शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद सचिवालयमा रेशम चौधरीको १ घण्टा : छोरा सुम्सुम्याए, सपथ लिए अनि सांसदको लोगो लगाएर डिल्लीबजार गए (भिडियो)

बिहीबार, १९ पुस २०७५, १८ : ४५
बिहीबार, १९ पुस २०७५

काठमाडौं– ढाका टोपी, पूर्वेली ढाकाको कुर्ता र गलबन्दी अनि सेतो सुरुवाल र गलाभरी खादामा सजिएका रेशम चौधरी प्रहरीको बाक्लो घेरामा थिए । प्रहरीको भ्यानमा दिउँसो साढे २ बजे डिल्लीबजार कारागारबाट टिकापुर काण्डका अभियुक्त सांसद चौधरी सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए ।

त्यहाँ उनलाई राष्ट्रिय जनता पार्टीका सांसदहरुले खादा लगाएर स्वागत गरे । संसदको कृषि तथा सहकारी समितिको हलमा उनलाई लगियो । उनीसँगै उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी र छोरा आभूषण चौधरी पनि आएका थिए । 

कृषि समितिको हलमा दिउसो ३ बजेका सभामुख कृष्णबहादुर महराले उनलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको थियो । झन्डै १० मिनेट उनले समितिको हलमा सभामुखलाई पर्खिए । त्यसबीचमा उनले आफ्ना छोरा आभूषणलाई म्वाँई खाए र निक्कैबेर सुम्सुम्याईरहे । 

राष्ट्रिय जनता पार्टीका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतका राजपाका अधिकांश सांसदहरु उपस्थित भए । यस्तै नेकपाका देव गुरुङ, सुवास नेम्वाङ लगायतका नेताहरु पनि पुगेका थिए । देव गुरुङलाई भेट्नेबिक्तिकै उनले पहिले सँगै आन्दोलनमा सहभागी भएको स्मरण गरे । 

दिउँसो ३ बजे सभामुख महराले नेपालीमा सपथ बाचन गरे भने चौधरीले थारु भाषामा सपथ लिए । सपथ लिँदा उनकी श्रमती रञ्जिता ठीक पछाडि उभिएकी थिइन् ।  सपथ पछि चौधरीलाई संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सांसदको लोगो लगाइदिए । छातीमा लगाएको लोगो मिडियाकर्मीतिर देखाउँदै उनले विजयी भाव प्रर्दशन गरे । राजपाका सांसदहरुले उनलाई फूलमाला, खादा र टिका लगाइदिए । 

टिकापुर घटना सामाजिक सञ्जालमा जिस्काउने विषय हैन, छानविन होस् 

सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले टिकापुर घटनालाई दुर्घटना भन्दै सहिद भएका बालकसहित सम्पूर्ण सुरक्षाकर्मीहरुको परिवारलाई समवेदना प्रकट गरे । टिकापुरमा राजनीतिक आन्दोलन भएको ७ जनाले सहादत पाएको र ३४ हजार मतले आफूलाई विजयी गराएको उल्लेख गरे ।  

उनले टिकापुरमा ३ वटा सुरक्षा निकायले थारुहरुको घरमा आगो लगाएको दावी गर्दैै आफूले २५ बर्षदेखि मिडियाका काम गरेको र आफूले सबैभन्दा धेरै राष्ट्रिय गीतमा संगित गरेको बताए ।  टिकापुरका जनताले दिएको मतलाई अस्वीकार गर्ने कस्तो लोकतन्त्र हो भन्दै प्रश्न गरे । 

उनले टिकापुरमा आफूले गरेको समाजसेवाका कारणले विजयी भएको बताउँदै आफ्नो रिस गर्नेहरुले षडयन्त्र गरेको बताए । उनले टिकापुर घटनाको स्पष्ट छानबिन हुनुपर्ने बताउँदै दोषीलाई कारबाही गर्नु गर्न आग्रह पनि गरे । उनले आफूलाई अदालतले न्याय दिने बताए ।

चौधरीले आफू बहुमुखी प्रतिभाको धनी भएको र सानै उमेरमा धेरै पुरस्कार पाएको भन्दै आफूलाई चोरी डाँका मुद्धा लगाइएकोमा आपक्ति प्रकट गरे । उनले भने– ‘टिकापुर घटना सामाजिक सञ्जालमा जिस्काउने विषय हैन । यसको निष्पक्ष छानविन हुनुपर्छ । यसलाई सहजै सामाजिक सञ्जालमा नलिनुस् । यो वर्गीय, जातिय भावनालाई ठेस पुगेको घटना हो । अझै पनि हाम्रा सयौं साथीहरु निर्वासित हुनुहुन्छ । दर्जनौ साथीहरु जेलमा हुनुहुन्छ ।’

सपथपछि झन्डै १० मिनेट संसद सचिवालय रहेका चौधरीलाई बा १ झ ७७०७ नम्बरको प्रहरी भ्यानमा हालेर डिल्लीबजार सदर खोर लगियो । 

अब छिट्टैनै आउनुहुन्छ : श्रीमती रञ्जिता चौधरी

रेशमलाई सदरखोर डिल्लीबजार लगेपछि श्रीमती रन्जिता श्रेष्ठले उनी छिट्टै जेलुमुक्त भएर फर्कने बताइन् ।  कफ्र्युको समयमा ५ बर्षको छोराको किताब कापी जलाउनेलाई डाँका मुद्धा लगाउनेकी रेशम चौधरीलाई मुद्धा लगाउने भन्दै प्रश्न गरिन् ।

उनले टिकापुरमा सबैले सद्भाव चाहेको बताउँदै भनिन्– ‘चुनाव जितेको १ बर्षपछि संसद भवन आएर सपथ खानुभएको छ भने अब छिट्टै नै छुट्नुहुनेछ । जसरी हामीले ३ बर्ष धैर्य ग¥यौँ, अब राम्रो हुन्छ भन्नुभएको छ । हामी न्यायकै पक्षमा छौँ ।’

रातोपाटीसँगको कुराकानीमा उनले छोरा आभुषण निकै खुसी भएको बताइन् । ४ बर्षपछि छोराले बाबु भेटेको बताउदै उनले चौधरी भारतमा बसेका बेला ३ बर्ष भेट नभएको र काठमाडौं आएका बेला भेट भएको बताइन  । ४ बर्ष संगै बस्न नपाएको छोराले संसद भवनमा बाबुलाई देख्दा मेरो बुवा पनि यस्तो हुनुहुँदो रहेछ भनेर खुसी ब्यक्त गरेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप