शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

असली ‘विक्की डोनर’ को रोचक कहानी : १२ वर्षपछि भेटिएका प्रेमी नै बच्चाको बाउ

मङ्गलबार, २४ पुस २०७५, १५ : ५८
मङ्गलबार, २४ पुस २०७५

जेसिका शेयरले आफ्नो परिवार संख्या बढाउनका लागि ‘स्पर्म’ बैंकबाट किनिएको वीर्यको माध्यमबाट बच्चा जन्माएकी थिइन् ।  त्यसबेला, उनले रत्तिभर पनि सोचेकी पनि थिइनन् कि एक दशकभन्दा बढी समयपछि उनको भेट त्यही वीर्यदातासँग हुनेछ र उनी नै अन्ततः उनका प्रेमी पनि बन्नेछन् । 
०००
सन् २००५ मा जब मेरी जेठी छोरी जन्मिएपछि म पहिलो समलिङ्गी अभिभावक बनेँ । यसअघि अमेरिकी मिडवेस्टमा विपरीत लिङ्गीसँगको सम्बन्धबाट समलिङ्गी जोडीको सन्तान जन्मिएका थिए । त्यसकारण मैले र मेरी महिला मित्रले सबैकुरा नयाँ अध्यायबाट सुरु गर्नुपरेको थियो ।  

हाम्रो भेट भएलगत्तै हामीले सँगै मिलेर बच्चा जन्माउने र हुर्काउने सपना देखेका थियौं । हामीले दुईबाट चार हुने योजना बनायौं र बच्चाहरुको नाम पनि सोच्यौं । त्यसपछिको कदम भने निकै गाह्रो थियो । 

मेरी महिला मित्रले यो कामका लागि उनका ज्वाईंले सहयोग गर्नसक्ने सल्लाह दिइन् । उनी अरुको भावनालाई राम्रोसँग बुझ्न सक्ने व्यक्ति थिए । तर मैले विश्वविद्यालयमा कलेज अफ लमा समलिङ्गी पुरुष र महिलाको कानूनी अधिकारबारे पढेकी थिएँ ।

अदालतले वीर्यदान गर्ने व्यक्तिलाई वीर्यदाता भएकै नाताले पिता हुने अधिकार दिँदै बच्चाको संरक्षणको अधिकार दिन्छ । बच्चालाई जन्मदिने आमाको मृत्यु भएपछि बच्चालाई उनको घरबाट निकालेर त्यस्ता व्यक्तिको जिम्मा लगाइन्छ, जसलाई उनले चिनेकै हुँदैन । 

त्यसकारण हामीले चिनेका वीर्यदातासँँग मद्दत लिने विचार त्यागिदियौं । 

स्पर्म डोनरको कपाल खैरो थियोः

संयोगले हामीले आफ्नो घर नजिकैको एउटा स्पर्म बैंक भेट्यौं, जहाँ अपरिचित स्पर्म डोनरले कानूनी कागजातमा दस्तखत गर्दथे, जसले उनीहरुलाई आफ्नो वीर्यबाट जन्मिने बच्चाको संरक्षणको अधिकार दिँदैनथ्यो ।

म घरमा नै पिएचडी शोध निबन्ध लेखिरहेकी थिएँ, त्यसकारण मलाई मेरो पहिलो सन्तान चाहिएको थियो । मैले आफ्नी मित्रलाई वीर्यदाताका बारेमा बताएँ ।ती मित्र त्यतिबेला मेरी श्रीमती थिइन् । 

स्पर्म डोनर औसत उचाई र तौल भएका, साहित्यको अध्ययन गर्ने, खैरो कपाल भएका र खेलकुदमा रुचि राख्ने व्यक्ति थिए । 

ती व्यक्तिले पेशागत रुपमा आफू एक लेखक, संगीतकार र ट्याक्सी ड्राइभर बताएका थिए । मेरी श्रीमती र मैले रोमान्टिक तरिकाले ती दातालाई बसेर गर्ने काममा रुचि नभएको हुनसक्ने कल्पना गर्यौं । उनी आफ्नो ट्याक्सीमा बस्ने व्यक्तिहरुको कहानी जम्मा गर्दै एउटा महान अमेरिकी उपन्यास लेख्ने तयारी गरिरहेका थिए ।

थुप्रै पटक गर्भवती हुने कोसिस गरेः
स्पर्म डोनरबारे अन्य जानकारी उपलब्ध थिएन । तर उसको सुरुवाती स्वास्थ्यबाट हामीले एक साधारण प्रेमीको तुलनामा उनीबारे धेरै कुरा थाहा पाइसक्यौं भन्दै चित्त बुझायौं । हामीले उनको तस्बिरसमेत देखेनौं । 
घर बसेर गर्भवती हुनु निकै उत्कृष्ट अनुभव थियो । यो गृह विज्ञानमा एउटा प्रयोग थियो, जसलाई मैले गम्भीरतापूर्वक लिएँ । 

खरिदकर्तालाई दिइने वीर्य लिप बामको बिर्कोमा अट्ने पानीभन्दा आधा हुन्छ । यसलाई रातारात फिर्तासमेत गर्न सकिन्थ्यो । 

यसलाई निकै राम्रोसँग प्याक गरिएको हुन्छ, जसलाई निकाल्न पञ्जा नै लगाउनुपर्छ । यसलाई सुरुमा काउन्टरमा चिसो गरिन्छ, त्यसपछि हातमा राखेर शरीरको तापक्रम बराबरको तातो बनाइन्छ ।  

गर्भधारणका लागि स्थानीय औषधी विक्रेतासँग सानो सुईबाट लिन सकिन्छ । सामान्यतः वीर्यमा रहेका शुक्रकिट एकदिन मात्र जिउँदो रहन्छ । यदि कुनै अण्डालाई त्यसले निषेचित गर्न सकेन भने त्यसको मृत्यु हुन्छ । 

हरेक शुक्राणुलाई अण्डाको नजिक ल्याउनु एक मासिक प्रक्रिया बनेको थियो । मैले अण्डाले उसको प्रतिक्षा गरिरहेको होला भन्ने सोचेर दुईपटक इन्जेक्ट गरेँ । त्यो तैरिएर गर्भाशयसम्म पुग्न पाँच घण्टाको समय लाग्छ । 

गर्भधारणका लागि डोनरको वीर्यको प्रयोग गर्नुअघि मैले यस्ता विभिन्न जानकारी प्राप्त गरेकी थिएँ । 

सात महिनापछि म पहिलोपटक गर्भवती भएँ, जसका कारण म र मेरी श्रीमती निकै आनन्दित भयौं ।

दोस्रो सन्तानको चाहनाः
मैले आफ्ना हजुरबुवा–हजुरआमालाई आफू आमा बन्न लागेको खबर सुनाएँ । मेरी हजुरआमाले भन्नुभयो, ‘ओहो, जुनमा बच्चाको जन्म हुनेछ’ र मेरा हजुरबुवाले कृत्रिम गर्भधारणबारे उत्सुकतापूर्वक जान्न खोजे । 

हामीले वीर्य डोनरलाई भेट्नेबारे कहिले पनि सोचेनौं । मेरी श्रीमती हाम्रो बच्चालाई यसबारे जानकारी प्राप्त होस् भन्ने खिलाफमा थिइन् । 

उनको मान्यता थियो कि परिवार प्रेमका कारण बन्छ । म उनको कुरामा सहमत भएँ । तर गर्भवती हुँदा मैले हज्जारौं पुस्तक पढेर उनको साहित्यिक रुचिप्रति आफ्नो सम्मान प्रदर्शित गरेँ । 

जब एलिसको जन्म भयो तब उनी सामान्य थिइन् । 

केही महिनापछि हामीलाई आफ्नी छोरीजस्तै दोस्रो सन्तानको चाहना भयो । हामीले त्यही वीर्यदातासँग नै वीर्य लिने निर्णय गर्यौं र पूरा प्रक्रिया पुनः दोहोरायौं । एलिस जब १८ महिनाकी थिइन्, तब मेरी श्रीमतीले हाम्रो दोस्रो छोरीलाई जन्म दिइन् । 

जब श्रीमतीले अलग्गिने निर्णय गरिन्ः
हाम्रा दुबै छोरीहरुमा निकै समानता थियो । उनीहरुलाई हेरेर आफूहरु बाल्यकालमा कस्ता देखिन्थ्यौं भनेर हामी कल्पना गर्ने गर्दथ्यौं । 

दुबै चाहिनेभन्दा अग्ला थिए । दुबैको अनुहार लामो र पातलो थियो, नाक सानो थियो, चम्किला आँखा थिए, जो पानीभित्रको मोतीजस्ता देखिन्थे र उनीहरुको बोलीमा कुनै त्रुटि थिएन । 
तर छोरीहरु साढे तीन वर्षका हुँदा मेरी श्रीमतीले हाम्रो सम्बन्ध समाप्त गर्ने घोषणा गरिन् । 

हाम्रो परिवारमा कुनै आपसी झगडा थिएन । त्यसकारण म चकित भएँ, भित्रभित्रै टुटें । कारण जान्न खोज्दा उनले यस विषयमा कुनै कुरा गर्न नचाहेको बताइन् । मैले आफ्नो पारिवारिक जीवन बचाउनका लागि केही गर्न सकिरहेको थिइनँ । 

त्यसको केही वर्षसम्म मैले छोरीहरुलाई हप्ताको पाँचदिन रेखदेख गरिरहें । तर जब एलिस १० वर्षकी भइन्, तब मेरी पूर्व पत्नीले एलिसको फोन ब्लक गरिदिइन्, उनीसँगको सबै सम्बन्ध तोडिन् र छुट्टीपछि उनकी बहिनीलाई उनीसँगै पठाउन अस्वीकार गरिन् । 

आज पनि स्थिति यही छ । 

एलिसको इच्छाः
मेरी पूर्वपत्नीको परिवारको तर्फबाट एलिसका हजुरबुवा–हजुरआमा, काका–काकी र उनका भाइबहिनीले दुई वर्षसम्म कुनै उपहार पठाएका छैनन् । 

एलिसको दिन उनी हुर्किएकी ती बहिनीलाई सम्झँदै बित्न थाल्यो । अब बहिनीलाई कहिले पनि भेट्न नपाउने हो कि भन्ने उनलाई आशंका थियो ।

एलिस११ वर्षकी हुँदा क्रिसमसको मौकामा आफ्नी हजुरआमासँग डिएनए परीक्षण किटको माग गरिन् । यसमार्फत् उनी आफ्ना पिता को हुन् जान्न चाहन्थिन् । 

परीक्षणको नतिजा करिब आठ हप्तापछि आयो । मैले डिएनए आफन्तको साइटमा क्लिक गरेँ । यसको कुनै नतिजा निस्केला भनेर मैले अलिकति पनि सोचेको थिइनँ । तर साइट लोड हुने बित्तिकै मैले पढेँ – ‘आरोन लङ्गः ५० प्रतिशत । पिता ।’

त्यसको ठिकमुनि लेखिएको थियो, ‘ब्रिस गेलोः २५ प्रतिशत । हाफ ब्रदर ।’

त्यस्तो हुन सक्छ भन्ने आशंका ममा थियो तर त्यस्तै हुनेछ भन्ने विश्वास पटक्कै थिएन । साइटमा नोट लेख्नुअघि मैले आरोनबारे अनलाइन खोजी गरेँ ।

आरोनको खोजीः
संसारभरि थुप्रै आरोन लङ्ग छन् तर म ती विशेष व्यक्ति खोज्नमा जुटेँ । प्रत्येक आरोन लंगबारे जानकारी लिनेबेला मलाई उत्सुकता हुन्थ्यो । म ती वीर्यदातालाई तत्काल चिन्न सक्छु कि सक्दिनँ भन्ने लाग्थ्यो । 

एउटा स्पर्मको बोतलमा लेखिएको थियो सन् १९९४ । जसमार्फत् वीर्यदाताको उमेरको अन्दाज लगाउन सकिन्थ्यो । 

त्यसपछि मैले ती व्यक्तिले साहित्यमा एमएको पढाइ गरेका छन् वा छैनन् भन्ने खोतल्न थाले । योसँग मेल खाने एउटा अकाउन्ट भेटेँ जसको तस्बिरमा उनले हरियो रंगको फेटा लगाएका थिए र केही ओढेका थिए ।

उनको प्रोफाइलमा लेखिएको थियो कि उनी एक ‘सञ्चार विशेषज्ञ’ हुन् र सिएटलमा बस्छन् । उनी एक लेखक र संगीतकार पनि हुन् । 

एक अन्य सोसल साइटमा मैले सिएटलमा बस्ने आरोन लङ्गले काम गर्ने र स्कूलको दिनका तस्बिरको खोजी गरेँ । 

म निकै हदसम्म सफल भएँ । कुनै शंका बाँकी रहेन । मेरी छोरीहरुको अनुहार उनको अनुहारसँग मेल खान्थ्यो । 

मैले तत्काल डिएनए परीक्षण साइटमा ती व्यक्तिका लागि सन्देश लेखेँ जुन यसप्रकार थियोः

हेलो आरोन, वास्तवमा मेरी दुई छोरी छन्, जुन तिमीजस्तै देखिन्छन् (मेरी पूर्वमित्रसँग मेरी कान्छी छोरी छिन् । उनी डिएनए परीक्षण साइटसँग जोडिएकी छैनन्) । यदि तिमी पारिवारिक तस्बिर वा अन्य कुरा सार्वजनिक गर्न चाहन्छौ भने हामी यसको स्वागत गर्नेछौं । 

आरोनले तत्काल जवाफ दिए, जसमा उनले ती सबै कुरा लेखेका थिए जुन मलाई पहिले नै थाहा थियो । उनले मलाई ‘केही सोध्न चाहन्छौ’ भनेर प्रश्न गरे । मैले सोधें, ‘के तिमी परिवारका सबैभन्दा होचा व्यक्ति हौ ?’ मलाई यसको उत्तर पहिले नै थाहा भइसकेको थियो । उनी साँच्चैका होचा थिए । 

आफ्नाबारे जान्ने रुचिः
हामी सोसल नेटवर्किङ साइटमा साथी बन्न तयार भयौं र आरोनले ५० पानामा आफ्नो जीवनको इतिहास लेखेर पठाए । मैले निकै उत्साहित भएर त्यसलाई पढेँ । उनी थुप्रै वर्षसम्म हामी बस्ने शहरमा नै बसेको बताए । हामी सुपरमार्केटमा उनकै अगाडिबाट कतिपटक हिँड्यौं होला भन्ने कल्पनाले म रोमाञ्चित भएँ । 

मैले ब्राइसलाई पनि लेखेँ । उनले भर्खरै कलेजको पढाइ पूरा गरेका रहेछ । उनले मलाई मादी नामकी १९ वर्षे ‘हाफ सिस्टर’ भेटिसकेको बताए । उनको अन्य आमा–बुवासँग पनि सम्पर्क रहेको बताए ।  उनका अनुसार आरोनका पहिले नै ६ सन्तान थिए । मेरा दुई छोरीहरु सातौं र आठौं थिए । ब्राइसका अनुसार उनी आफ्नी मादी बहिनीसँग हुर्किएका हुन् तर मलाई लाग्यो कि मादी ती एक्ली सन्तान हुनसक्छिन् जो एलिससँग सम्बन्ध स्थापित गर्न चाहन्छिन् । 

आफ्ना आनुवंशिक आफन्तबारे थाहा पाउन एलिसको कमै रुचि थियो । उनलाई आफ्नी बहिनी गुमाउनुको पीडा थियो । 

मैले उनलाई ती मानिसहरुबारे जान्नुपर्ने र उनीहरुसँग सम्बन्ध स्थापित गर्नुपर्ने भन्दै सम्झाउने कोसिस गरेँ र बहिनीसँग भेट भएको खण्डमा उनीहरुसँग भेटाउनु पर्छ भनेर सम्झाएँँ । केही समयपछि उनको बहिनीसँग भेट हुने सम्भावना थियो । 

केही महिनापछि ब्राइस र मादीले सिएटलमा आरोनसँग भेटघाट गर्ने योजना बनाए । एलिस उनका दाइदिदी र आरोन उनीसँग मेल खान्छन् कि खाँदैनन् भन्ने बारे थाहा पाउन उत्सुक थिइन् । मैले उनलाई यो योजनाको हिस्सा बन्ने अनुमती दिएँ । 

आरोनसँग दोस्तीको सुरुवातः

आरोनले एउटा पार्टी राखे जसमा उनले छिमेकी, सुरुवाती स्कूल, हाई स्कूल र कलेजका छात्रलाई निम्ता दिए । आफ्ना सबै पूर्व महिला मित्र र उनका नयाँ पार्टनर र बच्चालाई पनि आमन्त्रित गरे । 
उनीहरु सबैको भेट छतमा भयो र आफ्नो जैविक सन्तानको भेटघाटको उत्सव मनाए । मलाई तत्काल थाहा भयो –  आरोनसँग यस्ता कुनै पनि मित्र छैनन् जोसँग उनले नयाँ सम्बन्ध स्थापित गर्न सक्छन् । हामी सँगै घुम्यौं र रमायौं । 

ब्राइसको सुरुवाती विरोधपछि उनले र मादीले एलिससँग मित्रवत् सम्बन्ध विकसित गरे । छुट्टीका बेला जब उनीहरु भेटे तब तीनैजना डिनरका लागि सँगै बाहिर निस्किए । एलिसलाई एकले आइक्रिस खुवाए त अर्कोले पिज्जा । 

म वर्षौंदेखि एक व्यक्तिलाई डेट गरिरहेको थिएँ जसको नाम पनि आरोन डेविड थियो । अर्थात्, थर एउटै । छुट्टीमा भेट्दा वीर्यदाता आरोनले ठट्यौली पारामा प्रेमी फेरिनुपर्ने बताउँथे । मैले मुस्कुराउँदै अस्वीकार गरिदिन्थेँ । म पहिले नै एउटा सम्बन्धमा थिएँ र यो कुरा थाहा थियो कि आरोन मेरी छोरीका लागि आवश्यक छन् तर मेरो जीवनको हिस्सा बन्न सक्दैनन् । म उनका लागि आफ्नो जीवन बर्बाद गर्न चाहन्नथेँ । 

पुराना आरोनसँग मेरो सम्बन्ध समाप्त भएपछि जो व्यक्ति मेरी छोरीका लागि महत्वपूर्ण छन्, उनी मेरा लागि पनि विशेष हुनसक्लान् र हामी सिएटलमा गएर बस्न सक्छौं त ? भनेर सोच्न थालेँ । आरोनको नम्र व्यवहार र आफ्ना पूर्व साथीहरुसँग उनको लगातारको सम्पर्कबाट म आश्वस्त भएँ कि यसबारे गम्भीरतापूर्वक सोच्न जरुरी छ ।  

आरोनको अन्य बच्चासँग प्रेमः
एक रात हामी डुल्दै जाँदा नजिकैको चिहानमा गएर बस्यौं । हामीले डिएनएबारे बच्चाहरुको रुचिबारे र आफ्ना सपना बारे कुराकानी गर्यौं । 

जब विपरित लिङ्गी व्यक्ति भेट्छन्, डेट गर्छन् र विवाह गर्छन् तब उनीहरु एक–अर्काप्रति समर्पित हुन्छन् र आफूजस्तै देखिने बच्चाहरु भए कति राम्रो हुन्थ्यो होला भन्ने सोच्छन् । 

मैले पहिले नै यस्तै साना बच्चासँग एक दशक बिताइसकेकी छु । उनको जीवनको लागि मैले पहिलो पटक आरोनसँग ‘डेट’ गरेँ । म उनलाई निकै अघिदेखि चिन्दछु र संसारमा सबैभन्दा माया गर्ने व्यक्तिमा उनीपनि पर्छन् भनेर थाहा थियो ।  उनी पहिलेदेखि नै हाम्रो परिवारका सदस्य झैं थिए । उनको मुस्कान र रंग मेरी कान्छी छोरीसँग मिल्थ्यो भने उनको स्नेही स्वभाव र सामजिक रुपमा घुलमिल हुने स्वभाव चाहिँ मेरी जेठी छोरीसँग मेल खान्थ्यो । 

डिएनएले हाम्रो सम्बन्ध विकसित गर्नमा कुनै भूमिका निर्वाह गर्यो कि गरेन भन्ने कुरा म स्पष्ट भन्न सक्दिनँ । मलाई थाहा छःवीर्यदाताप्रति मेरो रुचिका कारण आरोनप्रति मेरो रुझान वर्षौंअघि भयो । उनी विचारशील छन्, स्थायी छन् र निकै पढेलेखेका पनि । उनीसँग उत्कृष्ट भाषा ज्ञान छ । उनी संवेदनशील छन् । उनीसँग मानिसहरुलाई आश्चर्यचकित बनाइदिने कहानी छन् । उनीबाट के–कस्तो आशा गरिएको छ त्यो उनलाई खासै मतलब छैन । उनी संगीत र ड्रम बजाउनमै व्यस्त हुन्छन् । 

सन् २०१७ को गर्मीमा एलिस र म आरोनको घरमा बस्न गएका थियौं । उनको भव्य घरमा आरोनका अन्य जैविक बच्चा अट्ने थुप्रै कोठा छन् । मादी मूल रुपमा पूर्वी तटमा बस्थिन्, उनलाई आरोन (र सिएटल) मा बाम सोचको दक्षिणपन्थी विचार आकर्षक लाग्यो र जाडोयाममा हामीसँग बस्न आइन् । 

हामी युवतीहरुको एक स्काउट ग्रुपमा पनि समावेश भयौं, जसमा आरोनकी अर्की एक जैविक छोरी छिन् । उनी मेरी कान्छी छोरी सरहकी छिन् । उनी हाम्रो घरभन्दा एक घण्टा टाढा बस्छिन् । 

मलाई चाँडै नै थाहा भयो कि एउटी आमाको रुपमा म हाँसीखुसी आफ्ना कुनै पनि अर्ध–बच्चासँग घुलमिल हुन सक्थें, उनीहरुलाई खाना खुवाउन सक्थें, उनीहरुको लुगा धुन सक्थें र उनीहरुको सधैं हेरविचार गर्न सक्थें । उनीहरु मेरा छोरीहरुका दाजु–भाइ दिदी–बहिनी थिए । मैले उनीहरुलाई पालेको थिइनँ तर उनीहरुसँग मेरो भावनात्मक लगाव छ । तीमध्ये कोहीमा एलिसको झलक छ । कोही मेरी कान्छी छोरीजस्तै देखिन्छन् । उनीहरु सबै आरोनजस्ता त देखिँदैनन् तर एक–अर्कासँग निकै मिल्दाजुल्दा छन् ।

आरोनकी बुढी आमा पनि आफ्नो बिरालोसहित हामीसँगै बस्न आएकी छिन् । तलको हलमा एलिस र मसँग सानो बिरालो छ । वर्षौं पछि मैले परिवारको महत्त्व बुझेको छु । 

पहिलो पटक एक पत्रमा मैले एक वीर्यदातालाई छानेपछि डिएनए धेरै महत्त्वपूर्ण भएको छ । तर पनि परिवारको आधार प्रेम हो, वंशाणुगत होइन भन्ने कुरालाई अस्विकार गर्न सकिँदैन । त्यो प्रेमप्रतिको समर्पणले परिवार निर्माण गर्छ । त्यो प्रेमको दायरामा जो पनि आएर बस्न सक्छ, जसमा विभिन्न प्रकारको सम्बन्धका लागि पूर्ण स्थान छ ।  

आरोनका अन्य कति जैविक बच्चा छन्, त्यो कसैलाई पनि थाहा छैन । उनले आफ्ना ६७ सन्तान हुनसक्ने अनुमान गरेका छन् । यो भवन ती सबैलाई राख्नका लागि सानो हुनसक्छ तर सबैका लागि मेरो स्यान्डविच तयार छ र मनको ढोका खुल्ला छ । 

स्रोतः विविसी डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप