बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थापाको  पुस्तक ‘बारुदमाथि उड्दा’ को विमोचन

शनिबार, २१ पुस २०७५, १८ : ४०
शनिबार, २१ पुस २०७५

 काठमाडौं– ‘युद्ध यस्तो स्थान हो जहाँ जीवन र मृत्युको भेट हुन्छ ।’ यो भनाई पत्रकार विजय कुमार पाण्डेले क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक पुस्तक ‘बारुदमाथि उड्दा’ को विमोचनका क्रममा भनेका हुन् ।

 पाण्डेले भने, ‘देखिने सत्य, तुलनात्मक सत्य र अन्तिम सत्यसम्म पुग्न यो पुस्तकले सहयोग गरोस् । हाम्रो जीवन आफैँमा रङ्गहीन छ, यसमा हामीले भर्ने भनेको रङ्ग हो । मनुष्य जस्तोसुकै परिस्थितिमा भएपनि अगाडि बढ्ने बाटो सधैँ खुला रहन्छ । थापाले कठिन परिस्थितिमा पनि आफू अगाडी बढ्ने बाटो खोजी गरे र अहिलेको समयमा आइपुगे ।’ 

विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानसेनापति रुक्माङ्गत कट्वालले  थापाको पुस्तक पढ्दा असम्भव भन्ने चिज संसारमा केही छैन भन्ने अनुभूति हुने बताए । ‘ पुस्तक पढ्दा असम्भव भन्ने चिज संसारमा केही छैन भन्ने प्रमाणित हुन्छ । नेपालीले भोग्नुपरेका पीडा आफैँले अनुभव गरे जस्तो लाग्यो', उनले भने । 

यस्तै, पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले थापाको जीवनवृतान्तलाई सफल जीवनको उडान भएको धारणा राखे । 

उनले भने, ‘काभ्रेपलाञ्चोकको एउटा सामान्य परिवारमा जन्मेको, साहुको डल्ला फोडी सात मोहर ज्याला लिएर, माडवारीको कामदार, अदालतको मुखिया, मुखियाबाट प्राप्त कमाइले पाइलट, कम्पनीको मालिक र मिडिया उद्यमीको रुपमा आफूलाई स्थापित बनाउन सफल थापाको जीवनलाई जीवनको उडान भन्नुपर्दछ ।’

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्द्वकालका घटनालाई प्रत्यक्ष रुपमा देखेर थापाले घटनाको वास्तविक चित्रण पुस्तकमा गरेको धारणा राखे । 

यस्तैगरी पुस्तकका सम्पादक राजाराम गौेतमले २०४० सालअघिको जीवन सङ्घर्षलाई समेत पुस्तकमा समेटिएको धारणा राखे । 

तत्कालिन माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन थापाले युद्धस्थलका ताजा घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमंगिएको बखतका उद्धारको वर्णन पुस्तकमा गरेका छन् । 

रामेछापको बेथान, सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालिन अवस्था र उद्धारको रोचक वर्णन उक्त पुस्तकमा गरिएकाे छ । 

शनिबार राजधानीमा आयोजित विमोचन कार्यक्रममा आयोगका अध्यक्ष  शर्मा र थापाकी आमा सुर्यकुमारी थापाले  पुस्तक लोकार्पण गरेका थिए । 

आफ्नो फ्लाईट करिअरमा नौ हजार घण्टा बढी समय आकाशमा उडेका थापा माओवादी जनयुद्धका समयमा घाइते सेनाको उद्दारमा खटिएका थिए । थापाले उक्त समयका आफूलाई भोक्ता र साक्षीको रुपमा आफूलाई उभ्याएका छन् । 

कार्यक्रममा थापाले जनयुद्धकालमा आफ्नो सुरक्षामा खटिएका अंगरक्षक स्वर्गीय रवीन शाहको   छोरीको उच्च शिक्षा अध्ययनका लागि दुई लाख सहयोग गरेका थिए । 

यस्तै  पुस्तकको रोयल्टी बापत आएको रकम उनले नेपाल क्यान्सर केयर फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् ।

 उक्त पुस्तकको केही समयपछि अङ्ग्रेजी अनुवाद पनि आउने बताइएको छ । शनिबारदेखि बजारमा उपलब्ध पुस्तकको मूल्य रु ५२५ तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप