बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुस्ताङमा पर्यटक बढे

बुधबार, १८ पुस २०७५, १५ : ०८
बुधबार, १८ पुस २०७५

मुस्ताङ– सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले बृद्धि भएको छ । 

सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको छ । 

वि.सं २०१८ मा विदेशी पर्यटक आगमन १२।३० प्रतिशतले वृद्धि भएको कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । सबैभन्दा धेरै भारतीय पर्यटकको सङ्ख्या ३३ हजार १५९ जना छ । जर्मनीका तीन हजार २१० र फ्रान्सका तीन हजार ८९ जना छन् । 

सन् २०१७ मा २४ हजार ८०८ भारतीय, तीन हजार १२३ फ्रान्सेली र दुई हजार ६३९ जर्मन पर्यटक थिए । २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । प्रचारप्रसार, सडक र सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसमलगायतका कारणले पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख दाहालले बताए । 

एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षणका केन्द्र छन् । मुस्ताङ एक्यापअन्तर्गतको प्रमुख पर्यटकीय गन्तव्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप