शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी फलोअप : उपसमितिले फाइल खोल्यो, लेखा समितिका सभापतिले गाडी फिर्ता गरे

शनिबार, २८ पुस २०७५, १५ : २४
शनिबार, २८ पुस २०७५

बुटवल ।  प्रदेश नम्बर ५ को प्रदेशसभाका विभिन्न समितिका सभापति र दलका नेताका लागि खरिद गरिएको टाटा कम्पनीका गाडीमा अनियमितता भएको खबर राटोपाटी अनलाइनमा प्रकाशित भएपछि छानविन समिति गठन गरेर काम शुरु गरिएको छ ।

शुक्रबार सार्वजनिक लेखा समितिले अनियमितताबारे छानबिन गर्न उपसमिति गठन गरेको थियो । उपसमितिले आजदेखि काम थालेको छ ।

प्रदेश सरकार र संसदले यस आर्थिक वर्षमा खरिद गरेका सवारी साधनका सम्वन्धमा छानबिन गर्न गठन भएको उपसमितिको आज बसेको पहिलो बैठकले उपलव्ध काजपत्रको अध्ययन गरेको छ । 

पहिलो बैठकमा मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषदको कार्यालयदेखि प्रदेशका सबै मन्त्रालय र प्रदेशसभा सचिवालयले पठाएका सवारीसाधन खरिदसम्बन्धी फाइल खोलिएको हो । 

 नेकपाका सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा वनाइएको उपसमितिमा काँग्रेस सांसद वैजनाथ कलवार र राजपा सांसद कल्पना पाण्डे सदस्य रहेका छन्  ।

बैठकको सुरुमा नै संयोजक पोखरेलले मन्त्रालय र सचिवालयबाट प्राप्त पत्र तथा फाइल खोल्दै सवारी साधन खरिद प्रकरणमा उठेका विषयको यथार्थ विवरण छिट्टै तयार गर्ने बताए ।  उनले आवश्यक परे विज्ञहरुसंग समेत छलफल र परामर्श गर्ने बताए ।

प्रदेश ५ को संसद तथा  सरकारले यस आर्थिक वर्षमा करिव २३ करोड मूल्यको सवारी साधन खरिद गरेको छ । 

जसमा प्रदेश सभाको लागि १३ वटा गाडी करिव ८ करोडमा खरिद गरिएको थियो । बजारमूल्य भन्दा बढीमा खरिद भएको र एक महिनामा नै बिग्रन थालेपछि ठूलो आर्थिक घोटाला भएको आशंकासहितको रातोपाटीले समाचार प्रकाशित गरेको थियो । 

हेर्नुहोस् समाचार.....

प्रदेश ५ को गाडी खरिदमा घोटाला : एक महिनामै बिग्रिए गाडी​
 

गाडी फिर्ता गरेर सभापति ट्याक्सीमा सरर
 

आफूले चढेको नयाँ गाडी बिग्रन थालेपछि सार्वजनिक लेखा समितिका सभापति डिल्ली  चौधरीले गाडी प्रदेश संसद सचिवालयलाई फिर्ता गरेका छन् । हिजो समितिको बैठक बस्नु अगाडि नै आफ्नो गाडी फिर्ता गरेका उनी अहिले ट्याक्सीमा हिँड्न थालेका छन् । 

उनका लागि प्रदेशसभाले एक महिनाअघि लु १ झ ४४१ गाडी उपलब्ध गराएको थियो । तर, गाडी ५ हजार किलोमटिर पनि नचल्दै गाडीको सकर भाँचिएको थियो ।

चौधरीले गाडीको साँचो संसद सचिवालय जिन्सी शाखाका अधिकृत कृष्णप्रसाद गौतमलाई हस्तान्तरण गरेको प्रदेश सभाका सचिव दुलव कुमार पुन मगरले बताए।  

उनले  फिर्ता गरेको गाडी अहिले सचिवालय मै रहेको मगरको भनाई छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप