शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

माननीयहरुको गाडीमोह : प्रदेश ५ का सांसदलाई ८ करोडको गाडी !

शुक्रबार, २० पुस २०७५, १३ : १६
शुक्रबार, २० पुस २०७५

बुटवल । सभासदहरु सेवा सुविधामा केन्द्रीत भएको भन्दै आलोचना भइरहेका बेला पाँच नम्बर प्रदेशमा ८ करोड रुपैयाँ बराबर गाडी खरिद गरिएको छ । प्रदेशसभामा सत्तापक्षका सचेतकदेखि प्रत्येक विषयगत समितिका सभापतिहरुका लागि १३ वटा नयाँ गाडी खरिद गरिएको हो । 

१३ वटा गाडी खरिदका लागि प्रदेशसभाले ७ करोड ९१ लख ४४ हजार रुपैयाँ खर्च गरेको छ । १३ गाडीमध्ये ११ वटा गाडी टाटा स्ट्रम रहेका छन् । जसको मूल्य प्रतिगाडी ७१ लाख ९४ हजार रुपयाँ छ । 

प्रदेशसभाले १४ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको थियो । तर एउटा गाडी प्राविधिक रुपमा नमिलेपछि फिर्ता पठाइएको छ  ।

१३ वटा नयाँ गाडीमा नम्बर प्लेट राखेर प्रदेश सभाका विषयगत समितिका सभापतिहरुलाई यही साता हस्तान्तरण गरिएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता, सत्ता पक्षका प्रमुख सेचतक र  बिषयगत समितिका सुभापतिलाई गाडी खरिद गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्भल कुमार पुनले जानकारी दिए । 

उनले रातोपाटीसँग भने, ‘एउटा गाडि प्राविधिक कुरा नमिलेका कारण खरिद गरिएन । मेरो लागि पनि खरिद गरिएको छ, अन्य उप–सभामुख, प्रमुख प्रतिपक्ष दल र सत्तारुढ दलको प्रमुख सचेतकलाई गाडी खरिद गरिएको हो ।’

तर, प्रदेशमा महङ्गा गाडी खरिदको विषयलाई अर्थशास्त्रीहरुले आलोचना गरेका छन् । प्राध्यापक बैकुण्ठ पाण्डेयले आवश्यकताभन्दा पनि प्रदेशसभाका सांसदहरु सुविधाभोगतर्फ केन्द्रीत भएको बताए । 

उनले भने, ‘गाडी चाहिन्छ तर कम बजेटका गाडी पनि खरिद गर्न सकिन्छ । महङ्गा गाडी किन्ने मौका यही भन्ने सोँच गलत हो ।’  

को कस्ता गाडी चढ्छन् ?

प्रदेश ५ कार्यलयका अनुसार खरिद गरिएका १३ वटा गाडीमध्ये निसान टेरानो र  महेन्द्रा स्कारपीयो एक–एक छन् । अन्य ११ वटा टाटा स्ट्रम गाडी खरिद गरिएको छ । जसको मूल्य अन्य गाडीको भन्दा महङ्गो छ । कार्यालयका अनुसार फुल अप्सन भएको प्रति गाडी ७१ लाख ९४ हजार रुपैयाँ परेको छ । निसान टेरानो  ५३ लाख ९५ हजार रुपैयाँ र महिन्द्रा पिकअप ३५ लाख ८५ हजार रुपैयाँमा खरिद गरिएको छ ।

प्रदेश सचिव दुर्भल कुमार पुनका अनुसार गाडीको बिमा र डेकोरेशन गर्न थप पैसा चाहिन्छ ।

सत्तापक्षका मुख्य सचेतक भूमिश्वर ढकाल लु १ झ ४५६ विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले लु १ झ ४४७, सामाजिक विकास समिति सभापति दीर्घ नारायण पाण्डेले लु १ झ.४४५ नम्वरको टाटा गाडी चढेका छन् ।

यस्तै, प्रदेश मामिला तथा कानुन समिति सभापति दामाकुमारी शर्माले लु १ झ ४४० नम्बरको टाटा गाडी चढेका छन् । सार्वजनिक लेखा समिति सभापति डिल्ली बहादुर चौधरीले लु १ झ ४४१ नम्बरको गाडी पाएका छन् ।

अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने शर्माले लु १ झ ४४९ नम्वरको गाडी पाएका छन् ।

सुरेन्द्र बहादुर हमाल प्रतिपक्ष दलका प्रमुख सचेतक हुन् । उनले लु १ झ४४३ गाडी पाएका छन् । यस्तै कृषि, वन तथा वातावरण समितिका सभापति विजय वहादुर यादवले लु १ झ ४४२, भौतिक पूर्वधार विकास समिति सभापति आशा स्वर्णकारले लु १ झ ४४६ नम्बरको गाडी चढेका हुन् ।

बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले लु १ झ ४४८ पाएका छन् । प्रदेश सभाका सचिव पुनले पनि नयाँ गाडी पाएका छन् । उनले लु १ झ ४६७ नम्बरको निसान गाडी चढेका छन् । 

यस्तै प्रदेशसभा सचिवालयका लागि भनेर खरिद गरिएको मेहिन्द्रा पिकअप लु १ झ ४५२ नम्बरको गाडी सवै भन्दापछि गठन भएको प्रदेशको नाम र ठाउँ तोक्न  गठित समितिका सभापति दीपेन्द्र पुनलाई दिइँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप