शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायको बाटो छाडेकाले जोशीलाई हटाइयो : प्रधानन्यायाधीश जबरा

शुक्रबार, २७ पुस २०७५, १७ : ३७
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायको बाटो छाडेकाले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको बताएका छन् । बहालवाला वरिष्ठ न्यायाधीश जोशीलाई कामको जिम्मेवारीबाट हटाउने काम गरिएको भन्दै नेपाल बार एशोसिएशनले प्रश्न उठाइरहेका बेला प्रधानन्यायाधीश जबराले न्यायको बाटो छोडेर कूबाटोमा लागेकाले जोशीलाई संवैधानिक इजलासबाट हटाउनुपरेको स्पष्टीकरण दिएका हुन्  ।

‘जो मान्छे न्यायको विवेकलाई, न्यायको आचरणलाई कायम राख्न सक्दैन, त्यस्ता व्यक्तिलाई प्रधानन्यायाधीशको रुपमा आफूले घर फर्काउन सक्ने अवस्था नरहेको’ प्रधानन्यायाधीश जबराको भनाई छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वरिष्ठ न्यायाधीश जोशीले ‘न्यायको मन्दिरमा बलिरहेको द्धिपलाई निभाउने क्रियाकलाप गरेको’ आरोप पनि लगाए । 

गत बिहिबार प्रधानन्यायाधीश जबराको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले वरिष्ठ न्यायाधीश जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय गरेको थियो । त्यसप्रति नेपाल बार एशोसिएनको आपत्ति छ । कार्यक्रममा बोल्दै बारका अध्यक्ष शेरबहादुर केसीले बहालवाला न्यायाधीश जोशीलाई किन जिम्मेवारी नदिएर गलत काम गरेको भन्दै तत्काल सच्याउन प्रधानन्यायाधीश जबरासँग माग गरे । 

उनले जोशीलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गराउने प्रयास भएकोमा आपत्ति जनाउँदै तत्काल नसच्याए त्यो गलत काम हुने र त्यसले प्रधानन्यायाधीश जबरालाई पश्चातापबाहेक अरु केही नदिने दावी पनि गरे ।

यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल बार एशोसिएशनले जोशीलाई संवैधानिक इजलासबाट हटाउने न्याय परिषदको अधिकारमाथि धावा बोलेको भन्दै आपत्ति जनाए । उनले सर्वोच्च अदालतका न्यायाधीशलाई इजलास तोक्ने अधिकार प्रधानन्यायाधीशलाई रहेको उल्लेख गर्दै त्यसमाथि प्रश्न उठाउन नपाउने तर्क पनि गरे ।

मन्त्री ढकालले जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय सही भएको उल्लेख गर्दै त्यसमा बहस गर्न आफू पनि तयार रहेको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप