बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

वाइडबडी काण्डमा ठूला नेता संलग्न रहेको बाबुरामको दाबी  (भिडियोसहित)

बुधबार, ०२ माघ २०७५, १७ : ४८
बुधबार, ०२ माघ २०७५

काठमाडौं –नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाइड बढी विमान खरिद प्रक्रियामा ठूला दलका ठूला नेता संलग्न रहेको दाबी गरेका छन् । 

काठमाडौंमा बुधबार वाइडबडी विमान प्रकरणबारे गरिएको अन्तर्क्रिया कार्यक्रममा भट्टराईले ठूला दलका नेताहरु मिलेर नै विमान खरिद प्रक्रियामा अनियमिता भएको  आरोप लगाएका हुन् । 

उनले १ डलरको नक्कली कम्पनी खडा गरेर विमान खरिद गरेको प्रकरणबाट नै यसमा गडबड भएको बताँउदै भने, ‘हामीले बैंकमा ऋण लिन जाँदा त कम्पनी कति पुरानो छ भनेर हेर्छ भने १ डलरमा स्थापना भएको बिचौलिया कम्पनी मार्फत अर्बौँ अर्ब २५ अर्ब रुपैयाको कारोबार गर्न मिल्छ ? सिधै खरिद गर्नका लागि एयर बसले बेच्छ भने बीचमा अर्को कम्पनी किन चाहियो ? बिचौलिया कम्पनी खरिद गर्नु, नयाँ जहाज किन्न प्रावधान मिच्नु भनेकै त्यो भ्रष्टाचार हो । त्यसमा कति पनि दुविधा छदै छैन ।’

उनले नेपालका पहिलेदेखि नै विमान खरिद प्रक्रियामा निरन्तर भ्रष्टाचार हुने गरेको भन्दै लाउडा विमानको मुद्दाको अझै फैसला हुन नसकेको बताए । नेपालको भ्रष्टाचारको पहाडको टुप्पो बल्ल देखा परेको बताँउदै भने, ‘कहिले एनसेल प्रकरण बनेर निस्कन्छ, कहिले बूढीगण्डकी प्रकरण बनेर देखापर्छ । लाउडा विमान प्रकरण १२ वर्षदेखि अदालतमै छ । अस्ती मात्रै खबर आएको थियो, ९५ पटक त्यसको सुनुवाई सरेछ ।’

उनले ११ वर्षमा १२ वटा ठूलाठूला नाम चलाइएका प्रधानन्यायाधीश आएको उल्लेख गर्दै लाउडा प्रकरणको मुद्दा किन सारिएको भन्दै प्रश्न गरे । उनले ठूला प्रकरणको फैसला नहुने बताउँदै सबै काले काले मिलेर खाउँ भाले भन्ने बाटोमा गएपछि यस्ता विषय कहिले पनि नटुङ्गिने बताए । 

कांग्रेस र कम्युनिष्ट पेप्सी र कोकाकोला 
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले कांग्रेस र कम्युनिष्टलाई पेप्सी र कोकाकोलाको संज्ञा समेत दिएका छन् । 

उनले भने–‘लोकप्रिय पेय पदार्थको ब्राण्ड र गए गुज्रेको तरल पदार्थ जस्तै कांग्रेस र कम्युनिष्ट पार्टीहरु जुन ढंगले अहिले सक्तामा छन, उनीहरुले मिलेमतो गरेर जे गरे प्रष्टै छ । 

संसदको सार्वजनिक लेखा समित जुन छ, त्यसको उपसमितिले दिएको प्रतिवेदनलाई समितिले कसरी त्यसलाई बदल्यो भनेर माननीय प्रदीप यादवले भनिहाल्नुभयो । यसमा सबै मुछिएपछि त जोगाउनुपर्यो । त्यसैले यो धेरै गम्भीर प्रकृतिको विषय छ ।’

उनले सत्तारुढ दल र प्रतिपक्षी दल पनि यसमा मिलेको उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच यो प्रकरणलाई ढाकछोप गर्न बालुवाटारमा सहमति समेत भएको उनले बताए । 

उनले भने–‘मेरा पूर्व सहकर्मी प्रचण्डले एकदिन चितवनमा गएर अब राष्ट्रिय सहमति निर्माण हुन लाग्यो । कांग्रेससँग पनि सौहार्द बार्ता भयो भने । देउवा बालुवाटार गएको पनि थाहा थियो । केही भएपछि हौसिने र कुरा खुस्काई हाल्ने उहाँको बानी मलाई थाहा छ । के रहेछ भनेर बिचार गरेको वाइडबडी प्रकरण ढाकगर्ने सहमति भएको रहेछ ।’ 

भट्टराईले सानो आवाज लिएर भए पनि भ्रष्टाचारमा संलग्नलाई कारबाहीको लागि सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने उल्लेख गरे । उनले जनतालाई जागृृत गरेर भण्डाफोर अभियान चलाइराख्ने बताए । 

छट्टै छानविन समिति बनाउन प्रस्ताव
यसैबीच संसदको विकास समितिले प्रभावमा परेर निस्पक्ष छानविन गर्न नसकेको भन्दै सर्वदलीय संसदीय छानविन समिति बनाउन पनि उनको प्रस्ताव छ । सरकारले वाइडबडी प्रकरणको छानविन समिति बनाउनु सिधै बदमासी भएको बताउँदै सरकारले बदमासी लुकाउने संयन्त्र बनाएको उल्लेख गरे । उनले सरकार, अदालत सबैभन्दामाथि रहने संसदीय समिति मार्फत छानविन हुनुपर्नेमा जोड दिए । 

यस्तै लेखा समितिले बनाएको छानविन उपसमितिका सदस्य प्रदीप यादवले लेखा समितिले नै बदमासी गरेर प्रतिबेदन फेरबदल गरेको उल्लेख गरे । 

बाबुराम भट्टराईले वाइडबडी विमान प्रकरण विरुद्ध गर्न लागेको काममा साथ दिने उल्लेख समेत गरे ।

 वाइडबडी विमान खरिद प्रकरणमा लेखा समितिको उपसमितिले ४ अर्ब ३५ करोडको भ्रष्टाचार भएको ठहर गरेको थियो । 
 

भिडियो हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप