शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीज्यू, यी दुई ‘विम्ब’ बाट जोगिन सक्नुहुन्छ ?

बुधबार, ०२ माघ २०७५, १३ : ३०
बुधबार, ०२ माघ २०७५

शुभाषचन्द्र पोख्रेल 

विम्ब–१
एक दिन कारिन्दाले मालिक्नीसँग अनौठो प्रस्ताव राख्यो, ‘साहुनी म अब तपाईंको घरमा काम गर्न भनेर मात्र आउँदिन बरु तपाईंको छोरी पनि जवान भइसकिन्, मेरो पनि जवान छोरो छ । यी दुवैको जोडी बनाएर विवाह गरिदिउँन है, कतिन्जेल तपाईंकोमा काम गर्ने बनेर मात्र बसिरहुँ ।’  

सधैँ अह्राएको काम गर्ने र तोकेको ज्यालामा चित्त बुझाउने कारिन्दाबाट एकाएक यस्तो प्रस्ताव ? हिजोसम्म ‘तपाईंहरू नै हाम्रो अन्नदाता हो हजुर’ भनेर काम खोज्दै आउने कारिन्दाबाट बराबर हैसियतमा नाता जोड्ने यस्तो प्रस्ताव सुन्दा सज्जन परिवारिकी ती मालिक्नीलाई बडो आश्चर्य लाग्यो । यो कुराले मालिक्निको निद्रा नै खलबलियो । अबेर रातिसम्म जहान बेचैन देखेपछि मालिकले सोधे, ‘तिमीलाई के कुराको चिन्ता पर्यो प्रिय ?’ उनले सबै बेलिविस्तार लगाइन् । मालिकले पुनः सोधे ‘कहाँ, के गर्दा यस्तो प्रस्ताव राख्यो उसले ?’, ढिकारीमा धान कुट्दै मालिक्नीले भनिन् । तब मालिक लामो सास फेर्दै मुसुक्क हाँसे ।

मालिक्नी झन् अचम्म परिन्, यस्तो कुरामा पनि फसाद नगरी बुढा हास्छन त । अलि शान्त हुँदै मालिकले सम्झाए, हाम्रो परिवारसँग नाता जोड्ने कुराको प्रस्ताव हिजो कामदार बोलेको होइन, त्यो त ‘धन र सत्ता’ बोलेको हो । चोरी डकैतीको डरका कारणले गर्दा मैले सबै द्रव्य, सुन चाँदी, हाम्रो सम्पत्तिको लिखत र परिवार सञ्चालनको शासन विधि मैले गाडधनकारूपमा ढिकीको तल पुरेको थिएँ । त्यही धन र सत्ता माथि उभिएर ढिकी कुट्दा कुट्दै उसलाई पैतालामुनिको धनले पोल्यो अनि ठूला कुरा बोल्यो । चिन्ता नगर । अब धन र सत्ताको चाबी अन्तै गाडौँला । 
नीतिकथाको यो सन्दर्भ हाम्रा राजनीतिक दल र नेताहरूमा ठ्याक्कै मेल खान्छ । सत्ता र धनको बिमुख हुँदा असाध्यै जनताको साख्यै हुने अनि जब सत्ताको तातोले छुन्छ उम्लिहाल्ने । यस्तो चरित्र हिजो पनि थियो र आज पनि छ । 

विम्ब–२
साङ्ले नामको जङ्गली जीवले आफ्नो सिकारलाई झम्टेर बसमा पार्दैन । उसले आफ्नो सिकारलाई फकाइफुल्याई गर्छ, पछाडिबाट कन्याइदिएझैं गर्छ । सिकार हुँदै गरेको जनावरले आफू जालमा परेको हेक्का त्यतिबेलासम्म पाउँदैन, जबसम्म उसको आन्द्राभुँडी निस्किएर ऊ भुइँमा लडिसकेको नहोस् । साङ्लेको सुम्सुम्याइभित्र जसरी एउटा निर्दाेष जीव पर्छ, भनिरहनुपर्दैन, हामी नेपाली जनता पनि त्यसैगरी साङ्ले रूपी जालोमा परिरहेका छौँ र पारिइरहेका छौँ । साङ्ले चरित्रको पछिल्लो उदाहरणका लागि एकनाथ ढकाल एक्लै काफी छन् । उनले नेपाल भित्र्याएको धार्मिक मिसिनरी संस्था ‘युनिफिकेसन चर्चको नङ्ग्रा कति भित्रसम्म पुगेछ, हामी सबैले बल्ल थाहा पाउँदै छौ । हिजो गिरिजाप्रसाद कोइराला, रामवरण यादवदेखि प्रचण्ड, माधवकुमार नेपाल र केपी ओलीसम्मलाई ‘कन्याउन’ भ्याइसकेछन । एकनाथको पैसामा जहाज नचडेका अलि ठूला नेता बिरलै छन् रे । पैसाका लागि जस्तोसुकै दलाली गर्न सक्ने एकनाथ जस्तो एक्लो साङ्लेको जालमा देश पर्दै छ र पार्दैछन । अरू ठूलाठूला साङ्लेको के कुरा । 

अब केही अरू उकुसमुकुस 
हिजो राणाकालीन समयमा आम जनताको चेतना स्तर निम्छरो थियो । राजनीतिक कारणले पनि आम जनताले आफूलाई लागेको सही–गलत कुरा खुलेर राख्न सक्दैनथे । त्यो समयमा मुठ्ठीभर शासक वर्गले जनतालाई ‘साङ्ले’को सिकार बनाए । आफ्नो ऐयासी जीवनशैली कायम राख्दा समग्र राष्ट्रोन्नतिको सवाल ओझेलमा परिरहयो । बाहिरी दुनियासँगको सम्बन्ध र सम्पर्क त्यति सहज नभएका कारण त्यसबेलाको समाजले आफूलाई तुलनात्मक रूपमा दाज्नै पाएन । अहिले समय बदलिइसकेको छ । विकासका कारण सारा विश्व एउटा गाउँमा परिणत भएको छ । विश्व रङ्गमञ्चमा भइरहेका हरेक विकासक्रमका बाछिटाले हामी नेपालीलाई बिटुलो बनाउँदै छ । तर विश्व समुदायसँग काँधमा काँध मिलाएर हिड्नका लागि चाहिने विकासको लय देशले अझै समाउन सकेको छैन । 

राष्ट्रोन्नति प्राथमिकतामा पर्ने हो भने राजनीतिक प्रणाली आफैमा प्रधान विषय होइन भन्ने कुरा विश्व इतिहासले प्रष्ट पारिसकेको छ । अमेरिका, बेलायत, जापान, चीन, स्विडेन, अस्ट्रेलिया, न्युजिल्यान्ड वा भनौँ मध्यपूर्वका अरब मुलुकहरू  आजका दिनमा ती कुनै पनि मुलुक विकासका हिसाबले उच्चतम् विन्दुमा पुगिसके । राजनीतिक स्वतन्त्रताको कुरा गर्ने हो भने मुलुकपिच्छे केही असमानता पक्कै होलान् तर यो राजनीतिक स्वतन्त्रताको कुरा पनि निरपेक्ष कुरा रहेनछ । यदि राज्यले दिने सेवा सुविधा प्रयाप्त छन् भने ‘स्वतन्त्रताका’ कागजी कुरा जनताका लागि गौण बन्दोरहेछ । अझ राजनीतिक आस्थाका आधारमा अघि सारिने ‘आग्रह’ त झन् परको कुरा ।

सन् १९५०–६० को दशकताका अनेकन राजनीतिक मुद्दामा अल्झिएको जापानमा आजको दिनमा ती कुनै पनि राजनीतिक मुद्दा विवादको विषय बनेका छैनन् । यसको अर्थ पचास वर्षअघिका ती मुद्दा सम्बोधन भएर होइन कि ती तमाम मुद्दालाई ओझेलमा पार्ने गरी जापानले आर्थिक, सामाजिक फड्को मार्यो । परिणामतः विभिन्न ‘आइडोलोजी’का आधारमा उठाइएका मुद्दा स्वतः विलय भए । यस्तो उदाहरण दिन मिल्ने देश जापानका अलावा अरू धेरै छन् । तर नेपालमा आर्थिक, सामाजिक विकासको मूल मुद्दालाई दोस्रो प्राथमिकतामा राखेर राजनीतिक प्रणालीकै नाममा समय र सम्पत्ति दुवै स्वाहा पारियो । अनि प्रणलीकै नाममा विदेशी शक्ति राष्ट्रका लागि देश प्रयोगशाला जस्तै बन्यो । वस्तु उत्पादनका हिसाबले त देश धेरै हदसम्म परनिर्भर थियो नै, चारित्रिक हिसाबले पनि हाम्रो देशको राजनीति परनिर्भरतामुखी बन्यो । राजनीतिमा देखिएको यस्तो चरित्र देशका लागि झन् डर लाग्दो ‘साङ्ले’ रूप हो ।

नेपाल विविधतायुक्त संस्कृति, एक सय पच्चीसभन्दा धेरै जात, जाति, भाषा–भाषी, हिमाल, पहाड, तराईमा फैलिएको बहुआयामिक समाज भएको देश हो । यी नेपालका साँच्चै गर्व गर्न लायक पाटा हुन् । तर नेताको आवरणमा ‘दलाली’ चरित्र अँगालेका पात्र पनि हामीले नै पाल्नुपरेको छ । जसका कारण आफ्नो अभिष्ट अनुरूपको राजनीतिक मुद्दा बोकाउन बाटो कुरेर बसेका विदेशी ‘विकासे वर्ग’का लागि जति पनि राजनीतिक खेताला नेपालमै उपलब्ध छन् ।

धर्म निरपेक्षता, सङ्घीयता, जातीय पहिचान, समानुपातिकता जस्ता मुद्दा आफैमा विकास विरोधी होइनन् । तर नेपालमा यस्ता मुद्दाको उठान र अवतरण कसरी भयो, त्यो कुरा बुझिनसक्नुको छ । यी सबै मुद्दाहरूको उठान जनस्तर र मौलिक तवरबाट भन्दा आयातित तवरबाट भयो । त्यसको परिणाम हामी अब भोग्दै छौँ । राजनीतिक प्रणालीका नाममा भइरहेका अनेकन प्रयोगका कारण नेपालको विद्यमान गठिलो सामाजिक सद्भाव बिस्तारै खल्बलिँदैछ । साँचो कुरा गर्ने हो भने मेचीदेखि महाकालीसम्म र मुस्ताङदेखि मर्चवारसम्मका आम जनतालाई चाहिएको शान्ति र समृद्धि थियो । तर राजनीतिक खेलाडीले नयाँ प्रणालीका बारेमा हिजो यसरी चर्चा गरे कि भोलि आफूले भनेबमोजिमको प्रणाली बनेको खण्डमा समृद्धिका लागि कागजमा लेखिदिनुबाहेक अरू केही गर्नै पर्दैन ।

देश आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्दा विदेशी सहयोग चाहियो । यस्तो सहयोगमध्येको आधाभन्दा धेरै त स्वार्थ मिसिएर आएको हुन्छ । अनि हामी दाताको सल्लाहबमोजिम गरे देश सबल हुने दिवा सपनामा रमाउन बाध्य छौं । दाताहरू स्वार्थी भएको दुखेसो गर्नुभन्दा ठूलो पीडा त यहाँ हाम्रै ‘पोलिसी मेकर’नै दाताहरूको ‘पिछलग्गु’ भएकोमा हुन्छ ।

उद्योगी, व्यापारी, निर्माण व्यवसायी, ठेकेदार, म्यानपावर व्यवसायी, स्कुल–कलेज सञ्चालक, मेडिकल ब्यापारी यस्तो कुनै क्षेत्र छैन जहाँबाट सभासद नबनेको होस् । निष्ठा र निरन्तरता रोज्नेका लागि भन्दा पैसा हुनेहरूका लागि राजनीति सुगम बन्दै छ । त्यसैलेत निजी क्षेत्रलाई नियमन र व्यवस्थित बनाउने कुनै पनि खालको नीति बनाउन खोज्दा विरोधको स्वर सबैभन्दा पहिले संसदभित्रका ‘व्यापारी’बाट उठ्न थाल्छ । देश सिध्याउने ‘साङ्ले’ त राजनीतिक नेतृत्वले नै पाल्दारहेछन् । 

जुनसुकै सफल मुलुक पनि इतिहासको कुनै काल खण्डमा कठोर सङ्क्रमणबाट गुज्रिएरै आएका हुन् । तर हाम्रो देशमा विकासको भन्दा विचारको खेती नै ज्यादा भयो कि । 

कागजी कुरा र भाषणबाजीले मात्र पुग्ने भए आज नेपाल अति विकसित मुलुकको हाराहारीमा पुगिसक्थ्यो । गरिबीबाट छुटकारा पाउन रात दिन रगत पसिना बगाउने बहुसङ्ख्यक तप्का सुरुमै उल्लेख गरिएका दुई विम्बको कोपभाजनमा परिरहेका छन् ।

हामी विधि फेरबदलमा सधैँ हौसियौँ, राजनीतिक दल निर्माणमा उदार भयौँ, नेता उत्पादनमा आत्मनिर्भर भयौँ । सुविधाजन्य मतसहित कुनै दल विशेषलाई सत्ताको उकालो चढायौँ । अब पनि देशमा उज्यालो उदाउँदैन भने त्यो ‘सूर्य’ मिथ्या हो ।

‘जुन दल सरकारमा गए पनि, जोसुकै प्रधानमन्त्री भए पनि यो देशमा हुनेवाला केहिछैन’ भन्ने खालको नैरास्यता बढ्दै छ । प्रधानमन्त्री केपी ओलीज्यू केही समय पहिले तपाईं स्वयम्ले भन्नुभएको थियो नि ‘निरास जनता खतरनाक हुन्छन्’ । जनतालाई खुसी बनाउने वा निरास ? सफल बनेर अपवाद ठहरिने वा असफल पात्रको निरन्तरता ? सबै तपाईंको हातमा छ । माथि उल्लेख गरेका दुई ‘विम्ब’को घेराबाट जोगिन सक्नुभो भने महानायक बन्ने अवसर सन्निकट छ । अन्यथा कुराले मात्र चिउरा भिजाउन खोज्दै हुनुहुन्छ भने चार वर्षपछि जनताले दिने जायज सजाय कुरेर बसे हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप