शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मसम्मानको पर्खाइमा डोम समुदाय

बिहीबार, २६ पुस २०७५, २० : १४
बिहीबार, २६ पुस २०७५

समाजमा रहेका विभिन्न रुढीवादी, विकृति, विसङ्गती एवम् छुवाछूत जस्ता अमानवीय प्रथाका विरुद्ध विभिन्न किसिमले प्रतिवाद हुँदै आएका छन् । अझै पनि प्रगतिशील समाज निर्माणका लागि विभिन्न जात, धर्म, लिङ्गको अधिकारबारे बहस भइरहेका छन् । 

समाजमा जात–जातिले आफ्नो समुदायका हितका लागि विभिन्न प्रयास गर्दै आएका छन् । तर उच्च समुदायले व्यक्तिगत हित खोज्दा आधुनिक युगमा रहेर आदिम कालकै जीवनयापन व्यतित गर्न बाध्य छन्, तराई–मधेसका दलित समुदायमा पर्ने डोम जाति ।

प्राचीनकालदेखि नै हिन्दू वर्णाश्रम व्यवस्थामा ब्राह्मणलाई सांस्कृतिकसँग गाँसेर पूजा पाठसँग जोड्दै राज्य सत्ता शासकको भूमिका निर्वाह, क्षेत्रीलाई सुरक्षासहित राजकीय सत्ता सञ्चालकको भूमिका निर्वाह, वैश्यलाई आर्थिक स्रोत व्यवस्थापनको अहम् भूमिका र शुद्रलाई प्राकृति स्रोत साधनसँग रहेर उत्पादन तथा ब्राह्मण, क्षेत्री र वैश्यका लागि उत्पादन गरिएको सामग्रीहरू निर्देशनअनुसार पुर्याउनुपर्ने र समाजका हरेक कार्य गर्नेगरी कार्यविभाजन गरेको पाइन्छ । यी तीन जातिको निहित स्वार्थबाट पिरोलिएका शूद्र जातिभित्र डोम जाति पनि पर्छ । यो समुदायले अहिलेसम्म पनि राज्यबाट कुनै किसिमको सेवा सुविधाको उपभोग गर्न सकेका छैन । डोम समुदायका मानिसहरू समाजमा आत्म सम्मानका लागि लालायित छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुर आसपासमा रहेका डोम समुदायहरू राज्यले समेत बेवास्ता गर्दा अपहेलित भई बस्नुपरेको गुनासो गर्छन् ।

पञ्चायतकाल, राणाकाल, शाहीकालदेखि वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा समेत दलित समुदायभित्र पर्ने डोम जाति आफ्नै सीप कला र बङ्गुर पालनबाट बाचिरहेका छन् । 

केही नयाँ कुरा गर्ने प्रयास गर्दासमेत समाजले अपहेलना र अपमान भोग्नुपर्ने भएकाले परम्परागत सीपमै बाँच्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । परम्परागत सीपकलालाई व्यवस्थित ढङ्गले व्यवसाय गर्ने इच्छा भए पनि सरकारले बेवास्ता गर्दा व्यवसाय परिमार्जन गर्न नसकेको डोम समुदाय उत्थान केन्द्र नेपालका अध्यक्ष दिनेश डोमको आरोप छ ।

अहिले पनि तराई–मधेस–मिथिला समाजमा डोम समुदायले छोएको वस्तु चद्यदैन । उनीहरुले कुनै व्यवसायी गरी जीविकोपार्जन गर्न चाहेको कथित माथिल्लो जातिले रुचाउँदैनन् । तर घरको ईष्ट देवतादेखि विभिन्न पर्वमा भने डोम जातिले बुनेका बाँसका सामग्री उनीहरुलाई नै चाहिन्छ ।

गाउँ–टोलका मालिक डोम
डोमले गाउँघरका सानातिना सांस्कृतिक चाडवाडमा चाहिने आवश्यक सामग्री उनीहरूले नै बनाउँदा भगवानलाई भोग चढ्ने हुनाले डोमलाई मालिक भनिएको हो । पौनी समाजमा भनिएका अछूत कामदेखि भगवानसम्मको काम इमानदारपूर्वक गर्ने भएकाले मालिक भनेर समाजका भलादमीदेखि सबैले सम्बोधन गर्ने गर्छन् । डोमले समाजमा जन्मको बेला र मरण हरणमा डोमको अहम् भूमिका भएर पनि डोमको अति नै महत्त्व अहिले पनि छ । डोमले गर्ने मरण हरणको काम अन्य जातिको व्यक्तिले गर्दा पनि स्वर्गमा बास नपाइने जनविश्वास भएकाले उनीहरूकै हातबाट मोक्ष मिल्ने भन्नेहरू अझै हाम्रा समाजमा छन् । यसले डोमलाई आदरभावले गाउँ, टोल र समाजका मालिक भनिएको प्रा. परमेश्वर कापडी बताउँछन् । 

डोमको पेसा र परम्परा
प्राचीनकालमा जातीय व्यवस्था अनुसार पेसा पनि छुट्याइएको थियो । त्यसअनुसार केही मानिस पौनी पसारी हुन्थ्यो । डोम, मेस्तर, चमार, हजाम, धोबी, लोहार जात जातिहरूको काम छुट्याइएको थियो । सोही व्यवस्थाअनुसार धोबीको काम बच्चा जन्मिनेदेखि छठिहारसम्मको विभिन्न विधिवतरूपमा लत्ता कपडाहरू धुने काम थियो । हजामको दारी कपाल काट्ने, लोहारको काम काठको सामग्रीहरू बनाउने, चमारको काम गाउँ समाजमा मरेका चौपाया (सिनो)हरू फाल्ने थियो भने डोमको काम बाँसका सामाग्री उत्पादन गर्नेदेखि मरण हरणसम्मको विधिवत काम र मेस्तरको काम शौच, नाला तथा फोहोर सरसफाइ गर्ने आदि पर्छन् । यसरी जात वर्ण अनुसार शुद्र जातिमा रहेका विभिन्न जातजातिको बेग्लाबेग्लै काम छुट्याइएको थियो ।

सोही पेसाअनुसार मेस्तर, चमार, हजाम, धोबी र लोहारलगायतका जातजातिका परम्परागत पेसा आधुनिक कालमा कतिपय फस्टाएका छन् । अचेल अन्य समुदायका मानिससमेत यस पेसामा आबद्ध भई व्यवसाय गरिरहेका छन् । तर शुद्र जातिभित्रको विकराल छुवाछूतले एकअर्कालाई सघाउने भन्दा पनि असहयोगदेखि पानी बाराबारसम्म अवस्था सिर्जनाले डोम जाति अहिले पनि अपहेलित भई बाँच्न विवश छन् ।

‘हाम्रो जातमा महिला, पुरुषमा मात्रै असमानता नभई भाइ बुहारीदेखि दाइ–भाइमा समेत अछूतको चलन छ’, दिनेश डोम भन्छन्– “सानो–ठूलो, बहिनी–बुहारीदेखि घरका सबै सदस्यले एकअर्कालाई जति मिलनसार हुन्छ, त्यति नै वैरभाव (एकअर्कालाई निषेध) पनि त्यतिकै हुन्छ । तर अब विस्तारै विस्तारै थोर बहुत नरहे पनि समाजले हामीलाई अपमानपूर्ण जीवनयापन गर्न बाध्य पारेको छ ।”

यस जातमा करिब एक दसकपूर्व बालबच्चा हुनेवित्तिकै विवाह परम्परा अनुसार जन्मजात छेका (केटा पक्षसँग विवाहको लगन गाँठो तय) गर्ने र ५ वर्ष उमेरमै बिहावारी गर्ने चलन छ । तर पछिल्लो समय उनीहरूले अन्य जातमाझैँ केटी ठूलो भएपछि विवाह गर्ने परिपाटी देखेपछि उनीहरू पनि सोहीअनुसार १२ वर्षको उमेरमा केटीको छेका गर्ने र १६ वर्षको उमेरमा विवाह गर्ने गरेको छ । 

सङ्कटमा पेसा
डोमको प्रमुख पेसा बङ्गुर पालन हो । योबाहेक बाँसको चङ्गेरा, डाला, सखारी, पेटारी, मङ्गडम्मर, कनसुप्ती, डगरीलगायतका सामग्रीहरू बनाएर जीविकोपार्जन गर्ने गर्छन् ।  तर पछिल्लो समय डोम जातिले बाँसको सामग्री बनाउने पेसाबाट विस्तारै वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ । 

आत्मसम्मानको प्रतीक्षामा डोम 
आधुनिक समयमा डोम जातको पेसा अरू समुदायले व्यवसाय थालेपछि उनीहरू आफ्नो अधिकार कटौती भएकोमा रोष प्रकट गर्छन् । 

जनकपुर उपमहानगरपालिका वडा नम्बर ५ बस्ने नागेश्वर मलिक भन्छन्–“हाम्रो पेसालाई संरक्षण गरी यसलाई व्यवसायमा परिणत गर्न चाहिरहेका छौँ तर हामीसँग लगानी अभाव छ । स्थानीय सरकारमा आएको बङ्गुर पालनको बजेटसमेत हामीलाई दिँदैनन् ।”

उनी भन्छन्– “२० वर्षदेखि उपमहानगरपालिकाबाट कुनै किसिमको राहत पाएका छैनौँ, बरु भएभरको अपमान र बेइज्जती मात्रै पाएका छौँ । के हामीलाई आत्मसम्मान कहिल्यै मिल्नेवाला छैन ।”

‘समाजमा हाम्रो कुनै इज्जत नै छैन’, दिनेश डोम भन्छन्– “हाम्रो एउटै सपना हो । त्यो हो, समाजमा आत्मसम्मानका साथ जिउन पाउने यस समाजबाट अपेक्षा छ ।”

डोम जातको बसोबास र रहनसहन हेर्दा निकै नै फोहोर र अव्यवस्थित ढङ्गले  जीवनयापन गर्दा अन्य जातका सुद्रसमेत उनीहरूबाट टाढा रहन चाहन्छन्, जसले गर्दा समाजमा यस जातलाई रोगको रूपमा लिने गरेको देखिन्छ । 

हरिहर मलिकको रोचक कथा
करिब दुई वर्षपहिले जनकपुरको जानकी मन्दिर पछाडि हरिहर मलिक बस्थे । उनीको जनकपुरमा करिब १५ बिघा जग्गा थियो । जनकपुर जस्तो धार्मिक नगरीमा ब्राह्मण, वैश्य जातिहरूको बाक्लो उपस्थितिसँगै पहुँच पनि थियो । दलित समुदायमा पर्ने डोम जातको नगन्य मात्रामा जनकपुरमा बस्ने गर्थे । त्यतिबेला हरिहरले आफूसँग ठूला जातका बाहुन, क्षेत्री र वैश्यले भोजन नगरी हेपेको भन्दै जनकपुरलाई निमन्त्रणा दिने निधो गरे । सोही अनुरूप उनले कथित उच्च जातका भलादमीलाई समातेर हरिहरले म समाजका लागि केही काम गर्न चाहन्छु भन्दै भोजको प्रस्ताव राखे । उक्त प्रस्तावमा बाहुन र साहुजी जातका भलाद्मीहरूले भोज त खान्छौँ तर त्यसबापत जस नदिने भनेपछि उनी अन्योलमा परे ।

हरिहरले के गर्दा समाजबाट जस मिल्छ भनेर सोधे । त्यसको केही दिनपछि हरिहरले राम मन्दिरदेखि पेठिया बजार हुँदै दशरथ तलाउसम्म डेढ किलोमिटर लम्बाइ र १८ फिट चौडाइ भएको निजी बाटोका लागि जग्गा खरिद गरी बाटो निर्माण गरे । त्यसपछि हरिहर मलिकको नाममा सो बाटोको नाम हरिहर मार्ग भनेर स्थानीयवासीले राखे । यसरी समाजिक विकास निर्माणमा हरिहर मलिकले लगानी गरेपछि समाजमा भनिएका ठूलाबडाले नै सो बाटोको नामकरण गरेका थिए । 

पुर्खाको इतिहास गाथा सुनाउँदै दिनेश डोमले भने, ‘त्यति बेला जानकी मन्दिर अहिलेको जस्तो विशाल थिएन । हरिहर मलिकका छोरा लक्ष्मी मलिकले जानकी मन्दिरको पूजापाठका लागि बाँसको सामग्री बुन्थे ।

तिनै सामग्रीले जानकी मन्दिरमा सीताराम विवाहपञ्चमी तथा विभिन्न उत्सव मनाउने काम हुन्थ्यो । सोबापत मन्दिरबाट चामल पाउँथे ।’ त्यसपछि यस परिवारले सधैँ जानकी मन्दिर र समाजकै लागि समाजमा भनिएअनुसार कामकाज गरी जीविकोपार्जन गर्दै आएका थिए । त्यस्तै दिनेश डोमको हजुरबुवा मुनेश्वर मलिकले आफ्ना शाखा सन्तानका लागि २ कठ्ठा ६ धुर जग्गामा घर बनाई दिए । तर त्यति बेला कसैले वास्ता नगर्दा अहिले लालपुर्जा नै नरहेकाले विभिन्न समस्याहरू आइरहेको उनी बताउँछन् ।

एउटा सानो झुपडी बनाएर दिनेश डोम बस्दै आएका छन् । उनको घर परिवारमा १० जना सदस्य छन् । रोजगारको नाममा परम्परागत सीप छ । घरका एक सदस्य बल्ल विद्यालय जान थालेको छ । जीविकोपार्जनको अभावमा उनका भतिज भने विद्यालय नगएर सरसफाइमा लागेर आयआर्जन गरिरहेका छन् ।  

नेपालमा डोम जातिको सङ्ख्या करिब १५ हजार रहेको तथ्याङ्क छ । डोम जातिको सङ्ख्यात्मक जनघनत्व भने प्रदेश २ मा नै बढी छ ।

समाजमा धार्मिक सांस्कृतिकका लागि चाहिने अति आवश्यक सामग्रीदेखि मृत्यु हुने बखत चाहिने अति नै महत्त्वपूर्ण सामग्रीहरू कफनदेखि आगोसम्ममा डोमको प्राधिकार नै मानिन्छ । तर यस समुदायको योगदानको कदर भने अझै पनि समाजमा हुन सकेको छैन । कथित उच्च जात र जातिगत प्रथाले डोम समुदाय अघि बढ्न नसक्नुको  मूल कारण हो ।

अहिले पनि डोम जातिलगायतका दलितलाई ब्राह्मण, क्षेत्री र वैश्यले घरमा प्रवेश गर्न दिँदैनन् । कानुनी व्यवस्थाअनुसार राज्य छुवाछूतमुक्त भनिए पनि व्यवहारिक रूपमा कानुन कार्यान्वयन हुन सकेको छैन । राज्यले कडारूपमा प्रस्तुत भएर कानुन कार्यान्वय गरी डोम समुदायका लागि समाजमा  विशेष व्यवस्थासहित आत्मनिर्भर बनाउन जरुरी रहेको अधिवक्ता कौशलेन्द्र लालको भनाइ छ ।

वामपन्थी साहित्यकार रोशन जनकपुरीले यी समुदायलाई राजनीतिको मूलधारमा ल्याई दलित आन्दोलनले सही बाटो लिएमा जातीयताको अन्त्य हुनसक्ने बताउँछन् । यसका लागि हरेक जातजातिभित्र रहेका गरिब, उत्पीडिति, उपेक्षित, अपहेलितहरूको एकता आवश्यकता रहेको औँल्याए ।

भौगोलिक रूपमा दलित समस्या हिन्दू राजकीय व्यवस्थाको इतिहास भएको भारत, नेपाल, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान आदि दक्षिण एसियाका देशमा मुख्य रूपमा देखिएको छ । 

आधुनिक चेतनाका कारण सहरमा अपेक्षाकृत कम देखिए पनि ग्रामीण क्षेत्रमा एक्काइसौँ शताब्दीमा पनि दलितलाई पारम्परिक काम गर्न बाध्य बनाउने प्रवृत्ति कायमै छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप