शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्का सिरिज : हुलियाले मान्छेलाई खै केके बनाउँछ

मङ्गलबार, २४ पुस २०७५, ११ : १७
मङ्गलबार, २४ पुस २०७५

(सगरबाट सागर गएको एउटा यात्रुको कथा हो यो । सर्वोच्च शिखर सगरमाथा भएको देश नेपाल भूपरिवेष्ठित हो भने श्रीलङ्का समुद्रवेष्ठित मुलुक । तर नेपाल र श्रीलङ्का रामायणकालदेखि जोडिएको पाइन्छ । नेपालकी छोरी सीताको अयोध्याका राजकुमार रामसँग विवाह भएको र रामसँगै वनवास गएकी सीतालाई लङ्काका राजा रावणले अपहरण गरेर लङ्काको अशोक वाटिकामा राखेको कथा छ । 

टुर गाइडसमेत रहेका लेखक एवम् पत्रकार अशोक सिलवाल केही समयअघि श्रीलङ्का गएका थिए । उनी अशोक वाटिका पनि पुगेछन् । त्यो रावणकालीन अशोक वाटिका नहुन पनि सक्छ, तर त्यसैको प्रतिरूप भने पक्कै हो । यो यात्रा संस्मरण, त्यही यात्राको पहिलो शृङ्खला हो । )

सेतो सर्ट, कालो पाइन्ट र छालाको कालै जुत्तामा म कस्तो देखिदो हुँ ?

पत्रकार जस्तो ? लेखक जस्तो ? कि टुर र ट्रेक गाइड जस्तो ?

अथवा मेरो परिचयभन्दा भिन्न श्रीलङ्काली जस्तो देखिन्छु ? वेटरजस्तो वा अम्लेट ब्वाइ जस्तो पनि देखिन्छु ?

मैले कहिल्यै सोचेकै थिइनँ । मैले नसोचे पनि उनले त मलाई सोचिसकिछन् । के सोचिसकिछन् भन्ने एक छिनमा भनुँला । तर अहिले भने म कोलम्बो सिटी होटलको मेरो ब्रेकफास्ट वृत्तान्त सुनाउँछु । 

एक गिलास फ्रेस अरेन्ज जुससहित एक पिस पाउरोटी, एउटा रोटी, दुई डाडु जति ग्रेभी आलु, एउटा उसिनेको अन्डा र अन्डा आकारकै दुईवटा गुलिया केक इन्जोई गर्दै थिएँ । रेस्टुरेन्टको कुनापट्टि उभिएको अम्लेट ब्वाइलाई एउटा मसला अम्लेट ल्याउन इशारा गरेँ । 

तातो अम्लेट स्वादले बुत्याएपछि पालो ब्ल्याक कफीको थियो । म झुण्ड अपरिचितहरूलाई छेउ पारेर कफी टेबलतिर जाँदै थिए ।

‘एक्सक्युज मी’, निकै मीठो लवजमा एउटी अपरिचितले मलाई रोकिन् ।

टक्क अडिएर मैले पनि मन्द मुस्कानसहित भनेँ, ‘यस्’ ।

‘कृपया ! तपाईं मलाई एउटा अम्लेट तयार गरिदिनु हुन्छ ?’, उनले त्यसोभन्दा एक छिन त म अलमलमा परेँ । सोचेँ, ‘यिनले अरू कसैलाई भनेकी पो हुन् कि ?’

तर उनले मलाई नै भनेकी रहिछन् ।

त्यसपछि एक क्षणलाई अड्किएको मुस्कान कन्टिन्यु गर्दै दुई हात जोडेर भनेँ, ‘हुन्छ । किन हुँदैन ? म तपाईंका लागि अम्लेट बनाउँछु । तर, तपाईंको जिब्रोमै झुन्डिने अम्लेट बनाउन भने सक्दिनँ कि ! किनभने, श्रीलङ्कामा म पनि तपाईंजस्तै आगन्तुक हुँ र म पेसाले कुक पनि परिनँ ।’ 

त्यति भनेर थोरै झुक्किएर नमस्कार गर्दै अम्लेट टेबलतिर मोडिँदा नमोडिँदै उनी जुरुक्क उठेर मतिर शिर झुकाउँदै विनित स्वरमा भनिन्, ‘आई एम एक्सट्रिम्ली सरी !’

‘नो नो । के भो त ? किचेनबाट अनुमति पाएँ भने म तपाईंलाई पक्कै अम्लेट खुवाउँछु’, मैले झुकेरै नमस्कार मुद्रामा भनेँ । 

उनले फेरि पनि ‘सरी’ भनिन् । त्यसपछि भने मैले अम्लेट बनाउने अवसरबाट आफूलाई अलग्याएँ ।

अम्लेट टेबलको सट्टामा म कफी टेबलतिर मोडिएँ । कफी टेबल पुग्दानपुग्दै अर्को टेबलबाट अर्को अपरिचितको ‘अर्डर’ आयो । 

त्यो स्वर अलि रूखो थियो, ‘गीभ मी अ ग्लास ।’ 

कफी टेबलतिर अगाडि बढ्दै गरेको म जुस टेबलमा गएँ र एउटा सिसाको गिलास लिएर त्यो मानिसलाई दिएँ । 

त्यो अपरिचित पुरुष लवाइ र लवजअनुसार भारतीय मूलको हुनुपर्छ । तर न मैले ऊसँग न त उसले नै मसँग थप संवाद गर्न चाह्यो । मैले ‘थ्याङक्यु’सम्म पनि पाइनँ ।  

म कफी टेबल गएर स्ट्रोङ ब्ल्याक कफी बनाएँ । कफीको कप लिएर बरन्डातिर जाँदै थिएँ, कफी विथ सिगरेटको जो अम्मल थियो । अम्लेट मगाउने केटीछेउबाटै बरन्डामा निस्कने बाटो थियो । त्यसैले म उनीहरूलाई हेरेर हाँस्दै अगाडि बढ्दै थिएँ ।

केटी मात्र होइन, टेबलका अरू तीनजना पनि जुरुक्क उठे । उनीहरू मलाई ‘इन्भाइट’ गर्न पो उठेका रहेछन् ।

‘तिमी ननिको मान्दैनौँ भने तिमीलाई हाम्रो टेबलमा ‘इन्भाइट’ गर्छौं र तिमीले हाम्रो टबेल ज्वाइन गर्यौं भने मेरो अघिको गल्तीलाई तिमीले माफ गर्यौ भनेर बुझ्नेछु’, मलाई अम्लेट अर्डर गर्ने केटीले भनिन् ।

‘बरन्डामा कफी विथ सिगरेट कि भित्र कफी विथ केटी ?’ मैले दोस्रो विकल्प रोजेँ ।

म थपिएपछि टेबल छेउका कुर्सीहरू त्रिकोणबाट वर्गाकार भए । हामीबीचको टेबल त्यसपछि टबेल मात्र थिएन । त्यो हामीबीचको मित्रताको सुरुवाती साक्षी थियो ।   

उनीहरू मलेसियन रहेछन् । पालैपालो हात दिँदै उनीहरूले आ–आफ्ना नाम भने ।

फेरि सुरु भयो अम्लेट विमर्श । विमर्शमा समीक्षा थपियो । मैले अम्लेटलाई धन्यवाद दिएँ । 

‘यो भेट हाम्रो असली मित्रताको सुरुवात हो’, पिलीले हार्दिक स्वरमा भनिन् ।

‘यदि तिमीलाई अम्लेटको चाहना हुँदैन थियो भने सायद हामीबीच यो सब हुँदैन थियो, जे यहाँ भइरहेको छ  । त्यसैले हाम्रो मित्रताको सूत्रधार हो, अम्लेट’, मैले भनेँ । 

‘मैले तिमीलाई वेटर भन्ठानेर त्यस्तो व्यवहार गर्दा पनि तिमी रिसाएनौ । उल्टो, हँसिलो अनुहारमा हामीतिर झुकेर अम्लेट बनाउँछु भन्दै तिमी पनि हामीजस्तै यात्रु रहेको जानकारी दियौ । तिम्रो त्यो तरिकाले हामी तिमीसित साँच्चै आकर्षित भयौँ । त्यसैले अप्ठ्यारो मान्दै भए पनि तिमीलाई हाम्रो टबेलमा आमन्त्रण गर्याैं, तिमी आयौ । हामी निकै खुशी छौँ’, पिलीले आफूलाई हल्का पारिन्, ‘थ्याङ्क्यु अम्लेट ।’ 

‘तिम्रो सभ्यता र व्यवहार तिम्रो परिचय हो’, पिलीकी आमाले थपिन्, ‘पिलीले तिमीलाई वेटर ठानेर अम्लेट अर्डर गर्दा तिमीले जस्तो व्यवहार देखायौ, मलाई त्यसले तिमी असल मान्छे हौँ भन्ने लाग्यौँ । हाम्रो टेबलमा बोलाउनलाई छोरीलाई भनेँ ।’  

आमाछोरीले लगातार मेरो प्रशंसा गरिरहेका र बाबु माइकल चाहिँ टाउको हल्लाएर सहमति जनाइरहेका थिए ।

माइकल मलेसियास्थित माइकल ब्याडम्यान्टिन फाउन्डेसनको अध्यक्ष रहेछन् । छोरी पिली फाउन्डेसनको मलेसिया इन्जार्च रहिछन् ।

फाउन्डेसनले हरेक वर्ष अन्तर्राष्ट्रिय ब्याडम्यान्टिन टुर्नामेन्ट आयोजना गर्दाेरहेछ । यस वर्ष त्यो टुर्नामेन्ट श्रीलङ्काको कोलम्बोमा आयोजना गरेको रहेछ, जसमा १९ देशका खेलाडी सहभागी रहेछन् र त्यो दिन टुर्नामेन्टको फाइनल डे रहेछ ।

मलाई खेलस्थल जाने निम्तो दिए उनीहरूले । तर मैले किन असमर्थ छु भन्ने जानकारी दिएँ, ‘श्रीलङ्का प्रेस एसोसिएसनको ६३औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा म विशेष आमन्त्रित सदस्य हुँ । ६३ वर्षको संस्थाको जीवनमा यसरी निम्त्याइएको म पहिलो नेपाली पत्रकार हुँ र आजै कार्यक्रम उद्घाटन हुँदैछ । म त्यहाँ जानुपर्छ । अन्यथा तपाईंहरूको निम्ता म हार्दिकतापूर्वक  स्वीकार्ने थिएँ ।’

पिलीकी आमाले मेरो मुस्कान मीठो लागेको चर्चा गर्दै भनिन्, ‘मुस्कानले मानिसलाई एकअर्कासँग जोड्ने पुलको काम गर्छ ।’

‘पक्कै पनि तर मलाई लाग्छ, मुस्कान मात्र होइन, आँशुले पनि मानिसलाई जोड्छ । आँशुले करुणा जगाउँछ । आँशु करुणाको सबैभन्दा शक्तिशाली अभिव्यक्ति हो । करुणाले आत्माहरूबीच समभाव सिर्जना गर्छ । सबैबीच एक आत्मा र एक मानवको अनुभूति दिलाउँछ’, मैले त्यसो भनिरहँदा पिलीकी आमाको आँखा रसाइसकेको देखेँ । 

‘के तिमी बुद्धिष्ट हौ ?’, उसले आफ्ना रसिला आँखालाई चम्किलो पारेर सोधी ।

‘म बुद्धको जन्मभूमिबाट आएको हुँ । सामान्य अर्थमा म हिन्दु हुँ तर मलाई लाग्छ म बुद्धिस्ट पनि हुँ । मलाई लाग्छ, बुद्धिज्म धर्म होइन, दर्शन हो । सम्भवतः सबैभन्दा सरल दर्शन, जसले जीवनलाई सम्बोधन गर्छ । जसले जीवनलाई मृत्युको भयबाट मुक्त गर्न मद्दत गर्छ । मृत्युको डरबिना जब हामी बाँच्न थाल्छौँ, जीवन एउटा अन्त्यहीन उत्सव बनिदिन्छ’, मैले भनेँ ।

उनी त्यसै पनि मनले शान्त प्राणी थिइन् सायद । त्यसपछि झन् शान्त भइन् र सुनाउन थालिन् जीवनका केही आन्तरिक अनुभवहरू ।

‘म केही वर्षअघि अफ्रिका गएको थिएँ । मैले त्यहाँका असङ्ख्य बालबालिकामा कुपोषण देखेँ । शरीरको तुलनामा टाउका निकै ठूला थिए । त्यो कुपोषणले भएको थियो । मैले ती कुपोषित बालबालिकालाई सहयोग गर्न चाहेँ । झन्डै पच्चीस सय बालबालिकालाई पछिल्ला केही वर्षदेखि म नियमित सहयोग गरिरहेको छु । खासमा म मैले गरेको सहयोगहरूलाई सेयर गर्न रुचाउन्न । तर तिम्रो कुरा सुनेपछि मैले आफूलाई रोक्न सकिनँ । 

उनले थपिन्, ‘म त्यति धनी छैन तर मैले जति सक्छु, गरिरहेको छु । पहिलो पल्ट जब मैले तिनको आँखा देखेँ, तिनको आँखामा कुपोषण मात्र देखिनँ, आँशु पनि देखेँ । त्यसले हो, मलाई उनीहरूसँग जोडेको । त्यसैले हो मलाई मानवतासँग जोडेको र त्यसैले हो ममा बाँच र बचाऊको भावना पैदा गरेको । यता मलेसियामा मलाई धेरैले भन्ने गर्छन्, तिमी मलेसियामै पनि च्यारिटी गर्न सक्थ्यौँ तर त्यति पर किन ? मलाई लाग्छ, मानवता र सहयोगको कुरा कुनै देशको सीमाभन्दा फराकिलो हुन्छ । म मलेसियन हुँ । त्यसैले एसियन हुँ तर मलाई अफ्रिका पुगेपछि एउटा महादेशको हुँ भन्न पनि मन लागेन । महादेश पनि साँघुरो लाग्यो ।’  

उनी सन् २०१२ मा नेपाल पनि आएकी रहिछन् । त्यसक्रममा उनले घुमेको काठमाडौँको थोरै र बुद्ध जन्मस्थल लुम्बिनीको वर्णन धेरै गरिन् ।

म निकै खुशी भएँ । म अर्कै देशमा थिएँ । श्रीलङ्कामा थिएँ । कोलम्बोमा थिएँ तर नेपालको गफ हुँदै थियो । लुम्बिनीको गफ हुँदै थियो । अझ विशेष गरी बुद्धको गफ हुँदै थियो । बुद्ध मलाई किन–किन मलाई मेरो देशको भन्दा पनि मेरो आफ्नै लाग्छ ।

उनीहरूले मलाई डिनर अफर गरे । मैले हुन्छ भनेँ । बेलुका उनीहरू मलाई कुरेर होटलको लबीमा बसिरहेका रहेछन् । जब म कार्यक्रम सकाएर आइपुगेँ, उनीहरूले मलाई टिसर्ट र कफी उपहार दिए । त्यसपछि हामी डिनरका लागि नजिकैको रेस्टुरन्ट गयौँ । बियर सेयर गर्याैं । खाना सेयर गर्याैं । मैलै श्रीलङ्कामा चाइनिज मूलका मलेसियन साथी पाएँ । परिवार पाएँ । 

तर मलाई उनीहरूले किन सुरुमा वेटर सम्झे ? किन अम्लेट ब्वाई सम्झे ? किन श्रीलङ्कन सम्झेँ ? म आफैलाई प्रश्न गरिरहेको थिएँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक सिलवाल
अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

लेखकबाट थप