालय नाउँको पनि कुनै ठाउँ र व्यवस्था हुन्छ भन्ने मैले जानेसुनेको थिएन । कथा पढ्ने एक मात्र उपाय थियो साथीहरुसित पुस्तक र्पैँचो लिने, पढिसकेर फिर्ता गर्ने । त्यति बेलाका मेरा साथीहरुमध्ये तीन जना साथीको घरमा मात्र कथाका किताप थिए । तीमध्ये दुई जना अलि घमण्डी थिए । तिनीहरुसित मेरो मिल्ती थिएन र किताप पैँचो लिनु सम्भवै थिएन । बाँकी एक जना मसित मिल्थ्यो । उसको नाम छ्यू छुनरुन थियो । उसको घर मेरो घरको नजिकै थियो । कक्षामा पनि उसको सिट मेरो सिटसँगै परेको थियो । उ मेरो सबैभन्दा मिल्ने साथी पनि थियो । खुसी भएको बेला मलाई एकदुइटा कथापुस्तकहरु पढ्न दिन्थ्यो । उससँग मैले पटक पटक गरी बीसभन्दा बढी पुस्तक पैँचो लिएर पढिसकेको थिएँ । पढ्दापढ्दै मलाई पढ्ने लत लागिसकेको कसैलाई थाहा थिएन । फुर्सत मिल्यो कि कुनै न कुनै पुस्तक पढ्न मन लाग्थ्यो , पढ्थेँ ।
 
    छ््यू छुनरुन मेरो मिल्ने साथी त थियो तर पनि उ मलाई त्यसै त्यत्तिकै पुस्तक पैँचो दिँदैनथ्यो,। प्रत्येक पटक एक न एक शर्त राख्थ्यो । कहिले मैले उसको गृहकार्यको निबन्ध लेखिदिनु पथ्र्यो । कहिले गणितका प्रश्नहरु हल गरिदिनुपथ्र्यो । पुस्तक पढ्न पाइने लोभमा म जोखिम मोलेर पनि उसका ती काम गरिदिन्थेँ । कक्षाशिक्षकले थाहा पाएका खण्डमा ममाथि अनुशासनको कडा कार्बाही हुनसक्थ्यो । नराम्ररी दण्डित हुनसक्थेँ । लुकीछिपी अर्काको गृहकार्य गरिदिनु  अनि परीक्षामा चोराउनु इमानदार विद्यार्थीको काम थिएन । उ भने परीक्षाका बेला पनि मसित “लौन यति , लौन यति” भनिरहन्थ्यो । म लुकीछिपी प्रश्नका उत्तर लेखिदिन्थेँ । यसरी पढाइमा राम्रो अङ्क पाउन छ्यू छुनरुन ममाथि निर्भर हुँदै गयो । उ आफू मिहिनेत गर्दैनथ्यो । उसले निबन्धमा “अति उत्तम” पाउँथ्यो भने अङ्कगणितको गृहकार्यमा पनि मैलेजस्तै “सर्वोत्तम” पाउँथ्यो । मैले “साधारण” पाएको बेला उ पनि त्यही “साधारण” पाउँथ्यो । त्यसताक हाम्रा विद्यालयमा मूल्याङ्कनका पाँच श्रेणी थिए — सर्वोत्तम, उत्तम , राम्रो , साधारण र नराम्रो ।
 
    छ्यू छुनरुनसँगको यस साँठगाँठले मेरो छाती बडेमानको ढुङ्गो झुन्ड्याएजस्तै गह्रुङ्गो भइरहन्थ्यो । बडो कष्टमा दिन बिताइरहेको थिएँ म । हरेक वर्षको परीक्षापछि मेरो पढाइ प्रतिवेदनमा कक्षाशिक्षकले “पढाइ र अनुशासन दुवैमा उत्तम” लेख्थे । म आफू भने लुकीलुकी अनुशासनविहीन काम गरिरहेको थिएँ । विद्यालय नियम अनुसार मेरो काम उत्तम त हुनैसक्दैनथ्यो । तर पनि कथा पढ्ने लोभले गर्दा म मुटूमा ढुङ्गा राखेर पनि ती काम गरिरहेको थिएँ ।
 
      विद्यालयमा प्राथमिक स्तरको अन्तिम वर्षको अन्तिम परीक्षा थियो । यसपछि निम्नमाध्यमिक कक्षाको पढाइ सुरु हुन्थ्यो । यो परीक्षा शिक्षाकार्यालय आफैले लिन्थ्यो । प्रत्येक कोठामा दुई दुई जना निरीक्षक राखिन्थे । कतै कुनै परीक्षार्थीले खिटिक्क कुनै गल्ती ग¥यो भने परीक्षाहलबाटै निकालिन पनि सक्थ्यो । यो सुनेर मेरो साथी छ्यू छुनरुन झसङ्ग भयो । दिनभरिभरि उदास देखिन थाल्यो । उसको हँसिलो अनुहार एक्कासि कता हरायो कता । उसका बाबा झडङ्ग्याहा हुनु हुन्थ्यो । प्रतिवेदनमा कक्षााशिक्षकले कसैगरी नराम्रो लेखिदिनुभयो भने बाबाको कुटाइले बिचराको ढाड भाँच्चिन पनि सक्थ्यो । कक्षामा अनुत्तीर्ण भयो र निम्नमाध्यमिक कक्षामा भर्ना हुन सकेन भने उसको के हालत हुने होला ? झडङ्ग्याहा बाबाले लात्ती मुड्की घुस्सा दिँदै घरबाट निकालाबास गरिदिन पनि सक्नुहुन्थ्यो । यसैकारण पनि मेरो मनमा उसप्रति बढी नै  सहानुभूति थियो ।
 
       छ्यू छुनरुन बेस्सरी चिन्तित थियो । उसको चिन्ता देखेर म पनि चिन्तित हुनथालेँ । दोष कसलाई दिने ? खास दोष त मेरै थियो ।
 
       परीक्षाको एक दिनअगाडि साँझको कुरा हो । स्कुल छुटेपछि छ्यू छुनरुन र म सधैँ जस्तै हातेमालो गर्दै घर फर्कँदै थियौँ । घर पुग्नुअगाडिको पुलनिर आइपुग्यौँ । उसको घर त्यहीँ किनारमा थियो । मेरो घर पारि किनारमा थियो । पुल तरेर जानुपथ्र्यो । छुट्टिने बेला मतिर छड्के आँखाले हेर्दै छ्यूले मधुरो आवाजमा भन्यो , “साथी, एउटा कुरा त भन्नै बिर्सैँछु  हिजोआज शहरिया भिनाजु यहाँ हाम्रो घरमा आउनुभएको छ । वहाँले ल्याउनुभएका कथापुस्तक अनगिन्ती छन् । तीमध्ये एउटा “पुत्लाको साहसिक यात्रा” नामको पुस्तक त गज्जबै राम्रो छ । त्यसमा भएको कथा कालो स्कुल , दश भाइको दगुरादगुर कथाभन्दा पनि कैयौँ गुना राम्रो छ , अहा !” ।
 
        “ एक पुत्लाको साहसिक यात्रा ?” मैले उसको आँखामा आँखा जुधाएर सोधेँ, “कस्तो छ त्यो पुत्ला ? त्यसले यात्रामा अनौठा दृश्यहरु के के देख्छ ? त्यसले साहसी बनेर पार गरेका अपठ्याराहरु के के छन् ?अनि कथामा चाख लाग्दा विचित्र कुरा अरु के के छन् ?”
 
        बडो फुर्तीसित हूँ गर्दै छ्यू छुनरुनले भन्यो ,“ पुत्ला काठले बनेको भए पनि ज्युँदो जाग्दो हट्ठा कट्ठा किशोर छ । बडो बुद्धिमान् र चन्चल । लमतन्न पसारिएको डाँडोजस्तो नाक । देख्दै हाँसो उठ्ने । दिनभरि यताउता बरालिन्छ । भेट्यो भने जोखिमी काम पनि गर्छ । असल खराब विभिन्न मानिससित भेटिरहन्छ । कथा पढ्दैजाँदा तिमी उसको बारेमा चिन्ताले भुट्भुटिन थाल्छौ । कतै पेट मिची मिची हाँस्न थाल्छौ । यस पुत्लाले कहाँ कहाँ केके गर्छ र त्यसको परिणाम के हुन्छ त्योचाहिँ म अहिले भन्दिन । कथा पढेर आफै थाहा पाउँदा रमाइलो हुन्छ ।”
 
      “मलाई छिट्टै त्यो किताप पढ्न देऊ न !”जुरु जुरु हुँदै मैले भनेँ , “कहिले दिन्छौ ?”
 
      “पहिले यो परीक्षा सकियोस् अनि हेरौँला !” छ्यू छुनरुनले मतिर आँखा कर्कायो र मुसुक्क हाँस्दै घरतिर लाग्यो ।
 
       उससित उसका भिनाजुले दिएका कथापुस्तक धेरै थिए । उ आफु पढ्न रुचाउने मान्छे थिएन । उसले कुनै कथाको सारांश सुनाएको पनि यो पहिलो घटना थियो । त्यो पनि मलाई पुस्तक पैँचो दिनुअघि उ यसो किन गर्दै छ ? उसको अभिप्राय एउटा वुद्धूले पनि थाहा पाउन सक्थ्यो । नयाँ र रोचक कथापुस्तकको लोभ देखाएर उ उसको आउँदो परीक्षामा चिटिङ सहयोगका लागि मलाई उक्साउँदै थियो ।
 
      आफुले आफैलाई धिक्कारुँजस्तो लाग्ने कुरा के थियो भने कुनै कथापुस्तकका बारेमा सुनेपछि त्यो नपढेसम्म म अडिनै सक्दिनथिएँ । उसका कुरा सुनेपछि नलोभिऊँ भन्दाभन्दै पनि मेरो दिमाग लोभियो र नयाँ चिन्ता थपियो । भोलिपल्ट परीक्षा थियो । सम्झँदै मुटू ढुक् ढुक् गथ्र्यो । मलाई थाहा थियो यस अन्तिम परीक्षामा चोरेचोराएको पक्राउ प¥यो भने तत्काल त्यहीँ पिटाइ खानुपथ्र्यो । सिङ्गो परीक्षा नै रद्द हुन्थ्यो । दोहो¥याएर पुरानै कक्षामा बस्नुपथ्र्यो । यसमा छ्यू छुनरुन मात्र होइन म पनि पर्ने पक्का थियो । “पढाइ र अनुशासनमा उत्तम छात्र” म त्यसपछि कस्तो अनुहार लिएर हिँडुँला ? मेरो बाबा छ्यूको बाबाजस्तै झडङ्ग्याहा त हुनुहुन्थेन तर पनि अनुशासन पालन गर्नुपर्छ भन्ने सम्बन्धमा वहाँ पनि दृढ हुनुहुन्थ्यो ।
 
       तै तै भोलिपल्ट परीक्षामा निबन्ध सोधिएन । खाली ठाउँ भर्ने, वाक्य बनाउने, शव्दार्थ लेख्ने, व्याख्या गर्ने र अशुद्धलाई शुद्ध बनाएर लेख्ने प्रश्न आयो । यी प्रश्नहरुको उत्तर छ्यू छुनरुन आफै लेख्न सक्थ्यो । उसको निधारमा चिटचिट पसिना उम्रेको थियो तर पनि उसले सबै प्रश्नको उत्तर लेखेको अनुमान गर्न सकिन्थ्यो । परीक्षाहलमा उसले दुई पटकसम्म कम्मर बटारेर ढाड सोझ्यायो । हातले अनुहारमा हावा हम्केको अभिनय गर्दै मेरो कापीतिर कर्के आँखा दगुराउन खोज्यो ।दुई जना निरीक्षकको कडा निगरानीबीच थप केही गर्न भने उसले सकेन । परीक्षा सकेर जव छ्यू हलबाट बाहिर निस्क्यो मैले तुरुन्तै अघि बढेर सोधेँ । आफ्नो उत्तरसँग उसको उत्तर दाँजेँ । कम्तीमा पनि साधारणभन्दा माथि अङ्क आउने लेखाइ भएछ । उ ढुक्क देखियो । मेरो पनि छातीको गह्रुङ्गो ढुङ्गा पन्छियो ।
 
       क्रमशः चित्रकला , गायन , भौतिक संस्कृति लगायत विभिन्न विषयका परीक्षा हुँदै गए । यी विषयमा छ्यू मभन्दा कमजोर थिएन । भौतिक संस्कृति विषयमा त उसले मैलेभन्दा पनि राम्रो ग¥यो । 
 
       साँझ घर फर्कँदा सधैँजस्तै घरनजिकैको पुलनिर आइपुगेपछि छ्यूले आँखा कर्काएर बोल्न सुरु ग¥यो । पहिले पहिलेभन्दा पनि स्पष्ट शव्दमा आज उसले मसँग सोध्यो, “पुत्लाको साहसिक यात्रा पढ्ने नै हो त ? भोलि अङ्क गणितको परीक्षा छ । भोलि तिमी जमेर मद्दत गर्छौ कि गर्दैनौ , पुस्तक पढ्ने नपढ्ने कुरा त्यसैमा भर पर्छ है ।” 
 
       “अँहँ , म मद्दत गर्न सक्दिनँ ।” मेले भनेँ, “दुई दुई जना मुस्तण्ड निरीक्षकहरु तिमीले देखेका छैनौ ? मबाट चिटिङ गराउने काम हुन सक्दैन । परीक्षामा चिटिङ गराएर एक वर्ष पुरानै कक्षामा दोहोरिन मलाई मन छैन । मैले मद्दत गर्दा तिम्रो पनि हित हुन्छ भन्ने छैन ।” 
 
      छ्यू छुनरुन आश्चर्यचकित भयो । उसलाई मेरा कुरा अप्रत्याशित लागेछन् । रिसाउँदै भन्यो, “मेरो हित ? अङ्कगणितमा फेल भएर माथिल्लो कक्षामा भर्ना हुँन नपाउँदा मेरो हित हुन्छ ? तिमी आज आएर मेरो साथ नदिनेमा पुग्यौ हैन ? यसै गर्नु थियो त मलाई गृहकार्य सार्न दिएर किन बानी बिगारेको ? तिमीले मलाई भयानक कठिनाइमा जाक्यौ । पढाइ र सदाचार दुवैमा उत्तम पाएको विद्यार्थीको व्यवहार यही हो त ?”
 
      उसका कुराले मेरो मन मस्तिष्कमा धक्का लाग्यो । हो, अङ्कगणित फेल हुनुमा जिम्मेवार त उ आफै हो तर म पनि जिम्मेवार होइन भन्न मिलेन । उ कमजोर हुनुमा मेरो पनि हात छ । उ अपठ्यारोमा पर्नुमा आधा कारण त म पनि हुँ । मैले यसअघि उसलाई आफ्नो गृहकार्य सार्न नदिएको भए उ आफै मिहिनेत गथ्र्यो । लेख्थ्यो । कथा पढ्ने लोभले मैले उसलाई खुसी पार्न खोजेँ र गर्न नहुने मद्दत गरेँ । अव म के गरुँ? के नगरुँ ?
 
     पुलनिर उभिएर हामीले धेरै बेर छलफल ग¥यौँ । समस्या समाधानको राम्रो उपाय के होला त ? जति छलफल गर्दा पनि उपाय सुझेन । मेरो उत्तरकपीको नक्कल गर्न उसले धेरै जोखिमी उपायहरु बतायो । म त ती उपाय सुन्दै थरर बनेँ । अन्तमा उ नराम्ररी रिसायो र भन्यो , “तँ निर्दय होस् ! सामान्य अवस्थामा गर्नु नपर्ने मद्दत गरेर बानी बिगारिदिइस् , कठिन घडीमा साथ नदिएर भाग्ने भइस् हैन ?” उ छुटेर घरतिर लाग्दा पनि मतिर हेर्दै र बर्बराउँदै गयो –“ अव म तँलाई कथाका किताप पढ्न कहिल्यै दिन्न । बिदाका दिनमा म तेरो घरअगाडिको रुखमुनि बसेर तँलाई देखाई देखाई नयाँ नयाँ कथाका किताप पढ्छु । पुत्लाको साहसिक यात्रा पनि पढ्छु । तँ तड्पेरै मर्छस् । भोलिको अङ्कगणित परीक्षामा पास हुने उपाय अव म आफै सोच्छु । म सोच्न नसक्ने मानिस हूँ र ?”
 
     म अवाक् भएँ । मलाई छ्यू छुनरुन र म आफैमाथि दया लाग्यो —कठैबरा हामी !! 
 
    गर्मीको लामो बिदामा छ्यूले साँच्चै दिनदिनै नदीपारि उसको बगैँचाको रुखमुनि बसेर मलाई देखाउँदै नयाँ नयाँ कथाका किताप पढ्यो र मलाई पढ्न दिएन भने म बहुलाउँछु होला जस्तो लाग्यो ।
 
      अर्को दिन बिहान सधैँको बेला विद्यालय जान तैयार भएँ । घरबाट निस्कँदै थिएँ नदीपारिबाट छ्यूको आमाले चिच्याउँदै मलाई बोलाउनुभएको सुनेँ । दगुर्दै गएँ । पुलनिर भेट भयो । वहाँले हतारिँदै भन्नुभयो, “हेर न छ्यू छुनरुन त बिरामी भयो । पेटमा साह्रै दुख्यो भन्छ ,रुन्छ । पलङबाट उठ्न सकेको छैन । यस्तो बेला उसको बाबा पनि घरमा हुनुहुन्न । मलाई त पर्नु पिर प¥यो । आज अङ्कगणितको जाँच हो क्यारे । उसको आज छुटेको जाँच पछि लिइदिन प्रिन्सिपलसरलाई लेखेको आवेदन छ । लगिदेऊ है । जसरी पनि जाँच त पछि दिलाउनै पर्ला ।”
 
      छ्यूले हिजो भनेकै थियो म आफ्नो लागि चाहिने उपाय आफै निकाल्छु । यही उपाय निकालेछ । साँच्चिकै बिरामी परेछ । बिचरा ! सोच्दै स्कुलतिर लागेँ ।
 
     आज परीक्षाको अन्तिम दिन थियो । आजैबाट गर्मीको लामो बिदा सुरु हुन्थ्यो । आज त खुसीको रमाइलो दिन हुनुपर्ने थियो । छ्यू छुनरुनको अस्वस्थताका कारण म दिनभर उदास रहेँ । हिजो छ्यूले भनेका कुरा कानमा निरन्तर गुन्जिरहन्थे —तैँले मलाई कठिनाइमा जाकिस् ! मलाई फँसाइस् तैँले......!
 
       परीक्षापछि दिउँसो कक्षाशिक्षकले कक्षामा गर्मीको लामो बिदाकालागि गृहकार्य दिनेबित्तिकै म घरतिर दगुरेँ । कक्षाशिक्षकले मसँग भन्नुभएको थियो, “आउँदो दीक्षान्तसमारोहअघि यहाँ यस पटक फेल भएका विद्यार्थीहरुको पुनःपरीक्षा हुँदा छ्यू छुनरुनलाई पनि मौका दिनु पर्ला ।” छ्यूलाई यो समाचार सुनाउन पनि मलाई हतार थियो । यस्तो समाचार जति छिटो सुनाउन सकियो उति जाती । यसैबीच मैले मनमा के निदो गरेँ भने लामो बिदाका दिनमा छ्यूले एक पुत्लाको साहसिक यात्रा लगायत कथाका कितापहरु मलाई देखाई देखाई पढेछ र मलाई पढ्न दिएनछ भने पनि म रिसाउन्न । भौँतारिन्न । बरु म अङ्कगणित सिक्न यो बिदाभरि उसलाई मद्दत गर्छु । उसले पहिल्यै लेखिसक्नुपर्ने निबन्ध पनि म लेखाउँछु । मनाउन सकिन भने कक्षाशिक्षकलाई म आफै भन्छु —तपाइँ मेरो प्रगतिप्रतिवेदनमा “पढाइ र सदाचार दुवैमा उत्तम” अव कहिल्यै नलेख्नुहोला है प्लीज ।”
 
     म टाउको निहुराउँदै दगुरिरहेको थिएँ । मेरा खुट्टामा उड्ने प्वाँख उम्रेका थिए । छिनभरमै पुलनिर आइपुगेँ । टाउको उठाएर हेर्दा छ्यू छुनरुन त्यहीँ उभिइरहेको देखेँ । उ मलाई  नै कुरेर उभिएकोे रहेछ । देख्नेबित्तिकै मतिर लम्कँदै उसले आफ्नो हातको एक पुत्लाको साहसिक यात्रा पुस्तक मलाई दियो । यसलाई पढ्ने मेरो दिनरातको एउटै सपना बनिरहेको थियो । मैले मनको कुरा उसलाई भन्न भ्याएकै थिइन । उसले डाँको छोडेर रुँदै भन्न थाल्यो, “म बिरामी परेको नाटक हो भन्ने मेरी आमाले थाहा पाउनु भयो । आमाले अव दिनदिनै तिम्रो घर गएर तिमीसँग पढ्न सिक्न मलाई आदेश दिनुभएको छ । म आउँछु  मलाई अङ्कगणितका प्रश्नहरु हल गर्न र निबन्ध लेख्न तिमीले सिकाउनु पर्छ । अव म आफ्नो गृहकार्य अरुलाई गराउने , परीक्षामा चिटिङ गर्नेजस्ता लाजमर्नु काम कहिल्यै गर्दिनँ ।”
 
    चालीस वर्षभन्दा बढी समय बितिसक्यो । आज पनि म छ्यू छुनरुनले रुँदै भनेका ती कुराहरु सुनिरहेको छु । मेरो र छ्यूको मित्रता पुनः कायम भएपछि उसका मुखबाट सुनेका ती कुरामा त्यस्तोे के थियो कुन्नि ? जीवनमा त्यस दिन म अति नै धेरै खुसी भएको थिएँ ।    
 
             

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha