केन्द्रीय संस्करण
अन्तरवार्ता

भूकम्पले मार्दैन, मान्छेकै कारण हुन्छ धनजनको धेरै क्षति

नेपालमा ठूलो भुइँचालो ८०/९० वर्षमा मात्र जान्छ भन्ने कुरा सही होइन

person explore access_timeमाघ २, २०७५ chat_bubble_outline0

भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोक विजय अधिकारीसँग रातोपाटीका लागि चन्द्र खाकीफणिन्द्र नेपालले गरेको कुराकानीको मुख्य अंशहरु:

तपाईंको विचारमा भूकम्प शत्रु, मित्र वा विशुद्ध प्राकृतिक घटना के हो ?
भूकम्प प्राकृतिक प्रकोप हो, यो दैवी प्रकोप होइन । शत्रु र मित्रुको सन्दर्भमा कुरा गर्दा कुनै पनि कुरा आफैमा खराब हुँदैन । त्यससँगको हाम्रो सम्बन्ध कस्तो छ भन्ने कुराले  कुनै पनि चीज खराब वा असल के हो भन्ने निर्धारण गर्ने कुरा हो । सामान्यतः हामीले बुझेको कुरा : भूकम्पले हामीलाई ठूलो क्षति पुर्याउँछ, त्यसैले गर्दा यो खराब भयो । तर जुन कुरा हामीले रोक्न वा पन्छाउनै सक्दैनौँ, त्यसलाई खराब वा असल भन्नु नै परेन । 

पहिले पहिले मानिसलाई भूकम्प किन र कसरी आउँछ भन्ने कुरा थाहा हुदैनथ्यो । तर, अहिले विज्ञानको विकास र प्रगति सँगसँगै भूकम्प आउने कारण तथा पृथ्वीको कुन कुन खण्ड वा भागमा भूकम्प आउँछ भनेर थाहा पाउन सकिन्छ । अझ कुन ठाउँमा कति रेक्टरसम्मको भूकम्प आउन सक्छ र त्यसअनुसारको भूकम्प गएपछि कतिसम्म क्षति हुन सक्छ भन्ने सम्भावनाको आँकलन गर्न सकिने हदसम्म विज्ञानको विकास भएको छ । नेपालमै पनि त्यो आँकलन गर्न सकिन्छ । यद्यपि, यो कुन अवस्थामा छ भन्ने फरक प्रसंगको कुरा हो ।

यस पृष्ठभूमिमा, भूकम्प शत्रु वा मित्रु के हो भन्ने सन्दर्भमा कुरा गर्दा भूकम्प आइसकेपछि त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न सक्यौ भने त्यो घटना मात्र भयो, सकेनौँ भने त्यो दुर्घटना भयो । 

उदाहरणको लागि, २०७२ मा नेपालमा आएको ७.८ रेक्टरको भूकम्पले धेरै जनधनको क्षति पुर्यायो । तर त्यसको केही समयपछि, २०१६ को अक्टोबरतिर न्यूजिल्याण्डमा गएको त्यत्रै आसपासको भुइँचालोले चाहिँ धनको क्षति गरेपनि त्यहाँ मान्छेलाई खासै केही भएन । हाम्रो भन्दा ठूलो भूकम्प चिलीमा गयो तर त्यहाँ ४÷५ जना मान्छेको मात्र मृत्यु भयो । 

यी दुई उदाहरणहरुले के स्पष्ट पार्छ भने, पृथ्वीको उत्पत्तिकालदेखि नै निरन्तर घटित र पृथ्वकिो अन्त्यसम्म पनि आइरहने, गइरहने भुइँचालो आफैमा नराम्रो रहेनछ, बरु त्यसले हाम्रो जीवनमा पार्ने प्रभावको आधारमा त्यो राम्रो वा नराम्रो भनेर मुल्याङ्कन गरिने रहेछ । 

छोटोमा भन्दा, भूकम्प आफैले केही गर्दैन तर हामीले बनाएका कमजोर संरचनाको आधारमा त्यसले बढी क्षति गर्छ । भूकम्प आउँदा हाम्रै कारणले ठूलो क्षति हुन सक्छ भन्ने जान्दाजान्दै पनि हामीले नै धराप हुने संरचना बनाउँछौ र दोष चाहिँ भूकम्पमाथि थोपर्छौं ।

हामीमा भूकम्प सामना गर्ने क्षमता र चेतना नभएको कारण धेरै क्षति भएको छ ?
हामीमा चेतना र अध्ययनको कमी छ । भएकै अध्ययनहरु पनि चेतनाका कमीका कारण आम मानिससम्म पुर्याउन सकेका छैनौं । यो कुरा हाम्रो आफ्नै सीमितता र बाध्यताका कारण प्राथमिकतामा पनि पर्न सकेको छैन । अतः हामीमध्ये कतिमा चेतना छैन भने कतिमा चाहिँ क्षमता र प्रविधिको जानकारी छैन । चेतना नभएको कारणले भएको प्रविधिको पनि प्रयोग गर्न सकिरहेका वा चाहिरहेका छैनौं ।

उदाहरणको लागि सुरक्षित घर बनाउने कुरालाई नै लिऔं । अहिले रेडियोमा पनि विज्ञापन आइरहेको हुन्छ । घर बनाउँदा झ्यालको तल र माथि डण्डी राख्यो भने १० प्रतिशतभन्दा बढी खर्च हुँदैन अहिले बनाइरहेको घर भन्दा सुरक्षित हुन्छ भनेर हामीले सुनिराखेकै हुन्छौं । तर हामी घर बनाउँदा त्यो पनि गर्दैर्नौं । नदेखिने, छोपिने कुरा हो भनेर वेवास्ता गरिदिन्छौं । अझ  शहरतिर त भाडामा लगाउनका लागि वा बेच्नकै लागि पनि अर्काको लागि घर बनाईदिने काम भयो ।

आफ्नो लागि बनाएको घर चाहिँ सुरक्षित बनाउनेतर्फ केही सोच्न र गर्न थालिएको देखिन्छ र तर भाडामा दिनको लागि बनाइने घरमा चाहिँ अझै लापरवाही र हेलचेक्राई नै भइरहेको छ । फलतः त्यसरी बनाइने घर भूकम्पको दृष्टिकोणले कमजोर नै भयो । यो भनेको फेरि पनि चेतनाकै कमी वा अभाव हो । आफ्नो घर मात्रै बलियो बनाएर हुँदैन, सबैले आ–आफ्नो घर बलियो बनाए तथा आफू वरिपरिका संरचनाहरु बलियो भए मात्रै सुरक्षित होइन्छ भन्ने चेतना सबैमा आउनु जरुरी छ ।

हाम्रोमा १९९०, २०४५, २०७२ सालमा भूकम्प गयो । भूकम्प गइसकेपछि त्यसको पराकम्प कति समय सम्म गइरहन्छ ? विश्वमा, उदाहरणको लागि जापान, इन्डोनेशियालाई नै लिऔं, भूकम्प गइसकेपछि त्यहाँ छोटो समयको अन्तरालमा ठूला भूकम्प फेरि दोहोरिएर आएको देखिन्छ । तर नेपालमा ठूलो भूकम्प हेर्दा चाहिँ ८०/९० वर्षको अन्तरमा जान्छ भन्ने विज्ञहरुले भनेको पढ्न सुन्न पाइन्छ ? यसलाई कसरी बुझ्ने ? । यसबारे प्रष्ट पारिदिनुहोस ।

हामी सबै कुरा एकै ठाउँबाट मात्रै हेर्छौँ । इण्डोनेशियाको  र जापानको भुइचालो मात्र हेर्यौं तर त्यो कहाँ कहाँ गयो भनेर हेर्दैनौ  । नेपालमा पनि ८०/९० वर्षमा गएको भन्यौं तर त्यो एकै ठाउँमा गएको होइन भन्ने कुरा बुझ्ने जरुरी छ ।  ९० सालमा गयो, ४५ सालमा गयो, ७२ सालमा गयो, अब फेरि कति वर्षमा जाला, त्यो होइन, त्यसरी हेरिनु हुन्न । ती भुइँचालोहरु एकै ठाउँमा गएको होइन । ९० सालमा गएको भुइँचालो हिमालयको एउटा भाग, पूर्वी नेपालको भोजपुर केन्द्रबिन्दू भएर गयो । त्यसको केन्द्रबिन्दू बिहारमा थियो भनिँदै आएको कुरा गलत साबित भएको छ । 

हाम्रो देश भूकम्पको जोखिम क्षेत्रमा पर्छ । तलबाट इण्डियन प्लेट र माथिबाट तिब्बतीयन प्लेटले ठेलिरहेको स्थानबीचमा नेपाल छ । इण्डियन प्लेट नेपालको चुरेको मुनिबाट उत्तर पूर्वतिर सरिरहेको छ । यो प्रतिवर्ष सरदर चार सेन्टिमिटरको दरले तिब्बतीयन प्लेटको तलतिर छिरिरहेको छ । त्यसमध्ये नेपालको हिमालयभित्र त्यसको गती दुई सेन्टिमिटर हुन्छ । अरु तिब्बततिर पर्ने भयो । नेपालमा करिब करिब अहिले भुँइचालो गएको केन्द्रविन्दु भएको ठाउँबाट उच्च हिमालयदेखी दक्षिणतर्फ चुरेसम्मको भागमा करिब करिब २ सेन्टिमिटर खुम्चिन्छ, छिर्छ । त्यो २ सेन्टिमिटर छिर्दा हाम्रो हिमालयमा ठूलो तनाव र दवाब पर्दछ । तिब्बततिर सजिलै छिर्छ तर नेपालमा हाम्रो हिमालले इण्डियन प्लेटलाई  सजिलै छिर्न दिदैन । फलतः त्यो भाग खुम्चिएर अग्लिदै जान्छ । त्यही प्रक्रियाबाट नै हिमालयहरु बनेका हुन् ।
तर निश्चित सीमामा अर्थात् ठेल्ने र ठेलिने प्रक्रिया चलिन्जेल त्यो खुम्चने प्रक्रिया चलिरहन्छ । त्यसपछि त्यो प्लेट इलाष्टिक तन्केपछिको अवस्थामा जस्तै आफ्नै ठाउँमा फर्कने हुन्छ । त्यही क्रममा प्लेट टुक्रने धाँजा फाट्ने जस्ता क्रियाहरु हुने गर्छन् ।

यसरी ठूलो भुइँचालो जाँदा कुनै स्थानमा जमीन सर्छन्, कुनैमा उचालिन्छ, कुनैमा धसिन्छन् । ७२ सालमा भूकम्प जाँदा धुन्चेबाट उत्तरतिरको भाग गणेश हिमालको  ७० सेमि तल धसियो । काठमाडौँ त्यति नै उचाईमा माथि उचालियो ।  ककनी १ मिटर २० सेन्टिमिटर माथि उचालियो । पहिलेको स्थानबाट काठमाडौं ४५ सेमी सर्यो । ठूला भुइँचालोहरु जाँदा यो प्रक्रिया निरन्तर रुपमा चलिनैरहेको हुन्छ । 
 

७२ सालको जस्तो भूकम्प अब पनि आयो भने प्लेट तराईतिर सर्छ ?

सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने यसअघि गएका ठूला भुइँचालोहरु एउटै होइन, फरक फरक हुन् । ९० सालमा गएको भुइँचालो पूर्वतिर गएको भुइँचालो हो । अहिले ७२ सालमा गएको भुइँचालोलाई चाहिँ वि.सं. १८३३ मा यही क्षेत्रमा गएको यस्तै भुइँचालासँग जोडेर हेर्न मिल्छ । त्यो भुइँचालो  ७२ सालको भुइँचालो गएको क्षेत्र वरिपरि नै गएको थियो । त्यसैले ९० सालको भुकम्प र अहिले गएको भूकम्प फरक फरक ठाउँमा गएको भुइँचालो हो भनेर बुझ्न् पर्छ ।

९० सालमा गएको जस्तै भूकम्प सोही क्षेत्रमा १२५५ मा गएको थियो । राजा अभय मल्ल मरेको भनेको त्यही ठूलो भुइँचालोमा हो ।   र १९९० मा गयो । अर्थात् एउटै क्षेत्रवरिपरि ठूलो भुइँचालो ठूलो समयको अन्तरालमा गएको देखिन्छ । त्यसकारण नेपालमा ठूलो भुइँचालो ८०/९० वर्षमा जान्छ भन्ने कुरा सही होइन । 

त्यसरी ८०–९० सालको अन्तरालमा नेपालमा ठूला भुइँचालो जान्छ भन्ने हो भने पश्चिम नेपालतिर भुइँचालो नगएको धेरै भइसकेको छ । सत्य के हो भने समयको अन्तरालमा नेपालका भिन्न भिन्न भागहरुलाई केन्द्र बनाएर ठूलो भुइँचालो गएको छ । 

नेपालको ठाउँ भनेको जमिनसँग जमिन जुधेको ठाउँ हो । इण्डोनेशिया, चिली, जापानमा जमिनसँग समुद्र जुधेको स्थिति हो । त्यो ठाउँमा ठूला ठूला भूकम्प जान्छन् । तर नेपालमा भौगोलिक बनावटको कारणले त्यति ठूला भूकम्पहरु छिटोछिटो गएको हामीले थाहा पाएका छैनन् । 

उदाहरणको लागि, २००४ मा सुमात्रामा गएको  भूकम्पको धाँजा १२०० किमिसम्म रहेको थियो । यता हाम्रोमा ७२ सालको गोरखा भुइँचालोमा जम्मा १२० किमि मात्र  धाँजा फाट्यो । ९० सालमा लगभग २०० किलोमिटरभन्दा कम मात्रै  धाँजा फाट्यो । त्यसलै भौगोलिक अवस्थाअनुसार भूकम्पको स्केल पनि कम बेसी हुने हुन्छ । 
त्यसैले भूकम्प एउटा निश्चित समयमा जान्छ भनेर त्यसलाई वर्षको प्याटर्नमा बाँध्न मिल्दैन ।  

यसको अर्थ नेपालमा ठूला भूकम्प जाने सम्भावना सधैं रहिरहन्छ ?
नेपालमा हेर्ने हो भने पश्चिममा त ५०० वर्षसम्म पनि भूकम्प गएको छैन । यसको अर्थ त्यहाँ भुइँचालो जाँदै जाँदैन भन्ने पनि होइन । यही कारण पश्चिममा ठूलो भूकम्प जाने सम्भावना रहेको छ भन्ने कुरा सत्य हो । 

माथि मैले भनिसकेको छु । दुई प्लेटहरुले एक अर्कालाई धकेल्दा शक्ति जम्मा हुन्छ र त्यो शक्ति निष्काशित हुने क्रममा भुइँचालो जाने गर्छ  । प्लेटले धेरै शक्ति थाम्छ भने धेरै शक्ति जम्मा हुन्छन । शक्ति जम्मा हुने तर भुइँचालो नजाने भयो भने जति धेरै समय रह्यो त्यति शक्ति जम्मा हुने भयो । जति शक्ति जम्मा हुन्छ, ठूलो भुँइचालो जाने सम्भावना बढ्छ । तर एकै पटक ठूलो भुइँचालो नजान पनि सक्छ । स–साना धेरै पनि जान सक्छ । ५०० वर्षदेखि त्यहाँ भूकम्प जाने शक्ति सञ्चित भइरहेको छ । भूकम्प कहिले जान्छ भनेर हामीले भविष्यवाणी गर्न सक्दैनौँ । किन ? जती ठूलो शक्ति जम्मा भयो, त्यति नै बढी समय ठूलो भुइँचालो जानलाई लाग्न सक्छ । तर त्यस्ता क्षेत्रमा साना भुईँचालो छिटो छिटो जान्छ । अहिले पनि दिनहुँ ३ का आसपासका भुइँचालोहरु गइरहेका छन् । त्यो भन्दा ठूला भुइँचालोहरु अलि ढिला गरी जान्छन् ।

समुद्री क्षेत्र आसपासका इलाकाहरुमा चाहिँ ठूलो क्षेत्रमा धाँजा पार्ने गरी भुइँचालो जाने तर नेपालमा चाहिँ सानो धाँजा पार्ने गरी भुइँचालो जाने गरेको देखिन्छ । यसको अथ हाम्रो भौगोलिक क्षेत्रमा सञ्चित भएको भुइँचालो ल्याउने शक्तिले राम्ररी निकास नपाउँदा त्यस्तो हुने गरेको हो त ?

त्यसको अर्थ यस क्षेत्रमा भूकम्प ल्याउने शक्ति एकै ठाउँमा एकत्रित नभएर खण्डित रुपमा छ । अर्थात् शक्तिका  स्रोत धेरै भागमा छरिएका छन् । पश्चिममा गोरखादेखि देहरादुनसम्मको भागमा ठूलो भुइँचालो लामो समय गएको छैन, जसलाई हामी ‘सेस्मिक ग्याप’ भनेर बुझ्छौं । ठूला समयसम्म भुइँचालो नगएको तर जान सक्ने सम्भावना भएको यो निक्कै खतरनाक स्थिति हो । यसले त्यस क्षेत्रमा भूकम्प जाने धेरै शक्ति सञ्चित भएको छ भन्ने देखाउँछ । त्यसरी धेरै शक्ति सञ्चित हुनु भनेको ठूलो भूकम्प जान सक्ने सम्भावनाको संकेत हो ।

०७२ सालको भूकम्पले जमीनभित्र ठूलो धाँजा पार्न नसकेको र त्यसको अर्थचाहिँ उक्त भुइँचालोको शक्ति पूरै बाहिर निष्काशन हुन नससकेको कारण काठमाडौँमुनि एकिकृत भएर बसेको र त्यसले झन ठूलो खतरा पैदा गरेको कुरा उठ्ने गरेको छ । यथार्थ के हो ?
कुरा सत्य हो तर त्यसलाई पनि कसरी बुझ्ने भन्ने आउँछ । जस्तो कि, पश्चिम नेपालमा ५०० वर्षदेखि शक्ति जम्मा छ । त्यो खतरनाक हो । चुरेदेखि गोरखाको माथिल्लो भागसम्म शक्ति जम्मा भएको थियो । त्यसको आधाउधी शक्ति चाहिँ ७२ को भुइँचालोमा गयो । बाँकी रहेको आधाउधी शक्ति पनि भुइँचालोले नै जाने हो । त्यहाँ शक्ति बाँकी हुनु भनेकै खतरा हो किनभने त्यसको अर्थ नै भुइँचालो जान्छ भन्ने हो । तर यो कहिले जान्छ र कसरी जान्छ भन्ने सवाल मुख्य हो । हामीले भूकम्प मापन गर्न थालेदेखिको सबैभन्दा ठूलो भूकम्प नै ७२ सालको हो । 

बुझ्नु पर्ने कुरा के हो भने नेपालमा भूकम्पको शक्ति छरिएर जम्मा भइरहेको छ । त्यसैले हिमालयमा भुइँचालो जाने र नजाने कुरा ठूलो कुरा होइन । समग्र हिमालय बेल्ट नै भूकम्पीय जोखिम क्षेत्र हो । हिमालयको लम्बाई पाँचसय किमि छ त्यसको एक तिहाई ८०० किलोमिटर नेपालमै छ । २५०० किमि भित्रै भूकम्पको शक्ति जम्मा भएको छ र त्यो हाम्रोमा मात्र हैन, समग्र २५ सय किलोमिटरमै जान्छ ।

तर एक तिहाई अर्थात् ८०० किलोमिटर क्षेत्र नेपालमै परेको हुनाले भूकम्पको हिसाबले हामीकहाँ पटक पटक भूकम्प आइरहन्छ । हो, त्यस्तो ठूलो भूकम्प हाम्रै जीवनकालमा त नजाला, तर नेपालको कुनै पनि क्षेत्रमा ठूलो भुइँचालो जाने सम्भावना जीवितै छ भनेर बुझ्नु पर्छ । ९० सालको भुइँचालो, ७२ सालको ठूला भुइँचालोको पृष्ठभूमिमा पश्चिम क्षेत्रमा ७ पुस्तासम्म भुइँचालो नगएको स्थिति हो । यसरी पुस्ताको हिसाबले हेर्ने हो भने, ३, ४ पुस्तासम्म भुइँचालो नजाला भनिनु एउटा कुरा हो, तर ५०० वर्ष अगाडि त नेपालमै ठूलो भुइँचालो गएको इतिहास पनि छ । 

भूकम्प जानु भन्दा पहिले पूर्वकम्प र पछि आउने पराकम्पको अर्थ के हो ? एउटा ठूलो भुइँचालो आइसकेपछि आउने पराकम्पबाट अब ठूलो भूकम्पको सम्भावना टर्यो भनेर भनिने गरेको कुरालाई कसरी बुझ्ने ?

भूकम्प आउनु भन्दा अघि आउने स–साना कम्प पूर्वकम्प हुन् भने मूख्य भूकम्पभन्दा पछि आएका साना भूकम्प पराकम्प हुन् । सबै भुईचालोमा पूर्वकम्प हुन्छ भन्ने छैन । कुनैमा पूर्वकम्प हुन्छ, कुनैमा हुँदैन । पूर्वकम्प नआइकन एकैपटक ठूलो भूकम्प आउन पनि सक्छ । १८९० विसं. मा पूर्वकम्प आएको थियो त्यसैले त्यसको क्षति अलि कम भएको थियो । त पूर्व कम्पको कति अन्तरालमा ठूलो भूकम्प आउँछ भन्ने छैन ।

त्यो थाहा पाए त सुरक्षाको पूर्व तयारी नै गर्न सकिन्थ्यो नि । फेरि कत्रोलाई पराकम्प र पूर्व कम्प भनेर भन्न पनि गाह्रो हुन्छ । परिभाषा चाहिँ सजिलो छ । कुनै ठूलो भुइँचालो आयो भने त्योभन्दा पहिलेकाहरु पूर्वकम्प र त्यो पछि आएका सबै भुइँचालोहरु पराकम्प भयो । तर मुख्य भुइँचालोभन्दा पछि त्यो भन्दा पनि ठूलो भूकम्प आयो भने त्यो पराकम्प नभएर मुख्य भुइचालो हुन्छ र पहिलेको ठूलो भुइँचालो चाहिँ पूर्वकम्प बन्न पुग्छ । 

२०७२ साल वैशाख १२ को भूकम्पलाई मुख्य भन्ने कि नभन्नेमा बडो द्विविधा थियो । संसारमा ७.८ वा त्योभन्दा ठूलो भुइँचालो आइसकेपछि लगत्तै झन ठूलो भूकम्प आएको उदाहरण छ । त्यो स्थितिमा प्राविधिक रुपमा भनिहाल्न गाह्रो थियो । तर आत्तिएका जनमानसलाई आश्वस्त पार्नको लागि जोखिमै मोलेर भए पनि, प्राविधिक रुपमा जोगिँदै मैले त्यसबेला भनेको थिएँ, ‘ढुक्क हुनुभए हुन्छ, यसको ‘रप्चर’ क्षेत्रभित्र योभन्दा ठूलो भूकम्प जान्नँ ।’ मैले त्यसबेला विशेष रुपमा जोड दिएर रप्चर क्षेत्रको कुरा उठाएका थिएँ । किनभने, अर्को क्षेत्रमा त्योभन्दा ठूलो भूकम्प जाने सम्भावना छँदैथियो । 
बुझ्नुपर्ने कुरा के हो भने, सबै भूकम्पमा पूर्वकम्प जाँदैन । ९० सालको भूकम्पमा पूर्वकम्प गएको थियो तर ७२ सालको भूकम्पमा त्यस्तो पूर्वकम्प गएन । 

पराकम्प जानुको अर्थ ठूलो भूकम्पले विभिन्न भागमा छरिदिएको शक्ति निस्काशित हुने प्रक्रिया हो । एउटा भुइँचालो गइसकेपछि छरिएको शक्तिको कारण अर्को ठाउँमा भूकम्प जान्छ, फेरि त्यसले छरेको शक्तिको कारण अर्को ठाउँमा भूकम्प जान्छ र त्यो शक्ति छरिने निरन्तर प्रक्रियाले एउटा निश्चित समयसम्म पराकम्प गइरहन्छ ।

जस्तो, ७२ सालको भूकम्पको पराकम्पन अझै आइरहेको छ । ठूलो भूकम्प गएपछि सामान्यतः कति वर्षसम्म पराकम्पन गइबस्छ ?
त्यो अनिश्चितै छ । हाम्रो हिमालयमा कसरी जान्छ भन्ने अहिलेसम्म थाहा थिएन । डाटा पनि थिएन । तर यस क्षेत्रमा गएका भूकम्पहरुको प्याटर्न हेर्दा सामान्यतः  ७२ सालको भूकम्पको पराकम्पन १० वर्षसम्म पराकम्प आउँछ भन्ने कुरा अहिलेसम्मको अध्ययनको आधारमा मेरो अनुमान रहेको छ । 

तर कुनै ठाउँमा सय वर्षसम्म पनि पराकम्प गएको पनि छ । जस्तो, अमेरिकाको एक ठाउँमा भुइँचलो गएको १०० वर्षभन्दा बढी भइसक्यो, तर पराकम्प आउने क्रम अझै जारी छ । तर कुनै ठाउँमा तीन महिनामै पनि त्यो रोकिन्छ । यो कुरा त्यस ठाउँको भूगर्भ, भौगोलिक अवस्थामा पनि  भर पर्छ । ९० सालको भूकम्पमा चाहिँ यकीन डाटा नभए पनि  ४, ५ महिनासम्म पराकम्प आएको भन्ने भेटिन्छ । 

मुख्य भूकम्पपछि पराकम्प आइबस्नु एक दृष्टिकोणले राम्रै हो, त्यसले ठूलो भुइँचालो आउने सम्भावनालाई  कम गरिदिन्छ भन्ने कुरामा कति सत्यता  छ ? 
ठूलो भूकम्प गएको ठाउँमा शक्ति बाँकी छ भने पराकम्प आएपछि त्यो निख्रिँदै जान्छ, त्यो राम्रो हो । 

हामीले बुझ्नैपर्ने कुरा के हो भने भूकम्पको एक म्याग्नेच्युट फरक पर्दा पनि त्यसको शक्तिमा ३२ गुना शक्ति पर्छ । ५ रेक्टरको भूकम्पभन्दा ६ रेक्टरको भूकम्पमा ३२ गुना शक्ति फरक हुन्छ । त्यस्तै ६ रेक्टरको भुइँचालो आउँदा त्यही शक्तिमा   १०२४ गुना फरक पर्छ । यदि कुनै ठाउँमा ८ रेक्टर स्केलको भूकम्प जाने शक्ति एकत्रित रहेछ भने त्यहाँ ५ रेक्टर स्केलका भूकम्प ३२००० ओटा जानुपर्याे । ५ रेक्टरको ३२००० बराबर ८ रेक्टरको एउटा भयो । साना भूकम्प जानु त्यहाँ भएको शक्ति क्षिण हँुदै जानु हो भने साना भूकम्प नजानु शक्ति सञ्चय भएको खतरा हुनु हो ।

हामीले आशा गरेका थियौं, साना भुइँचालोबाट काठमाडौंमुनि एकत्रित भएको शक्ति चुरेतिरबाट निश्कासित होला, तर त्यो भएको देखिएन । त्यो भनेको कुनै समयमा पुनः भुइँचालो जाने सम्भावना बाँकी छ भन्ने नै । 

अब अलि प्रसंग ७२ सालको भुइँचालोतिर मोडौं । ०७२ सालको भूकम्पमा बाहिर खेल्न गएका बच्चा पनि टेबलमुनि आएर बसेर ज्यान गुमाए, किनकि हाम्रो सिकाइ नै त्यही रह्यो । समस्या कहाँ रह्यो ?
 

वास्तवमा, त्यो सिकाएको कुरा नराम्रो हैन । बरु सिकाउन चाहिँ नपुगेको हो । बुझ्नैपर्ने कुरा के हो भने, भूकम्पले मार्दैन । मार्ने भनेको हामीले बनाएका संरचनाले हो । हामी बसेको संरचना नै कमजोर छ भने हामी जता गए पनि क्षति त हुने नै भयो । 

हामी बाहिर बस्ने भनेको भुइँचालोबाट होइन, हामीले बनाएका संरचनाबाट हुन सक्ने सम्भावित क्षतिबाट बच्नको लागि हो । त्यहाँबाट टाढा जाने ठाउँ छ र समय छ भने सम्भव भएसम्म  बाहिर सुरक्षित ठाउँमा नै जानुपर्छ । तर त्यस्तो ठाउँ छैन र सम्भव छैन भने, माथिबाट केही खसेर टाउकोमा लागेर ज्यान बचाउन टेबुलमुनि जानु भनेको हो । तर हाम्रो कमजोर संरचना अनि त्यसमाथि सिकाइ र बुझाइमा समस्या भयो । त्यसमाथि थप, भूकम्प आउँदा कसरी सुरक्षित हुने भन्नेबारे अभ्यासको पनि कमी भयो । अभ्यास नहुने हो भने जानेकै ज्ञान पनि आत्तिएर भुइँचालोकोबेला काम नलाग्ने हुन सक्छ । यस हिसाबले समग्रमा यसबारे जनचेतनाको नै कमी देखियो । गर्नैपर्ने कुरा चाहिँ भूकम्प सुरक्षाको निरन्तर अभ्यास अनि पुस्ता पुस्तामा सुरक्षासम्बन्धी त्यो ज्ञान र सिकाइको अभ्यासलाई निरन्तरता दिइरहनु नै हो ।  
७२ सालको एउटै रेक्टरको भूकम्पमा पनि काठमाडौँको कुनै ठाउँमा बढीे र कुनै ठाउँमा कम क्षति भएको देखियो । विभिन्न अध्ययनहरुले आँकलन गरे जस्तो भयानक क्षति सौभाग्यवश भएन । यसो हुनुको कारण के होला ? 
यसमा मुख्यतः संरचनाकै कुरा आँउँछ । भौगोलिक क्षेत्रअनुसार संरचना बनाउने तौरतारिका फरक हुने गर्छ । त्यो बुझ्नु जरुरी छ । फेरि क्षति हुँदा १०० प्रतिशत सकिने भन्ने त होइन । गोरखा, बारपाकमा पनि सबै सकिएको त होइन ।

काठमाडौँको जियोलोजि फरक छ । बुझ्नुपर्ने कुरा के छ भने, बुझुनुपर्ने कुरा धेरै रहेछ, त्यसतर्फ अध्ययन गर्नै बाँकी रहेछ । त्यस्तो अध्ययन गर्न पनि भूकम्प गएको हुनुपर्छ, जुन अब ७२ सालको भूकम्पले उपलब्ध गराएको छ ।

ठूलो भूकम्प आउँदा काठमाडौंमा ठूलो क्षति हुन सक्ने अध्ययनको आँकलन पहिले पहिले आएका स–साना भूकम्पहरुको अध्ययनमा आधारित थियो । त्यो अहिले मिलेको देखिएन । 

काठमाडौँमा ६०० मिटर गहिरोसम्म माटो र बालुवाको पत्र छ । सामान्यतः भूकम्पको तरंगको प्रकृति घनत्व कडा ठाउँमा छिटो हिड्ने र कमजोर भएको ठाउँमा ढिलो हिँड्ने प्रकृतिको हुन्छ । छिटो हिँड्ने ठाउँमा थोरै हल्लाउँछ भने ढिलो हिड्ने ठाउँमा धेरै हल्लाउँछ । त्यसमाथि थप, घनत्व कम भएको, बलौटे माटो, हिले माटो भएको ठाउँमा भूकम्पको तरङ्ग एक अर्कामा ठोक्किएर झन ठूलो हुँदै जान्छ । त्यो ८–१० गुनासम्म बढेर गएको पहिलाका अध्ययनहरुले देखाएको थियो । तर ७२ को गोरखा भुइँचालोमा चाहिँ त्यो २ गुनाभन्दा बढी बृद्धि भएको देखिएन । अध्ययनहरुमा आँकलन गरिएजस्तो भूकम्पले क्षति गरेको देखिएन । 

भौगोलिक बनावटअनुसार तरंग अति बृद्धि भएर धेरै हल्लाउने र क्षति गर्ने सम्भावना हुन्छ भने कुनै ठाउँमा चाहिँ, विशेष गरी चट्टान भएको ठाउँमा कम हल्लाउँछ । उदाहरणको लागि, पशुपति क्षेत्रमा चट्टान छ, त्यहाँ कम हल्लाएको र कम क्षति भएको देखियो । 

तर चट्टान मात्रै बढी भएको ठाउँमा चाहिँ क्षति हुँदैन भन्ने अर्थमा यसलाई बुझ्नु हुन्न । कतिपय ठाउँमा चट्टान मात्रै भएको ठाउँमा पनि भूकम्पले बढी हल्लाएको पाइन्छ । 

भूकम्पले गर्ने क्षति त्यसको केन्द्र, गहिराई, दिशा, दूरी लगायत विभिन्न कुरामा भर पर्छ भन्ने कुरा भुल्नु हुन्न ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ