बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको बच्चाले सात घण्टाभन्दा बढी मोबाइल चलाउँछन् ? लाग्ला है यस्तो रोग

बुधबार, ०२ माघ २०७५, १६ : ३३
बुधबार, ०२ माघ २०७५

यदि तपाईंको घरमा बच्चा छन् र उनीहरु फोन चलाउँछन् भने यो खबर तपाईंका लागि निकै महत्वपूर्ण हुनसक्छ ।  

चिकित्सकले स्मार्टफोन र भिडियो गेम इत्यादिमा दिनको सात घण्टाभन्दा बढी समय बिताउने ९ देखि १० वर्षका बच्चाको कोर्टेक्स (मस्तिष्कको बाहिरी पत्र) समय अगावै पातलो हुनसक्ने चेतावनी दिएका छन् । 

भारतस्थित हार्ट केयर फाउन्डेशन (एचसीएफआई) का अध्यक्ष डाक्टर के.के. अग्रवालले स्क्रिनमा धेरै समय बिताउनु बच्चाको आँखाका लागि मात्र नभई मस्तिष्कका लागि समेत हानिकारक भएको जानकारी दिएका छन् । उनका अनुसार, ‘पहिलो ६ वर्षमा बच्चाको मस्तिष्क तीब्र रुपमा विकसित हुन्छ त्यसकारण बच्चा निष्क्रिय बसिरहनुको साटो उनीहरुलाई रचनात्मक प्रोत्साहनको आवश्यकता हुन्छ । स्क्रिनका सामग्रीले निष्क्रियतालाई बढावा दिन्छ ।’

एकपटकमा १० मिनेटभन्दा बढि स्क्रिनमा बिताउँदा मस्तिष्क विकासप्रभावित हुने जानकारी दिँदै अग्रवालले भने, ‘आज स्क्रिनमा बिताउने समय वृद्धि भएको छ, विशेषगरी बालबालिकामा । तर आफ्नो काम सिद्धाउनका लागि बच्चालाई मोबाइल दिएर भुलाउनु निकै उपयोगी लाग्न सक्छ वा बच्चालाई भिडियो देखाएर खाना खुवाउन सजिलो हुनसक्छ तर यसले बच्चाको स्वास्थ्यमा विभिन्न दीर्घकालीन समस्या निम्त्याउन सक्छ ।’

उनका अनुसार फोनमा केही हेर्दै खाने बालबालिकाले आवश्यकताभन्दा बढी खाइरहेका हुनसक्छन् । उनीहरु खाना र मनोरञ्जनबीच अस्वस्थकर सम्बन्ध स्थापित गर्न सुरु गर्न सक्छन् । 

स्क्रिनमा अत्यधिक समय बिताउँदा बालबालिकामा मायोपिया वा नजिकको वस्तु नदेख्नेसमस्या देखा पर्न सक्छ । यसले आँखामा अत्यधिक तनाव पैदा गर्न सक्छ वा यो आँखाको सुख्खापनको कारण पनि हुनसक्छ । मस्तिष्कमा पर्नसक्ने असरबारे डा. अग्रवाल बताउँछन्, ‘विद्युतीय उपकरणको माध्यमबाट विभिन्न स्ट्रिमद्वारा प्राप्त जानकारीले मस्तिष्कको ग्रे–म्याटरको घनत्वलाई कम गर्न सक्छ, जुन संज्ञान र भावनात्मक नियन्त्रणका लागि जिम्मेवार हुन्छन् ।’

उनी थप्छन्, ‘यो डिजिटल दुनियाँमा संयमलाई राम्रो स्वास्थ्यको कुञ्जी बनाउनुपर्छ अर्थात्, प्रविधिको न्यूनतम प्रयोग हुनुपर्छ ।’

त्यसो भए के गर्ने त ?
डा. अग्रवालले बालबालिकालाई भुलाउन फोन दिनुको साटो उनीहरुसँग समय बिताउन अभिभावकहरुलाई सुझाव दिन्छन् । डा. अग्रवालका सुझावहरु यस प्रकार छन्ः

– बच्चालाई व्यस्त राख्नका लागि फोन दिनुको साटो उनीहरुसँग कुराकानी गर्नुहोस्, उनीहरुसँगै खेलेर समय बिताउनुहोस् ।

– यी कुराहरु गर्न कुनै उपकरणको आवश्यकता पर्दैन । कम्प्युटर वा टिभीलाई घरको खुल्ला स्थानमा नराख्नुहोस् । 

– कम्प्युटर, फोन, ल्यापटप, टिभीजस्ता उपकरण चलाउनका लागि निश्चित समय तोक्नुहोस् । 

– घरका सबै सदस्यका लागि दिनमा केही घण्टा ‘जिरो स्क्रिन टाइम’ सेट गर्नुहोस् । 

बच्चाहरुले भनेको मान्दैनन् । आमा–बुवाले जे गर्छन्, त्यसको सिको गर्छन् । यसबारे डा. अग्रवाल भन्छन्, ‘तपाईं मोबाइल वा कम्प्युटरमा अत्यधिक समय बिताउनुहुन्छ भने तपाईंको बच्चाले पनि स्वभाविक रुपमा तपाईंले जस्तै गर्छ । उनीहरुका लागि एक सकारात्मक भूमिकाको मोडल बनाउनुहोस् । खाना खाने बेला स्क्रिनबाट टाढै हुनुपर्ने र परिवारसँग बसेर खाना खाने समय तोक्नुहोस् । यसलाई नियमै बनाएर पालना गर्नुहोस् । ’

उनले थपे, ‘तपाईंको बच्चाले बाहिरी गतिविधिमा पर्याप्त समय बिताएको कुरा सुनिश्चित गर्नुहोस् । यसो गर्दा उनीहरुले स्मार्टफोनको उपयोग कम गर्ने प्रेरणा पाउनेछन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप