शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइँदै

सोमबार, ३० पुस २०७५, १५ : ०८
सोमबार, ३० पुस २०७५

काठमाडौँ– मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । 

निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । 

उनका अनुसार बोइङ ल्याउन चालक दलका सदस्य (क्रू मेम्बर) हिजो आइतबार मलेसिया गएका छन् । अमेरिकाबाट सिपिङमार्फत सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सि–डक्ट ल्याएर फिट गरिएको थियो । 

‘बोइङको पुरै मर्मत भइसकेको छ, सि–डक्ट पनि परिवर्तन गर्नुपर्ने भएकाले मर्मतका लागि बढी समय लागेको हो, बोइङ भोलि नेपाल फर्किंदैछ’, सहायक प्रवक्ता कोइरालाले भने । 

निगमले उक्त बोइङ बिक्री गर्ने तयारी गरेको छ । बिक्री नभइन्जेल उडान गर्ने योजना बनाएको छ । जहाज बिक्रीका लागि निगमले मूल्य निर्धारण गरी कागजात मन्त्रालय पठाएको छ । वाइड बडी विमान खरीद प्रकरणको विषयले जहाज बिक्रीमा पनि कठिनाइ भएको निगमका अधिकारी बताउँछन् । 

निगमका निर्देशक रवीन्द्र श्रेष्ठले बोइङ बिक्रीका लागि मूल्य निर्धारण भइसकेको र सैद्धान्तिक सहमतिका लागि मन्त्रालय पठाइएको जानकारी दिए । तर, वाइड बडीको विवादित विषयले अब उक्त काममा पनि व्यवधान खडा भएको उनको भनाइ छ । 
‘दुई महिनादेखि बोइङ ममर्तका लागि मलेसियामा छ । बिक्रीका लागि आर्थिक मूल्याङ्कन भइसकेको छ । ‘भ्यालुएसन’ भइसक्यो, यो पनि ‘कन्डिशनल’ छ, सात करोड ६० लाख डलर मूल्य पुग्छ’, निर्देशक श्रेष्ठले भने । 

सानो वायुसेवा कम्पनीले वाइड बडी, बोइङजस्ता थरीथरीका जहाज राख्दा प्राविधिक तथा व्यवस्थापकीय जटिलता हुने र सबैको अलगअलग इञ्जिनीयर पाइलटको व्यवस्था गर्नुपर्ने भएकाले बोइङ बिक्री गर्न लागिएको निगमको भनाइ छ । 

बोइङको इञ्जिन ‘साइकल’ अझै बाँकी रहेका कारण मर्मत गरेर उडान गर्ने योजना निगमको छ । जहाज मर्मतका लागि करिब अढाइ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । निगमले बोइङ बिक्रीका लागि आर्थिक मूल्याङ्कन गर्न दुई महिनाअघि स्विट्जरल्याण्डको फिन्टेक कम्पनीलाई परामर्शदाता नियुक्त गरेको थियो । 

निगमले सन् १९८७ सेप्टेम्बर १९ तारिखमा ‘कर्णाली’ खरिद गरेको थियो भने दोस्रो बोइङ ‘गण्डकी’ सन् १९८८ सेप्टेम्बर १ तारिखमा ल्याएको थियो । कलसाइन नाइनएन एसिए ७५७ बोइङ कर्णालीलाई निगमले बिबिएयरलाई एक वर्षअघि बिक्री गरिसकेको छ । हाल निगमका दुईवटा न्यारो बडी र दुईवटा वाइड बडी जहाजले भारतको नयाँ दिल्ली, बेङ्गलोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैङ्कक र कतारमा उडान भर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप