शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘उज्जू डार्लिङ’ को जीवन : म पुरुष भएको शंका गर्ने धेरै छन्

शनिबार, २८ पुस २०७५, १३ : १८
शनिबार, २८ पुस २०७५

टेलिभिजन कार्यक्रम ‘उज्जू डार्लिङ’ प्रसारणमा आएपछि उज्वल भण्डारीको परिचय नै फरियो । उनलाई अहिले रियल नामबाट भन्दापनि अधिकांशले ‘उज्जू डार्लिङ’ को नामबाट चिन्छन् । 

कार्यक्रमपछि केहीले उनलाई महिला नै भन्ठाने भने धेरैले पुरुष हुन् भन्नेमै शंका गरे । कतिले तेस्रो लिङ्गी भएको समेत अड्कल लगाए । 

रंगमञ्च, चलचित्र हुँदै टेलिभिजन कार्यक्रम प्रस्तोताको परिचय बनाएका भण्डारी अहिले नयाँ दुई कार्यक्रम ‘केरकार’ र ‘अवतारी कान्छा’ ल्याउने तरखरमा छन् । 

यी कार्यक्रमले अबका दिनमा आफ्नो नयाँ परिचय बन्ने उनी बताउँछन् । यिनै कलाकार तथा कार्यक्रम प्रस्तोता उज्वल भण्डारीसँग रातोपाटीको साप्ताहिक स्तम्भ मेरो जीवनका लागि कुवेर गिरीले गरेको कुराकानीः


मेरो पोसाक
म फेसनेबलनै छु । बढी फ्युजन टाइपको पहिरन रुचाउँछु । कहिलेकाही ज्यापू कल्चरको पहिरनमा ज्याकेट मिसाएर पनि लगाएर हिँड्ने गरेको छु । मनपर्ने पहिरन जिन्स पाइट र सर्टहरु नै हुन् ।
मानिसहरु सुहाउने पहिरन लगाउन पर्छ भन्छन् । म त्यो भन्दिनँ । मलाई कम्फटेवल हुने पहिरन मनपर्छ । फिटिङ पहिरन पनि ठिक लाग्छ । पहिरनमा वार्षिक ४०–५० हजार खर्च हुन्छ होला । मेरो साथीहरु ब्राण्डेड पहिरन भन्छन् । मैले चाहिँ आफू ब्राण्ड बन्नुपर्छ, जुन पहिरन लगाएपनि ब्राण्डेड हुन्छ भन्ने गरेको छु ।

मेरो फिटनेस
मलाई फिट राख्न खानपिनले पनि मद्दत गरेको छ । खानेकुरा थोरै खान्छु । कहिले काहिँ एक सातासम्म पनि खान्नँ ।
बढी ‘ग्रीन टी’ खान्छु । आयुर्वेदिक मेडिसिन प्रयोग गर्छु । योगा पनि गरिरहेको हुन्छु । फिटनेसको मुख्य राज भनेको खुसी हो । टेन्सन लिन्नँ । खुसी भएर बाँच्छु । मेरो अनुभवमा चिन्ता नलिने मानिस सधैँ फिट रहन्छ ।

मेरो अध्ययन
नियमित अध्ययन गर्ने बानी छ । किताबहरु पढ्न मन लाग्छ । प्रतिष्ठित व्यक्तित्वहरुको जीवनी अध्ययन गर्न रुचाउँछु । 
अहिले आफैँले लेखेको पुस्तक ‘उज्जु डार्लिङ अहिले पढिहरेको छु । पुस्तकमा केही मिस्टेक छ कि भनेर केलाउन अहिले यो पढ्न थालेको हो । यो भन्दा अगाडि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको जीवनीमा आधारित किताव पढेको थिए ।

मेरो खाना
मानिसहरु मनपर्ने खाना दलभात तरकारी र मासु भन्छन् । तर, म त्यो भन्दिनँ । किनभने म कहिलेकाहिँ मात्र, अर्थात महिनामा एक दुई पटक मात्र खाना खान्छु । मेरो सबैभन्दा मनपर्ने खानेकुरा पानी हो । त्यसपछि ग्रीन टी मनपर्छ । 

अन्य खानेकुरामा यो, त्यो भन्ने छैन । मन नपर्ने  लसुन हो । मैले नखाने भनेको त्यही हो । सबै कन्ट्रोल गरेर खाने गरेको छु । कुकिङ मेरो शोख हो । समोसा, दुनोट, केकदेखि सबै प्रकारका परिकार बनाउन आउँछ । 

मेरो घुमफिर
घुमफिर मेरो रुची पनि हो । मेरो सबैभन्दा बढी सोख ड्राइभिङमा छ । त्यसैले फूर्सद भयो कि, म लामो यात्रामा निस्कने गरेको छु ।

प्रायः शुक्रबार घुमघाममा निस्कने मेरो नियमित रुटिङ नै हो । विदेशका पनि धेरै ठाउँ घुमेको छु । युरोप, गल्फकन्ट्री, अमेरिकाका धेरै शहरहरु पुगेको छु ।

म जहाँ भएपनि मनपर्ने देश नेपाल नै हो । नेपालको मनाङ, मुस्ताङ र छिमेकी मुलुकको राजस्थान, कस्मिर घुम्न जान मन लागेको छ ।

 

मेरो फूर्सद
फूर्सद केलाई मान्ने । शनिबारलाई फूर्सद भन्ने हो भने यो दिन म सधैँ लामो यात्रामा निस्किहाल्छु । मानिहरु फूर्सदै छैन भन्छन् । तर म त्यो भन्दिन । कहिलेकाहिँ फूर्सदमा दिनभर कोठामा आँखा चिम्म गरेर बस्न पनि मनपर्छ ।

मेरो खेलकूद
खेलकूदमा रुचि छ । पहिले पहिले बिहान सधैँ ब्याडब्यान्टिन खेल्थेँ । २, ३ वर्ष भयो छाडेको । फुटबल, भलिवल पहिले धेरै खेल्थे । पहिलेको त म आरसीटी क्लबको राम्रो खेलाडी पनि हुँ । 

मेरो मोबाइल
एउटा आइफोन र अर्काे सामान्य मोवाइल बोक्ने गरेको छु । फोन गर्ने, फेसबुक चलाउने, गुगल चलाउने, युट्युव हेर्नेदेखि अफिसको इमेल हेर्ने र रिप्लाई गर्ने सबै काम मोवाइलबाटै हुन्छ ।
मोवाइल साथमै नभई हँुदैन । यो नजिकको साथी भएको छ । छिटोछिटो मोबाइल फेर्ने बानी छैन मेरो । अहिले चलाएको आइफोन सिक्स बजारमा आउने बित्तिकै किनेको थिएँ । अहिले पनि राम्रै काम गरिरहेको छ । नबिग्रिएसम्म फेर्दिनँ ।

मेरो टीभी
टेलिभिजन धेरै हेर्ने बानी छैन । जे हेर्ने पनि ल्यापटपमा हो । म बिबिसी, सिएनएन, जोग्राफी र डिस्कभरी च्यानल बढी हेर्छु ।

मेरो चलचित्र
धेरै फिल्म हेर्छु । फिल्म हलमै गएर हेर्ने गरेको छु । फिल्म हेर्न पनि भीड भएको स्थान मात्र मनपर्छ । 
फिल्ममा धेरै हिन्दी मनपर्छ । कहिलेकाहिँ नेपाली पनि हेर्छु । पछिल्लो समय हेरेको फिल्म ‘सिम्बा’ हो । यो फिल्म हेर्दा एक सेकेन्ड पनि बोर फिल भएन । तिरेको पैसा सबै असुल भयो भन्ने लाग्यो ।
फिल्म हेरेपछि पैसा असुल हुनुपर्छ भन्ने मेरो धारणा हो । यो फिल्म भन्दा अगाडि शाहरुख खानको ‘जिरो’ हेरेको थिएँ । 

मेरो रोग
भगवानको कृपाले अहिलेसम्म रोग केही छैन । खानेकुरामा सजक भएर हुनसक्छ रोग नियन्त्रण भएको छ । वार्षिक रुपमा होलबडी नियमित चेकअप गर्ने समेत गरेको छु ।  

मेरो भाषाशैली
सबैलाई आदर गरेर बोल्न मनपर्छ । कसैलाई पनि तँ भनेर सम्बोधन गरेको मनपर्दैन र जाँन्दिन पनि । बोलीमा मिठास हुनुपर्छ । म खरो टाइपको ब्यक्ति छु । झुटो बोल्न मन पर्दैन । 

मेरो मापसे
मापसेमा बानी छैन। साथीभाइको घरमा पाटी भयो भने हातमा एक प्याक लिएर रात काट्न सक्छु । 

मेरो सङ्गीत
गीत–सङ्गीत धेरै सुन्छु । गजल धेरै मनपर्छ । जगजित सिंह र माइकल ज्याक्सनका गीतहरु जहिले पनि नियमित सुन्छु । 

मेरो भूल
जीवनमा भूल कसले पो नगरेको होला र ? भगवानले त भूल गरेका थिए रे । तर मैले सधैँ पछुताउनु पर्ने त्यस्तो ठूलो भूल भने अहिलेसम्म केही गरेको छैन ।

मेरो सौन्दर्य
सौन्दर्यतिर रुचि छ । आफ्नो सौदर्यका लागि मैले जति मेकअप कसैले पनि गरेनन् र गर्दैनन् पनि होला । ‘उज्जु डार्लिङ’ बन्दा धेरै मेकअप गरेँ । मेकअपमा मात्रै दुई घन्टा लाग्थ्यो ।
यो कार्यक्रमका लागि महिलाले लगाउने वश्त्र समेत लगाएँ । त्यसरी कार्यक्रम चलाउँदा धेरैले महिला भने भने कतिले तेस्रोलिङ्गी ।  अझैं म पुरुष भएको शंका गर्ने धेरै छन् ।
  
मेरो प्रेम
मैले प्रेम विवाह गरेको हो । सो समय बसेको प्रेम आवेग पो रहेछ । प्रेमपछि विवाह पनि भयो । अहिले यो उमेरमा आएर त्यो प्रेम होइन रहेछ भन्ने बुझे । प्रेम त अहिले बल्ल बुझ्दैछु । 
अहिले पनि प्रेम गर्ने इच्छा छ । इच्छा भएन भने बुढो भइन्छ । प्रेमको नाममा गति छाड्नु भएन । सीमा नाग्नु भएन । 

मेरो सपना 
म धेरै सपना देख्ने मानिस हुँ । सपना देख्नुपर्छ । अनिमात्र पूरा हुन्छ । मैले अरुलाई भन्ने गरेको छु । सपना भनेको चिट्ठा जस्तो हो । जसले किन्छ त्यसलाई पर्छ ।
अहिले ल्याउन लागेको कार्यक्रम ‘केरकार’ र ‘अवतारी कान्छा’ पनि मेरो सपना नै हो । एक यस्तो कार्यक्रम गरौं, त्यो कार्यक्रम गर्दागर्दै मरौं भन्ने मेरो सपना छ ।

मेरो राशी 
अहिलेसम्म मेरो राशी के भन्ने थाहा छैन । मेरो जन्ममिति कसैलाई पनि थाहा छैन रे । 
मेरो आमाको १५ वटा सन्तान । १५ सन्तान हुर्काउँदा उहाँले को कहिलेको भन्ने भुल्नुभएछ । मेरो राशी थाहा छैन । तर पनि खुसी लाग्छ ।  

मेरो व्यवसाय 
मेरो पहिलो व्यवसाय कलाकारिता नै हो । त्यसपछिको अर्काे व्यवसाय ‘मेरो सपिङ’ भन्ने अनलाइन विजनेस पनि छ । 
यसको सोरुम समेत खोलेर ठूलो तथा सेवामुलक हिसावले काम गरिरहेको छु । २४ सै घन्टा सेवा तथा देशभर फ्री डेलिभरी मेरो अनलाइन बिजनेसको विशेषता रहेको छ । 
   
मेरो मृत्यु
म सबैसँग डराउँछु तर मृत्युसँग डराउँदिन ।  जन्मनु भनेको मर्नका लागि हो । योसँग डर किन ? रोगले थलिएर भन्दापनि आनन्दले मर्न पाउँ भन्ने इच्छा छ । म मर्दा कसैलाई दुःख नहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप