शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिदामा बसे जोशी, निवर्तमान प्रधानन्यायाधीश मिश्रको ‘नो कमेन्ट’

शुक्रबार, २० पुस २०७५, १३ : ५८
शुक्रबार, २० पुस २०७५

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी शुक्रबारबाट बिदामा बसेका छन् । जोशी शुक्रबारबाट लागू हुने गरी ५ दिनका लागि बिदामा बसेका हुन् । 

शुक्रबार रातोपाटीसँग कुराकानी गर्दै न्यायाधीश दीपकराज जोशीले ‘आफू ५ दिनका लागि बिदामा बसेको’ बताएका हुन् । 

यद्यपि सर्वोच्च अदालत प्रशासनले भने जोशी बिदामा बसेको बारे कुनै औपचारिक जानकारी नआएको भन्दै यसबारेमा केही थाहा नभएको बताएको छ ।

दीपकराज जोशीको चेम्बरसमेत खोसियो

बुधबार प्रधानन्यायाधीशमा नियुक्त भएलगत्तै चोलेन्द्र शमशेर राणाले जोशीविरुद्ध ‘धावा’ बोल्न सुरु गरेका थिए । 

राणाले बुधबार मात्रै पत्रकारसँगको अन्तक्र्रियामा जोशीलाई पेसी नतोकिने भन्दै अदालतलाई बन्धक नबनाउन जोशीसँग आग्रह गरेका थिए । चतुर शैलीमा प्रस्तुत भएका राणाले जोशी आफ्नो परममित्र भएको तर संसद्को सम्मानका लागि आफूले उनलाई इजलास दिन नसकेको भन्दै राजीनामा गर्न सुझाएका थिए । 

जोशीले बुधबार नै रातोपाटीसँग कुराकानी गर्दै ‘आफू नियमित कामका लागि सर्वोच्च आउने’ बताएका थिए । 

दीपकराज जोशीले भने, ‘म सर्वोच्च जान्छु’

तर बिहीबार एकाएक प्रधानन्यायाधीश राणाले न्यायपरिषद्को बैठक राखी जोशीको सबै अधिकार खोसेका थिए । उनले न्यायपरिषद् सदस्यमा पनि जोशीलाई स्थान दिएका छैनन् भने संवैधानिक इजलासमा दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीलाई नियुक्त गरेका छन् । यसअघि नै मेलमिलाप परिषद्को अध्यक्ष रहेका दीपकराज जोशीलाई हटाएर उनको स्थानमा राणाले ईश्वरप्रसाद खतिवडालाई नियुक्त गरेका छन् । 

पदभार सम्हालेलगत्तै प्रधानन्यायाधीश राणाले लिए कठोर निर्णय

न्यायपरिषद् बैठकमै जोशी आउट !

न्यायपरिषद्को बैठक आह्वान गर्दैगर्दा बैठक हुने समयभन्दा २४ घण्टा अगाडि नै खबर गर्नुपर्ने व्यवस्था छ । तर बिहीबारको न्यायपरिषद् बैठकमा भने वरिष्ठतम् न्यायाधीश जोशीलाई बोलाइएन । उनलाई खबर नै नगरी न्याय परिषद्को बैठक राखियो, न्यायपरिषद् सदस्यबाट पनि हटाइयो र उनको स्थानमा १ नम्बरको इजलासमा दीपककुमार कार्कीलाई राखियो । यसको अर्थ अब सर्वोच्चको वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की हुन् भन्ने सन्देश गएको छ ।

मिश्र हुँदा ठीक, राणा आउँदा सबै गलत !

त्यसो त यसअघि प्रधानन्यायाधीश बनेका ओमप्रकाश मिश्रले जोशीलाई पेसी तोक्दै दैनिक कामकाज गर्न सहयोग गरेका थिए । तर जब सर्वोच्चमा ‘राणा’ कालको सुरुवात भयो, न्यायाधीश दीपकराज जोशी एकाएक अयोग्य बने ।

राणाले संसद्को सम्मान भन्दै जोशीलाई पेसी त तोकेनन् नै, जसरी हुन्छ सर्वोच्चबाट निकाल्ने नै रणनीतिमा लागे । यदि जोशी अयोग्य नै हो भने यसअघि उनले गरेका निर्णय अब के हुन्छ त ? 
के एकै न्यायाधीश एक व्यक्ति प्रधानन्यायाधीश हुँदा ठीक र अर्को व्यक्ति प्रधानन्यायाधीश बन्दा गलत हुन सक्छ ?

हामीले यही प्रश्न निवर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सोध्यौँ । हामीले सोधेको प्रश्न यस्तो थियो, ‘अहिले दीपकराज जोशीलाई पूरै अयोग्य भनेर खेद्ने काम भएको छ । संसदीय समितिबाट अस्वीकृत भए पनि तपाईंले इजलास दिनुभयो र कामकाज गराउनुभयो । तर चोलेन्द्र श्रीमान्ले उहाँ गलत नै हो भन्ने भाव व्यक्ति गरिरहनुभएको छ । त्यसो भए गलत कसले गर्यो ? तपाईं कि चोलेन्द्र श्रीमान्ले त ?’

जवाफमा मिश्रले आफूले न्यायालय छाडिसकेको भन्दै यस्तो प्रश्न नगरिदिन आग्रह गरे । त्यसो भए को गलत त भन्ने हाम्रो प्रश्नमा मिश्रले जवाफ दिए ‘नो कमेन्ट ।’

सर्वोच्च फर्केलान् कि नफर्केलान् ?
शुक्रबारबाट आफू ५ दिन विदामा बसेको जोशीले रातोपाटीलाई बताएका छन् । उमेर हदलाई हेर्ने हो भने जोशी २०७६ असोज २३ गतेसम्म न्यायाधीश बन्न पाउने थिए । तर विभिन्न आरोह र अवरोह झेल्दै आएका उनी अब भने सर्वोच्च नफर्कने तयारीमा रहेको बुझिएको छ । आफूमाथि सङ्गठित हमला सुरु भएपछि निरीह बनेका जोशी बिदा सकिएलगत्तै अवकाश लिने तयारीमा रहेको बुझिएको छ । यद्यपि जुन आरोपबाट उनलाई प्रधानन्यायाधीश बन्न रोकिएको थियो, त्यो आरोप पुष्टि नभएको वा हुन नसक्ने अवस्था आएको भन्दै जोशीले संसद्सँग पनि जुँगा र प्रतिष्ठाको लडाइँ लडिरहेका छन् । यसअघि पनि जोशी १६ दिनसम्म बिदामा बसेर पछि सर्वोच्च फर्किएका थिए । त्यसकारण अहिले नै यसै भन्न नसकिए पनि सर्वोच्च बस्ने चेम्बरसमेत खोसिन थालिएपछि उनी बहिर्गमनको तयारीमा रहेको सर्वोच्च स्रोतले बतायो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप