शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय निजामती सेवा ऐनको मस्यौदा: सरकारी कर्मचारीले मायाको चिनो लिन पाउने तर कोसेली, सापटी लिन प्रतिबन्ध

शुक्रबार, २७ पुस २०७५, १३ : १३
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– सरकारी कर्मचारीहरुको कार्यसञ्चालन तथा नियमनका लागि आउन लागेको संघीय निजामती सेवा ऐनमा कर्मचारीले कोसेली, उपहार दान र सापटी लिन प्रतिबन्धको व्यवस्था गरिन लागेको छ । ऐनको मस्यौंदाको दफा ७८ मा सरकारी काममा कुनै प्रकारले असर पर्न सक्ने गरी निजामती कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई आफूले वा आफ्ना परिवारका सदस्यले कुनै ब्यक्तिबाट दान, दातब्य, कोशेली वा उपहार लिन, चन्दा माग्न वा सरकारी कामसँग सम्बन्धित ब्यक्तिसँग सापटी माग्न प्रतिबन्धको ब्यवस्था गरिएको छ । 

यस्तै सोही दफाको उपदफा २ मा कुनै विदेशी सरकार वा सरकारका प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाई सूचना दिई निकासा भए गर्नु पर्ने व्यवस्था गरिन लागेको छ ।  तर द्धिपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय वा कुनै सरकारी कार्यक्रमको अन्त्यमा मायाको चिनो लिन स्वीकार गर्न भने बाधा नपर्ने ब्यवस्था छ । 

सरकारले हालै तयार पारेको ऐनको मस्यौदाको परिच्छेद ९ मा कर्मचारीको आचार सम्बन्धी ब्यवस्था गरिएको छ । सो परिच्छेदमा सरकारी कर्मचारीहरुका लागि १९ वटा आचरण सम्बन्धी व्यवस्था गरिएको छ । 
दफा ७२ मा समयपालना र नियमितता, दफा ७३ मा अनुशासन र आदेशपालना दफा ७४ मा राजनीतिक वा अवाञ्छिक प्रभाव पार्न नहुने प्रावधान राखिएको छ । 

यस्तै दफा ७५ मा राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने, ७६ मा सरकारको आलोचना गर्न नहुने ब्यवस्था छ । यस्तै सरकारी कामकाज सम्बन्धी समाचार प्रकाशन गर्न प्रतिबन्ध, दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिन प्रतिबन्ध, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, निर्वाचनमा भाग लिन नहुने, प्रर्दशन र हडताल गर्न प्रतिबन्ध, यौनजन्य दुव्र्यवहार गर्न नहुने, यातना दिन नहुने, सम्पत्ति विवरण पेश गर्नुपर्ने, स्थायी आवासीय अनुमति लिन नहुने, सामाजिक जवाफदेहिता बहन गर्नुपर्ने, आचरण पालना गराउनुपर्ने प्रावधान राखिएको छ । 

कर्मचारीले कम्पनी स्थापना तथा व्यापार गर्न नपाउने 

मस्यौंदाको आचणसम्बन्धी व्यवस्थाको दफा ७९ मा कम्पनी स्थापना वा सञ्चालन गर्न वा व्यवसाय गर्न नहुने व्यवस्था गरिएको छ । निजामती कर्मचारीहरुले नेपाल सरकारको स्वीकृतीबिना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै ब्यापार वा व्यावसाय गर्न नहुने व्यवस्था गर्न लागिएको हो । 

सरकारको आलोचना गर्न नहुने
दफा ७६ मा सरकारको आलोचना गर्न नहुने व्यवस्था गरिएको छ । दफाको उपदफा १ मा नेपाल सरकारको नीतिको विपरित हुने गरी वा नेपाल सरकार र जनताको पारस्पिरिक सम्बन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी कुनै निजमती कर्मचारीले आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा वेनामी कुनै लेख प्रकाशन गर्न, सञ्चारमाध्यमलाई कुनै खबर दिन, रेडियो, टेलिभिजन आदिबाट मन्तव्य प्रसारण गर्न, कुनै सार्वजनिक मन्तव्य दिन वा वक्तव्य प्रसारण गर्न हुँदैन भनिएको छ । 

यस्तै उपदफा २ मा उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून र नेपाल सरकारको नीतिको विपरित नहुने गरी लेख प्रकाशन गर्न बाधा पर्ने छैन । 

अन्यत्र नोकरी गर्न वा सेवा गर्न 
दफा ८० मा निजामती कर्मचारीले अख्तियारवालाको पूर्व स्वीकृति नलिई अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य  गर्नु हुँदैन भन्ने व्यवस्था गरिएको छ । तर नेपाल सरकारको नीति विपरित नहुने गरी साहित्यिक, वैज्ञानिक, कलात्मक, अनुसन्धानात्मक, सांस्कृतिक, मानव कल्याण, खेलकुद सम्बन्धी कार्य गर्न सक्ने व्यवस्था छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप