शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एशियाली लघु चलचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अन्तिम चरणमा

बुधबार, ०२ माघ २०७५, २० : ५२
बुधबार, ०२ माघ २०७५

कास्की । पोखराबाट सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र ‘टू द एभरेष्ट एण्ड बीयोन्ड’ थाइल्याण्डमा आयोजना हुने एशीयाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा छनौट भएको छ । 

एशीयाली लघु चलचित्र विभिन्न चार चरणको छनोट प्रक्रियापछि अन्तिम १२ मा पर्न सफल भएको हो । लागुपदार्थ प्रयोग कर्ताहरुको एशीयाली सञ्जाल, ए.एन.पि.यू.डी. ले आयोजना गरेको प्रतियोगितामा नेपाललगायत एशीयाली मुलुकहरुका चलचित्र निर्माताहरुको आवेदन परेको आयोजकले जनाएका छन् । 

नेपाललगायत १६ वटा एशीयाली मुलुकहरुको सहभागिता रहेको प्रतिस्पर्धाको पोखरा फिल्म सोसाइटी सह–आयोजकको रुपमा रहेको छ ।

पोखराका वृत्तचित्र निर्माता तथा कलाकार विष्णुप्रसाद गौतमले निर्माण÷निर्देशन गरेको वृत्तचित्र ‘टू द एभरेष्ट एण्ड बीयोन्ड’ पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण अभियानमा केन्द्रित रहेको छ । 

गौतमले भने– ‘यो चलचित्र गोपालको वास्तविक जीवनमा आधारित भएर निर्माण गरिएको हो ।’ विश्व चलचित्र प्रतिस्पर्धामा पनि पछिल्लो समयमा यथार्थमा आधारित विषय वस्तुहरुलाई बढि प्राथमिकता दिने हुँदा आफू सो प्रतियोगितामा सहभागि भएको उनको भनाई रहेको छ । 

उनले भने– ‘मेरो काम नै यथार्थ विषयमा केन्द्रित भएर चलचित्रहरु निर्माण गर्ने हो, अहिले पनि त्यस्तै विषयमा काम गरेको छु । यो काम प्रतिस्पर्धाका लागि भन्दा पनि गोपाल दाईको सगरमाथा अभियानको लागि पनि हो ।’  

विक्रम संवत् २०४२ सालको राष्ट्रिय फुटबल टिमका प्रमुख डिफेन्स गोपाल लागुपदार्थ प्रयोगका कारण टिम र लिग गेमबाट समेत निष्कासन भए । त्यसपछि उनी पोखरा घर फर्किए । 

परिवार समाज र आफन्त सबैले लागुपदार्थ प्रयोगकर्तालाई तेस्रो दर्जाको रुपमा हेरेपछि उनमा मानसिक रोगको समस्या वढ्यो र बजारमा पाइने सबैखाले लागुपदार्थ प्रयोग गरे । अन्ततः एचआईभीबाट समेत संक्रमित भए । 

२५ वर्ष पहिला डक्टरले तीन महिना भित्र मर्ने दाबी गरिएका गोपाल यहि आउँदो वैशाखमा सगरमाथा आरोहण गर्ने अभियानमा रहेका छन् । यहि कथामा वास्तविक दृश्यहरुको समायोजन गरी वृत्तचित्र निर्माण गरिएको छ । 

श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको वृत्तचित्रमा घनश्याम लामिछाने, पुष्कर नन्दन अधिकारी र शेखर गौतमको लगानी रहेको छ । छायाँकन र सम्पादनमा घनश्याम लामिछाने रहेका छन् भने रंग संयोजन नेत्र गुरुङको हो । वृत्तचित्रको पाश्व संगीत रञ्जन गायकको रहेको छ भने कथा तथा निर्देशन विष्णु प्रसाद गौतमको रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप