बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा पनि पप्पुले ठग्यो, पुल निर्माणको माग गर्दै १० दिनदेखि रिले अनसन

बिहीबार, २६ पुस २०७५, १७ : ०३
बिहीबार, २६ पुस २०७५

जनकपुर– सिरहा जिल्लाको सीमा क्षेत्र पूर्व–पश्चिम हुलाकी राजमार्गमा पर्ने नदीमा पुल निर्माणको माग राख्दै स्थानीयवासीले १० दिनदेखि रिले अनसन जारी राखेका छन् । कमला र बलान नदीमा निर्माणाधीन पुललाई पूर्णता दिन दबाब दिने उद्देश्यले अनसन  थालेको हुलाकी सडक संघर्ष समितिले जनाएको छ । 

अनसनमा स्थानीयवासीको सहभागिता बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनसनकारीको माग सम्बोधनका लागि पत्र पठाएको छ ।  

समितिका संयोजक रामरिझन यादवको नेतृत्वमा सिरहास्थित महाविर चोकमा पुस १७ गतेदेखि अनसन सुरु भएको हो । सप्तरी र सिरहाको सीमामा पर्ने बलान नदी तथा सिरहा र धनुषाको सीमानामा रहेको कमला नदीमा पुल नहुँदा वर्षौदेखि स्थानीयवासीहरु सास्ती भोग्दै आएका छन् ।

सिरहा र धनुषा जोड्ने कमला नदीको पुल साढे ७ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र छ । पुल नहुँदा वर्षायाममा सिरहाका बासिन्दाले भारतको जयनगर हुँदै जनकपुर पुग्नुपर्ने बाध्यता झेल्नुपरेको छ । त्यस्तै सिरहा र सप्तरी जोड्ने बलान पुल पनि अलपत्र अवस्थामा छ । सो पुल निर्माणको ठेक्का पनि पप्पु कन्स्ट्रक्सनले नै पाएकोे छ । ठेकेदार कम्पनीले निर्माणाधीन पुलमा केही पिलर गाडेर काम अलपत्र अवस्थामा छाडेका छन् ।

हुलाकी सडक संघर्ष समितिले यी दुवै पुलको निर्माण ६ महिनामै सम्पन्न गर्न दवाव दिँदै आएको छ । संघर्ष समितिका संयोजक रामरिझन यादवले ६ महिनाभित्र दुवै पुल निर्माण भइसक्नुपर्ने बताए । उनले ६ महिनाभित्र काम पूरा हुने आश्वासन नपाएसम्म अनसन जारी रहने समितिका संयोजक यादवले बताए ।

साढे ३ वर्षभित्र काम सम्पन्न गर्ने गरी पप्पु, लुम्बिनी जेभीले पुल निर्माण सम्झौता गरेको थियो । पुल निर्माणका लागि ३० मंसिर ०७१ मा निर्माण सक्ने गरी पप्पुले ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो । पुलको फाउन्डेसनदेखि बिम स्ल्याबसम्मका लागि २८ करोड १५ लाख रुपैयाँमा ठेक्का लिएको पप्पु कन्ट्रस्कसनले ७ वर्ष ७ महिनासम्ममा पिलरको बिम स्ल्याबसम्मको मात्र काम गरी अरु अलपत्र छाडेको छ ।

४ सय ६३ मिटर लम्बाइ, ७ दशमलव २० मिटर चौडाइको पुलको १३ वटा पिलरको फाउन्डेसनदेखि सब स्ट्रक्चरसम्मको निर्माण सकेर बिम स्ल्याबको काम भएपछि अलपत्र अवस्थामा ठेक्का कम्पनीले छाडेका छन् । ठेक्का लिएको साढे सात वर्ष बितिसक्दा पनि पुल निर्माणको काम ३५ प्रतिशत मात्र पूरा गरेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले दिएको जानकारीअनुसार विभिन्न पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा पप्पु कन्स्ट्रक्सन र लुम्बिनी जेभीलाई २०७५ मंसिर ३० गते सम्मका लागि अन्तिम समय दिएको थियो ।

हुलाकी सडक संघर्ष समितिले वितेको भदौँ ३१ गते देखि असोज ७ गतेसम्म सप्तरीको राजविराजदेखि जनकपुर सम्मको ९० किलोमिटर पैदलयात्रा गरेको थियो । पैदल यात्रा सम्पन्नसँगै समितिले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई हुलाकी सडक र पुल निर्माणको मागसहित ज्ञापनपत्र बुझाएको थियो ।

समितिका संयोजक यादवले आफूहरूले आगामी ६ महिनाभित्र पुल निर्माण सम्पन्न नगरे ठेक्का अर्कोलाई दिनुपर्ने माग रहेको बताए । उनले ठेकेदार कम्पनीको आलटाल विरुद्ध सिघ्र पुल निर्माणका लागि अनशन बसेको बताए ।

समितिले लिखित प्रतिबद्धता नआएसम्म अनशन जारी राख्ने उनले बताए । यता, सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादव अनशनप्रति ऐक्यवद्धता जनाउँदै अनशनमा बस्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पोद्दारसहित प्रतिनिधिहरूले पनि नगर प्रमुख यादवलाई समर्थन जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप