शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हार्दिकअघि करणको कफी सोमा डाम्यो यी सेलिब्रिटीको मुखः यी हुन् कफी विद करणका पाँच ठूला विवाद

बुधबार, ०२ माघ २०७५, १३ : ५४
बुधबार, ०२ माघ २०७५

करण जोहरको सेलिब्रिटी च्याट शो ‘कफी विद करण’ आजकाल चर्चामा छ । सेलिब्रिटीका नीजि जीवनदेखि रोचक खुलासा यो कार्यक्रमको विशेषता नै हो । यस यसपटक जुन विवाद भयो त्यसले क्रिकेटर हार्दिक पाण्ड्या र केएल राहुलको करियरमा धक्का लागेको छ ।

हार्दिकले करणको शोमा आफ्नो यौन जीवनबारे जे भने त्यो उनको लागि निकै भारी रह्यो । उनको कमेन्टमाथि देशभर हंगामा भएपछि बीसीसीआईले हार्दिक र राहुलमाथि प्रतिबन्ध नै लगाए । हार्दिकसँगै राहुल पनि पिसिए । दुबै खेलाडी अष्ट्रेलियामा चलिरहेको सिरिजबाट फर्कनु पर्यो । ब्रान्ड इन्डोर्समेन्टबाट पछि हट्नुपर्यो । अब उनीहरुको कन्ट्र्याक्ट पनि खतरामा छ । यद्यपी, हार्दिकले बिना शर्त माफी मागेका छन् । तरपनि उनले यसबाट तत्काल राहत पाउने छाँटकाँट छैन । करणको शोमा विवादको पुरानै नाता छ । यसअघि पनि थुप्रै सेलिब्रिटीहरुले विवादास्पद बयान दिएका छन् । तर कसैको पनि हार्दिकको जति क्षती भने भएको छैन । यता करण जोहरले भने यसबारे केही पनि बोलेका छैनन् । उनी यसरी चुप लागेर बसेकोमा अब मानिसहरुले प्रश्न उठाउन थालेका छन् ।

करणले आफ्नो कार्यक्रममा सेलिब्रिटीलाई उक्साउने र कोही उनको जालमा फसेर विवादित बयान दिने आरोप लगाइन्छ । आज हामी यस्ता सेलिब्रिटीबारे जानकारी दिँदै छौं जो करणको शोका कारण विवादित बने ।

आलिया भट्टः

कफी विद करणको चौथो सिजनमा करणले आफ्ना विद्यार्थीलाई कफी पिउन बोलाए । आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रा शोको पाहुना बने । शोको कफी क्विज सेक्सनमा करणनले तीनैजनालाई भारतका राष्ट्रपतिको नाम सोध्दा आलियाले झट्पट बजर दबाएर भनेकी थिइन्, ‘पृथ्वीराज चौहान’ । वास्तवमा, त्यतिबेला पृथ्वीराज चौहान महाराष्ट्रका मुख्यमन्त्री थिए । उनको यो गलत जवाफले आलियाको खिल्ली उडाइयो । थुप्रै महिनासम्म आलियाको आइक्यूबारे जोक्स बनिरह्यो ।

कंगना रनौतः

कंगना सिजन ५ मा सैफ अली खानसँग कफी विद करणमा गइन् । विशाल भारद्वाजको फिल्म रंगूनको प्रोमोशनको क्रममा यी दुई सेलिब्रिटी पुगेका थिए । रंगून त चलेन तर यो कार्यक्रममा नेपोटिजममाथि कंगनाले जुन बयान दिइन् त्यसले फिल्मी उद्योगमा भाइ–भतिजावादमाथि नयाँ विवाद निम्तियो । कंगनाले शोमा करणनलाई नेपोटिजम को फ्ल्याग बेयरर बताएकी थिइन् । यो बहस पनि थुप्रै महिनासम्म चल्यो । पक्ष र विपक्षमा विभिन्न सेलिब्रिटीका बयान आए । सेफ र अमृताकी छोरी सारा अली खानलाई पनि फिल्म डेब्यू अन्तर्वार्ताको क्रममा नेपोटिजमबारे अत्यधिक प्रश्न गरियो ।

प्रियंका चोपडाः

करिना र प्रियंकाबीचको सम्बन्धलाई त्यति राम्रो मानिँदैन । सिजन थ्रीमा करिनाले प्रियंकाको अंग्रेजी बोल्ने शैलीको मजाक उडाएकी थिइन् । करणले ‘करिनासँग प्रियंकालाई के भन्न चाहन्छौ ?’ भन्ने प्रश्न सोध्दा करिनाले जवाफ दिएकी थिइन्, ‘उनी त्यस्तो एक्सेन्टमा किन कुरा गर्छिन् ?’ यसै शोमा पछि प्रियंकाले करिनालाई जवाफ दिएकी थिइन्, ‘मैले एक्सेन्ट त्यहाँबाट पाएँ जहाँबाट उनका प्रेमी (सेफ अली खान) ले पाएका छन् ।’ यी दुईको क्याट फाइटको यो घटना निकै चर्चामा रह्यो । संयोग हेर्नुहोस् कि, अब प्रियंका अमेरिकी निक जोनसकी श्रीमती बनिसकेकी छिन् र यसै एक्सेन्टको दममा हलिउडमा काम गरिरहेकी छिन् ।

दीपिका पादुकोणः

कफी विद करणको तेस्रो सिजनमा दीपिका पादुकोणको कण्डम कमेन्ट निकै चर्चित रह्यो । यो एपिसोडमा दीपिका, सोनम कपुरसँग उपस्थित भएकी थिइन् । दीपिकाको त्यतिबेलासम्म रणबीरसँग ब्रेकअप भइसकेको थियो । सोनमले रणबीरसँग सांवरियाबाट डेब्यू गरेकी थिइन् र सुरुवातमा रणबीर र उनको सम्बन्धबारे पनि चर्चा भयो । अर्थात्, करणको कार्यक्रममा त्यतिबेला रणबीरका दुई पूर्व प्रेमिका सँगै थिए । करणले दीपिका र सोनमलाई रणबीरले कुन उत्पादनको इन्डोर्स गर्नुपर्छ भन्ने प्रश्न सोध्दा दीपिकाले झट्पट जवाफ दिइन्, ‘कण्डम ब्रान्ड’ । दीपिकाको यो कमेन्टले रणबीरको बुवा ऋषि कपुर निकै रिसाएका थिए ।

इमरान हासमीले ऐश्वर्यालाई प्लाष्टिक भनेका थिएः

करिब दुई वर्षअघि ऐश्वर्या रायलाई कफी विद करण कार्यक्रममा इमरान हासमीले ‘प्लास्टिक’ भनेका थिए । उक्त कार्यक्रमको र्यापिड फायरको क्रममा जब इमरान हाशमीलाई ऐश्वर्या रायबारे प्रश्न सोधियो तब उनले उनलाई प्लास्टिक ९नक्कली० बताएका थिए ।

इमरानको उक्त कमेन्टपछि ऐश्वर्याले कहिले पनि उनीसँग काम नगर्ने कसम नै खाएको बताइन्छ । स्रोतका अनुसार जब ‘बादशाहो’ ऐश्वर्यालाई अफर भयो तब उक्त फिल्ममा इमरान भएका कारण फिल्म अस्विकार गरेकी थिइन् ।

हुन त यसबारे इमरान हाशमीले स्पष्टिकरण पनि दिइसकेका छन् । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘र्यापिड फायरमा जुन प्रश्न सोधिएको थियो हाँसो ठट्टामा प्लाष्टिक भनेँ, त्यो पनि उपहार जित्ने लोभमा ।’

इमरानका अनुसार उनी ऐश्वर्याका निकै ठूला प्रशंसक हुन् र यदि ऐश्वर्यालाई भेटेमा उनीसँग निश्चित रुपमा माफी माग्नेछन् । उनले बादशाहोमा ऐश्वर्यालाई अफर गरिएको र आफ्ना कारण उनले फिल्म अस्विकार गरेका बारे भने केही पनि जानकारी नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप