बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सचिव थप्पड प्रकरण : मन्त्रीलाई कारवाही नगरेको भन्दै आन्दोलनको घोषणा

बुधबार, ०२ माघ २०७५, १३ : ३९
बुधबार, ०२ माघ २०७५

धनुषा– प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको विरोधमा निजामती कर्मचारीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन धनुषाले बुधबार विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार ट्रेड युनियनले प्रदेश सरकारलाई २४ घण्टे अल्टिमेटम दिँदै मन्त्री यादवमाथि कारबाहीको माग गरेको थियो । २४ घण्टामा कुनै कारबाही नगरिएकाले बाध्यतावश आन्दोलित हुनुपरेको आधिकारिक ट्रेड युनियनले बताएको छ । 
विरोधमा प्रदेश २ भित्रका ३ वटै संघीय, प्रदेश तथा स्थानीय तहका कर्मचारीहरु आन्दोनमा उत्रिएको कर्मचारीहरुको दावी छ । 

आन्दोलनका कार्यक्रम अनुसार आज बुधबारदेखि शुक्रबारसम्म हातमा कालो पट्टी बाँधेर कार्यालय जाने र पेन डाउन समेत गर्ने घोषणा गरिएको छ । 

शुक्रबारसम्म पनि सुनुवाइ नभए सशक्त आन्दोलनका लागि थप कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ । 

यसैबीच कर्मचारीहरुले आजदेखि कालोपट्टी बाँधेर कार्यलय गएपनि १० देखि ११ बजेसम्म पेन डाउन गरेर कामकाज ठप्प पारेका छन् । त्यस्तै माघ ३ गते कालोपट्टीसहित २ घण्टा र माघ ४ गते देखि ३ घण्टासम्म पेन डाउन गर्ने कार्यक्रम ट्रेड यूनियन धनुषाका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।

मन्त्रीले भनेको गैरसरकारी संस्थालाई रकम र कार्यक्रम नपारेको भन्दै प्रदेश २ का मन्त्री यादवले कार्यकक्षमा बोलाएर थप्पड हानेको सचिव झाको आरोप छ । 

सचिव झाको चेतावनी
उता सचिव झाले आजै आफ्नो सामाजिक संजाल फेसबुकमा मन्त्री यादवले सिफारिश गरेको गैरसरकारी संस्था सिरहा जिल्लाको सहकार्य नेपाल, गोलबजार रहेको बताएका छन् । उनले आफुलाई एनजिओवालाले घुमाउरो तरिकाले आर्थिक प्रलोभन देखाउने प्रयास समेत गरेको बताएका छन् । 

‘मन्त्रिज्युका अनुसार यो एनजिओले गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रमको आशयपत्र सिरहा र सप्तरीको लागी प्रतिष्पर्धामा फारम भरेको थियो । मन्त्री यादवजीले गरेको अफरको त केहि प्रमाण मसँग छैन, तर निज एनजिओमा आबद्ध (सम्भवतः अध्यक्ष) ले मलाइ मन्त्रिजीको मान्छे भनेर मात्रै नहेर्नुस, म तपाईलाइ जे दिनु पर्छ दिउला भनेको रिकर्ड फेला पारे, मेरो खोतल्नेहरुको आँखा खुलोस्’ आफ्नो स्टाटसमा लेखेका छन् ।

उनले मन्त्री विरुद्ध प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेको पनि जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप