बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केपीको रामराज्यमा कञ्चनपुरकी बालिकाले न्याय पाइनन्, कैलालीका अधबैंसेले पदक थापे : काँग्रेस

बिहीबार, १९ पुस २०७५, १७ : ४६
बिहीबार, १९ पुस २०७५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित प्रतिपक्षी दलहरुले कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको सपथग्रहणको विरोध गरेका छन् ।  

काँग्रेसले चौधरीलाई शपथ खुवाउने सरकारको कदमलाई कानुनी राज्यको खिल्ली उडाएको कदमका रुपमा लिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीसँगको कुनाकानीमा अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई मुद्दा फैसला नभई सिंहदरवारमा लगेर सपथ गराएर कानुनी राज्यको खिल्ली उडाएको बताएका हुन् ।

उनले भने, ‘संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मूल बाटो हो । तर, वर्तमान सरकारले गणितिय बल थप्ने नाममा कानुनी राज्यको खिल्ली उडाउने काम गरेको छ । यस्तो कार्य नैतिक र राजनीतिक दुवै कोणबाट गलत छ ।’ 

शर्माले थपे, ‘केपी कमरेडको रामराज्यमा कञ्चनपुरकी बालिकाले न्याय पाइनन् तर कैलालीका अधबैंसेले गोदबा थाप्दैछन् । प्रधानमन्त्रीको हिजोको भाषण र आजको सुशासनबीच नाता सकियो । मयुरको नक्कली प्वाख क्रमशः झर्दैछ ।’

उनले प्रधानमन्त्री ओलीलाई दुधे बालक, प्रहरी जवानहरु र आफ्नै शब्द सम्झनाले पोल्दैन भनेर प्रश्न समेत गरेका छन् ।

काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले चौधरीलाई शपथ ग्रहण गराउनु कानुनसम्मत नभएको दाबी गरेको छ । दलका महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्ति जारी गरेर चौधरीलाई कानुनविपरित जेलबाट निकालेर सांसद पदको शपथ गराउने कार्य संविधान र कानुनी शासनको ठाडो उल्लंघन भएको दाबी गरेको हुन् । 

यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि चौधरीको सपथको विरोध गरेको छ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै चौधरीको सपथ ग्रहणले कानुनी राज्यको सिद्धान्तको गम्भिर उपहास गरेको उल्लेख छ । 

‘टीकापुर घटनाका अभियुक्त किटान गरी अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ गराउने कार्यले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको छ,’ राप्रापाको विज्ञप्तिमा भनिएको छ । 

तर, सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चौधरीको सपथबारे कुनै प्रतिक्रिया दिएको छैन । नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले यस विषयमा अहिले नै आफूले कुनै धारणा राख्न नसक्ने बताए । तर, सत्तारुढ दलकै अर्का नेता सुवास चन्द्र नेम्वाङ्गले रेशम चौधरीको सपथ ग्रहण स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।

रेशम चौधरीको सपथ ग्रहणपछि नेकपा संसदीय दलको कार्यालयमा नेता नेम्वाङ्गले चौधरीको सपथग्रहण स्वभाविक प्रक्रिया भएको टिप्पणी गरेका हुन् । निर्वाचनमा लड्दा प्रक्रियाले नरोकेकोले त्यही निर्वाचनबाट निर्वाचित सांसदलाई सपथ गराउनु स्वभाविक भएको उनको तर्क थियो । ‘उहाँ जतिबेला उठ्नुभयो,त्यती बेला उहाँलाई हाम्रो प्रक्रियाले रोकेन । प्रक्रियाले नरोकेको ठीक भो कि गलत भो ? त्यो पनि छलफलको विषय होला । तर प्रक्रियाले रोकेन । उहाँले निर्वाचन लड्न पाउनु भो । निर्वाचन लडिसकेपछाडि जनताको जनादेश प्राप्त भो । जनताको जनादेश प्राप्त गरिसकेपछाडि उहाँ मानननीय सदस्य हुनुभयो । त्यसैले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेर सभामुखज्युबाट सपथ ग्रहण गर्नुभएको छ,’ नेम्वाङको भनाई छ । 

यता, चौधरीआबद्ध राजनीतिक दल दल राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चौधरीको सपथ ग्रहणलाई लोकतन्त्र र जनादेशको सम्मान भएको बताएका छन् । २०७२ भदौ ७ गते कैलालीका टीकापुरमा थरुहट–थारुवान संयुक्त संघर्ष समितिले थरुहट स्वायत्त प्रदेश माग गर्दै गरेको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक जना नावालकको समेत ज्यान गएको थियो । टिकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएर विजयी हासिल गरेका थिए । 

तर उनले सपथ लिन भने पाएका थिएनन् । गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि पुपक्र्षका लागि जेल चलान भएका चौधरीविरुदको मुद्दा अदालतमा विचाराधीन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप