शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभर ५० विमानस्थल, ३१ विमानस्थलमा भए कालोपत्रे

शनिबार, २८ पुस २०७५, १४ : ४७
शनिबार, २८ पुस २०७५

काठमाडौँ–मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ । 

भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण, स्तरोन्नति तथा सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिएको जनाएको हो । 

हवाई सेवालाई सुलभ, सहज र प्रभावकारी बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ विमानस्थल विस्तार र पूर्वाधार निर्माणलाई तीव्रताका साथ अघि बढाइएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । 

प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकमा ५० विमानस्थल रहेका छन् जसमध्ये ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । त्यस्तै, निर्माणाधीन पाँच विमानस्थल कालीकोटको कोटवाडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा र अर्घाखाँचीको अर्धाभगवती सन्धिखर्कमा रहेको प्राधिकरणको २० औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । 

एकतीस विमानस्थल कालोपत्रे 

हाल मुलुकभरका ३१ विमानस्थल कालोपत्रे भइसकेका छन् । गत आवमा नेपालगञ्ज विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले कार्य र थप दुई वटा आन्तरिक विमानस्थल साँफेबगर र राजविराज विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे एप्रोन कालोपत्रे कार्य सम्पन्न भएको छ । त्यसैगरी, हालै मात्र जनकपुर विमानस्थलमा धावनमार्ग ओभरले कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ । 

आन्तरिक थप पाँच विमानस्थलःलामीडाँडा, थामखर्क, डोटी दीपायल, बैतडी र कालीकोटमा कालोपत्रे भइरहेका छन् । क्यानका अनुसार जुम्ला विमानस्थलमा ओभरले, चन्द्रगढी, विराटनगर, नेपालगञ्ज, सिमिकोट विमानस्थलमा एप्रोन विस्तार, लुक्ला र सिमिकोट विमानस्थलमा टर्मिनल विस्तार तथा हेलिपोर्ट निर्माण कार्य जारी रहेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढ्दै 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको कार्य प्रभावकारी रुपमा अघि बढाइएको छ । विमानस्थलको ‘पार्किङ वे’ विस्तार कार्य अन्तिम चरणमा पुगेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । 

उनका अनुसार विमानस्थलको धावनमार्गको पूर्वतर्फ सानो ठूलो गरी चार वटा र हालको अन्तर्राष्ट्रिय पाकिङ क्षेत्रको दक्षिणतर्फ दुई वटा वाइड बडी विमान पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेको छ । 

विमानस्थलले मौजुदा ठूला जहाज पार्किङ वेको पूर्व र दक्षिणतर्फ बनाइरहेको दुई पार्किङ वे निर्माण भएपछि हालको भन्दा ५० प्रतिशत पार्किङ क्षमता बढ्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।    विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा अहिले तीनवटा ठूला (वाइड बडी) र छ वटा साना (न्यारोबडी) गरी जम्मा नौ वटा जहाज मात्र पार्किङ गर्न सकिन्छ । नयाँ पार्किङ वे निर्माणपछि १३ वटा ठूला जहाज पार्किङ गर्न सकिनेछ । 

विमानस्थलको टर्मिनल विस्तार कार्य चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ भने धावनमार्ग विस्तारको कार्य पनि शुरु गर्ने योजना छ । 

धावनमार्ग कालोपत्रे प्रक्रिया शुरु 

अन्तर्राष्ट्रिय विमानस्थलको मौजुदा ‘रन्वे तथा ट्याक्सी वेको रिह्याबिलिटेसन’ को लागि ठेक्का सम्झौता भई कार्य प्रारम्भ भइसकेको प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिनुभयो । 

विमाानस्थलको पहिलोपटक धावनमार्ग पुनःकालोपत्रे गर्न लागिएको हो । सन् २०१९ को जुन महीनासम्म धावनमार्गको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

त्रिअवि विकास विस्तार तथा उड्डयन सुरक्षाको लागि विमानस्थलको पूर्वतर्फको करीब १४० रोपनी जग्गा अधिग्रहणतर्फ जग्गाको मुआब्जा वितरण सकिएको जनाइएको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा ‘ब्यागेज ह्याण्डलिङ सिस्टम’ जडानका लागि खरीद सम्र्झौता सम्पन्न भइसकेको छ । 

राष्ट्रिय गौरवका आयोजना प्रगतितिर 

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य तीव्र गतिमा अगाडि बढेको छ । उक्त विमानस्थलनिर्माण कार्य सन् २०१९ जुन २८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोेमा यथा समयमै सम्पन्न हुने प्राधिकरणले जनाएको छ । सो विमानस्थल सञ्चालनको लागि पूर्वतयारी परीक्षण, सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिमा छलफल भई उक्त विमानस्थललाई जिटुजी मोडेलमा सञ्चालन गर्न सरकारको स्वीकृतिका लागि पठाई सकिएको महानिर्देशक गौतमको भनाइ छ । 

त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनीबाट थालनी भई द्रुत गतिमा कार्य भइरहेकोे छ । हालसम्ममा करीब २० प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने जुलाई २०२१ सम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने प्राधिकरणको योजना रहेको छ । 

निजगढ विमानस्थलले गति लियो 

विगत लामो समयदेखि सर्वत्र चर्चाको विषय बनेको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिएको छ । विमानस्थल निर्माण गर्ने सम्बन्धमा गत वर्ष मन्त्रिपरिषद्ले उक्त विमानस्थलको सडक निर्माण तथा विमानस्थल क्षेत्रको रुख कटानसम्बन्धी कार्यका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेअनुरुप नेपाली सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यस सम्बन्धमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनअनुसार प्रथम चरणमा निर्माण गरिने क्षेत्रभित्रका रुख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको महानिर्देशक गौतमले बताए ।     
प्राधिकरणको विवरणअनुसार पछिल्ला वर्षमा हवाई यात्रुको सङ्ख्या बद्दो छ । सन् २०१७ को १० महीनाको तुलनामा आन्तरिक यावुयान आवागमनतर्फ सन् २०१८ को सोही अवधिमा २.७३ यात्रु वृद्धि भएका छन् । अन्तर्राष्ट्रियमा पनि २.२० प्रतिशतले वृद्धि भएको छ । अहिले विमानस्थलबाट नेपालका तीन तथा अन्य १३ मुलुकका २६ वायुसेवा गरी कूल २९ वायुसेवा प्रदायक कम्पनीले २३ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गरिरहेका छन् । सन् २०१८ को पहिलो १० महीनामा अन्तर्राष्ट्रिय उडानबाट त्रिअविमा ३५ लाख ४२ हजार ५७८ हवाई यात्रुको आवागमन भएको छ भने आन्तरिकतर्फ २३ लाख ८५५ यात्रुको आगमन भएको प्राधिकरणको रेकर्ड छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप