शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय पर्यटक आगमनमा २४.७७ प्रतिशतको बृद्धि, भ्रमण वर्ष २०२० का लागी बलियो आधार

मङ्गलबार, २४ पुस २०७५, १४ : ०१
मङ्गलबार, २४ पुस २०७५

काठमाडौं– गत वर्षको तुलनामा सन् २०१८ मा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्यामा २४.७७ प्रतिशतले बृद्धि भएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकहरु नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतको बृद्धि हो । 

नेपाल भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामा पर्यटक आगमनमा हासिल गरिएको बृद्धिले सबैलाई उत्साहित बनाएको सस्ंकृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले बताए । सन् २०१८ का अन्तिम दुई महिनामा नै करिव ४७ प्रतिशतको बृद्धि भएकाले भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तीको लागी बलियो आधार तयार भएको बताए ।

साथै, थप सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिए । मन्त्री अधिकारीले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासको फलस्वरुप यो सफलता हासिल भएको र अव गुणात्मक रुपमा पनि पर्यटनको विकास गर्न लागी पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीका अनुसार नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाकाल देखि नै अंगिकार गरेको साझेदारीको अवधारणा र सबैको साझा प्रयासले विगत तीन वर्ष यता पर्यटन आगमनमा देखिएको लगातारको बृद्धिले सम्पुर्ण पर्यटन सरोकारवालाहरुमा उत्साह र आत्मविश्वासको संचार गरेको छ । 

तथ्याङ्क अनुसार हवाईमार्गबाट जम्मा ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ अन्तराष्ट्रिय पर्यटकहरु नेपाल प्रवेश गरेका छन् । हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकहरुको संख्यामा गत वर्षकोे तुलनामा २५.१ प्रतिशतले बृद्धि भई कुल आगमन २ लाख ४ हजार ८३ पुगेको छ ।

त्यस्तै श्रीलंकाबाट आउने पर्यटकको संख्यामा २०१७ को तुलनामा ५५.७ प्रतिशत बृद्धि भएको छ भने सार्क मुलुकहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २६.४ प्रतिशतले बृद्धि भई कुल आगमन संख्या ३ लाख १ हजार ९ सय ६३ पुगेको छ ।

त्यस्तै, चीनबाट सन् २०१८ मा १ लाख ५३ हजार ६ सय २ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् जुन २०१७ को तुलनामा ४६.८ प्रतिशतको बृद्धि हो । यसैगरी थाइ, दक्षिण कोरियाली र जापानी पर्यटकहरुको संख्यामा पनि २०१७ को तुलनामा क्रमशः ३६, ८.३ र ८.९ प्रतिशतले बृद्धि भएको छ ।

युरोपेली पर्यटकको आगमनमा पनि उल्लेखनीय बृद्धि देखिएको छ । संयुक्त अधिराज्य, जर्मनी र फ्रान्सबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या क्रमशः १५.६, २३.१ र २१.१ ले बृद्धि भएको छ । सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बृद्धि भई ९१ हजार ७ सय ८५ पुगेको छ । त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यकटकको संख्या १५.१ प्रतिशतले वढेर ३८ हजार ४ सय ८ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप