गोगंबुमा ग्यास सिलिण्डर बिस्फोट, एकको मृत्यु, चारजना घाइते
काठमाडौं । पिस नेपाल ह्यान्डिक्र्याफ्टमा ग्यास सिलिण्डर लिक भई बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
राजधानीको गोगंबुस्थित टोखा नपा वडा नम्बर–९ दिपज्योतीमा रहेको श्याम ढुंगानाको ह्यान्डिक्र्याफ्टमा काम चलिरहेको अवस्थामा बुधबार १२ बजे ग्यास सिलिण्डर लिक भई बिस्फोट भएको हो ।
ग्यास बिस्फोटमा परी नुवाकोट घर भएका ३३ वर्षीय काजी तामाङको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका इन्सपेक्टर मोहन विक्रम केसीले रातोपाटीलाई जानकारी दिए ।
घाइते भएका तामाङको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
यस्तै घाइते हुनेहरुमा गोरखाका ३२ वर्षीय राजकुमार बिसी, धादिङका कैलाश श्रेष्ठ, रेशम तामाङ र अनिल पोखरेल रहेका छन् । उनीहरुको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ह्यान्डीक्र्याफ्टमा सिसाका सामग्रीहरु बनाउने काम गरिन्छ ।