बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आइफोन किन्न १७ वर्षमा मृगौला बेचे, अब जीवनभरी अपाङ्ग

सोमबार, ३० पुस २०७५, १३ : १७
सोमबार, ३० पुस २०७५

जियाओ वाङ्गले १७ वर्षको उमेरमा आइफोन फोर किन्नका लागि आफ्नो मृगौला बेचे । शल्यक्रियापश्चात्, वाङ्लाई एउटा मृगौलामा पनि साधारण जीवनयापन गर्न सकिने बताइयो तर ८ वर्षपछि, २४ वर्षको उमेरमा उनी सधैंका लागि अपाङ्ग भएका छन् । उनी अहिलेसम्म डायलाइसिसको भरमा बाँचेका छन् ।

सन् २०११ मा आइफोन फोर एप्पलको उत्कृष्ट स्मार्टफोन थियो र जियाओ वाङ्को चीनको छेङ्गजाओस्थित विद्यालयमा यो आइफोन बोक्नेको  निकै इज्जतदार हुने बताइन्थ्यो । जियाओलाई पनि उक्त फोन बोक्ने रहर भयो तर गरिब परिवारमा जन्मिएका उनीसँग ‘ट्रेन्डी ग्याजेट’ किन्नका लागि त्यति धेरै रकम थिएन त्यसकारण उनले आफ्नो शरिरभित्रको एक स्वस्थ अंग बेचिदिने निर्णय गरे । एक मध्यस्थकर्ताको सहयोगमा वाङ्को मृगौला बेच्ने व्यक्तिसँग भेट भयो । उनले एउटा मृगौलाको तीन हजार दुई सय डलर अर्थात् तीन लाख ६२ हजार रुपैयाँ पाए । तर दुर्भाग्यवश, यो निर्णयले उनको जीवन नै बर्बाद बनायो ।

१७ वर्षको कलिलो उमेरमा उनले पत्ता लगाए कि उनलाई बाँच्नका लागि एउटा मृगौला भए पुग्छ र उनको शल्यक्रिया गर्ने डाक्टरले पनि एउटा मृगौलाको भरमा स्वस्थ जीवन बाँच्न सकिने बताएका थिए । छेनजाउस्थित एक अस्पतालमा उनको शल्यक्रिया गरियो जसलाई त्यतिबेला सफल बताइयो तर समस्या लगत्तै देखिन सुरु भयो ।

‘दुर्भाग्यवश, अपरेशन गर्ने स्थान सफा नभएकाले उनको घाउ संक्रमित भयो,’ ओरियन्टल डेलीलाई उद्धृत गर्दै अडिटी सेन्ट्रलले बताएको छ । ‘ती किशोरका आमाबुवालाई मृगौला बेचेको अत्तोपत्तो थिएन । लुकाउनै नसक्ने स्थिती आएपछि मात्र उनले आमाबुवालाई यसबारे जानकारी दिए ।’

उनले आइफोनका लागि मृगौला बेचेको आमाबुवालाई भन्नै सकेनन् तर घाउको संक्रमण यति बढिसकेको थियो कि त्यसले अर्को मृगौलालाई पनि गाँजिसकेको थियो । उनका आमाबुवाले उपचारका लागि अस्पताल पुर्याउँदासम्म निकै ढिलो भइसकेको थियो । डाक्टरले उनलाई बचाउने हो भने स्थायी डायलाइसिस गर्नैपर्ने सुझाए । त्यसपछि जियाओले आफ्नो धेरैजसो समय अस्पतालको बेडमा नै बिताएका छन्, बाँच्नका लागि डायलाइसिसको सहारा लिनुपरेको छ । यसले उनको आयुलाई क्रमशः छोट्याउँदै पनि छ ।

वाङका आमाबुवाले मृगौला बेच्न सहयोग गर्ने मध्यस्थकर्ता र शल्यक्रिया गर्ने डाक्टरमाथि मुद्दा हाले । उनीहरुले क्षतीपूर्तीबापत् तीन लाख २० हजार डलर अर्थात् तीन करोड ६२ लाख रुपैयाँ पाए जुन वाङको औषधी–उपचारमा खर्च भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप