शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

मङ्गलबार, ०१ माघ २०७५, २० : २०
मङ्गलबार, ०१ माघ २०७५

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । 

घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन् । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । 

घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै सुरक्षित मानिएको ‘ग्रीन जोन’ छेउमै रहेको अफगानिस्तान निर्वाचन आयोगको कार्यालय नजिकै भएको थियो । 

अफगानिस्तानको संसदका लागि गत अक्टोबरमा चुनाव भएपनि काबुलको नतिजा सोमबार मात्र निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । 

उक्त चुनावमा आठसय भन्दा बढी उम्मेदवार भएपनि २४ जना पुरुष र ९ जना महिला विजयी भएका छन् । अफगानिस्तानको २४९ सदस्यीय संसदका लागि भएको चुनावको परिणाम घोषणामा ढिलाई भइरहेको छ । 

चुनावमा पराजित भएकाहरुले समग्र निर्वाचन प्रक्रियामै धाँधली भएको आरोप लगाएका छन् । 

सोमबार भएको यस बिस्फोटको करिब एक घण्टापछि दानिसले गर्नुभएको ट्वीटमा घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको बताएका छन् । 

प्रहरीले यस आक्रमणमा तालिबान र इस्लामिक स्ट्टेसमध्ये एक समूहको संलग्नता रहेको अनुमान गरेको छ । 

काबुल आक्रमणको जिम्मेवारी तालिबानले लियो 
यसैबीच प्राप्त अर्को एक समाचारमा अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ गराइएको बम विस्फोटको जिम्मेवारी तालिबान लडाकू समूहले लिएको छ । 

काबुलका सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप