केन्द्रीय संस्करण
यात्रा संस्मरण

श्रीलंका सिरिजस्:  हुलियाले कहिले हँसायो, कहिले रुवायो

explore access_timeपुस २५, २०७५ chat_bubble_outline0
अशोक सिलवाल

रातोपाटी

(हिमालयका दूत अर्थात लाङटाङ सद्भावनादूत अशोक सिलवाल केही समयअघि श्रीलङ्का गएका थिए । सगरमाथा उभिएको देशबाट सागरले घेरिएको देश गएका तिनै यात्रुको यात्रा संस्मरणको दोस्रो शृङ्खला हो यो ।)

कोलम्बो सिटी होटलको सबभन्दा माथिल्लो तलामा रहेको रेस्टुरेन्टमा मलाई चाइनीज मुलका मलेसियनहरुले किन वेटर सम्झे ? किन अम्लेट ब्वाई सम्झे ? म आफैलाई प्रश्न गर्दै थिएँ ।

खासमा मेरो छालाको रङ, अनुहारको बनावट र उचाईले म श्रीलंकन नै हुँ भन्ने उनीहरुलाई लाग्यो होला । त्यसमाथि होटलका वेटरहरुले लाएको जस्तै सेतो सर्ट, कालो पाइन्ट र कालै जुत्ता अर्को कारण बन्यो होला ।

एक जना दाई साथीले म श्रीलंका जानुअघि बालाजुमा कफी खाँदै भनेका थिए, ‘कोलम्बो पुग्नेबित्तिकै त्यहाँको स्थानीय पहिरन किनेर लगाइहाल । तिमीलाई कसैले पनि नेपाली भन्ने छैन ।’ मैले त्यसो गर्नै परेन । दुबईबाट कोलम्बोको लागि उडिरहँदा नै म श्रीलंकन भइसकेको थिएँ !

भएको के थियो भने, दुवई ट्रान्जिटबाट मध्यरातमा कोलम्बोको लागि झन्डै पाँच घन्टाको उडानमा थिएँ । एयर होस्टेसले मसँगै सीटमा बसेकी सेतो छाला भएकी केटीसहित अरु सबै विदेशी पेसेन्जरलाई इमिग्रेसन फर्म उपलब्ध गराई । तर, मलाई भने दिइन ।

कुनै पनि देश जाँदा विदेशीले इमिग्रेसनमा नाम, राष्ट्रियता र र भिसाको प्रकार आदि भएको फर्म भर्नुपर्छ । तर, स्वदेशीको हकमा त्यो आवश्यक हुँदैन ।

‘म पनि फेरनर हुँ । मलाई पनि त्यो फर्म देऊ’, मैले औला उठाएर एयरहोस्टसलाई भनें । ऊ हाँसी मात्र । तर, उसले मलाई फेरि पनि फर्म दिइन ।

मैले दोहो-याएर पनि भनें । तर, उसले फेरि पनि हाँसेरै टारी । त्यसपछि मैले फर्म मागिनँ । शायद उसले मलाई श्रीलंकनमात्र होइन, खाँटी श्रीलंकन नै ठानी होली । दुवईबाट स्वदेश फर्किरहेका यथेस्ट श्रीलंकनकाबीच प्लेनमा म एक्लो र एक्लो नेपाली थिएँ । आफ्नो देशको कोही नहुँदा अनेक मानिसबीच पनि कहिलेकाहीँ एक्लो अनुभव हुने रहेछ । 

श्रीलंका जाँदाजाँदै आकाशमै मैले त्यस्तो आतिथ्यता पाइसकेको थिएँ ।

म बिहानै कोलम्बो बिमानस्थल झरें, अरु त सबै प्रकृया सामान्य हिसाबले नै सम्पन्न भयो तर अन्त्यमा जब म एयरपोर्टको अन्तिम ढोकाबाट बाहिरिनै लागेको थिएँ, एयरपोर्टका विशेष कर्मचारीहरुले मलाई कागजपत्र देखाउन भने ।

मैले पालैपालो भिसा लगाएको पासपोर्टलगायत सबै डकुमेन्ट देखाएँ । उनीहरुले मेरो ह्यान्ड ब्याग देखाउन भनें । त्यो पनि देखाएँ । त्यसपछि लगेज खोल्न भनें । त्यो पनि देखाएँ । फेरि मेरो पर्स देखाउन भनें । त्यो पनि देखाएँ । त्यसपछि उनीहरुले मेरो शरीर छामछुम गरें । अरु अधिकाँश यात्रीहरु भटाभट बाहिरिइरहेका थिए । मलाई भने उनीहरुले निगरानीमात्र होइन, विशेष खानतलासी नै गरे । त्यतिसम्म त ठिकै थियो । तर, त्यसपछि पनि उनीहरुले मलाई छाडेनन् । उनीहरुले मलाई एउटा कागजमा सही गर्न भने ।

‘किन ?’, मैले सोधें ।

‘अब हामी तपाईंको शरीरलाई उता मेसिनमा लगेर चेक गर्दैछौं’, उनीहरुले उत्तरमा आदेश मिसाए ।

‘अरु आम यात्रुले झैं सबै चेकिङ प्रकृया पार गरेर म यहाँ आइपुगेको हुँ । तर, फेरि किन ? त्यो पनि मलाई मात्र ?’, मैले पत्रकार पाराले सोधें ।

‘यो र्यान्डम चेकिङ हो । र, हामीलाई तपाईंमाथि शंका लाग्यो । त्यसैले यो कागजमा खुरुक्क सही गर्नुस्’, उनीहरुले आदेश फर्माए । कतै मेरो हुलिया कुनै तामिल विद्रोहीको जस्तो पो लाग्यो कि !

म निरुपाय थिएँ । फेरि पनि भन्न त मन लागेको थियो, ‘किन सही गर्ने ?’ भन्न त मन लागेको थियो, ‘म सही गर्दै गर्दिनँ । मैले किन सही गर्ने ?’ तर, कागजको लिखत पढ्दै नपढी खुरुक्क दुई पाने डकुमेन्टमा सही गरें । एक छिनमा सम्झें, कम्तीमा कागजमा के लेखेको थियो भनेर मैले पढ्नु त पर्थ्यो ।

त्यसपछि कालो पाइन्ट र सेतो सर्टमा स्मार्ट देखिने चारजनाबाट घेरिएर म अर्को कुनामा पुगें । उनीहरुले मलाई मेसिनभित्र हाले र कम्प्युटरमा मेरो शरीरका चित्रविचित्र हेरे । घरी दायाँ फर्कन भन्थे । घरी बायाँ । ‘जसो जसो बाहुनबाजे उसो उसो स्वाहा’ भने झैं गरेर अधैर्यपूर्वक मैले मेसिनमा केही मिनेट बिताएँ ।

‘बधाई छ ! शरीरमा केही भेटिएन । तिमी लक्की रहेछौ’, निरीक्षकहरुमध्ये एउटाले भन्यो ।

‘म तिमीहरुको देशमा घुम्न आएको हुँ, दुई नम्बरी धन्दा गर्न होइन । तर, तिमीहरुले मलाई मानौं म दुई नम्बरी हुँ भनेजस्तै गरी चेक ग-यौ । अरु आम यात्रुभन्दा निकै फरक महसुस भयो मलाई । यदि मेरो शरीरमा केही अवैध पदार्थ थियो र तिमीहरुले पत्ता लगाउन नसकेको भए पो म लक्की हुन्थें । मेरो शरीरमा त त्यस्तो केही थिएन । र, फेरि पनि मलाई तिमीहरुले चेक ग-यौ । त्यसैले म होइन बरु तिमीहरुचाहिँ लक्की हौ’, मैले नमिठो पोखें ।

‘तिम्रो लागि यो एउटा अनुभव भयो’, अर्कोले भन्यो ।

‘अनुभवमात्र होइन, असल अनुभव’, अर्कोले थप्यो ।

‘यो असल अनुभव होइन तर असल सम्झना भने पक्कै हुनेछ । म लेखक हुँ र पहिलो पटक श्रीलंका आउँदा कोलम्बो एयरपोर्टको अन्तिम ढोकामा मैले कस्तो स्वागत पाएँ भनेर पक्कै लेख्नेछु’, त्यति भनेर उनीहरु प्रत्येकसँग ह्यान्सेक गरेर म एक हातले पांग्रावाल लगेज गुडाउँदै र अर्को काँधमा ह्यान्ड ब्याग भिरेर अगाडि बढें ।

कोलम्बो एयरपोर्टमा अस्वाभाविक दुख झेलेर बाहिर निस्कँदा ड्राइभर महेश गुनरत्ने ‘अशोक सिलवाल, नेपाल’ लेखिएको प्लेकार्ड बोकेर बाहिर उभिएको रहेछ । श्रीलंका एयरपोर्टमा आफ्नो र देशको नाम देखेर म दंग परें । एयरपोर्टबाट बाहिरिएर होटलसम्म पुग्दा बाटोतिर पटक पटक बुद्ध मुर्ति र स्तुपाहरु देखें । बुद्ध, जो मेरो वा नेपालका मात्र होइनन्, सबैका हुन्, जसले उनलाई आफ्नो ठान्छ ।

आँखामा बुद्ध थिए तर मनमा कता कताबाट सुकोको सम्झना आयो । त्यो सुको, जुन मैले सानै छँदा निलेको थिएँ । नर्सरी पढ्दाकै कुरा हो । म नुवाकोटको सदरमुकाम विदुरमा सोभेनियर बोर्डिङ स्कुलमा पढ्थें र होस्टेलमा बस्थे । बिदाको समय म गाउँ गएको थिएँ । कताबाट हो, मेरो हातमा सिलबरे सुको रहेछ । हातबाट कतिखेर मुखमा हाले, पत्तै भएन । मुखमा वल्टाइपल्टाई गर्दै थिएँ । सुकोलाई चलाइरहँदा मुखमा रसाएको थुक गुलियो थियो कि सुको स्वयम ? म निरन्तर मुखमा सुकोलाई टोक्दै चुसिरहेको थिएँ ।

अनायास मैले सुको निलेछु । कसलाई भन्ने ? कसैलाई पनि भनिनँ । र, यदाकदा त्यो सिलबरे सुको ३० बर्षपछि पनि पेटमै छ जस्तो लाग्छ । भुँडी र छातीबीचको बीचभागमा औंलाले छाम्दा अहिले पनि एउटा साह्रो स्थान भेटिन्छ, जहाँ बेस्सरी छुँदा अहिले पनि दुख्छ । भित्री मनले भन्छ, ‘सुको त्यहीँ छ ।’

यदि मेसिनले मेरो पेटको त्यो सुको देखाइदिएको भए ? सुको सम्झेर म झसङ्ग भएँ । अहिले त ती सुकाहरु खासै कतै भेटिनन्न् । तर, त्यो बेला एउटा सुकोले पनि पिपलमेट आउँथ्यो । एउटा होइन, पाँचवटा । पुष्टकारीचाहिँ एउटामात्र आउँथ्यो । चार सुका भएपछि एक रुपैयाँ हुन्थ्यो । एक रुपैयाँले एउटा हत्केलामा अटेसमटेस हुने गुलियो बम्बै लड्डु पनि आउँथ्यो । एउटा समोसा वा सेल आउँथ्यो । बाटामा कतै सुका भेट्दा हत्तपत्त टिपिन्थ्यो ।

एक मनले भन्यो, ‘बालबाल बचियो । मुला मेसिनले जाबो एउटा सुको पनि पत्ता लगाउन सकेन ।’ अर्को मनले भन्यो, ‘श्रीलंकालाई इन्जोई गर्न छाडेर के सुकोको कुरा सम्झिरहेको ?’

तर, मलाई एयरपोर्टबाट झन्डै ३२ किलोमिटर परको कोलम्बोतिर कारमा गुडिरहँदा श्रीलंका नेपालभन्दा खासै भिन्दै लागेन । नारायणगढबाट हेटौंडातिर गएजस्तो ।.सुरुमै मलाई त्यहाँको हरियालीले मोहनी लगायो । सडक छेउछाउ नरिवलका रुखहरु थिए । सुपारीका रुखहरु थिए । केराका घारी थिए । नेपालका जिल्ला सदरमुकामहरुजस्ता स्थानहरु छिचाल्दै हामी कोलम्बोतिर नजिकिदै थियौं ।

सरकार र तामिल विद्रोहीबीच झन्डै ३ दशक चलेको गृहयुद्ध अहिले इतिहास बनिसकेको छ । महेशलाई मैले तामिल बिद्रोहबारे जिज्ञासा राखें ।

‘श्रीलंकामा तामिल समस्या पुरै सकियो तर खासमा तामिल कहिल्यै समस्या नै थिएन । तामिल कहिल्यै खराब थिएनन् । केहीको व्यक्तिगत स्वार्थको कारण ध्रुवीकरण भयो । केही मुठ्ठीभर तामिल नेताहरु, खासमा ती तामिलका नेतै थिएनन्, तिनले तामिल समुदायलाई प्रयोग गरे । र, आम तामिल यस्तो चक्रव्युहमा परे, जहाँबाट उनीहरुले आफ्नो विवेकलाई पछ्याउने अवस्थै पाएनन्’, उसले थप्यो, ‘बाध्यताले उनीहरु विवश भए र प्रत्येक तामिल त्यो मुभमेन्टका सदस्य बन्न पुगे । एउटा यस्तो समय थियो, जति बेला श्रीलंकामा सबै परिवार एउटै बसमा चढ्दैन थिए ।’

एकै पटक एकै ठाउँमा पुग्नु छ भने पनि परिवारका पुरै सदस्य एउटै ट्रेन वा बसमा चढ्न नसक्ने स्थिति बारुदको मात्र होइन, मनको पनि विस्फोट थियो । त्यति बेला श्रीलंकामा बम र बारुदमात्र होइन, मानिसका मन पनि विस्फोट भइरहेका थिए । भयको भावना र भावनाको भय दुवै बोकेर जिन्दगी बिस्फोटित भइरहेको कालखण्डलाई पार गरेर श्रीलंकाले शान्तिको यात्रा श्रीगणेश गरिसक्यो तर अझै पनि निकट विगतको त्यो भय मैले ड्राइभर महेशको आँखामा अनुभुत गरें ।

ऊ छिटोछिटो बोल्थ्यो तर निकै सम्हालिएर । ऊ बग्न खोज्थ्यो फेरि रोकिन्थ्यो । तामिलबारे थप भन्न खोज्थ्यो तर, तत्कालै विषयान्तर गरिहाल्थ्यो । तामिलबाट तन्किएर उसले भन्यो, ‘हामीकहाँ विकासको तीव्रता लिदै थियो तर यहाँ राजनीति फेरि अस्थिर हुन थालेको छ ।’

‘चीन र भारतको के छ ?, संकेतमा सोधें मैले ।

उत्तरमा उसले पनि संकेतमै भन्यो, ‘तपाईंलाई हाम्रो नियति थाहा रहेछ ।’

र, हामी नेपालीको नियति सम्झन पुगेः

म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छु । इमिग्रेसनमा मलाई नेपाल छोड्दै गरेका युवाहरुले भने, 'यता आउनुस् । हाम्रो लाइन यहाँ हो ।’

उनीहरु वैदेशिक रोजगारीका लागि मलेसिया, दुबई, कतार वा यस्तै कुनै देश जाँदै थिए । मेरो हुलिया हेरेर उनीहरुले ठाने होलान्, म पनि उनीहरुजस्तै रोजगारीका लागि विदेशिदै छु र झुक्किएर पर्यटक भिसामा जानेहरुको लाइनमा बस्न पुगेको हुँ । उनीहरुले नेपालीको जन्मजात सहयोगी व्यवहार देखाउँदै भने, ‘त्यता होइन, यता आउनुस् । हाम्रो लाइन यता हो ।’

म उनीहरुले भनेको नसुने झैं गरी अगाडि बढें । एउटा भर्खरै जुँगाको रेखी बसेको किशोरले फेरि चिच्याएरै बोलायो, ‘दाई, यता आउनुस् यता ।’

‘होइन, मेरो लाइन यतै हो भाइ । म टुरिस्ट भिसामा श्रीलंका जाँदैछु’, आफ्नै लाइनमा उभिएर मैले भनें ।

मैले खिन्नातापूर्वक मनमनै सोचें, ‘के हामी नेपाली विदेश जाने भनेको रोजगारीकै लागि मात्र हो ? के हामी पर्यटक भएर विदेश जान सक्दैनौं ?  हाम्रो नियति पराइको कामदार हुने मात्रै हो ?’

म इमिग्रेसन काउन्टर पुगें । त्यहाँ मलाई अफिसरले तलदेखि माथिसम्म हेर्यो । मैले बोर्डिङ पास देखाएँ । अनलाइन भिसा र होटल बुकिङ देखाएँ । पासपोर्टमा लगाएको डलर छाप देखाएँ । त्यति देखाउँदा पनि उसले मलाई नेपाल छाड्ने अनुमति दिने कि नदिने निर्णय गर्न सकेन । उसले मेरो स्टाटस सोध्यो । मैले पत्रकार र टुर गाइडको परिचयपत्रमात्र दिइनँ, विजनेश कार्ड पनि दिएँ । तर, फेरि पनि उसले निर्णय गर्न सकेन । उसले आफ्नो सिनियरलाई बोलायो । सिनियर अफिसरले फेरि मेरो डकुमेन्ट रुजु गरी । र, अन्त्यमा रेगुलर अफिसरलाई मेरो पासपोर्टमा छाप लगाइनु भन्दै हाँस्दै मलाई यात्राको शुभकामना दिई ।

शुभकामना  । त्यही एउटा शब्द पनि मलाई निकै मीठो लाग्यो ।

‘धन्यवाद’, मात्र भनिनँ उसलाई मैले । थपें, ‘तपाईंको हँसिलो अनुहार यात्राभर सम्झनेछु ।’

यो पनि पढ्नुहोस्

श्रीलङ्का सिरिज : हुलियाले मान्छेलाई खै केके बनाउँछ

हुलिया हेरेर नेपालीले नेपालीमाथि गर्ने हेपाहा व्यवहारले मलाई फेरि पनि पछ्यायो ।

इमिग्रेसन पार गरेर दुई–चार कदम पार गरेपछि शरीर र ह्यान्ड लगेज चेकिङस्थल आइपुग्यो । त्यहाँ निकै जना लाइनमा थिए । मेरा अगाडि ‘सुकिलामुकिला’ दुइजना अधवैशे नेपाली उभिएका थिए । उनीहरु थाइल्यान्ड जान लागेका रहेछन् ।

‘भाई कुन देश जान लागेको ? कतार कि मलेसिया ?’, दुईमध्ये एकले सोध्यो ।

‘दुबई ...’, वाक्य पुरा गरेकै थिइनँ ।

‘के गर्नु ? नेपालको दुख !’, अर्कोले थप्यो ।

‘म श्रीलंका जान लागेको’, मैले भनें ।

‘ए, श्रीलंकामा पनि रोजगारीको लागि नेपालीहरु जान थाले ?’, उनीहरुले आश्चर्य जताए ।

‘त्यहाँ काम गर्न होइन, घुम्न जान लागेको’, मैले सामान्य पाराले भनें ।

त्यसपछि एकाएक उनीहरुको बोलीको स्वर र आँखाको भाव मैले असामान्य अनुभव गरें ।

‘भाई के गर्नु हुन्छ ?’, एउटाले आदर र आश्चर्य मिसाएर सोध्यो ।

‘घुम्ने–घुमाउने र लेख्ने–पढ्ने गर्छु’, मैले फेरि पनि सामान्य नै लाग्ने गरी भनें ।

उनीहरु मबारे अझ उत्सुक देखिए । तर, मैले आफुलाई थप व्यक्त गरिनँ । र, उनीहरुलाई प्रश्न पनि गरिनँ । तर, उनीहरु श्रीलंकामा घुम्ने ठाउँहरुको सुची सुनाउँदै थिए मलाई ।

वेटिङ हल पुगें म ।

पालैपालो विभिन्न ढोकाबाट यात्रुहरु बाहिरिइरहेका थिए । ढोकाबाट निक्लनेबित्तिकै विभिन्न एयरलाइन्सका बसहरुले आफ्ना यात्रुहरुलाई प्लेन भएको ठाउँसम्म लगिरहेका थिए । हलबाट बाहिरिनुअघि वेटिङ हलमा थुप्रा मानिस थिए र ती असरल्ल देखिन्थे । अनेक गन्तव्य, अनेक देश, अनेक रंग, अनेक योजना र सायद अनेक सपनासहित यात्रुहरु अनेक मुडमा देखिन्थे । कोही मोबाइल चलाइरहेका थिए । कोही पानी पिइरहेका । कोही निदाइरहेका जस्ता देखिन्थे । तर, त्यहाँका दुईटा चीजले मलाई निकै आकर्षित गरे । एउटा स्मोकिङ जोन । अर्को स्तनपान कक्ष ।

एयरपोर्टभित्रको स्मोकिङ जोन मैले जीवनमा पहिलोपल्ट देखेको थिएँ । कोठामा धुवाँको वायुमन्डल निकै भयानक थियो । र, मानिसहरु बिना मुस्कान सरसर्री चुरोटको धुँवा उडाइरहेका थिए । खड्करोजत्रो एस्ट्रेमा चुरोटका असंख्य ठुटाहरु थिए । कति ठुटाहरु त एस्ट्रेमै सल्किरहेका थिए । म पनि त्यही धुवाँशालाको एक सदस्य भएँ । आखिर म पनि त चुरोटदाश नै त थिएँ । तर, स्मोकिङ जोनमा चुरोट खानै नपर्ने । त्यहाँको धुवाँ नै चुरोट खाएजस्तो काफी थिया, उफ !

यता स्तनपान कक्ष भने मलाई आमात्वको स्थान लाग्यो । मैले शिशुकाल सम्झें । आमाको दुध सम्झें । मैले भर्खरै भेटेर आएको आमा सम्झें ।   

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha