शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आस्थाको धरोहरमा कसैले बन्चरो हान्छ भने हरेक हृदयमा विस्फोट हुन्छ’

आइतबार, २२ पुस २०७५, ११ : ४५
आइतबार, २२ पुस २०७५

नेपाली भाषाको वर्णविन्यासका विषयलाई लिएर समय समयमा विभिन्न मतभेद हुँदै अहिलेको अवस्थामा आएको छ । यसक्रममा विभिन्न विद्वानहरू व्यक्तिगत रूपमा, निजी संस्थाहरूले र राज्यसम्बद्ध संस्थाहरूले भाषिक गोष्ठी, बैठक र लेखहरू मार्फत प्रयासहरू गर्दैै आएका छन् । तर पनि सबैलाई स्वीकार्य हुने वर्णविन्यास अझै आउन सकेको छैन, निरन्तर रूपमा मानकीकरणका प्रयासहरू भइरहेका छन् । वर्णविन्यासमा मानकीकरणका सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले निर्वाह गर्ने भूमिकाका बारेमा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा देवीप्रसाद गौतमसँग मोहन दाहालले लिएको कुराकानी :
  
तपाईं त्रिवि नेपाली केन्द्रीय विभागको विभागीय प्रमुख, २०५३ सालमै ‘नेपाली भाषामा पदावली व्यवस्था’ शीर्षकमा विद्यावारिधि गरी निरन्तर नेपाली भाषाका क्षेत्रमा लाग्नुभएको भाषिक अध्येता, अब बताइदिनुस् न, नेपाली भाषाको वर्णनिर्धारणमा देखिएका अभिमत तथा विवाद कसरी आए ?

नेपाली वर्णविन्यासमा विवादभन्दा पनि नेपाली भाषाको मानकीकरणका क्रममा ऐतिहासिक काल खण्डदेखि नै त्यसका विविधताहरू छँदैथिए । केही फरक फरक अभिमतहरू प्रारम्भिक कालदेखि नै आइरहेका थिए । प्रारम्भदेखि नै लेख्य नेपालीको मानकीकरण प्रयासहरू विभिन्न व्यक्ति, संस्था र निकायहरूले गर्दै आएका थिए । त्यति हुँदाहुँदै पनि नेपाली भाषाको प्रयोगमा आएका केही भिन्न रूपहरूलाई ऐतिहासिक सन्दर्भमा स्वीकार गरी आएको त्यो तथ्य नै हो । व्यक्तिका केही प्रयासहरू, व्यक्तिका केही आफ्नै खालका लेखन परम्पराहरूलाई मानक नेपाली भाषाको विकासका क्रममा उनीहरूको नेपाली मानकीकरणलाई स्वीकार गरिआएको हो । सूर्यविक्रम ज्ञावलीका भाषा लेखनसम्बन्धी फरक मान्यता थिए । शिवराज आचार्यका केही मान्यताहरू थिए, यी मान्यताहरूलाई पनि व्यक्तिका आफ्ना चेष्टा, आफ्ना प्रयासहरू पृथक् रूपमा स्वीकार गरिआएको वास्तविकता हो । वर्णविन्यासकै सन्दर्भमा पनि ईश्वर बरालका पनि केही भिन्न मान्यताहरू थिए । 

लेख्य नेपालीको मानकीकरणका सन्दर्भमा संस्थागत रूपमा जे–जति प्रयास भए र ती संस्थागत प्रयासकै सेरोफेरोमा आफ्ना निजी विचारहरू, निजी लेखनहरू, निजी मान्यताहरू आएका थिए । चाहे महानन्द सापकोटाकै लेखनका मान्यताहरूको कुरा गरौँ, या झर्रोवादी आन्दोलनकै कुरा गरौँ, त्यसकै सहवर्ती भएर नेपाली भाषाको मानकीकरणको शृङ्खलामा क्रमशः अगाडि बढिरहेको हाम्रो इतिहास हो । तर त्यो विवादको विषय थिएन । त्यो एउटा अभिमत, एउटा मान्यता, पृथक् दृष्टिकोण, सबैभन्दा उपयुक्त मान्यता पहिल्याउने व्यक्तिगत प्रयास र मान्यताहरू अगाडि आएका थिए, जसले वर्णविन्यासका पृथक् मान्यता राख्नु भएको थियो । उहाँहरूका आफ्ना मान्यताहरू थिए तर आग्रह थिएन । सँगसँगै संस्थागत प्रयासमा नेपाली भाषाको मानकीकरणको क्रम जसरी बढिरहेको थियो, त्यस सन्दर्भमा उहाँहरूका पृथक् वर्णविन्याससम्बन्धी मान्यतालाई समुदायले स्वीकार गरेको पनि  थियो । 

यसरी एउटा सहयात्राको क्रममा नेपाली भाषाको लेख्यको मानकीकरणको इतिहास क्रमशः अगाडि बढ्दै आएको हो ।  त्यस सन्दर्भमा त्रिभुवन विश्वविद्यालयको नेपाली विषय, नेपाली विभागले ऐतिहासिक सन्दर्भमा नै केही अभिमतहरू राख्दै आयो । 

यो पनि पढौँ

कुनै शासकले बन्दुक तेर्स्याएर ल्याउने कुरा होइन वर्णविन्यासमा एकरूपता : डा. बलदेव अधिकारी

विशेषगरी २०३४, ०३५ सालदेखि लेख्य नेपालीको मानकीकरणलाई अझ व्यवस्थित गरिनुपर्छ भन्ने सन्दर्भमा केही अभिमत पनि अगाडि आए । त्यतिबेला एउटा अधिगोष्ठी भयो । नेपाली विषयका शिक्षकहरू सम्मिलित उक्त अधिगोष्ठी पोखरामा भएको थियो । त्यसले नेपाली भाषाको शिक्षणका सम्बन्धमा नियमीकरण गर्ने एउटा प्रयास गरेको थियो । किनभने त्यतिबेलादेखि नेपाली भाषाको पठनपाठन गर्न अनिवार्य नेपालीको विकास भएको थियो  । विश्वविद्यालयका विभिन्न तहहरूमा विशेषगरी आईए, आईकम अहिलेको प्रमाणपत्र तहमा नेपाली भाषा अनिवार्य रूपमा थियो । कक्षाभित्र विद्यार्थीलाई नेपाली भाषाको पठनपाठनको निम्ति नियमन गर्र्नुपर्ने, एकरूपता गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । त्यो समयमा नेपाली भाषाको लेख्य रूपमा केही विविधताहरू आइरहेका थिए । ती नेपाली वर्णविन्यासलाई स्वीकार गरिएको थियो । तर कक्षा कोठाभित्र नेपाली विद्यार्थीहरूलाई निश्चित दिशा निर्देश गर्नुपर्ने भएकाले, नियमन गर्नुपर्ने थियो । त्यो समयसम्ममा नेपाली भाषामा अगन्तुक शब्दहरूको अत्यधिक प्रयोग भइरहेको थियो । उच्च शिक्षामा नेपाली भाषाका माध्यमबाट विभिन्न विषयहरूको अभिव्यक्ति भइरहेको समय थियो । त्यसैले नेपाली भाषामा भित्रिएका थुप्रै त्यस्ता शब्दलाई मानकीकृत गर्नुपर्ने, लेख्य रूपमा एकरूपता गर्नुपर्ने अवस्था थियो । २०३४, ०३५ सालतिर नेपाली विषय समितिले केही अग्रसरता लियो । त्यस समितिले भाषाको एकरुपताका बारेमा विशेषगरी शैक्षणिक सन्दर्भमा नियमन गर्ने प्रक्रिया बसायो । त्यसपछि नेपाली विषयका विभिन्न गोष्ठीहरू हुँदै गए । सकेसम्म  अपवादलाई कम गर्दै जने, अपवादलाई न्यूनीकरण गर्दै जाने, नेपाली भाषामा आएका जति प्रयोगहरू छन्, ती प्रयोगहरूलाई स्वीकार गर्दै जाने तर अपवादलाई केही कम गर्दै जाने एउटा मान्यता विकसित भयो । त्यो मान्यताचाहिँ विशेषगरी शैक्षणिक सन्दर्भमा प्रयोग गर्ने अभिमतबाट अगाडि आएको थियो । त्यतिबेलासम्म पनि मानकीकरणका सन्दर्भमा त्यति ठूला विवाद थिएनन् । व्यक्तिगत रूपमा लेखकहरूले लेखेका कृतिहरूको पनि पठनपाठन गरिन्थ्यो । ईश्वर बरालका कृतिहरू पाठ्यपुस्तकमा थिए । महानन्द सापकोटाका कृतिहरू पाठ्यपुस्तकमा थिए । त्यो हुँदा उहाँहरूकै वर्णविन्यास विद्यार्थीहरूले पढ्थे ।

यसको अर्थ लेखकहरूको आआफ्नै नेपाली वर्णविन्यासको मानक रूप थियो ?
हो, त्यतिबेलाका लेखकहरूका आफ्ना सङ्कलनहरू थिए । ती सङ्कलनहरूमा नेपाली वर्णविन्यास उहाँहरूको आफ्नै मान्यताअनुसार लेखिन्थ्यो । विद्यार्थीले ती कुरा पढ्थे । ईश्वर बरालको वर्णविन्यासमा भिन्नता थियो । त्यसैगरी झर्रोवादीहरू आए । झर्रोवादीहरूको भाषा प्रयोगमा निकै भिन्नता थियो । चूडामणि रेग्मीहरूको फरक खालको मान्यता छँदैैथियो । बालकृष्ण पोखरेलको फरक थियो । उहाँहरूका कृतिहरू पनि पठनपाठन हुन्थे तर त्यो सन्दर्भमा  । 

संस्थागत सन्दर्भमा नेपाली लेखन स्तरीय र मानक स्तर हुन्थ्यो  । त्यो पृथक् वर्णविन्यास भएको हैसियतबाट ती कृतिहरूको स्वीकार्यता भन्ने हुँदैनथियो । उदाहरणका लागि कथाको पठनपाठन गर्नुपर्यो भने, निबन्धको पठनपाठन गर्नुपर्यो भने ईश्वर बरालकै सयपत्री निबन्ध सङ्ग्रह, झ्यालबाट कथा सङ्ग्रह पाठ्यपुस्तकमा रहेको थिए । उहाँहरूको आफ्नै प्रकारको भाषा हुन्थ्यो, त्यसलाई पनि स्वीकार गरिएको थियो । 
झ्यालबाट अथवा सयपत्रीलाई हामीले हेर्ने हो भने ईश्वर बरालका आफ्ना केही पृथक् भिन्न वर्णविन्यासका नियम थिए र ती त्यही ढङ्गबाट प्रकाशित हुन्थे । विद्यार्थी त्यही कुराहरू पढ्थे । तर पठनपाठन र लेखनमा विद्यार्थीले आफ्नो लेखनमा मानक नेपालीको लेखन हुन्थ्यो । यसको अर्थ के हो भने अस्वीकार्यता थिएन । 

नेपाली वर्णविन्यासको मानक निर्धारण चाहिँ कसरी भयो ?

मानक नेपालीको निर्धारण चाहिँ नेपाली शब्दकोश, बृहत नेपाली व्याकरण आदि थिए । यसक्रममा हलन्त बहिष्कारबाट आइरहेको परम्परा क्रमशः अगाडि आयो । नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) भन्ने हृदयचन्द्रको वर्णविन्याससम्बन्धी मानक रूप आयो । यसरी क्रमशः नेपाली लेख्य मानकको विकास त भइरहेको थियो । 

पछि आएर २०३२, ३३ सालतिर एकेडेमीले बृहत् नेपाली व्याकरण निकाल्यो । त्यसपछि बालचन्द्र शर्माको नेपाली शब्दकोश निस्कियो । यसरी मानकीकरणका प्रयासहरू सँगसँगै हुँदैथिए । मानकीकरणका प्रयास हुँदाहुँदै पनि अरू शिष्ट लेखकहरूले प्रकाशन गरेका, लेखन भएका कुराहरू पनि पाठ्यक्रमभित्र समावेश थियो । तिनीहरूको पठनपाठन हुन्थ्यो । विवादको विषय थिएन  । पृथक् मतान्तर र अभिमतको रूपमा स्वीकार्य थियो । त्यो हाम्रो परम्परा हो, यस अर्थमा विवाद थिएन । विवाद चाहिँ धेरैपछि मात्र आयो । 

झर्रोवादीहरूले पनि विवाद ल्याएका होइनन्, अभिमत ल्याएका हुन् । ईश्वर बरालले पनि विवाद ल्याएका होइनन् । केही पृथक् अभिमत ल्याएका हुन् । हलन्त बहिष्कारका दुईवटा अभिमत थिए, त्यो पनि विवादका रूपमा होइन, योभन्दा यो ठीक होला भन्ने अभिमतका लागि हो । यो सभ्यता लेखनको विकासको सन्दर्भमा पृथक् अभिमतहरू आउन सक्छन् भन्ने कुरा स्वीकार हुन सक्छ । 

वर्णविन्यास एउटा मान्यताको, ऐतिहासिकताको र स्वीकार्यताकोे कुरा हो । लेखनको सन्दर्भमा फरक फरक आएका अभिमतलाई चाहिँ एउटा लेखन संस्कृति र लेखन संस्कारसँग जोडिएर हेर्ने परम्परा थियो । विवाद त्यो बेलामा आयो जुन बेलामा प्लसटुको पठनपाठनको सुरुवात भयो । 

विवाद भनेको पृथक् विषय हो र अभिमत भनेको बेग्लै कुरा हो । निश्चित आधार र कारणबाट भए पनि यो रूपमा लेख्छु भन्ने फरक मान्यताका साथ केही लेखकहरू अगाडि आइरहेका थिए । त्यसलाई अस्वीकार गरिएको थिएन । ती लेखकहरूको भाषाको फेरि सम्पादन गरेर मानक रूपमा तिनीहरूलाई लिपिबद्ध गरेर प्रकाशन गर्ने काम गरियो । लेखकका आफ्ना वर्णविन्यासहरूलाई, पृथक् वर्णविन्यासलाई त्यही रूपमा स्वीकार गर्ने परम्परा थियो । त्यसो भएकाले म त्यसलाई विवाद मान्दिनँ । त्यो मानकीकरणको निरन्तर प्रक्रिया हो । पृथक् अभिमतहरू हुन् र ती अभिमतमा समयक्रममा क्रमशः स्थापित हुँदै जान सक्ने सम्भावना पनि थियो । त्यसअर्थमा यो विवाद भएन । त्यो समयमा मानकीकृतलाई लाद्ने काम भएन । विवाद त्यसबेला मात्र आयो जुन बेला नीतिनियम, आदेश, हुकुमको शैलीबाट लेखन परम्पपरालाई लद्ने काम भयो । त्यसपछि चाहिँ विवाद आएकै हो ।  

ठ्याक्कैभन्दा त्यो विवाद कहिलेदेखि आयो ?

विवाद चाहिँ लगभग लगभग २०५५ देखि आयो । भाषिक सङ्गोष्ठीमा विभिन्न अभिमतहरू आउँछन्, छलफल हुन्छ । योभन्दा यो ठीक हो भन्ने बहस हुन्छन् । वास्तवमा वर्णविन्यास भन्ने कुरा एउटा सम्झौताको विषय पनि हो । एउटा परम्पराको विषय हो । वर्णविन्यास परम्परा हो, संस्कृति हो, त्यसका आफ्ना मूल्य मान्यता हुन्छन् । यो लेखन समुदायबीचको एउटा सम्झौता हो । यसभित्र आस्था, विश्वास, परम्परा जोडिएको हुन्छ । यसभित्र केही वैज्ञानिक सत्य र कथ्य पनि जोडिएका हुन्छन् । यो कुनै विशुद्ध विज्ञान होइन ।   

वर्णविन्यास एउटा मान्यताको, ऐतिहासिकताको र स्वीकार्यताकोे कुरा हो । लेखनको सन्दर्भमा फरक फरक आएका अभिमतलाई चाहिँ एउटा लेखन संस्कृति र लेखन संस्कारसँग जोडिएर हेर्ने परम्परा थियो । विवाद त्यो बेलामा आयो जुन बेलामा प्लसटुको पठनपाठनको सुरुवात भयो । 

भनाइको अर्थ प्लसटुको ‘सबैको नेपाली’ पुस्तकबाट नेपाली वर्णविन्यासमा विवादको सुरु भएको हो ?

हो, मूल रूपमा चाहिँ प्लसटुको सबैको नेपाली भन्ने पुस्तकबाटै आएको हो । त्योभन्दा पनि अझ अगाडि आएको छ । 

वर्णविन्यासमा जहिल्यै पनि भाषाका विकल्पहरू हुन्छन् । ती विकल्पहरूमध्ये कुन विकल्पको छनोट गर्ने भन्ने कुराको चयनको पृथक् कुरा हो । उदाहरणका लागि माध्यमिक तहसम्ममा निश्चित कुराहरूको छनोट र चयन गरेर हामी  विद्यार्थीलाई पठनपाठन गराउँछौँ । जहाँ उच्च शिक्षा तहमा आइसकेपछि सबै विकल्पको पठनपाठन गर्छौं । त्यस्तैगरी प्रकाशनका सन्दर्भमा प्रकाशन संस्थाहरूले आफ्नै केही शैलीपुस्तिका तयार गर्छन् । यसको मतलब पृथक् व्याकरण या पृथक् वर्णविन्यास नै गर्ने भन्ने होइन । भइरहेका विकल्पहरूमध्ये कुन विकल्प चयन गर्ने भन्ने कुरा निर्धारण गर्ने हो । साझाले तिनै विकल्पहरूमध्ये छनोट गर्ने कार्य शैलीपुस्तिकामार्फत गरेको हुनसक्छ । प्रकाशनका त विभिन्न साजसज्जाका विषयहरू समेटिन्छन् । त्यसका क्रमिकताका कुराहरू रहन्छन् । अनुक्रमका कुराहरू रहन्छन् । प्राथमिकताका कुराहरू हुन्छन् । ती कुराको निर्धारण शैलीपुस्तिकाले गर्छ ।

यो विवाद कहिले आयो भने– एउटा चाहिँ त्रिभुवन विश्वविद्यालयको नेपाली विषय समितिले गरेका निर्णयबाट केही विवाद आएका हुन् । जहाँ हेमाङ्गराज अधिकारी त्यसको अध्यक्ष हुनुहुन्थ्यो  । उहाँले केही नयाँ प्रयोगहरू लिएर आउनुभयो । केही मान्यताहरू चाहिँ आए । उहाँले छलफल नै नगराई, समितिबाट पासै नगराई एकैचोटि साझाबाट प्रकाशित गराएर अनिवार्य नेपाली शिक्षण निर्देशिका बाहिर ल्याउनुभयो । कुनै डकुमेन्टेसन छैन, पारित गरेको कुरै छैन, छलफल बहस केही कुरै भएन । गोष्ठीमा आउँदा विभिन्न विचारहरू उठ्थे बेग्लै कुरा हो तर संस्थागत रूपमा कुनै निर्णय भएका थिएनन् ।  अनिवार्य नेपाली शिक्षण निर्देशिका एकैचोटि प्रकाशन भएर आयो । तपाईंले किन यसो गर्नुभयो भनेर धेरै विवाद पनि भयो । 

जवाफमा उहाँले ‘यो अहिले प्रयोग गरिहाल्ने कुरा होइन । एउटा नयाँ प्रयोगका लागि हो । मानकीकरण गर्नलाई यसको के प्रतिक्रिया हुन्छ हेरौँ । यस्तो पनि हुन सक्छि भनेर एउटा सम्भावनाको कुरा मात्र हो, यही पठनपाठन र लागू गर्ने भन्ने होइन । यसरी जाँदा अलि उपयुक्त हुन्छ, हाम्रा विद्यार्थीहरूलाई यसरी जानुपर्छ भन्ने अवधारणा दिन मात्र हो’ भन्नुभयो । त्यहीबीचमै टिक्नै नसकेर उहाँले अध्यक्षबाट राजीनामा दिनुभयो । त्यसपछि म अध्यक्ष  भएँ र अनिवार्य नेपाली शिक्षण निर्देशिकालाई परिमार्जन गर्नुपर्ने अवस्था आयो । 

त्यसपछि हेमाङ्गजी पाठ्यक्रम विकास केन्द्रमा अध्यक्ष भएर जानुभयो । त्यहाँ एउटा वर्णविन्याससम्बन्धी निर्देशिका पारित भयो । त्यसका आधारमा केही नियमहरू आए । त्यो नेपाली लेखनको परम्पराभन्दा एकदमै भिन्न रूपमा आयो र पाठ्यक्रमभित्र लाद्ने काम भयो । सम्पूर्ण विद्यार्थीको पासफेलको आधार बनाइयो । पाठ्यक्रममा गइसकेपछि त्यो अनुसार लेख्न र पढ्न विद्यार्थीलाई बाध्यात्मक बनाइयो । त्यसपछि ‘सबैको नेपाली’ आयो र कक्षा १२ मा एकदमै अस्तव्यस्त बनायो । 

यता त्रिभुवन विश्वविद्यालयमा अनिवार्य नेपाली शिक्षण निर्देशिकामा केही कुरा आए पनि त्यसलाई पठनपाठनमा लगेनौँ र त्यसको विद्रोह भएन । विद्रोह थाम्न नसकेर ६, ७ महिना नहुँदै राजीनामा दिनुभयो र उहाँ अलग्गिनुभयो । कार्यान्वयन पनि गरिएन, त्रिविमा समस्या भएन । तर उच्च माध्यमिकमा समस्या आयो । ‘सबैको नेपाली’ले एउटा हलचल ल्यायो । कक्षा ११, १२ को सबैको नेपालीले धेरै पक्षलाई छोयो । धेरै विरोध भइराखेको थियो । त्यति भएर पनि त्यति ठूलाले विद्रोह आएको थिएन । 

पछि फेरि उहाँ एकेडेमीमा आएपछि शब्दकोशमा सबै परिवर्तन गरेर अहिलेसम्म भएको सबै नेपाली लेखनको परम्पराभन्दा ठीक विपरीत र भिन्न रूपमा शब्दकोश आएपछि विवादको सुरु भयो । 

पहिले त्रिविमा शिक्षण निर्देशिकामा मात्रै परिवर्तन गरेको थियो तर त्यो कुरा हामीले कक्षा कोठामा लगेनौँ । पठनपाठनमा गएन, डकुमेन्टेसन मात्र भयो, विवाद भएन । विवाद चाहिँ अनिवार्य शिक्षण समितिभित्र मात्रै भयो । त्यसपछि त्यसलाई पूर्ति गर्न उहाँ तल गएर पास गराउनु भयो । त्यसपछि चाहिँ विश्वविद्यालयमा नभए पनि तल चाहिँ उपयुक्त छ, गर्नैपर्छ किनभने प्लसटुमा आइसकेको छ भन्ने तर्क चाहिँ उहाँहरूको थियो । 

सबैको नेपाली पुस्तकमा प्रयोग भएको नियम त्रिविले लागू गर्यो कि गरेन ? 

आंशिक रूपमा लागू भयो । तत्सम र आगन्तुक वर्णविन्यासमा केही कुरा लागू भएकै हो । आगन्तुक शब्दमा, अङ्कमा दीर्घ लेख्ने तीन, तीस, बीस अहिले पनि दीर्घ नै हुन्छ । त्यो क्षतिपूर्ति दीर्घी भवनभित्र परेन । क्षतिपूर्ति दीर्घी भवनलाई ह्रस्व बनाउने कुरा लागू भयो । अहिले पनि त्यो कायम नै छ । क्षतिपूर्ति दीर्घी भवनलाई अहिले पनि ह्रस्व नै कायम गरिएको छ । तितो मिठोलाई चाहिँ सबै ह्रस्व नै लेखिन्छ । क्षतिपूर्ति दीर्घी भवन संस्कृत भाषाबाट आएका शब्दमा मात्र भए । तर पूरा दुईवटा हुन्छन् । ह्रस्व पुरा र दीर्घ पूरा शब्दका अलग अलग अर्थ भएकाले हो । 

विश्वविद्यालय भनेको नेपाली लेखकहरूले जे कुराहरू लेखेका छन्, जे कुराहरू स्थापित भएका छन्, विभिन्न निकायहरूले जे कुरा स्वीकार गरेका छन्, ती स्वीकार गरेका वर्णविन्यासहरूलाई लेख्य मानक रूपलाई विद्यार्थीहरूभित्र सम्प्रेषित गर्ने ठाउँ हो । यो उच्च शिक्षाको दायित्व पनि हो ।

जोड्ने छुट्याउने विषय शिक्षण निर्देशिकामा भए पनि विकल्पका रूपमा छन् । त्यसको आधारमा कक्षाकोठामा लगेर विद्यार्थीलाइ पास फेल गराउने काम भएन । त्यसैले धेरैलाई परिवर्तन भएको बारेमा जानकारी नै भएन । यद्यपि त्यो शिक्षण निर्देशिकामा आइसकेपछि त केहीले यो ठीक छ भन्ने हुनसक्थ्यो । केहीले बेठीक भन्न सक्थे । शिक्षण निर्देशिका आएपछि शिक्षकहरूले पनि त्यही अनुसार गर्ने पनि भए । हेमाङ्गजीहरूले गराउनु पनि भयो । अन्ततः गएर यो कुरा रिजिट कुरा होइन, यो कुरा भएन भनेपछि यहाँ चाहिँ समस्या आएको थिएन । समस्या चाहिँ उच्च माध्यमिक शिक्षामा अयो । त्यति हुँदा पनि त्यसको विरोध गर्नसक्ने आधार र जनशक्ति थिएन । त्यसपछि एकेडेमीबाट शब्दकोशमा परिवर्तन भएर आयो । परम्परित वर्णविन्यासलाई क्षतविक्षत पार्ने काम भयो र एउटा कृत्रिम रूपमा वर्णविन्यासका नियम बनाइयो ।  शब्दकोश नै वर्णविन्यासको मानक आधार हो । त्यो मानक नै भत्काएपछि अब चाहिँ त्यसको विरुद्धमा नगई हुन्न भन्ने अवस्था आयो । वर्णविन्यासको सन्दर्भमा बृहत नेपाली शब्दकोशको खारेजीको कुरा उठाउनुपर्ने भयो । 

विशिष्ट लेखकहरूले पनि पृथक् वर्णविन्यास प्रयोग गर्न सक्थे, त्यो उहिल्यैदेखिको परम्परा हो । हेमाङ्गजीले आफ्नो लेखनभित्र आफ्नो मान्यताका रूपमा पृथक् वर्णविन्यास प्रयोग गरेको भए त्यो कुनै अस्वीकार्य हुने थिएन । त्यो हाम्रो परम्परा रहिआएको थियो । तर संस्थागत रूपमा राज्यका निकायहरूलाई अधार बनाएर, राज्यका निकायहरूलाई, संस्थागत निकायहरू आधार बनाएर त्यो मार्फत जबरजस्ती लाद्ने काम भयो । त्यसपछि यस प्रकारको विवाद मात्र होइन, विस्फोटको लहर आयो । त्यसो भएकाले यो विवादको केन्द्रविन्दु व्यक्तिगत रूपमा हेमाङ्गराज अधिकारी नै हो । सबै कुरा उहाँले नै गर्नुभयो । 

विश्वविद्यालय भनेको नेपाली लेखकहरूले जे कुराहरू लेखेका छन्, जे कुराहरू स्थापित भएका छन्, विभिन्न निकायहरूले जे कुरा स्वीकार गरेका छन्, ती स्वीकार गरेका वर्णविन्यासहरूलाई लेख्य मानक रूपलाई विद्यार्थीहरूभित्र सम्प्रेषित गर्ने ठाउँ हो । यो उच्च शिक्षाको दायित्व पनि हो । नेपाली वर्णविन्यासको लेखनको परम्परा के रहिआएको छ, ती सबैलाई सूचित गर्ने, सूचना दिने काम उच्च शिक्षाको हो ।  यो ठीक, यो बेठीक गर्ने, यो छनोट गर्ने, यो नगर्ने भन्ने कुराको छुट्याउने काम विश्वविद्यालयको होइन । बरु नेपाली वाङ्मयमा आएका विभिन्न शब्दहरू, त्यसका विभिन्न लेख्य रूपहरू जे छन्, तिनीहरूको परम्परा शिक्षाका माध्यमबाट विद्यार्थीसँग सम्प्रेषित गर्ने दायित्व हाम्रो हो ।   

गेष्ट हाउस, रेष्टुरेन्ट, रजिष्टार जस्ता शब्द मानकीकरण गर्दा पातलो स गरिएको छ तर लोकप्रचलनमा ष को नै प्रयोग पाइन्छ । यस्तो चाहिँ किन भयो ?
२०३४, ३५, ४० सालदेखि आगन्तुक शब्दमा चाहिँ दन्त्य स नै प्रयोग गर्ने तालव्य ष प्रयोग नगर्ने भन्ने स्वीकार गरेर त्यो मान्यता स्थापित हुँदै आएको थियो, केही लेखकले त्यसबारे भिन्न अभिमत पनि जाहेर गर्दै आएका हुन् र अझै त्यो अभिमत छँदै छ । संस्कृत शब्दमा ट वर्र्गमा जोडिएर ष आयो भने यो ष नै हुने नियम भएकाले आगन्तुकमा पनि त्यही कुरा हुन्छ भन्ने भान परेको हो । 

मानकीकरण गर्ने प्रयासमा नेपाली भाषाका विद्वानले पाणिनीलाई नै फेल गराए भन्ने आरोप छ नि ?

पाणिनीले संस्कृत भाषाको व्याकरण लेखेका हुन् । तत्सम शब्दहरूमा अहिले पनि त्यसलाई फेल गराएको, त्यसलाई तलमाथि गरेको छैन । तर २०३५ सालको पेरिफेरिबाट त्यो बेलाका भाषाविद्हरूले, व्याकरणविद्हरूले एउटा मान्यता ल्याए । तत्सम शब्दलाई यथावत लेख्ने, नचलाउने, तद्भव शब्दहरूलाई त्यसको विकास र क्रम अनुकूलनअनुसार गर्ने, आगन्तुक शब्दलाई नेपाली पद्धतिअनुसार गर्ने कुरामा त्योबेला सहमति गरेको देखिन्छ । जस्तो बृहत नेपाली शब्दकोश २०४० सालदेखि हेर्नुभयो भने त्यो पाउनुहुन्छ । रजिस्टार जस्तो शब्दमा त्यो आगन्तुक शब्द हो, त्यसैले आगन्तुक शब्दमा मूर्धन्य ष नलेख्ने भन्ने त्यो समयदेखि स्थापित भएर आएको हो ।

यसको विरुद्धमा फेरि त्यो ठीक होइन भन्ने अरू केही विद्वानहरू त्योबेलादेखि नै थिए र अहिले पनि कायम छ । केही केही विद्वानहरू हुनुहुन्छ उहाँहरूले त्यसो गर्नु हुँदैन है भन्नु हुन्छ । आगन्तुक शब्दभित्र पनि पृथक् रूप हुन्छन्, त्यसो भएको हुनाले आगन्तुक शब्दलाई सबै नेपालीकरण गरेर रजिस्टार शब्दमा पातलो स लेख्ने कुरा ठीक होइन भन्ने कुरा त्योबेला पनि अभिमत थियो र अहिले पनि त्यो अभिमत यथावत छ । लोकले त्यो गरेको देखिन्छ, प्रयोगमा त्यो देखिन्छ । २०४० सालको अवस्थामा त्यो पनि नियमन गरेर लादिएकै थियो । तर त्यसबेला चाहिँ के देखिन्थ्यो भने त्यो कुरा यो एकदमै ठीक होइन, यसरी लादिनु हुँदैन भन्ने स्वर चाहिँ एकदमै सानो थियो । त्रिविले पनि त्यसलाई स्वीकार गरेको थियो । त्यस्ता आगन्तुक शब्दमा चाहिँ मूर्धन्य ष नलेख्ने परिपाटी थियो । 

अङ्ग्रेजीमा ज नै तीनवटा छन् तर लेख्य रूपमा एउटा जे मात्र छ । कहिले काहीँ जेडले ज उच्चारण गर्छ । हामीले यी वर्णहरूको, फोनिमहरूको मात्र प्रयोग गर्दाखेरी नेपाली भाषा पूरै अधुरो हुन्छ । त्यसो भएको हुनाले नेपाली भाषाका लिपिवर्णहरूको प्रयोग गर्नैपर्ने हुन्छ ।

एउटा ष को मात्र होइन, अरू धेरै कुरामा थियो । जस्तो ह्रस्वदीर्घकै कुरामा पनि कानुनको नु दीर्घ थियो । आगन्तुक शब्द सबै ह्रस्व गर्ने भनेपछि ती सबै ह्रस्व भए । आगन्तुक शब्दलाई नेपालीअनुसार गर्ने, सबै ह्रस्व गर्ने, एउटा मात्रै स लेख्ने भन्ने मान्यता स्थापित भएपछि २०४० पछि केही केही विवाद चाहिँ आएकै हो । तर विवादका स्वर अलिकति साँघुरो थियो । 

हामीले बुझ्ने कुरा चाहिँ के हो भने नेपाली भाषाको मानकीकरणको प्रयोगकै सन्दर्भमा, मनकीकरणको इतिहासकै सन्दर्भमा भिन्नभिन्न फरक फरक अभिमत आइरहेकै परिप्रक्ष्यमा केही अभिमतहरू स्वीकार्य नै थिए । तर २०४० पछि केही विवादको सुरु भए पनि पछि आएर विद्रोह र विस्फोटकै रूपमा रह्यो ।  

नेपाली भाषाका वर्णनिर्धारण कसरी गरिएको छ ? नेपाली वर्णहरूको मात्र प्रयोग गर्दा नेपाली भाषा अपूर्ण हुन्छ र ? 
वर्णलाई अङ्ग्रेजीमा फोनिम भनिन्छ । भाषाको वर्ण अथवा फोनिम फरक कुरा हो र लिपि चाहिँ फरक कुरा हो । वर्णको कुरा गर्दा नेपालीमा २९ वटा मत्रै वर्णहरू छन्, ती फोनिमहरू हुन् । त्यो लेख्य वर्ण होइन । लेखन परम्पराको कुरा गर्दा लिपि वर्णको कुरा गर्छौं । नेपाली भाषाको निर्धारण गरेका वर्णहरू मात्रै लेख्दाखेरी नेपाली भाषा अपूरो हुन्छ । हामीले लिपिवर्णहरूको प्रयोग गर्नुपर्छ । लिपिवर्ण भनेका देवनागरीका वर्णहरू हुन् । अङ्ग्रेजीमा पनि ए देखि जेड सम्मका वर्णहरू होइनन्, ती लिपिवर्णहरू हुन् । त्यसलाई स्क्रिप्ट भनिन्छ । यसर्थ, भाषाको फोनिम वा वर्ण भन्नेको पृथक् कुरा हो, लिपिवर्ण भनेको पृथक् कुरा हो । निर्धारण गरिने चाहिँ वर्णहरू हुन् । भाषाको उच्चारण व्यवस्था फरक फरक हुन्छ । 

अङ्ग्रेजीमा ज नै तीनवटा छन् तर लेख्य रूपमा एउटा जे मात्र छ । कहिले काहीँ जेडले ज उच्चारण गर्छ । हामीले यी वर्णहरूको, फोनिमहरूको मात्र प्रयोग गर्दाखेरी नेपाली भाषा पूरै अधुरो हुन्छ । त्यसो भएको हुनाले नेपाली भाषाका लिपिवर्णहरूको प्रयोग गर्नैपर्ने हुन्छ । हेमाङ्गजीहरूले चाहानुभएको के भने नेपाली भाषामा वर्णहरू थोरै छन्, त्यसो हुनाले यी लिपिवर्णहरू किन प्रयोग गर्ने ? हटाउनुपर्छ भन्ने कुरा उहाँले जुन भन्नु भएको छ, त्यो ठीक छैन । त्यसो गर्दा नेपाली भाषा अपूरो नै हुन्छ । अनिवार्य रूपमा त्यसको प्रयोग गर्नैपर्ने हुन्छ । 

प्रज्ञाप्रतिष्ठानले प्रकाशनमा ल्याएको शब्दकोश तपाईंहरूले खारेज नै गराउनुभयो, राज्यको लाखौँ रुपियाँ खेर गयो, खरेज नै गर्नुपर्ने कारण के थियो ?

त्यो शब्दकोशमा १० हजार गल्तीहरू छन्, ९ हजार ९ सय ९९ मात्र कसैले गल्ती देखाउन सक्छ भनेदेखि म राजीनामा दिन तयार छु भनेर मैले पटक पटक भनेको छु । लेखेको पनि छु । त्यस शब्दकोशमा धेरै शब्दहरू गल्ती छन्, दशौँ हजार गल्ती भएको शब्दकोश खारेज गर्नुबाहेकको अर्को कुनै विकल्प थिएन, यो गर्नैपथ्यो । 

शब्दकोश भनेको त भाषाको मानकलाई स्थापित गर्ने हो । राज्यको पहिचान त्यसमा आउने हो । तर ती गल्तीहरू भएको हुनाले नै त्यो खारेज भएको हो । राज्यको लाखौँ रुपियाँ खेर त गयो नै हो । जजसले त्यो शब्दकोश किनेर लानुभएको छ, त्यो ल्याएर हामीकहाँ बुझाउनुस्, त्यसको पैसा चाहिँ हामी दिन्छौँ भनेर उद्घोष गरेका थियौँ । मानक नेपाली भाषा अभियानले गरेको थियो । पछि प्रज्ञाले पनि त्रुटि भएको शब्दकोशको सट्टामा अर्को शब्दकोश दिन्छौँ, रिप्लेस गर्छौं भन्यो । यसको मतलब उहाँहरूले गल्ती स्वीकार गर्नुभयो । गल्ती स्वीकार गरेपछि त्यसको क्षति संलग्न व्यक्ति वा संस्थाले गर्नुपर्यो ।

संस्कृत, अङ्ग्रेजी भाषाका पुराना शब्दकोशहरू चाहिँ प्रचलनमा रहिरहने, नेपाली शब्दकोश चाहिँ पोहोर किन्यो अहिले काम नलाग्ने भयो । अर्कोपक्ष अङ्ग्रेजी शब्द हेर्न शब्दकोश पल्टाउने तर नेपालीका शब्दहरूका लागि शब्दकोश पल्टाउने चलन नेपाली भाषाका प्रयोक्तामा छैनन् नि, यस्तो किन भएको ?  

यो हाम्रो शैक्षणिक परिपाटीको गल्ती हो, शिक्षण पद्धतिको गल्ती हो । हरेक सचेत नागरिकसँग, हरेक शिक्षकसँग शब्दकोश हुनुपर्छ । जहिले पनि शब्दकोशलाई रिफर गर्नुपर्छ  । नेपाली वाङ्मयमा जति शब्दहरू प्रयोग भएका छन्, ती शब्द हाम्रा संकृति हुन्, कल्चर हुन्, हेरिटेज हुन् । ती सबै शब्द प्रज्ञा नेपाली शब्दकोशमा सङ्ग्रहित हुनुपर्छ, त्यो त्यही रूपमा हुनुपर्छ । भानुभक्तले जुनबेलामा आफ्ना जे कुरा लेखेका थिए, त्यो त्यही रूपमा सङ्ग्रहित, सङ्कलित हुनुपर्छ । देवकोटाले लेखेका शब्दहरू त्यही रूपमा रहनुपर्छ, त्यहाँ स्थापित हुनुपर्छ । चलाउन मिल्दैन । त्यो जस्ताको तस्तै राख्नुपर्छ । ती हाम्रो पुरातात्विक विषय हुन् ।  हाम्रो लेखन पनि सांस्कृतिक सभ्यता हो । भानुभक्तकालीन समयको शब्द अहिले प्रयोगमा छैन, प्रयोग हुँदैन, समयक्रममा त्यो परिवर्तन हुन्छ । तर भानुभक्तले लेखेका ती शब्दहरू चाहिँ सङ्ग्रहित, सङ्कलित र सुरक्षित हुनुपर्छ । ती सबैको सुरक्षा गर्ने ठाउँ, सङ्ग्रहालय भनेको चाहिँ शब्दकोश नै हो । हाम्रो भनाइ नै त्यही हो । 

शब्दकोशले भएका शब्दहरूलाई सङ्ग्रहित गर्ने, यो समयको शब्द हो, अहिले प्रयोगमा छैन, योबेला थियो भनेर सूचना दिने हो । शब्दकोश भनेको सङ्ग्रहालय हो, त्यहाँ सङ्ग्रहित हुनुपर्छ । त्यसले हाम्रो सम्पदाको संरक्षण गर्नुपर्छ । 

प्रज्ञाप्रतिष्ठानले अन्तर्राष्ट्रिय भाषिक सम्मेलन नै गराएर तपाईंहरूसँग सुझाव मागेर त्यो शब्दकोश परिमार्जित गरिएको भनिन्छ । तर कुनै एकजनालाई दोष दिएर तपाईंहरू उम्किन मिल्छ ? 
सुझाव मागेर परिमार्जन गरिएकै होइन । शब्दकोश कसरी आयो भन्ने कुरा त्यसमा संलग्नहरूलाई नै थाहा थिएन । एउटा सानो कमिटी बन्यो, त्यसमा हेमाङ्गजी हुनुहुन्थ्यो । उहाँलगायत २, ३ जनाले त्यो गर्नुभयो । पछि प्रज्ञाप्रतिष्ठानका कुलपतिले यो यस्तो लेखेको रहेछ, थाहै भएन, हेर्नुस् त यहाँ गङ्गा प्रसाद पनि छुट्याइएको रहेछ, मेरै नाम पनि गल्ती लेखिदिएको रहेछ भन्नुभयो । उहाँ गङ्गाप्रसाद जोडेर लेख्नुहुन्छ तर नाम अलग्याइएको रहेछ । कुलपतिका हैसियतले मन्तव्य लेख्दा  उहाँले आफ्नो नाम जोडेर लेख्नुहुन्थ्यो । 

अन्तर्राष्ट्रिय भाषिक सम्मेलनमार्फत सुझाव मागिएको होइन र ?

त्यो शब्दकोशका लागि सुझाव होइन । एउटा गोष्ठी भयो तर शब्दकोश लेख्नुपर्ने, नयाँ व्याकरण लेख्नुपर्ने, व्याकरणमा यी यी कुराहरू परिवर्तन गर्ने भनेर सुझाव मागेको होइन । गोष्ठी त कैयौँ समयमा हुन्छन् । प्रज्ञाप्रतिष्ठनले गर्छ, हरेक संस्थाहरूले गोष्ठी गर्छन्, नेपाली भाषाको प्रयोग के भइरहेको छ भन्ने कुराहरू आउँछन् । विचारहरू आउँछन् । विचारहरू चाहिँ विभिन्न रूपमा आउन सक्छन् । छलफलहरू भए, आए । त्यसभित्र केही कुराहरूमा सहमति पनि भयो । 

त्यसबेला पनि प्रज्ञाले केही कुरा पास गर्न आफ्ना २०, २५ लाई बोलायो,   त्यसपछि १, २ दिन गोष्ठी गर्यो र सही गरायो । त्यो परम्परा, प्रक्रिया त होइन । अनि त्यहाँभित्र सहमति एउटा भयो तर त्योभन्दा पृथक् कुरा राखेर शब्दकोशमा सबै परिवर्तन भयो । त्यसो भएको हुनाले यो सुझाव मागेर अन्तर्राष्ट्रिय भाषिक सम्मेलन गराएर गरिएको होइन । 

यो विवादको एक्लो डिफेन्स गरेर, यो यही ठीक हो भनेर, मेरो आफ्नो हो भनेर, म गर्छु भनेर शासन सत्तालाई हातमा लिएर निरन्तर रूपमा हेमाङ्गराज अगाडि बढ्नुभएको देखिएकाले उहाँमाथि बढी आएको हो । मतान्तरहरू आएका सन्दर्भमा उहाँले लचिलो रूपमा मेरो यो विचार हो । छलफल गरौँ । मलाई यो लाग्छ भनेर विचारकै लागि बहसका रूपमा अगाडि आउने सन्दर्भमा आएका भए त्यो कुरा केही हुने थिएन । अभिमत त फरक हुन सक्छन् । बहसमा पराजित भएपछि स्वीकार गर्नुपर्ने स्वीकार गरेपछि आफ्नो अभिमतमा चाहिँ रहनुपर्छ ।

कहाँ अन्तर्राष्ट्रिय भाषि सम्मेलन गराइएको हो र ? झापामा गराइएको त्यही कुरा लागू गराउनका निम्ति एकेडेमीले केही केही आफ्ना मान्छेलाई बोलाएर, भारतबाट केही मान्छे बोलाएर, त्यहाँ गएर घोषणापत्र पास गरे । घोषणापत्र पनि त्यहाँको सम्मेलनले पास गरेको होइन, सम्मेलन सकेपछि पाँच सात जना बसे, सही गरे निकाले । त्यो सबै तारतम्य थियो । 

त्यसको प्रमुख जिम्मेवार चाहिँ को हो ?

शब्दकोशका लागि त जसले निकाल्यो, प्रज्ञा नै त्यसको जिम्मेवार हो । त्यसभित्रको हिस्सा कसको कति भन्ने प्रज्ञाले नै निर्धारण गर्ने कुरा हो । यसमा एक जनालाई मात्रै दोष दिएको त होइन नै, सिङ्गो विवाद ल्याएको चाहिँ शब्दकोशले हो । अब ‘सबैको नेपाली’ भन्नुहुन्छ भने त्यसमा ११ जना लेखकहरू छन् । उहाँहरूले नै त्यसको स्वामित्व लिनुपर्ने हुन्छ । शब्दकोश चाहिँ एकेडेमीको परिषद्ले नै त्यसलाई खारेज गरेका हो । त्यहाँ तीनजनाको कमिटी हुन्छ, तीनजनाको कमिटीले निर्णय गरेर प्रकाशित गर्ने हो । त्यो परिषद्ले नै हेर्दैन त्यो शब्दकोश । त्यसैले तीनजनाको कमिटीले निर्णय गरेको शब्दकोश सिङ्गो परिषद्ले नै खारेज गर्यो भनेपछि त्यो प्रज्ञाले नै महशुस गरेको कुरा हो । 

यो विवादको एक्लो डिफेन्स गरेर, यो यही ठीक हो भनेर, मेरो आफ्नो हो भनेर, म गर्छु भनेर शासन सत्तालाई हातमा लिएर निरन्तर रूपमा हेमाङ्गराज अगाडि बढ्नुभएको देखिएकाले उहाँमाथि बढी आएको हो । मतान्तरहरू आएका सन्दर्भमा उहाँले लचिलो रूपमा मेरो यो विचार हो । छलफल गरौँ । मलाई यो लाग्छ भनेर विचारकै लागि बहसका रूपमा अगाडि आउने सन्दर्भमा आएका भए त्यो कुरा केही हुने थिएन । अभिमत त फरक हुन सक्छन् । बहसमा पराजित भएपछि स्वीकार गर्नुपर्ने स्वीकार गरेपछि आफ्नो अभिमतमा चाहिँ रहनुपर्छ । अहिले पनि त यो शब्दकोश ठीक छैन भन्ने अभिमतहरू त छन् नि । उहाँले त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिकमा र एकेडेमीमा पनि उहाँले आफै लिडर भएर त्यो काम गर्नुभयो । शब्दकोश खारेज गरिसकेपछि पनि बबन्डर गर्दै उहाँ हिँड्नुभयो । त्यसैले उहाँ आफैले आफैलाई हिटलिस्टमा राख्नुएको हो । 

भानुभक्त, मोतीराम, देवकोटाका भाषा अहिले प्रचलनमा छैनन् नि ?

समयक्रमा भाषा विकसित हुँदै जान्छ । आजको व्याकरण सधैँ स्थिर हुँदैन ।  कथ्य प्रचलनमा भाषा छिटो विकास र विस्तार हुन्छ ।  तर कथ्यमा जति छिटो विकास र विस्तार हुन्छ, लेख्यमा त्यस्तो हुँदैन । लेख्य भनेको संस्कृति हो । संस्कृतिमा चाहिँ आफ्ना रुट रूपहरू रहिरन्छन् । त्यसो भएको हुनाले भानुभक्तकालीन कथ्य र लेख्य भाषा अहिले छैन । तर भानुभक्तले बोलेको लेखेको भाषा चाहिँ सुरक्षित रहन्छ र हुनुपर्छ । भाषा निरन्तर रूपमा परिवर्तन हुने सन्दर्भमा भानुभक्त, मोतीराम र देवकोटाको भाषा उनीहरूले बनाएको वर्णविन्यास भोलिका दिनमा पनि प्रकाशन गर्दा पनि परिमार्जन गर्ने होइन, त्यसलाई त्यही रूपमा अगाडि बढाउनु पर्छ । तीसबैको रूपमा कोशमा सङ्ग्रहित गर्नुपर्छ, म्युजियम बनाउनुपर्छ ।  कोश भनेको म्युजियम पनि हो, जहाँ सबै कुरा सङ्ग्रहित हुनुपर्छ । यस्तो कुरालाई विगार्नु हुँदैन । शब्दकोशमा नेपाली वाङ्मयमा अहिलेसम्म प्रयोग भएका सबै शब्दहरू संरक्षण र सुरक्षित गर्ने, त्यस्तो बृहत्तर कोश पनि चाहिन्छ । पेडागोजिकल डिस्नरी भन्ने हुन्छ, शैक्षिक, शैक्षणिक शब्दकोश । अहिले प्रयोगमा आइरहेको भाषिक रूपहरूलाई छनौट गरेर शब्दकोश बनाउनुपर्छ । स्कुलका लागि पृथक् त्यही स्तरको, विश्वविद्यालयलाई सोही स्तरको, रेफ्रेन्सका लागि त्यही स्तरको र नेपाली वाङ्मयको सङ्ग्रहित शब्दकोशका रूपमा हुनुपर्छ  । एकेडेमीले गर्नुपर्ने काम चाहिँ त्यो हो ।  जहाँ भानुभक्तको भाषा, मोतीरामको भाषा,  लेखनाथको भाषा पनि सुरक्षित रहन्छ । यो अहिले प्रचलनमा छैन र यो यो समयको शब्द हो भनेर दिइनु पर्छ । तर दुःखको कुरा प्रज्ञाले यो काम गरेकै छैन । 

नेपाली अभिलेखका भाषाहरू कुन थिए ? केकस्तो थियो भन्ने कुरा चाहिँ शब्दकोश पल्टाउँदाखेरी भेटिनुपर्छ । यो शब्द यो समयमा प्रयोगमा थियो, यो शब्द समयक्रमा यसरी विकसित भएको छ भनेर सूचना कहाँबाट पाउने ? अहिलेको पाठ्यक्रमा त्यो त पाइँदैन । तसर्थ शब्दकोशमा ती कुराहरू पाइनुपर्छ । 

जब हाम्रो संस्कृति, कल्चरल हेरिटेजलाई फोर्न थाल्नुहुन्छ, भने विद्रोह त स्वाभाविक रूपमा हुन्छ । अहिले गएर हाम्रा आस्थाका धरोहर, मन्दिरमा गएर कसैले बन्चरो हान्छभने  मान्छेको हरेक हृदयमा विस्फोट सुरु हुन्छ । एकेडेमीले जे काम गर्नुपथ्र्यो त्यो एकमै गलत काम गर्यो । 

भानुभक्त, मोतीराम, देवकोटाले प्रयोग गरेका शब्दहरू त्यही रूपमा आज प्रयोग हुँदैन, प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । गया, खाया भन्ने शब्द गए खाए भन्छौँ आज । तर जहाँ भनुभक्तको सन्दर्भ आउँछ भने त्यसलाई सोही रूपमा राख्नुपर्छ । वर्णविन्यास पनि उनीहरूको लेखनभित्र राख्नुपर्छ । अहिले देवकोटाका सबै किताबका वर्णविन्यास परिमार्जित गरिएको छ । सबै मेटिइगयो । प्रयोग र प्रचलनका नयाँ कुरालाई मानिसले अँगाल्छन् ठीक छ, तर पुराना कुरा मास्नु हुँदैन । हाम्रो जीवनमा तिनीहरूलाई सँगसँगै अगाडि लान सकिन्छ भने लाने, लान सकिँदैन भने सुरक्षित गर्ने हो ।

संस्कृतका नियम अनुसरण गरियो, नेपाली भाषाभाषिकाबाट र अन्य अङ्ग्रेजी र हिन्दीभाषाबाट आएका शब्दलाई नेपाली नियमअनुसार लेख्ने भनियो । यसरी भेदभाव किन गरिएको हो ?
भेदभाव गरिएको होइन । संस्कृतका शब्दहरूको नियम, व्याकरण, शिष्ट र बनिबनाउ थियो । सबै कुरा तयारी छँदै थियो । संस्कृतका व्याकरणिक नियममा परिवर्तन गर्नु भनेको त्यसलाई बिगार्नु हो । त्यसैले बिगार्ने काम कसैले गर्नुभएन । 

नेपालका विभिन्न भाषाभाषिकाका व्याकरण, शब्दकोश बनेर मानकीकृत भइसकेका  छैनन् । ती अमानक रूपमा छन् । त्यस्ता अमानक रूपलाई नेपाली भाषामा भित्र्याउँदा मानकीकृत गर्नुपर्यो । मानकीकृत गरेर भित्र्याउने परम्पराभित्र राखेर त्यसो गरिएको हो । भाषिकाका मानक रूपमा नआएका शब्दहरू लिँदा मानकीकृत गरेर भित्र्याउनुपर्छ । यसरी भित्र्याउने सन्दर्भमा नेपाली परम्परा अनुसार गरिएको हो । 

अङ्ग्रेजी, हिन्दी, अरबी, फारसी आदि भाषाका शब्दका सम्बन्धमा ती सबै भाषाका वर्णविन्यास अनुसार लेख्न धेरै कठिन छ । अङ्ग्रेजी शब्द अङ्ग्रेजले बोलेजसरी हामी बोल्दैनौँ । त्यसैले हामीले बोल्ने परम्पराअनुसार ढालेर प्रयोग गर्नुपर्छ । ती शब्दहरूको हाम्रो कथ्य प्रचलनमा जुन रूप छ त्यो रूप अनुसार त्यसलाई ग्रहण गर्ने भन्ने मान्यता हो । सबै भाषाको व्याकरण सबै भाषाको शब्दकोशलाई हेरेर त्यो भाषाको विज्ञ हुन सम्भव छैन । त्यही भएर नेपाली नियमअनुसार जानुपरेको हो । अङ्ग्रेजीलगायतका केही भाषाबाट आएका शब्द जुन रूपमा छ त्यही रूपमा गर्नुपर्छ भन्ने अभिमत पनि छ । त्यो अभिमतलाई वास्तममा सम्मान नै गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

नेपाली भाषा साहित्यको अध्ययन, अध्यापनमा संस्कृतका नियम धेरै पढ्नु पढाउनु परेको छ । विद्यार्थीलाई संस्कृतको भारी कहिलेसम्म यसरी बोकाइरहने ?
विद्यार्थीलाई संस्कृतको भारी बोकाइएको होइन । व्याकरणकै कुरा गर्दा धेरै संस्कृतका व्याकरणका जेजे मिल्दा नियमहरू हुन्छन्, त्यसमा आधारित हुने हो । त्यसो हुनाले नेपाली भाषाका नियमकै व्याकरण पढाइन्छन् । संस्कृतका शब्दहरू नेपालीमा मात्र होइनन्, मैथिली, अबधी, हिन्दी, मराठी, उर्दूलगायत नेपालका विभिन्न भाषाभाषिकामा छन् । त्यसैले ती शब्दहरू जस्ताको तस्तै ल्याइयो भने नेपाली भाषा सबैलाई सहज हुन्छ । त्यसैले संस्कृत नेपाली भषाका मात्र नभई सबै भाषाका साझा शब्द हुन् । त्यसैले यसलाई यथावत गर्ने कुरा भएको हो । 

एक विदेशी भाषावैज्ञानिकको निर्देशनमा बनाइएकाले नेपाली भाषाको नियम नेपाली नभई आयातित नियम हो भन्ने आरोप छ ? के भन्नु हुन्छ ?
कुन सन्दर्भमा आरोप लगाइएको हो त्यो थाहा भएन । भाषाको विज्ञानमा पनि विज्ञान भनेको विज्ञान नै हो । नेपाली भाषाको आफ्नै संरचना, नियम र प्रयोग परम्परालाई सामान्यीकृत गरेर नियम बनाइने कुरा हो । यसैले यसलाई आयातित नियम भन्न मिल्दैन । भाषाका केही युनिभर्सल नियमहरू हुन्छन्, सँगसँगै नेपाली भाषाको प्रयोग छ, नेपाली भाषा संरचना छ, नेपाली बनोट छ, नेपाली तथ्य छ, त्यसको विश्लेषण गरेर सामान्य एउटा आधार दिने कुरा हो नेपाली नियममा । त्यसो हुनाले यसलाई आयातित नियम भन्न मिल्दैन ।  

अब सबैलाई मान्य हुने नेपाली भाषाको मानकीकरणका लागि ककसले केके गर्नुपर्छ ? 

अहिले पनि हामी मानकीकरणकै यात्रामा छौँ । केही संस्थाहरू छन् । त्यसमा केही राज्य सम्बद्ध र केही चाहिँ जनसम्बद्ध संस्थाहरू छन्, ती संस्थाहरूका बीचमा सहकार्य हुन जरुरी छ । अन्तरमन्थन हुन जरुरी छ र उनीहरूको बीचमा परस्पर संवाद हुनु जरुरी छ । त्यसले नै एकरूपतालाई अगाडि बढाउँछ । त्योभन्दा पृथक् रूपमा व्यक्ति लेखकहरूका आफ्ना अभिमतहरू छन्, ती अभिमतहरूलाई पनि सम्मान र संरक्षित गर्नुपर्छ ।  समयक्रममा तिनलाई नेपाली भाषाका प्रयोक्ताहरूले केही कुरा स्वीकार गर्छन्, केही कुराहरू छोड्छन् ।  ती भनेका प्रयोगका सन्दर्भमा इतिहासलाई छोडिदिने कुराहरू हुन् । यसलाई हामीले आग्रह, पूर्वाग्रह बनाउनु जरुरी छैन । तर सम्बद्ध केही निकायहरूको बीचमा निरन्तर अन्तत्र्रिmयाहरू गर्नुपर्छ । अहिले पनि नेपाली भाषाका प्रयोक्ताहरूले स्वीकार गरिने कति कुराहरू छन््, ती स्वीकार गर्ने कुरालाई विश्वविद्यालयले ग्रहण गर्नुपर्छ । नेपाली भाषामा विविधता के छ, प्रयोगहरू केके आएका छन्, ती प्रयोगहरूलाई एकीकृत गरेर विद्यार्थीसमक्ष सुसूचित गर्नुपर्छ । त्यो विश्वविद्यालयको दायित्व हो । विश्वविद्यालयले त्यही काम गर्छ । 

त्यसैले लेख्य रूप भनेको चाहिँ वास्तवमा सम्झौता हो । साझा रूपमा मानेको एउटा अवधारणा हो । साझा स्वीकार्यता हो । प्रयोक्तहरूबाट जे कुरा साझा स्वीकार्यताका रूपमा आउँछ, ती कुरालाई शिक्षणका सन्दर्भमा प्रयोग गर्नुपर्ने विश्वविद्यालयको काम हो ।

यसर्थ विज्ञ कुनै व्यक्ति वा समुदाय वा विज्ञताको मापन गर्ने, कुनै निकायले लाद्ने, निर्देश गर्ने, राज्यका संयन्त्रहरू प्रयोग गरेर भाषालाई त्यसरी अगाडि बढाउने कुराहरू इतिहासमा सम्भव छैन । हाम्रो इतिहासले त्यो प्रयोग गर्न खोज्यो, त्यो असफल भयो । 

जहाँसम्म नेपाली भाषाको व्याकरणको सन्दर्भ छ, व्याकरण चाहिँ कथ्य प्रयोग जे छ, त्यो कथ्य प्रयोगलाई नै वास्तवमा मानकीकृत गर्दै व्याकरणबद्ध गर्दै नियमन गर्दै अगाडि जाने कुरा हो । यसरी हाम्रो नेपाली भाषाको लेख्य मानक र  लेख्य मानकलाई अभिव्यक्त गर्ने वर्णविन्यास हो । यी दुवैको समन्वयित रूपबाट नै हाम्रो लेखनको यात्रा अगाडि बढ्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन दाहाल
मोहन दाहाल
लेखकबाट थप