बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा भव्य रुपमा ‘नरहरि’ पर्व मनाइँदै

मङ्गलबार, ०१ माघ २०७५, १३ : ०१
मङ्गलबार, ०१ माघ २०७५

बैतडी– सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । माघेसङ्क्रान्तिलाई यहाँ नरहरि पनि भन्ने गरिन्छ । माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ । पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने चलन छ । 

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्ट बताउँछन् । आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ । 

कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गरिन्छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ । कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रुपमा लिइन्छ । कागले पुस १५ गते तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ । काग अत्यन्तै चलाखसँगै सर्वभक्षी प्राणी हो । 

कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ । यसले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा पनि लिइन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको पण्डित भट्ट बताउँछन् । कागले लगेर लुकाएको रोटीलाई ब्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सप्रिने विश्वास रहीआएको छ । ‘माघेसङ्क्रान्तिमा कागलाई मीठा खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता छ,’ उनले भने । 

माघमा माछा मासु खानु हुँदैन भन्ने पुस्तौँदेखिको चलन रहेको पण्डित भट्टको भनाइ छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन अनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ । माघेसङ्क्रान्तिमा कामको सिलसिलामा बाहिर रहेका यहाँका बासिन्दा घर फर्किन्छन् । विवाहित महिला माइतीघर जाने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप