केन्द्रीय संस्करण
स्वास्थ्य

अजिनोमोटोको आतङ्क :

कत्तिको खतरनाक छ यसको असर ?

person explore access_timeपुस ३०, २०७५ chat_bubble_outline0

अजिनोमोटो अर्थात् खानेकुरालाई स्वादिलो बनाइदिने, झट्ट हेर्दा चिनी जस्तै देखिने सेतो धूलो पदार्थ । बजारमा यसलाई सामान्यतः अजिनोमोटो भनेर चिनिने गरिन्छ । त्यसबाहेक यसलाई टेस्टिङ पाउडर भनेर पनि बोलाइने गरिन्छ । त्यसबाहेक, कतिपयले यसलाई मोनोसोडियम र छोटकरीमा एमएसजी भनेर पनि चिन्ने गर्छन् । खासगरी, चाइनिज वा जापानिज खानेकुराहरुमा एक किसिमले अनिवार्य जस्तै बनिसकेको, खानालाई स्वादिलो बनाइदिने मसलाको नाम हो अजिनोमोटो ।

खानालाई स्वादिलो बनाइदिने कुरामा अजिनोमोटो जति चर्चित छ, उत्तिकै ‘बदनाम’ चाहिँ यसले मानव स्वास्थ्यलाई हानि पु्र्याउँछ भन्ने कुरामा छ । खासगरी, अजिनोमोटोले टाउको दुखाउने, हड्डी खियाउने, क्यान्सर लगाउने जस्ता ‘विश्वास’ धेरै मानिसहरुले गर्ने गर्छन् । आफ्नो स्वास्थ्यप्रति अलि बढी नै चिन्ता गर्ने मानिसहरुले त अजिनोमोटो हालेको खानेकुरा नै नखाने अनि अरुलाई पनि नखानको लागि अर्ति उपदेश दिन समेत भ्याइहाल्छन् । अर्थात् बजारमा एक किसिमले अजिनोमोटोको आतङ्क नै छ भन्दा पनि फरक पर्दैन ।

तर के साँच्चै नै आम मानिसहरुले सोचे जस्तै, हल्ला गरिएजस्तै खतरनाक छ त अजिनोमोटो ? के यसले साँच्चै नै मानव स्वास्थ्यलाई खतरनाक असर पुर्याउँछ त ? आउनुहोस्, त्यसबारे केही मन्थन गरौं ।

के हो अजिनोमोटो ?

अजिनोमोटोलाई अंग्रेजीमा Monosodium glutamate (MSG) भनिन्छ । यो एमिनोएसिड ग्लुटामेट अर्थात् ग्लुटामिक एसिडको सोडियम साल्ट (sodium salt of glutamic acid) हो । ग्लुटामिक एसिड हाम्रो शरीरको लागि खाइबस्न नपर्ने, गोलभेडा, अंगुर, चीज, च्याउ लगायत सबै खानेकुराहरुमा प्राकृतिक रुपमा नै पाइने र हाम्रो शरीरले पनि आफैं उत्पादन गर्ने एमिनो एसिडको एक रुप हो । यसले मानव मस्तिष्कमा न्यूरोट्रान्समिटरको रुपमा काम गरी सिकाइको प्रक्रिया र सम्झनाशक्तिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । हाम्रो शरीरलाई आवश्यक २० प्रकारका एमिनो एसिडहरुमध्येको एक ग्लुटामिक एसिड विशेष गरी गहुँ र भटमासमा बढी पाइन्छ । मुख्यतः उर्जाको स्रोतको रुपमा उपयोग हुने यो एसिडले थकानबाट जोगाउने काम गर्छ भन्ने मानिन्छ ।

ग्लुटामिक एसिड सन् १८६६ तिर जर्मन रसायनविद् कार्ल हेनरिकले पत्ता लगाएका थिए । सन् १९०८ मा आएर टोकियो शाही विश्वविद्यालयका प्राध्यापक किकुुने इकेदाले त्यो ग्लुटाकि एसिडलाई प्रशोधन गरी त्यसबाट सोडियम साल्ट अर्थात् मोनोसोडियम ग्लुटामेट निकाल्ने तरिका खोजेका थिए । खानेकुरालाई अत्यन्तै स्वादिलो बनाइदिने त्यो सोडियम साल्टलाई उनले उमामी (Umami)  नामाकरण गरेका थिए । त्यसको एक वर्षपछि १९०९ मा उनकै अनुरोधमा सुजुकी फार्मास्यूटिकल कम्पनी लि.ले अजिनोमोटो कम्पनी, इन्क खडा गरी 'अजिनोमोटो'को नाममा त्यसको व्यावसायिक उत्पादन थालेका थिए । जापानी भाषामा अजिनोमोटोको मोटामोटी अर्थ ‘स्वादको आधार’ भन्ने बुझिन्छ ।

शुरुदेखिकै विवाद

त्यसो त यसको उत्पादनकालदेखि नै अजिनोमोटो खान हुने वा नहुने भन्नेबारेमा विवाद चल्दै आएको छ । उत्पादन शुरुभएको १ वर्षलगत्तै सन् १९१० मा जापानमा व्यापक रुपमा के हल्ला फैलिएको थियो भने यसको उत्पादनमा कच्चा पदार्थको रुपमा सर्पको प्रयोग हुने गर्छ । तर त्यो सत्य थिएन । त्यसपछि पनि स्वयं जापान तथा अमेरिकामा समेत यसको बारेमा विभिन्न प्रश्नहरु उठिनै रहे ।

सन् २००१ को शुरुवात ताका इन्डोनेशियामा पनि अजिनोमोटोको बारेमा विवाद भएको थियो । त्यो विवादचाहिँ यसले स्वास्थ्यमा पार्न सक्ने असरबारेमा भन्दा पनि यसको उत्पादनमा सुंगुरमा आधारित इन्जाइमको प्रयोग हुन्छ भन्ने थियो ।

मुश्लिम समुदायमा सुंगुरको मासुको प्रयोग बर्जित छ र त्यसलाई हरामको रुपमा लिने गरिन्छ । तर त्यो विवाद चर्के लगत्तै इन्डोनेशियाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले हस्तक्षेप गरेर अजिनोमोटोको उत्पादनमा कुनै पनि रुपमा सुंगुरको प्रयोग नभएको बताएपछि विवाद साम्य भएको थियो । त्यसबेलामा स्वयं अजिनोमोटो कम्पनीले पनि अजिनोमोटोका उत्पादनमा भटमासमा आधारित रहेको बताएको थियो । फलतः त्यो विवादले चर्को रुप लिन पाएन ।

अजिनोमोटोले गर्ने भनिएको असरहरु

अजिनोमोटोले मानव स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने बारेमा पटक पटक अनुसन्धान परीक्षणहरु भएका छन्, गरिएका छन् तर कुनै पनि अनुसन्धान परीक्षणहरुले अजिनोमोटोले यही असर गर्छ भनेर प्रामाणिक रुपमा भन्न र देखाउन सकेको छैन । तर पनि आम रुपमा अजिनोमोटोले गर्न सक्ने भनी फैलाइएको भ्रमहरु निम्नानुसार छन्ः

  • टाउको दुख्नु

  • अनुहार रातो हुनु

  • पसिना आउनु

  • अनुहारमा तनाव बढ्नु र तन्कनु

  • छाला, घाँटी र अन्य भागहरुमा मासु लाटो हुनु, झम्झमाउनु र पोल्नु

  • मुटुको धड्कन असामान्य हुनु र बढ्नु

  • छात्तीमा पीडा

  • वाकवाक लाग्नु

  • कमजोरी महसूस हुनु ।

कतिपयले त के पनि ठान्छन् भने अजिनोमोटोले दम गराउँछ, मस्तिष्कलाई खराब गरिदिन्छ ।

त्यसबाहेक, नेपालीहरु माझ चाहिँ अजिनोमोटोले हड्डी खियाउछ भन्ने व्यापक भ्रम पनि छ ।

अजिनोमोटोले स्वास्थ्यमा गर्ने भनिएका खराब असरहरुलाई मोठमा ‘चाइनिज रेष्टुराँ सिन्ड्रोम’  नाम दिइएको छ ।

खासगरी, सन् १९६० को दशकमा आएर अजिनोमोटो खाएपछि स्वास्थ्यमा देखापर्ने भनिएका विभिन्न समस्याहरुलाई जम्मामा चाइनिज रेष्टुरा सिन्ड्रोम नामाकरण गरिएको हो । । खासगरी, अमेरिकी प्रोफेसर जोन ओल्नेले सन् १९६९ मा अजिनोमोटोको प्रयोगले विशेष गरी टाउको दुख्ने समस्या पैदा हुने कुरा उठाएका थिए । त्यसका अलावा अजिनोमोटो खाँदा देखापर्ने चाइनिज रेष्टुराँ सिन्ड्रोममा मांसपेशीहरु कस्सिने, झमझमाउने, कमजोरी महसूस हुने र अनुहार रातो हुने  जस्ता समस्याहरु आउने कुरा पनि जोडतोडका साथ उठेको थियो ।

एकातिर अजिनोमोटोले स्वास्थ्यमा पार्ने भनिएको खराब असरहरुको लामो सूची बन्दै थियो भने अर्कोतिर यसले भोजनको स्वादलाई बढाउने हुनाले यसको प्रयोगकर्ताको संख्यामा पनि उत्तिकै बढ्दै गइरहेको थियो । यस्तो स्थितिबीच अजिनोमोटोको सुरक्षित प्रयोगमा निगमन गर्ने बारेमा चर्को आवाजहरु उठे ।

धेरै परीक्षणहरु भए, तर प्रमाणित चाहिँ हुन सकेन

त्यसो त अजिनोमोटोको व्यवसायिक उत्पादन हुनुपूर्व नै कम्पनीले जापानको आन्तरिक मन्त्रालयअन्तर्गतको टोकियो स्यानिटेसन ल्याब्रोटरीमा यो खान योग्य छ कि छैन भन्ने परीक्षण गराएको थियो । उक्त परीक्षणमा आजिनामोटो खानयोग्य रहेको र त्यसले मानव शरीरमा कुनै हानिकारक असर नगर्ने देखिएको थियो ।

सन् १९९५ मा आएर अमेरिकाको फुड तथा ड्रग एडमिनिस्ट्रेसनको पहलमा अजिनोमोटोले मानव स्वास्थ्यमा गर्न सक्ने असरबारे जैविक प्रयोग परीक्षण नै गरियो । त्यस परीक्षणको नतिजामा अजिनोमोटोको प्रयोग मानव स्वास्थ्यको लागि हानिकारक नरहेको नै देखियो । त्यस परीक्षणमा दमका रोगीहरु तथा चाइनिज रेष्टुरा सिन्ड्रोम भएकाहरुलाई चाहिँ यसले असर गर्न सक्ने सम्भावना औंल्याइएको थियो तर पछि अमेरिका र अष्ट्रेलियामा भएका अध्ययन अनुसन्धानहरुमा चाहिँ उक्त समूहका मानिसहरुमा पनि अजिनोमोटोको प्रयोग सुरक्षित नै रहेको निष्कर्ष निकालिएको थियो । त्यसअघि १९९३ मा गरिएका तथा पछि सन् २००० मा गरिएको अनुसन्धानमा पनि अजिनोमोटोले मानव स्वास्थ्यमा असर नगर्ने नै देखिएको थियो ।

अजिनोमोटोको बारेमा सबैभन्दा चर्को भ्रम नै यसले टाउको दुखाउँछ र असहज बनाइदिन्छ, जसलाई चाइनिज रेष्टुराँ सिन्ड्रोम नाम दिइएको छ, भन्ने नै हो । तर अमेरिका लगायत विभिन्न देशहरुले अजिनामोटामाथि पटक पटक गरेका अध्ययन अनुसन्धानहरुले त्यो सत्य हो भन्ने साबित गर्न सकेको छैन । त्यसैले अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले अजिनोमोटोलाई ‘सामान्यतः सुरक्षित’ (Generally recognized as safe GRAS)  को वर्गमा राखेको छ भने युरोपियन युनियनले पनि निश्चित प्रकारका खानेकुराहरुमा तोकिएको सीमामा प्रयोग गर्न मिल्ने भनी उपयोग गर्न छुट प्रदान गरेको छ ।

नश्लवाद र साम्राज्यवादको शिकार !

पटक पटक अग्निपरीक्षाहरुमा खरो उत्रिए पनि अजिनोमोटोले मानव स्वास्थ्यमा गर्न सक्ने प्रभावका बारेमा लगातार प्रश्न उठिरहनुलाई कतिपय आलोचकहरु चाहिँ फरक ढंगले पनि व्याख्या विश्लेषण गर्ने गर्छ । उनीहरुको विचारमा अमेरिका वा कुन युरोपेली देशको उत्पादन भएको थियो भने अजिनोमोटोको बारेमा यति विघ्न प्रश्नहरु उठ्ने थिएनन् । वास्तवमा, अजिनोमोटो एशियाली मुलुकको विशिष्ट उत्पादन भएकै कारण यसले स्वास्थ्यमा गर्ने ‘कल्पित असर’हरुका बारेमा बढी नै आवाज उठ्ने गरेको छ, जुन एक किसिमको ‘एशियाविरोधी’ नश्लवाद नै हो । अझ खरो भाषामा भन्ने हो भने त अजिनोमोटो पश्चिमा पाककलालाई फिका तुल्याउने त्यस्तो डरलाग्दो खराब सपना जस्तै बनेको छ, जसले विश्वबजारमा पश्चिमा खानेकुराको उपस्थिति र दबदबालाई फिका बनाइदिएको छ । त्यसैले अजिनोमोटो समेतको कारण पश्चिमाहरुको ज्रिबो जिब्रामा झुण्डिएको पूर्वीय पाककलालाई निस्तेज गर्नको लागि नै पनि पश्चिमा साम्राज्यवादीहरुले अजिनोमोटोका विरुद्धमा वितण्डा खडा गर्ने गरेको भनी मान्नेहरुको जमात् बढ्दो छ । यसै मेसोमा अमेरिकाका प्रसिद्ध खाद्य समालोचक जेफ्री स्टेनग्रार्टेन भन्छन्, अजिनोमोटोप्रतिको डरलाई पश्चिमा–केन्द्रीत त्यो बनिबनाइ धारणाको रुपमा बुझ्नु जरुरी छ, जुन सुदुर पूर्वी पाककलामा अजिनोमोटो समस्यारहित ढंगले आम रुपमा प्रयोग हुने गरेको कुराबारे अनभिज्ञ छ । उनी खरो रुपमा प्रश्न गर्छन्, अजिनोमोटो समस्या हो भने किन चीनका सबैजनालाई कथित चाइनिज रेष्टुरा सिन्ड्रोमले सताउँदैन ?

यथार्थ के हो त ?

वास्तवमा, अजिनोमोटो आतंक फैलिनुको जरो कारण भनेको यी सबै कुराहरु अध्ययन, अनुसन्धान र परीक्षणहरुले प्रमाणित गरेका कुरा भन्दा पनि बढी हल्ला मात्रै हो । तर एउटा कुरा सत्य के हो भने, हरेक खानेकुरा सीमाभन्दाबढी खाएपछि अनिवार्यतः असर गरिहाल्छ । नेपालीमा एउटा उखानै छः चिनी पनि बढी खाएपछि तीतो हुन्छ । अजिनोमोटोको हकमा पनि यो कुरा सत्य हो ।

हामीले बुझ्नैपर्ने कुरा के हो भने, अजिनोमोटो मात्र हैन, कुनै पनि खानेकुराले कसै न कसैलाई नकारात्मक असर गर्न पनि सक्छ । उदाहरणका लागि, बदाम खाँदा ज्यानै जान पनि सक्छ भनेर कसैले सपनामा पनि चिताउन सक्दैन । तर बदामको एलर्जी हुनेहरुको हकमा यो धु्रवसत्य कुरा हो । त्यसैले कतिपय देशहरुमा बदाम प्रयोग भएको खानेकुरामा प्रष्ट रुपमै त्यसमा बदाम छ भनी लेख्नुपर्ने हुन्छ । जस्तो कि, मेरी ९ वर्षीया छोरीलाई चोकोपाई नाम गरेको विस्कुट खानै हुँदैन, झाडाबान्ता भइहाल्छ । सम्भवतः त्यसमा भएका कुनै खास तत्त्व वा रसायनका कारण मेरी छोरीलाई गर्ने रियाकसनको कारण त्यस्तो भएको हुन सक्छ । त्यसैले त्यसको अर्थ यो होइन कि चोकोपाई सबैका लागि समान रुपमा स्वास्थ्यका लागि हानिकारक र खतरनाक छ । विषयवस्तुलाई यसरी अत्यन्तै सामान्यीकरण गरिनु वैज्ञानिक तरिका हुँदै होइन । त्यसैले अजिनोमोटोले पनि स्वास्थ्यमा खतरनाक असर गर्छ भनेर सामान्यीकरण गरिनु सही र वैज्ञानिक कुरा होइन ।

सत्य कुरा के हो भने दैनिक रुपमा निश्चित मात्रामा अजिनोमोटो खाँदा पनि स्वास्थ्यलाई कुनै असर गर्दैन । तर उत्तिकै सत्य कुरा के पनि हो भने पहिल्यैदेखि टाउको दुख्ने, माइग्रेन वा दमका समस्या भएकाहरुको हकमा भने यसले नकारात्मक असर गर्ने सम्भावनालाई इन्कार गर्नु मिल्दैन । त्यसो त सीमित मानिसहरुमा अजिनोमोटोले नकारात्मक असर गरेको खण्डमा पनि त्यो ज्यानमारा हुँदैन, त्यसको असर केहीबेरमै हराएर जान्छ ।

फेरि पनि सबैभन्दा उत्तम कुरा चाहिँ के हो भने, जसले अजिनोमोटो खाँदा असहज हुन्छ, टाउको दुख्छ वा बारम्बार त्यही खालको नकारात्मक असर महसूस गर्छ भने त्यस्ता व्यक्तिहरुले चाहिँ अजिनोमोटो नखाँदा नै वेश हुन्छ । यो कुरा अजिनोमोटोमा मात्रै हैन, अन्य हरेक खानेकुराहरुको हकमा पनि समान रुपले लागू हुन्छ ।

(विभिन्न एजेन्सीहरु एवं वेवसाइटका सामग्रीहरुको आधारमा)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ