शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैकल्पिक दलको एकता अपरिहार्य

मङ्गलबार, २४ पुस २०७५, १० : ३३
मङ्गलबार, २४ पुस २०७५

सौगात पोखरेल

अहिले भइरहेका राजनीतिक दलहरूले केही गर्न सकेनन् भनेर नयाँ शक्ति र विवेकशीलले आफूहरूलाई वैकल्पिक राजनीतिक दल भएको दाबी गर्दै आएका छन् । तर जनताले ती दलहरूलाई वैकल्पिक दलको रूपमा स्वीकार गरिसकेका छैनन्, हजारौँ मान्छे जम्मा गरेर काठमाडौँको टुडिखेलबाट आफूलाई वैकल्पिक राजनीतिक दल घोषणा गरेको नयाँ शक्ति यतिबेला दुलही अन्माएर पठाएको घरजस्तो सुनसान भएको छ ।

नयाँ शक्तिले आफैमा विकास गर्नेभन्दा पनि नयाँ शक्तिमा ल्याएर विभिन्न व्यक्तिहरूलाई अन्य राजनीतिक दलमा जानका लागि राजनीतिक उचाइ प्रदान गर्ने प्लेटफर्मका रूपमा भने राम्रै काम गरेको देख्न सकिन्छ । सुरुको केन्द्रीय समिति निर्माणदेखि पूर्व माओवादी र अन्यको विवाद हुँदै रामेश्वर खनाल, मुमाराम खनाल हुँदै देवेन्द्र पौडेल सम्मको बहिर्गमनले संसदीय निर्वाचनको बेलासम्म निकै ठूलो क्षति पुर्याएको अनुमान लगाउन कुनै गाह्रै छैन । यद्यपि नेपालमा वैकल्पिक राजनीतिमार्फत राजनीतिको परिभाषा र बाटो बदल्न सकिन्छ भन्ने ठूलो युवापुस्ता नयाँ शक्तिमा छ । 

स्थानीय निर्वाचनमा काठमाडौँको निर्वाचनमा फरक फरक चुनावचिन्ह लिएर लडेका साझा पार्टी र विवेकशील नेपालीले चुनावको पराजयसँगै वैकल्पिक राजनीतिक दलहरू एकै ठाउँमा हुनुपर्छ भन्दै एकता गरेका थिए । सोही एकताको सन्देशले प्रदेश नं. ३ मा प्रदेश स्तरीय दलका रूपमा आफूलाई स्थापित गराउन विवेकशील साझा सफल भएको छ भने सोही पार्टीका संयोजक रवीन्द्र मिश्रले थोरै मतान्तरले निर्वाचनमा पराजय बेहोर्न परेको थियो । पार्टी एकतासँगै विवेकशील साझामा पनि पुरानो साझा र विवेकशीलको झगडाको बीउ रोपिएको छ । त्यो झगडाको बीउ अहिले हुर्किएर सञ्चार माध्यममा समेत छताछुल्ल पोखिएको छ । 

अरू राजनीतिक दलहरूले राजनीतिलाई फोहोर बनाए । अब नयाँ वैकल्पिक शक्ति चाहिन्छ भने खुलेका दलहरूभित्र पनि पुराना दलहरूमा जस्तै किचलो निस्कँदैछ । यसले वैकल्पिक दलहरूप्रति विश्वास राख्नेहरूलाई जुन जोगी आए पनि कानै चिरेको भन्ने भान परेको छ । आफूलाई वैकल्पिक भन्ने शक्तिहरू पनि यतिबेला भडजम्मा गर्ने अभियानमा लाग्नु दुखद् कुरा हो । कुरा मात्र नयाँ र वैकल्पिक गर्ने तर काम भने उही पुरानो दलहरूको जस्तो गर्ने हो भने वैकल्पिक शक्तिको औचित्य के रहला ? टोलटोलमा सङ्गठनको सदस्यको प्याड बोकेर पुराना दलहरूले झैँ हिँड्ने हो भने किन नयाँ दलको आवश्यकता पर्यो ?

यहाँ रहेका वैकल्पिक दलहरूले आफूलाई वैकल्पिक राजनीतिक दलको रूपमा दावा त गर्दै आए तर त्यो अनुरूपको बाटोमा आफूलाई हिँडाउन सकेनन् । वैकल्पिक दलको वैचारिक धारण के हुने ? साङ्गठानिक मोडल कस्तो हुने ? परराष्ट्र नीति कस्तो हुने ? हाम्रो देशको  विकासको मोडल के हुने ? भन्ने बारेमा वैकल्पिक दलहरूको बीचमा कहिल्यै छलफल भएकोजस्तो लाग्दैन । 

अहिले वैकल्पिक भन्नेहरूको कार्यक्रमलाई हेर्ने हो भने अन्य पुराना  दललाई गाली गर्नको लागि मात्र दलको गठन भएको हो  कि भन्ने भान हुन्छ । नेपाली राजनीतिमा सुरुदेखि नै चल्दै आएको चलन अरूलाई होचो देखाएर आफूलाई अग्लो बनाउन खोज्ने प्रवृत्तिको वैकल्पिक दलहरूमा पनि देखिनु दुखद् कुरा हो ।

वैकल्पिक दलका नेताहरूसँग भेट्दा उनीहरू राजनीतिकभन्दा प्राविधिक रूपमा अड्किएको जस्तो लाग्छ । वैकल्पिक भन्ने दलहरूले  यसरी जोडघटाउ गर्दै जाने हो भने पुरानो दलहरूभन्दा कही फरक देखिने अवस्था छैन । त्यसैले वैकल्पिक दलहरूको एकता अपरिहार्य छ । 

अहिले दुई वैकल्पिक दल हेर्दा पार्टी होइन फ्यान क्लब चलाइरहेका छन् । नयाँ शक्तिमा बाबुराम फ्यान क्लब बनेको छ भने विवेकशील साझामा रवीन्द्र, उज्ज्वल क्लब गज्जबले चलेको छ ।  वैकल्पिक राजनीतिक दलको  वरेन्टेसन के हो भन्ने बारेमा भन्दा पनि प्राविधिक विषयमा देखिएको बहसलाई व्यवस्थापन गर्न नसक्ने हो भने वैकल्पिक राजनीतिको विकल्प भनेको पूरा दल रहनेछन् । 

अर्को रमाइलो  र मज्जाको कुरा के छ भने यति सानो देशमा एकै खाले दर्शनलाई फरकफरक झोलीमा हालेर हिँडेका नयाँ शक्ति र साझा विवेकशील नेता कार्यकता बीचको बसाइमा अबको बाटो यो भनेर कुनै विषयमाथि गम्भीर छलफल भएको नै छैन । 

वैकल्पिक राजनीति गर्छु भन्नेहरूले जबसम्म एउटै टेबलमा बसेर अबको राजनीतिको बारेमा खुलेर बहस गर्न सक्दैनन्, त्यो बेलासम्म नेपालमा वैकल्पिक राजनीति नेपाली राजनीतिको अग्रपङ्क्तिमा रहन सक्दैनन् । एकैखाले दर्शन बोकेर कति समय छुट्टाछुट्टै हिँडिरहने ? अन्य दलहरू घमण्डी भए भनेर खुलेको वैकल्पिक पार्टीहरूको बीचमा नै यी विषयमा छलफल हुन नसक्नु नै गतिले शङ्केत होइन । 
आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले विभिन्न विषयलाई  खुल्ला राखेर बहस गर्दै  अगाडि बढेको अवस्थामा भने वैकल्पिक राजनीतिको उचाइ धेरै माथि पुग्ने थियो । 

तर त्यसका लागि दुवै दलका मुख्य नेताहरूले हार्दिकता देखाएको देख्न सकिँदैन । जोगीदेखी भैँसी, भैँसीदेखि जोगी डराएझैँ मिश्र र भट्टराई एकअर्कासँग डराएका छन् । उनीहरूको डर विषयलाई खुल्ला राखेर बहस गर्दा मेरो भाग फुस्किन्छ कि भन्ने हो । होइन भने किन छरिएर रहेका वैकल्पिक दलहरूलाई एकै बाटोमा हिँडाएर बाटो  फराकिलो बनाउन सकिएन ?

  वैकल्पिक शक्तिहरू असफल हुने भनेको मिश्र वा भट्टराईहरू मात्र असफल हुनु पनि होइन । नेपाली राजनीति बीसौँ वर्ष पछाडि धकेलिने छ । त्यसैले बेलैमा सल्लाह गरेर दुवै वैकल्पिक दलहरू एकै ठाउँमा न आउने हो भने वैकल्पिक दलहरू भन्नका लागि त बन्ने छन तर गर्नका लागि बन्ने छैन ।

अन्त्यमा, तपाईं जो वैकल्पिक राजनीतिको नेतृत्व गर्छु भनेर हिँड्छु भन्नुभएका तपाईंहरूलाई नराम्रो पनि लाग्न सक्छ । तपाईंहरूसँग मेरो के कम भन्ने इगो छ । तपाईंहरू मान्नुस् या नमान्नुस् त्यही इगोको कारण दुई वैकल्पिक शक्ति आजसम्म एक हुन सकेका छैनन् ।

सफल मान्छेहरू असफलताबाट हार्दैनन् बरु सिक्छन् रे । वैकल्पिक राजनीति गर्नेहरूका लागि आजसम्मको एउटै दर्शनको फरक फरक बाटोले हामीलाई त्यही पु¥याउने हो । त्यसैले आफ्ना लागि हैन, वैकल्पिक राजनीतिको भविष्यप्रति चिन्तन गर्दै नयाँशक्ति र विवेकशील साझाको एकता पहल गरेर वैकल्पिक राजनीतिको बाटो फराकिलो बनाउन सबैले सहयोग गरौँ । जोजो वैकल्पिक राजनीतिक यात्राको अभियान्ता हुनुहुन्छ उहाँहरू पनि पार्टीको भजन मण्डली सदस्यभन्दा माथि उठेर वैकल्पिक राजनीतिबाटोलाई फराकिलो बनाउन बहस गरौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप